म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण

बैंकक । हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट पीडित नागरिकहरूको सहयोगार्थ शेष घले समर्थित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, थाइल्याण्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ।
संघले म्यानमारमा पीडित बनेका समुदायका लागि थाई भाट ५३ हजार ८५४ (म्यान्मारी मुद्रा ७,१००,६४२ च्याट) बराबरको राहत सहयोग संकलन गरी
हस्तान्तरण गरेको हो । संंघले समन्वय र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका विकी पोखरेल ज्यू र हिमालयन पौडेल (कालु) तथा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ, माण्डले शाखाका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूलाई विशेष धन्यवाद दिएको छ ।
संघका संयोजक सञ्जय ढकालका अनुसार, 'यो सहयोग अभियान थाइल्याण्डमा रहेका नेपाली समुदायको ऐक्यबद्धता र मानवीय भावनाको प्रतिविम्ब हो।' उनले सहयोगमा संलग्न सबैलाई धन्यवाद दिँदै भने, 'संकटको समयमा देखाइएको तपाईंहरूको उदारता अत्यन्तै सराहनीय छ।'
राहत संकलनमा एनआरएनए थाइल्याण्डका सदस्यहरू, सामाजिक अभियन्ताहरू, तथा आम नेपाली नागरिकहरूको उल्लेखनीय साथ रहेको जनाइएको छ। सहयोग संकलन अभियान वैशाख १ सम्म सञ्चालन गरिएको थियो भने हस्तान्तरण बिहीबार गरिएको हो । भूकम्प पीडितलाई एनआरएनए थाइल्याण्डका ३२ जनाले सहयोग गरेका थिए ।