आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेट

पुरानै संयोग जुर्दैछ मुम्बई इन्डियन्ससँग, उत्साही छन् समर्थक

शुक्रबार, १९ वैशाख २०८२, ०९ : ३५
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करण रोचक मोडमा पुगेको छ । हालसम्म दुई टोली चेन्नई सुपर किङ्स र राजस्थान रोयल्स उपाधि होडबाट बाहिरिएका छन् । बाँकी टोली प्ले–अफ चरणमा पुग्न संघर्षरत छन् । 

जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्स भने लयमा फर्किएको छ । मुम्बईले बिहीबार राति खेलिएको आफ्नो पछिल्लो खेलमा राजस्थान रोयल्सलाई एक सय रनको फराकिलो अन्तरले हरायो । मुम्बईसँग हारेपछि राजस्थान उपाधि होडबाट बाहिरिने दोस्रो टोली बन्न पुग्यो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित ओभरमा केवल दुई विकेट गुमाएर दुई सय १७ रन बनायो । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक स्कोर हो । 

यो स्टेडियममा यसअघि सन् २०२३ को आईपीएलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध ६ विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । मुम्बईले दिएको दुई सय १८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले भने १६.१ ओभरमै अलआउट हुनुअघि एक सय १७ रनमात्र बनाउन सक्यो । 

मुम्बईको जितमा ओपनर ब्याट्सम्यानद्वय रायन रिकेल्टन र रोहित शर्माले एक सय १६ रनको साझेदारी गरे । विकेटकिपर ब्याट्सम्यान रिकेल्टनले ६१ र रोहित शर्माले ५३ रन बनाए । कप्तान हार्दिक पाण्ड्या र सूर्यकुमार यादवले पनि अविजित रहँदै ४८–४८ रन बनाए । 

जवाफी ब्याटिङ गरेको राजस्थानका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । जोफ्रा आर्चरले सर्वाधिक ३० रन बनाए । मुम्बई इन्डियन्सका बलर ट्रेन्ट बोल्ट र कर्ण शर्माले तीन–तीन तथा जसप्रित बुमराहले दुई विकेट हात पारे । 

प्रारम्भमा निराशाजनक प्रदर्शन गरेको मुम्बईले यो सिजन उत्कृष्ट पुनरागमन गरेको हो । जारी सिजनको आईपीएलमा मुम्बईले हात पारेको यो लगातार छैटौँ जित हो । जितसँगै मुम्बई अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

मुम्बईले ११ मध्ये सात खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । हालसम्म मुम्बईले कुल १४ अंक बटुलेको छ । योसँगै मुम्बईले प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । 

यसअघि, सन् २०१७ को संस्करणमा पनि मुम्बई इन्डियन्ससँग यस्तै संयोग जोडिएको थियो । उक्त संस्करणमा पनि मुम्बईले लगातार ६ जित हात पारेको थियो । त्यतिबेला रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले उपाधि नै उचालेको थियो ।

त्यतिबेला मुम्बईले फाइनलमा राइजिङ पुणे सुपरजायन्ट्समाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । आईपीएलको जारी संस्करणमा पनि मुम्बईसँग त्यस्तै संयोग जोडिएको छ । 

सुरुमा निराशाजनक प्रदर्शनपछि लयमा फर्किएको मुम्बईले लगातार ६ खेल जितिसकेको छ । त्यसैले मुम्बईका समर्थक सन् २०१७ को संस्करणजस्तै यसपटक पनि आफ्नो टोलीले उपाधि जित्नेमा आशावादी देखिएका छन् ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप