एमाले मोरङ : कार्यकर्ताबाटै कज्याइए पर्शुराम

विराटनगर । नेताको आशीर्वाद पाएर कार्यकर्तामाथि नै रजगज गरिरहेका मोरङका एमाले नेताहरूलाई निर्वाचनको विधिबाट कार्यकर्ताले नै कन्ट्रोल गरेका छन् । जसको उदाहरण गत फागुन १७ गते मोरङको दशौँ अधिवेशनको निर्वाचन र भर्खरै सम्पन्न भएको विराटनगर महानगरपालिकाको दोस्रो अधिवेशनको निर्वाचन हो ।
यी दुवै अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन पक्ष)ले नचाहेको नेतृत्व निर्वाचित भए । जिल्लाको अधिवेशनबाट अध्यक्षसहित सिङ्गो पदाधिकारी संस्थापनको विपक्षमा रहेको समूहले जित्यो । त्यो जितलाई संस्थापन समूह र सो समूहका योजनाकारसमेत रहेका विराटनगरका चर्चित ‘डन’ पर्शुराम बस्नेत लगायतलाई चित्त बुझेको थिएन ।
सोही समूहले विराटनगर महानगरपालिकाको अधिवेशनमा अर्को समूहलाई कुनै हालतमा अगाडि आउन नदिने र जिल्लाको अधिवेशनबाट देशभर गएको संस्थापन पक्षको विरुद्धको सन्देशलाई चिर्ने अवसरको रुपमा प्रयोग गर्न चाहन्थ्यो । बस्नेतको योजनामा साथ दिएका नेता केन्द्रीय सदस्य जीवन घिमिरे मुखरर देखिए पनि भित्री रूपमा संस्थापन समूहका ठुला नेताहरू नै संलग्न थिए । जसमा उपाध्यक्ष गुरु बराल, स्थायी समिति सदस्य भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडासम्म थिए ।
तत्कालीन नेकपा विभाजित भएपछिको एमालेको नवौँ जिल्ला अधिवेशनमा पार्टी सङ्कटमा भएको भन्दै सबै पालिका र जिल्लाहरूमा सहमतिबाटै नेतृत्व चयन भए । त्यसक्रममा विनाप्रतिस्पर्धा नेताको आशीर्वाद पाउनेहरू एकैपटक माथिल्लो पदमा फट्को मारे । जसमा पर्शुराम बस्नेतहरूको समूह नै थियो । त्यही समूहले आर्थिक, भौतिक अन्य हिसाबले एमालेभित्र दबाब र प्रभाव बढाउँदै लगेको थियो । उनको दबाब कतिसम्म थियो भने कुनै बेला उनलाई नै संरक्षण गरेका एमाले नेता विनोद ढकाललाई मञ्चमा बोल्न दिने या नदिने विषयमा समेत बस्नेतले निर्णय गर्ने थाले ।
त्यसको ज्वलन्त उदाहरण विराटनगर अधिवेशन उदघाटनको क्रममा पनि देखियो, जहाँ नेता ढकाललाई बस्नेतले अवैधानिक नेता भनेका थिए । त्यसक्रममा ढकालले आफूलाई अवैधानिक भन्ने तपाईं को हो भनेर प्रतिवाद गरेका थिए । दुई पक्षको भनाभन तीव्र बनेको थियो । अधिवेशनस्थलमा आफ्नो दबाब र प्रभाव देखाउनकै लागि बस्नेतले उदघाटन समारोहमा बाउन्सर समेत राखेका थिए ।
उद्घाटन सत्र सकिएपछि बाउन्सर राखेको विषयमा चर्को विवाद भएको थियो । बस्नेतले ढकाललाई अपमान गरेको र पार्टीका कार्यकर्तालाई स्वयंसेवक राख्नुको सट्टा क्यासिनोका बाउन्सरहरू राखिएको भन्दै उनीहरूलाई हटाएपछि मात्रै बन्द सत्र सुरु गर्नुपर्ने भनेपछि बस्नेतपक्ष पछि हट्यो । एमाले महानगरको अधिवेशनका क्रममा कतिपयले ‘गुण्डागर्दी मुर्दावाद’को नारा पनि लगाएका थिए ।
त्यसका बाबजुद नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा संस्थापत इतर समूहबाट विराटनगर अध्यक्षमा बलराम गिरीको प्यानल नै निर्वाचित भयो । गिरीले १७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत ल्याए । गिरीकै प्यानलबाट उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान चापागाईं, उपसचिवमा हमिद आजादले १७८, महिला उपसचिवमा हिमा मैनाली पोखरेल निर्वाचित भए ।
पर्शुरामकै योजनामा संस्थापन पक्षका नेताहरू मोहरा बनिदिँदा झण्डै एक वर्ष अगाडि भएको विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनको विवाद उत्कर्षमा पुग्यो । सोही विवादका कारण नेकपा एमाले विराटनगर महागनर कमिटीका तत्कालीन अध्यक्ष सागर थापालाई हटाइयो र त्यस ठाउँमा बस्नेतका असली कार्यकर्ता रोहित कोइरालालाई संयोजक तोकियो ।
संस्थापन पक्षबाट प्रदेश सदस्य बनेका बस्नेत त्यसअघि नै महानगरको इन्चार्ज बनेका थिए । थापा भने एमाले मोरङको दशौँ अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भए । कार्यकर्ताले नै उनलाई जिताइदिए ।
महानगरका पूर्वअध्यक्ष थापालाई मानगढ खानेपानीको निर्वाचनमा गुटबन्दी गरेको आरोप लगाउँदै निलम्बन गरिएको थियो । कांग्रेस निकट नेपाल विद्यार्थी संघको राजनीतिबाट एमालेमा प्रवेश गरेका कोइराला पत्रकार खिलनाथ ढकालमाथि भएको आक्रमणको घटनामा जेलसमेत परेका थिए ।
पार्टीको विधि र विधान मिच्दै तल्ला कमिटीहरूमा अनावश्यक हस्तक्षेप गर्ने र लामो समय पार्टीमा योगदान गरेकाहरूलाई जबरजस्ती पार्टीबाट विस्थापित गरी गुटलाई बलियो बनाउने काम भएको इतर समूहको आरोप थियो । पर्शुरामको रगजग बढ्दै जाँदा सुरक्षा संयन्त्रलाई पनि २०६६–६७ सालतिर गुण्डागर्दी बढेजस्तै पुनः गुण्डागर्दी बढ्नसक्ने चिन्ता थियो । स्मरण रहोस्, २०६८ सालमा पत्रकार खिलनाथ ढकालमाथि कुटपिट र आक्रमण भयो । पत्रकारमाथि भएको आक्रमणपछि मोरङको प्रहरी प्रमुख भएर आएका तत्कालीन एसपी प्रधुम्न कार्कीले यहाँको गुण्डागर्दी एक हिसाबले अन्त्य गरेका थिए ।
अहिले एमाले राजनीतिको आडमा पुनः बस्नेतको एकलौटी रजगज बढिरहेकै बेला अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा जेलमा रहेका अभिषेक गिरीले पनि कांग्रेसको आडमा दबदबा बढाउँदै लगेका छन् । जसले सुरक्षा चिन्ता झनै बढाएको थियो । गिरी पनि विराटनगरका चर्चित ‘डन’ हुन् । गिरी र बस्नेतबिच कटुता रहेको र दुवै शक्तिशाली हुँदा जुनसुकै बेला विराटनगरमा ठुलो अपराधिक घटना हुनसक्ने सुरक्षा स्रोत दाबी गर्छ ।
त्यस्तै पात्रलाई एमाले र कांग्रेसका केही नेताले संरक्षण गरिँदा सुरक्षा क्षेत्रमा चुनौति पनि बढेको स्रोत दाबी गर्छ । एमालेबाट संरक्षण पाएका बस्नेतलाई भने एक हदसम्म कार्यकर्ताले ‘कज्याएका’ छन् । निर्वाचनको विधिबाट बस्नेतको इतर समूहबाटै जिल्ला र महानगर समितिमा नेतृत्व आएपछि बस्नेतले गर्ने पार्टीभित्रको रजगज पनि कम हुने आकलन सुरक्षा संयन्त्रको छ ।
बस्नेतको कनेक्सन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेको बताइन्छ । उनलाई अहिले पनि ओलीले पनि सहज पहुँच दिन्छन् । कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवसमेत रहेका बस्नेत त्यही कारण पनि एमाले मोरङको मात्रै होइन प्रदेशकै राजनीतिमा हाबी हुँदै गएका थिए ।
नेताहरूको बन्दोबस्ती र व्यवस्थापनको प्रबन्ध गरिदिने भएकाले उनीसँग नेतृत्वमा रहेकाहरू नतमस्तक छन् । एमालेका नेता भानुभक्त ढकाल, प्रदेश अध्यक्ष घनश्याम खतिवडादेखि जिल्ला इञ्चार्ज जीवन घिमिरेसमेतलाई प्रयोग गरेर बस्नेतले आफ्नो अनुकूल निर्णय गराइरहेका थिए ।
पर्शुराम बस्नेत महानगर कब्जा गरेर ०८४ सालको निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने तयारी थिए । ‘तर, उनको त्यो योजनामा मोरङ जिल्ला अधिवेशन र विराटनगर महानगरको अधिवेशनले ब्रेक लगाइदिएको छ,’ एक एमाले नेता भन्छन्, ‘सहमतिले विना रोकटोक आशीर्वाद पाएर नेता बनेकाहरूलाई यस पटक कार्यकर्ताले नै कज्याइदिएका छन् ।’