बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल

शुक्रबार, १९ वैशाख २०८२, ०९ : २९
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । नेपाल बास्केटबल संघ (नेबा)को आयोजनामा सञ्चालन हुने हिमालयन जाभा बास्केटबल लिगको उद्घाटन खेल कीर्तिपुर र सामाखुसी युथ क्लबबिच हुने भएको छ । प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो दिन नै हाउण्ड्स एकेडेमी र रोएल्सबिच अर्को खेल हुनेछ । प्रतियोगिताको दोस्रो दिन आइतबार टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट इन्टरनेसनल कलेज आपसमा भिड्ने आयोजकले जनाएको छ ।

हिमालयन जाभासँगको सहकार्यमा हुने उक्त प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । सुरुमा शनिवार र आइतबारमात्रै खेल गर्ने तयारी रहे पनि वर्षाको मौसम र लामो समय लाग्ने भएकोले थप दुई दिन मंगलबार र बुधबार पनि खेल सञ्चालन गर्न लागिएको जानकारी आयोजक संघका अध्यक्ष भिमसिंह गुरुङले दिए ।

६ सातासम्म चल्ने लिगमा पाँच साता लिग चरणका खेलहरु हुनेछन् । हरेक साता ६ खेल हुनेछ भने हरेक साता एक टोलीले दुई–दुई खेल खेल्नेछन् । पहिलो साता मंगलबार हाउण्ड्स र टाइम्स तथा रोएल्स र गोल्डेनगेटबिच खेल हुनेछ भने बुधबार सामाखुसी र कीर्तिपुरबिच प्रतिस्पर्धा हुनेछ ।

दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो १६ः०० बजे र दोस्रो खेल बेलुका १९ः०० बजे सुरु हुनेछ । एक खेल हुने दिन साँझ १९ः०० बजे खेल सुरु हुनेछ । लिगका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद हातमा रहेको आउटडोर कोर्टमा खेलाउने तयारी छ ।

प्रतियोगितामा टाइम्स क्लब, हाउण्ड्स एकेडेमी, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुसी युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविन प्रणालीका आधारमा हुने लिगमा ३० खेल हुनेछ । त्यसपछि शीर्ष दुईमा रहने टोलीबिच फाइनल खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप