रेड स्क्वायर र क्रेमलिन वरिपरि
बिहान बिउँझदा मस्को सहरको कुना–कुनासम्मै घाम र हिउँ हर्षातिरेक हाउभाउमा आलिङ्गनबद्ध थिए । हिममय जमिनमा शीतोपचारका लागि ओर्लेको श्लील सूर्यको अनुपम र प्रहृष्ट अनुहारमा हिउँकै चमक टाँसिएझैँं लागिरहेथ्यो । साढे दुई घण्टा मात्र सुते पनि मेरो शरीर चङ्गा बनिसकेको थियो ।
फोनको घण्टी बज्यो । नेपाली दूतावास मस्कोका स्थानीय कर्मचारी गेन्नादी उपस्थित भएका रहेछन्, हामी बसेको घरको मूलढोकामा । ‘मभित्र आउन सक्छु’ भन्ने गेन्नादीको आवाज सुनेपछि जीवनजीले ढोका खोल्ने स्विच दबाइदिनुभयो । धेरै युरोपेली मुलुकमा झैँ रूसमा पनि मूलढोकामा रहेको टेलिफोनबाट आफूले प्रवेश चाहेको व्यक्तिलाई फोन गर्दा सम्बद्ध एपार्टमेन्टबाट स्विच थिचेपछि मात्र ढोका खुल्ने व्यवस्था मिलाइएको हुन्छ ।
प्रायः सबै रसियाली झैँ गेन्नादी आल्याइदिनोभ पनि अग्लो, मोटो, हृष्टपुष्ट र बलिष्ठ कद लिएर उभिनुभयो । उहाँको अनुहार र शरीरले तात्कालिक सोभियत सङ्घका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचोभको झल्को दिन्थ्यो । ‘दोक्रेउत्रा’ (शुभ प्रभात) जोसिलो पारामा प्रभातकालीन अभिवादन छरियो, हामी सबैको माझमा । अभिवादनको साटासाट भयो ।
‘रात कस्तो रह्यो ?’ मलाई सोध्नुभयो ।
मस्कोजस्तै शीतल, आनन्ददायक र मनोरम— मेरो जवाफ थियो ।

‘स्पासिवा’ (धन्यवाद) ।
‘तपाईं त मिखाइल गोर्भाचोभजस्तो देखिनुहुन्छ नि ?’ कुराको लहरी तान्न खोजेँ मैले । एक्कासि रिसाउनुभयो गेन्नादी । मलाई त्यस्तो खराब मान्छेसँग तुलना नगर्नुहोस् बुझ्नुभयो । त्यो मान्छे राष्ट्रघाती हो । जनमत नै नलिई साम्यवादी व्यवस्थालाई धराशायी बनाइदियो उसले । एउटै सोभियत सङ्घ कजाकस्तान, किर्गिस्तान, उज्वेकिस्तान, तुर्किमिनिस्तानजस्ता टुक्रा–टुक्रामा परिणत भएको हेरिरहनुपरेको छ अहिले । हाम्रो रोजगारी र रुवल सबै गिरायो उसले । गेन्नादी एकाएक भावुक हुनुभयो ।
उहाँको भावुकताभित्र रसियामा साम्यवादी शासन रहँदा जनतामा रहेको गाँस, बास, कपासको निर्धक्कता र पछि त्यो गुमेको आक्रोश मिसिन पुगेको थियो । ‘प्रिय मित्र गेन्नादीजी ! यो सबै समयले छाडेको छाप हो । आखिर हामी सबै समयका रेखाहरू त हौँ नि । समयले जस्तो कोर्यो त्यस्तै कोरिनुपर्ने ।’ मैले मनमनै भनेँ ।
‘माफ गर्नुहोस्, गेन्नादी, मैले प्रसङ्ग र हाँसोका लागि मात्र त्यसो भनेको हुँ,’ मैले गेन्नादीलाई फकाएँ ।
‘होइन महोदय ! म तपाईंसँग रिसाएको होइन, केवल हाम्रा पीडाहरू मात्र पोखेको हुँ,’ गेन्नादीको जवाफ थियो । देशमा राजनीतिक व्यवस्थाले रङ फेरेपछि जनताको जीवनलीलामा कत्रो आकाश–जमिनको अन्तर आउँछ हगि ! मेरो मनका केस्राहरूमा भुइँचालो आयो एकाएक ।
अहिले त राजा नै मन्त्रिपरिषद्को अध्यक्ष हो, तपाईंको घनिष्ठ सम्बन्ध नै रहेछ, बजेट माग्न के अप्ठेरो ! तर दूतावासले व्यक्तिको भन्दा समग्र देशकै साहित्य, कला एवं संस्कृति र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने होइन र ? मैले उहाँको अहंभावमाथि व्यङ्ग्य गरेँ ।
हामी कुडुजोप्स्कीबाट नेपाली राजदूतावास रहेको स्थल सेकन्ड नियो पालिमोभ्स्कीतर्फ लाग्यौैँ । घरहरू मात्र होइन, सडकहरू पनि अत्यन्त फराकिला र सुन्दर रूपमा सजिएका थिए । फराकिला सडकलाई रसियाली भाषामा बुल्वार भनिन्छ ।

नेपाली दूतावास परिसरको ढोकैमा रहेको सुरक्षा गार्डले मजासँग सलाम ठोके हामीलाई । बाक्लो भुवादार टोपी, घुर्मैलो ध्वाँसे रङको ऊनी कपडा पहिरेका ती सुरक्षाकर्मी निकै फुर्तिला थिए । जतासुकै हिउँको तहतह जमेको थियो । सूर्यको चुम्बनले पग्लँदै थियो हिउँ । दूतावासको आँगनमा राखिएको एउटा गाडी त छतसम्मै हिउँले पुरिएको थियो । दूतावासभित्र पस्नेबित्तिकै रसियाली र नेपाली कर्मचारीसँग अभिवादन र चिनाजानीको साटासाट गरियो । राजदूत हिरण्यलाल श्रेष्ठसँग रसियाली जनजीवन र नेपाल–रुस सम्बन्धबारे सङ्क्षेपमा छलफल पनि भयो । साहित्यकारलाई पूजा गरिने देश हो यो । रुसको उज्यालोका लागि यहाँका साहित्यकारको ठुलो योगदान रहेको छ । साहित्यकारहरूले रूस भ्रमण गर्नु निश्चय नै प्रतिफलमुखी कार्य हो । राजदूत मलाई हौस्याउँदै हुनुहुन्थ्यो, धाराप्रवाह रूपमा । नेपाली कला, संस्कृति रूसमा फैलाउन धेरै काम गर्ने थिएँ, बजेटकै कमी भएर पो त ! यहाँ आएपछि महाराजाधिराज (राजा ज्ञानेन्द्र)को जीवनी रसियाली भाषामा अनुवाद गर्न लगाइसकेँ, राजाले रचेका गीतहरू रसियाली भाषामा प्रकाशित गराउँदै छु, सरकारले बजेट दिएन भने सीधै राजालाई कुरा गर्छु र ती काम गराउँछु । उहाँ पटकपटक आफू राजा र दरबारको नजिक रहेको दम्भ छर्दै हुनुहुन्थ्यो ।
अहिले त राजा नै मन्त्रिपरिषद्को अध्यक्ष हो, तपाईंको घनिष्ठ सम्बन्ध नै रहेछ, बजेट माग्न के अप्ठेरो ! तर दूतावासले व्यक्तिको भन्दा समग्र देशकै साहित्य, कला एवं संस्कृति र विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने होइन र ? मैले उहाँको अहंभावमाथि व्यङ्ग्य गरेँ । ‘हजुरलाई जे जति बजेट चाहिन्छ म पठाइदिन्छु, चिन्तै मान्नुपर्दैन ।’ जनार्दनजीले सबै राजदूतहरूको अगाडि बोल्ने तयारी वाक्य दोहोर्याउनुभयो, मानौँ उहाँले चाहेपछि जति पनि बजेट जुनसुकै दूतावासलाई सजिलैसित बाँड्न सकिन्छ । राजदूतले आफ्ना कर्मचारीलाई बोलाउनुभयो र भन्नुभयो, ‘तुरुन्त बजेट माग गर्नुहोस्, नत्र म तपाईंलाई कारबाही गर्न पछि पर्दिनँ ।’ एकजना कर्मचारीले खुसुक्क मेरो कानमा भन्नुभयो, ‘जो पायो त्यही मान्छेलाई कूटनीतिज्ञ बनाएपछि मान्छे यस्तो निरङ्कुश र अविवेकी बन्दो रहेछ ।’
अपराह्न मस्को यात्राका लागि हाम्रा पाइला अघि बढे । दूतावासका स्थानीय कर्मचारी गेन्नादी र विगत ६ वर्षदेखि रुस बस्दै आउनुभएका सचिन वज्राचार्य हाम्रा पथ–प्रदर्शकको रूपमा खटिनुभयो ।
जुबोभ्स्की बुल्वार हँुदै हामी अघि बढ्यौँ । रसियाली भाषाबाट नेपालीभाषामा अनुदित पुस्तकहरूमा जुवोस्की बुल्वारको नाम धेरै पढेको थिएँ । हाम्रो आँखामा रसियाली चर्च उदाउँछ । चर्चका चुचुराहरूमा सुनको लेप गरिएको कौशल मनोरम र हेर्न लायक छ ।
मस्को सहर साँच्चै सुरम्य र सालीन लाग्छ सबैलाई । हिउँमा गुलाफको रङ मिसिएझैँ लाग्छ मान्छेको मुहारमा । मान्छेहरू चराजस्ता लाग्छन् र फूलझैँ कोमल पनि । सहरका हरेक घर र गिर्जाघरहरू सम्पन्नताका नमुना बनेर सजिइरहेका । ‘कहिले छरिएला यस्तो सुन्दरता हाम्रा सहरमा । यो कृत्रिम सौन्दर्यलाई चोरेर भए पनि आफ्नो देशमा पुर्याउन पाए हाम्रो प्राकृतिक पुञ्जमा कस्तो उदेकलाग्दो झरक पैदा हुँदो हो ?’ म मनमनै पुलकित बनेँ ।
लेनिन स्टेडियमनजिकै मस्को नदी देख्दा मेरो मनमा ढकमक्क फूलहरू फक्रन थाले । संसारभरकै सबै नीर खन्याएर बगाएजस्तो नीलो छ मस्को नदी । दायाँबायाँ हिउँका ढिस्का पुण्यशिलाझैँ प्वाँख फिजाएर बसिरहेका देखिए । हिउँको बिचबिचमा रुखहरू ठिङ्ग उभिइरहेका छन् । उनीहरूका पात धेरै पर पुगिसकेका छन्, हिममय हुँदै । तैपनि रुखहरू खुसी मान्छन्, हिमचहकको मादकतामा र सबै हिउँ पिइसकेर हिममय संसारलाई हरितभूमिमा परिवर्तित गर्ने विश्वासमा । ती रुखहरूमा देखिन्छ हाम्रो जिन्दगी । पीडा र कठिनाइ पिउन सक्नेहरू नै इन्द्रेनी रङलाई आत्मसात् गर्न सक्छन् ।
एउटा छेउमा स्की खेलको ओलम्पिक प्रतिस्पर्धा हुने स्थान सजिएर रहेको छ, लेनिन स्टेडियमनजिकै । उपलब्ध प्राकृतिक परिवेशमा लडिबुडी खेल्न जान्यो भने मात्र मान्छेको जीवन मनोविनोदपूर्ण र सार्थक भई सजिन सक्छ । मेरो मानसपटलमा कतार, युनाइटेड अरब इमिरेट्स र साउदी अरेबियाका मरुभूमिमा गाडी नै छोपिने गरी बालुवा उडाउँदै गाडी दौडाई प्रतियोगितामा जुटिरहेका समूहहरू एकाएक उभिएर त्यही मस्कोको हिममय मैदानमा स्की खेलिरहेका लहरहरूमा जोडिन पुग्यो । कहाँ मरुभूमिको ५० डिग्री सेन्टिग्रेट तापक्रम कहाँ मस्कोको माइनस ३५ डिग्री तापक्रम । आखिर मान्छे हो, जहाँ पनि बाँचेको छ, बाँच्छ र खेलेको छ, खेल्छ ।
हाम्रो यात्रामा साथ दिइरहनुभएका गेन्नादी आल्याउदिनोभ हामीलाई सकेसम्म बढी रुससँग परिचित गराउन चाहनुहुन्थ्यो । ‘महान रुसी साहित्यकार लियो टोल्स्टोयको गाउँ कति टाढा छ ?’ मैले उहाँसँग सोधेँ ।
हामी भरभियोभिगोरी भन्ने स्थानमा पुग्दा घाम पूरै नाङ्गिइसकेको थियो । नाङ्गो घामसँग नाङ्गो हिमसंसार आलिङ्गनबद्ध थियो । त्यस ठाउँलाई पानोरोमिक स्क्वायर पनि भन्छन् । मस्को सहरभन्दा अलि बढी उचाइमा रहेकाले आँखाहरू धेरै दृश्यहरू कैद गर्न सफल हुन्छन् त्यहाँबाट । भरभियोभिगोरी सहरभन्दा बाहिर भएकाले अलि बढी नै चिसो पनि हुने । गोलो आकारको रङ्गशाला सुन्दर, शान्त र विशाल छ । मस्को सहरका अधिकांश घरहरू उच्च कलामा उभिइरहेका । बिचबिचमा जङ्गल, जङ्गलको बिचमा हिमसागर र हिमशिलामा पखेटा जुधाउँदै मस्त मातिइरहेका चराहरू । मलाई पनि हिममानवको रूप धारण गरेर तिनै चराहरूसँगै मस्तसँग मोहनी लगाई खेल्न मन लाग्यो । विश्वभरका कुनाकुनाबाट पुगेका षोडशीहरूको प्रियदर्शनले स्वर्ग भनेकै त्यही हो भन्ने अड्कल काट्न पनि बेर लाग्दैन । जङ्गल, पार्क, नदी, हिमपातको अलौकिक आलोक र उमङ्गयुक्त मन बोकेका मान्छेहरूको उपस्थिति, साँच्चै स्वर्ग नभए स्वर्गभन्दा अझ उच्च सौन्दर्यपूर्ण सँगालो हो त्यो स्थान । ती जङ्गलमा ढकमक्क चेरी र अरु फूल फक्रँदा कस्तो सङ्गीत पलाउँदो हो ग्रीष्म र शरद्मा । जोसुकै मान्छे पनि जातिर मल्खु उतैतिर ढल्खु बनेर त्यस सौन्दर्यको प्रशंसा नगर्ने मान्छे अविवेकी वा असामान्य नै ठहर्छ ।
हावाजस्तै हलुका र जूनजस्तै शीतल मन सजाउँदै हाम्रा पाइलाहरू केही अघिल्तिर पर्ने स्टेट गभर्नमेन्ट युनिभर्सिटीको प्राङ्गणमा पुगिसकेका थिए । मिखाइल भासिलेभिच लोभोनेसो (सन् १७११–१७६५)ले सन् १७५५ मा स्थापना गरेको त्यस विश्वविद्यालयले आफ्नो स्थापनाको २५१औँ वर्षगाँठ मनाइसकेको छ । रुसकै सबैभन्दा ठुलो र सबैभन्दा पुरानो भएकाले पनि त्यस विश्वविद्यालयको महत्त्व उच्च किसिमको रहेको पाइन्छ । लाखौँ विद्यार्थी आफ्नो ऊर्जाशील जिन्दगीका क्षणमा त्यहीँ विश्वविद्यालयबाटै तेल थपिरहेको याद गर्दै विश्वका कुनाकुनामा उमङ्गयुक्त बनिरहेको होलान् यतिखेर ।
विश्वविद्यालयका भवनहरू यति धेरै छन् कि त्यहाँ रहेका हरेक कोठाहरूमा दुई–दुई मिनेट खर्चने हो भने पूरै भवन चहार्न दुई वर्ष लाग्छ भन्ने भनाइ छ । विश्वविद्यालय परिसरका ठाउँठाउँमा विभिन्न समयमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने महान् प्राध्यापकका सालिक राखिएका छन् । त्यस्ता स्मारकलाई हिउँबाट जोगाउन हिउँदभर ढाकेर राख्ने प्रचलन छ त्यहाँ । विद्यार्थी युवा र युवतीको मेला लागेझैँ भइरहेथ्यो त्यतिवेला । युवा र युवतीहरू आ–आफ्ना जोडीका साथमा विद्युत्का लम्फा र सालिकको आड लाग्दै चुम्बनसँगै माया साटिरहेका दृश्य पनि बग्रेल्ती देखिने । मान्छेलाई निर्धक्कसित मायाको साटासाट गर्न केही छेकारोको पनि आवश्यकता पर्छ नै । सबैतिर खुला भयो भने अरुले देखे पनि आफूले नदेखेको अभिनय गर्नुबाहेक अरु केही उपाय नहुन सक्छ । हिउँले सबैतिर रुखहरू नाङ्गिएपछि, वन, बुट्यान र घाँसे झाडीहरू नभएपछि अरु उपाय के हुनु ? जमिन पूर्ण हिममय भएपछि बसेर माया र मन साट्न पनि गाह्रो पर्ने ।
त्यसैले विद्यालय, विश्वविद्यालयका प्राङ्गण मात्र होइन सहरका मोडमोडमा पनि जोडीहरू उठीउठी चुम्बनका साथमा माया मिसाइरहेका दृश्यहरू हेर्न धेरै कुरिरहनुपर्दैन मस्कोमा । कतैकतै त अलि अश्लील लाग्ने दृश्यहरू पनि अनायास उभिन्छन् । बस बिसौनीहरूमा चुरोटको सर्को तान्दै धुवाँ उडाइरहेका युवतीहरू देख्दा फूलका थुङ्गाहरूबाट धुवाँ फुसफुसाइरहेझैँ लाग्छ ।
हाम्रो यात्रामा साथ दिइरहनुभएका गेन्नादी आल्याउदिनोभ हामीलाई सकेसम्म बढी रुससँग परिचित गराउन चाहनुहुन्थ्यो । ‘महान रुसी साहित्यकार लियो टोल्स्टोयको गाउँ कति टाढा छ ?’ मैले उहाँसँग सोधेँ ।
एक सय असी किलोमिटर त हो नि । गेन्नादीले बताउनुभयो । ‘तपाईं त्यहीँ जाने भन्नुहोला है दामोनोभ सर ! साहित्यकार भन्ने त सुन्नै नहुने ।’ जनार्दनजीले पहिले नै बार हाल्नुभयो ।
चिन्ता नमान्नुहोस् जुम्रानोभजी ! म तपाईंहरूलाई नलिई एक्लै जाउँला टोल्स्टोयको गाउँ कुतुजोभ्स्की प्रोस्पेक्तमा, कि कसो कोर्निकोभजी ? हामी त साहित्यकारको गाउँ जानुभन्दा ओछ्यान लगाएर सुत्छौँ बरु । कर्णजी बोल्नुभयो । मस्को पुगेपछि हामी चारैजनाले एक अर्कालाई रसियाली शैलीमा न्वारान गरेका थियौँ ।
समय धेरै बाकी छैन, पार्क पावेदी (विजय पार्क)तिर जाउँ हुन्न ? सचिनजीको प्रश्न ।
‘समय खेर फाल्नुभएन, जाउँ उतै,’ मैले भनेँ । सबैजनाको उतैतिर लर्को ।
फासिस्टहरूलाई युद्धमा हराइसकेपछि सहिदको सम्झनामा विजयको प्रतीकस्वरूप बनाइएको सो पार्क सुन्दर, सफा र फराकिलो छ । पार्कको बिचमा अग्लो स्तम्भले रसियाली विजयको उच्च धरोहरको काम गरिरहेछ । स्तम्भमा असङ्ख्य वीर योद्धाहरूको सालिक टाँसिएको छ । बिगुल बजाउँदै, विजयको चमक समाउँदै आकाशमा उड्न खोज्दै छन् केही मान्छेका प्रतिमूर्तिहरू । स्तम्भसँगै एउटा विशाल घोडचढी योद्धाले ड्रागनको घाँटी छिनालिरहेको देखिन्छ । निश्चय नै विजयपार्क शोषण, अन्याय र अत्याचारलाई जितेर योद्धाहरू विजयतिर उन्मुख भइरहेको विकसित रुसको झल्को देखाउन सफल छ । पार्कको दक्षिणतिर गगनचुम्बी महलहरूको लहर र उत्तरतिर टम्म दाँतको लहरजस्तो मिलेको सहर देख्दा मस्कोको महत्त्व छर्लङ्ग हुन्छ ।
सचिनजी र म स्तम्भनजिक पुग्यौँ । केही तस्बिर खिच्यौँ । अरु साथीहरू जाडोले आत्तिएर गाडीबाट निस्कनुभएन ।
‘अब रेडस्क्वायरतिर लागौँ है,’ गाडीमा चढेपछि मैले भनेँ ।
रेड स्क्वायरभन्दा पान खोज्न जाऔँ बरु । जनार्दनजीले आफूलाई पानको सक्कली अम्मली साबित गर्न खोज्नुभयो ।
यहाँ पान किन्न पाइँदैन । सचिनजी बोल्नुभयो ।
‘मस्को पुगेपछि पान नखाएर केही हुँदैन तर रेड स्क्वायर नपुग्ने हो भने मस्को पुगेँ भन्नु नै व्यर्थ हुन्छ,’ मेरो भर्नालाई गेन्नादीले पनि हो मा हो मिलाउनुभयो ।

अत्यन्त सौन्दर्यशाली मस्को सहरको बिचमा रेड स्क्वायर आफ्नो ऐतिहासिक पहिचानका साथमा उभिइरहेछ । रसियाली संसद् डुमाको भवनलाई बायाँ पारेर अघि बढ्दाको रमाइलो बेग्लै लागिरहेथ्यो । नयाँ सडक (रसियालीभाषामा ‘नोवी अरवात)लाई मस्कोको मुटु पनि भन्छन् । त्यस मुटुमै आफ्नो मुटु मिलाउँदै मेरा आँखाहरू सहरका कुनाकुनामा छरिन खोजिरहेथे । रेड स्क्वायर पुग्नुअगावै रुसको राष्ट्रपतिभवन ‘क्रेमलिन’मा ठोकिए आँखाहरू । सुनौला गजुरले सजिसजाउ क्रेमलिनको सौन्दर्य अवर्णनीय नै छ । क्रेमलिन वरिपरि अग्लो र रातो पर्खालले घेरिएको छ । पर्खाल बाहिर कञ्चन नीलो रङमा नदी अविरल बहिरहेछ, रसियाली जनताको अथक परिश्रमबाट निस्केको पसिनाझैँ । दुवै किनारामा पर्खाल लगाइएकाले नदी अत्यन्त व्यवस्थित, सालीन र आफ्नै गतिमा बहिरहेछ ।
‘हेर्नुहोस्, रुसमा नदी पनि अनुशासित रूपमा बहन्छ,’ क्रेमलिन र नदीलाई पासरपट्टिबाट देखाउँदै गेन्नादी हाँस्नुभयो । नदीको किनारदेखि सडकसम्म पूरै कङ्क्रिटयुक्त तहतहको बिचमा नदी सौन्दर्यको दृश्यपान गर्दै सुस्ताउने बेन्चहरू र थुम्क्याइला फूलका बोटहरूले मनलाई त्यतै अल्झाउन खोजिरहेथे । कारबाट ओर्लेर नदी र नदी क्षेत्रको सौन्दर्य पिएँ मैले । केही बेन्चमा युवा र युवतीका जोडीहरू गुडुल्किएर मुटुको धड्कन साटिरहेथे । हिउँको भण्डारमा पनि चिसोको परवाह थिएन उनीहरूलाई । मैले मेलापात जाँदा, भारी बोक्दा र गीत गाउँदा प्रणयसूत्रमा बाँधिने हाम्रा असङ्ख्य जोडीहरूलाई सम्झेँ ।
‘ऊ देख्नुभयो गेन्नादी !’ एउटा आलिङ्गनबद्ध जोडीको पछाडिबाट तस्बिर खिच्दा मेरो आवाज निस्क्यो ।
‘यस्ता दृश्य देखेपछि मलाई मेरा आगो ओकल्ने यौवनका दिनहरूको सम्झना आउँछ,’ गेन्नादी अलिअलि भावुक हुँदै मुस्काउनुभयो ।
अघि भनेझैँ रेड स्क्वायर र क्रेमलिन वरिपरि अग्लो पर्खाल छ र पर्खालसँग सफा स्वच्छ र अनवरत बहिरहने नदी । तीन सय पचास वर्षपहिले निर्माण गरिएको त्यो पर्खाल अहिले पनि बाहिर र भित्र, उच र निचजस्ता विभेदको मूल जरो बनेर बाँचिरहेछ । नदी भने सृष्टिको सुरुवातदेखि नै बहिरहेछ, बहिरहेछ अविराम गतिमा । मलाई जहाँसुकैका होउन् पर्खाल र नदी आफैँमा मृत्यु र जीवनजस्ता लाग्छन्, ढुङ्गा र पानीजस्ता लाग्छन् र लाग्छन् अन्धकार र उज्यालोका विम्बजस्ता ।
‘समयको कालखण्डमा पर्खाल भत्क्यो । त्यसको पुनर्निर्माण गर्न चार वर्ष लाग्यो,’ गेन्नादी त्यो विशाल पर्खालको जिन्दगीका उतारचढाव प्रस्तुत गर्दै हुनुहुन्थ्यो । समयसँग हातेमालो गर्न सकेनन् भने जस्तोसुकै बलियो र भयानक पर्खाल पनि गर्ल्यामगुर्लुम ढल्छ— मैले जर्मनीको ढलेको पर्खालको अवशेष सम्झेँ ।
रेड स्क्वायर र क्रेमलिन एकै ठाउँमा लहर लागेर बसेका छन् । कलाले ढकमक्क ढाकिएको पुराना दरबारहरू, फराकिला चोक, इतिहासका फरक–फरक छाप समेटिएको सङ्ग्रहालय, विभिन्न वीर–वीराङ्गनाका सालिकहरू र तिनको दर्शनार्थ उपस्थित संसारभरिका मान्छेहरूले गर्दा त्यस क्षेत्रमा मेला लागेजस्तो भइरहन्छ प्रायः सधैँभरि । त्यहाँ रुसको अतीत सजीव भएर बाँचेको छ, वर्तमान सलबलाउँदै बहिरहेछ ।
गेन्नादी र सचिन भाइका रेड स्क्वायरको नामकरणसम्बन्धी आ–आफ्ना कथानक उभिए तत्कालै । करिब आठ सय वर्षपहिले सरकारविरोधी वा अपराधीलाई त्यसै क्षेत्रमा रेटेर मार्ने र त्यस्तो सङ्ख्या दिनहुँ असङ्ख्य हुने हुनाले सधैँ रगतको कुण्ड नै जम्ने भएकाले ‘रेड स्क्वायर’ भन्ने नाम दिइएको गेन्नादीको तर्क ।

‘त्यस क्षेत्रमा धेरै दरबारहरू थिए । एकपटक भीषण आगलागी भयो । धेरै दिनसम्म आगोका राता ज्वाला टाढाटाढासम्म देखिइरहेकाले रेड स्क्वायर नाम दिइयो,’ सचिन वज्राचार्यको भनाइ । गेन्नादीले एउटा गोलाकार पर्खाल र पर्खालबिच तीन गोलाकार ढुङ्गा देखाउनुभयो र मान्छेलाई काटेर मृत्युदण्ड दिइने स्थान यही हो भन्ने ठोकुवा गर्नुभयो । रेड स्क्वायरसम्बन्धी उहाँको तर्क बढी भरपर्दो र प्रमाणयुक्त लाग्यो ।
रेडस्क्वायर र क्रेमलिनलाई अलि मजासँग भोलिपल्ट हेर्ने सहमति बनायौँ आपसमा । महान् राजनीतिज्ञ लेनिनको सुरक्षित शव हेर्ने मेरो भित्री इच्छा पनि एक रातका लागि थाती रह्यो ।
साँझको ६ः१७ भइसक्दा पनि सूर्य मध्याह्नको झैँ चम्किरहेथ्यो । घाम, हिउँ र प्राचीन सांस्कृतिक सम्पदाहरूको त्रिवेणीको उपस्थितिमा आफूलाई मिसाउँदा आफैँ कताकता मनोविनोदपूर्ण ढङ्गले हराइन्थ्यो । हामी फक्र्यौं ‘ख्राम ख्रिस्ता स्पासी चेल्या’ नामको मस्कोकै सबैभन्दा ठुलो र महŒवपूर्ण चर्चमा आँखा बिछ्याउँदै । एक हुल रसियाली युवतीहरू हातमा रङ्गीचङ्गी फूलका गुच्छाहरू बोकेर हिँडिरहेका भेटिए क्रेमलिन नजिकै पुस्किनघर अगाडि । चम्किला आँखा भएका, अग्ला, गोरा र वयस्क बछेडाजस्ता फूर्तिला ती युवतीका अनुहारभरि तिनै फूलको रङ सरेको हो वा तिनीहरूको रङ र मादकता फूलहरूमा सरेको हो, छुट्ट्याउन गाह्रो परिरहेथ्यो मलाई । मस्को नदीबाट निस्केको इन्द्रधनुषी चमक छताछुल्ल भइरहेथ्यो तिनीहरूको हरेक हाउभाउमा । उनीहरूलाई हेर्दै पुस्किनलाई सम्झेँ । आफ्नो तीसवर्षे जीवनकालमा असङ्ख्य प्रेम, सद्भाव र सङ्घर्षका सिर्जनाहरू फैलाउन सफल पुस्किनका अमर कृतिहरूलाई सम्झेँ र शिर झुकाएँ उनीप्रति श्रद्धा व्यक्त गर्दै । तीस वर्षकै उमेरमा धेरै गहकिला रचनाहरू दिने हाम्रा मोतीराम भट्ट पनि एकाएक उदाए मेरो मानस संसारमा । मान्छेको मनको तरङ्ग पनि कति छिटै तरङ्गिन्छ विभिन्न भावभूमि र विषयहरूमा ।
पुस्किनघर नजिक पुगेपछि हाम्रो कार अलिकति मोडियो र मैत्रीकुञ्जलाई दायाँ पारेर कुडुजोप्स्की पुग्यो । सायङ्कालिक भोजका लागि कुमारजीले निम्त्याउनुभएकाले साथीहरू त्यतैतिर जानुभयो । म भने केही रसियाली मित्रहरूसँगको भेटघाट–कार्यक्रममा सरिक हुन मित्र जीवनजीको निवासभित्र छिरेँ ।
रसियालीहरू साहित्यकार र कलाकारहरूलाई औधि माया गर्छन् । स्रष्टाहरूको सम्मान र स्रष्टालाई सिर्जनाका लागि अनुकूल वातावरण बनाइदिए मात्र राष्ट्र विकासको बाटो सहज र सुगम बन्छ भन्ने उनीहरूको मान्यता छ । राजदूतसँग नेपाली साहित्यकारसँग भेटघाट गर्ने तीव्र इच्छा व्यक्त गर्नुभएको रहेछ रसियन चित्रकार एलेन रानु र साहित्यकार कल्याणीले । राजदूतले म पुगेको जानकारी गराउनुभएपछि दिवाभोजमै उहाँहरूसँग भेटघाट भएको थियो । साँझ विस्तृत छलफल गर्ने प्रस्ताव राख्नुभएको थियो उहाँहरूले ।
जीवनजीको निवासमा बेग्लै चहलपहल थियो । एक महिला र दुई पुरुष रसियालीहरू उपस्थित भइसकेका थिए । चिकित्साशास्त्रको अध्ययन सकेर रुसमै काम गरी बस्ने पोखराका कमल श्रेष्ठ र काठमाडौँकी इन्दु राणा दम्पतीसँग पनि भेटघाट र भलाकुसारी भयो । इन्दु राणासँग करिब बिस वर्षअगाडि नै पार्वतीले परिचय गराइदिएकी थिइन् सरुवा रोग अस्पताल टेकुमा । ‘तपाईं इन्दु राणा होइन ?’ भन्ने मेरो प्रश्नमा उहाँ झस्कनुभयो ।
‘हो, तर हजुरलाई मैले चिन्न सकिनँ नि !’
‘तपाईंकी सङ्गिनी पार्वती ढकाल मेरी श्रीमती हुन्,’ मैले भनेँ । उहाँले पार्वती पुडासैनी वा पार्वती ढकाल भन्ने मान्छेलाई चिन्दै नचिनेको जवाफ फर्काउनुभयो । मलाई अचम्म लाग्यो । त्यतिखेरका पार्वती र उहाँ मिल्ने सङ्गिनी आज... ! मान्छे कुरा साँच्चै बिर्सन्छ वा बिर्सेको अभिनय गर्छ ? म त उदेकमा परेँ ।
कमलजी काम विशेषले बाहिर निस्कनुभयो । नीता भाउज्यूले इन्दुजी र ती तीन रसियाली मित्रसँग मलाई साहित्यकारकारूपमा परिचित गराउनुभयो । मारिया भ्लादिमिर इभानोभिच र आनातोली पापानोभ नामका ती मित्रहरूसँग केही क्षणमै मेरो घनिष्ठता बढ्यो । हामी चिज, फलफूल, काजु र कागजी बदाम चपाउँदै तिनीहरूको स्वादभन्दा मिठा गफ गरिरहेथ्यौँ । बिचबिचमा उहाँहरू र मबिच भाषागत अप्ठेरो सिर्जना भयो भने इन्दुजी अर्थ लगाइदिने गर्नुहुन्थ्यो । नीता भाउज्यू योग र रेकी पद्धतिबाट बिरामीको उपचार समेत गर्नुहुन्थ्यो । धेरै रसियालीहरू उपचारका लागि उहाँकहाँ धाउँथे । भाउज्यू योग सिकाउनुहुन्थ्यो, प्रार्थना गर्न लगाउनुहुन्थ्यो र ध्यानविधिबाट रोगको उपचार गरिदिनुहुन्थ्यो । इभानोभिच र पापानोभ आफैँलाई सन्चो थिएन । मारियाको पति बिरामी भएको महिनौँ भएको थियो । उहाँहरूलाई एलोपेथी औषधिले नछोएपछि भाउज्यूबाट उपचार गराउँदा धेरै सन्चो भएको कुरा बताउनुभयो उहाँहरूले । रुसमा पनि ध्यान, योग र झारफुकबाट रोगको उपचार गर्ने प्रचलन अहिलेसम्म व्याप्त छ । मारिया साह्रै थसुल्ली र नौनीझैँ गोरी हुनुहुन्थ्यो ।

‘हावा, पानी र वनस्पतिमै सबै औषधि भेटिन्छ, चिन्न र प्रयोग गर्न सकियो भने कुनै पनि रासायनिक औषधिको सेवन नगरे हुन्छ,’ मारिया भन्दै हुनुहुन्थ्यो, ‘त्यसै भएर म योग सिक्दै छु’ ।
वायुका माध्यमबाट सबै उपचार गर्न सकिने उहाँको थप भनाइ थियो । ‘तपाईंले ठिक भन्नुभयो, हामी हिन्दुहरूको महान् ग्रन्थ वेदले तपार्इंका कुरा लाखौँ वर्ष पहिले बनाइसकेको छ । हाम्रो वेद भन्छ, ‘वायुमै सबै औषधि छ ।’ मेरो भनाइमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो, वेद साँच्चै वैज्ञानिक तथ्यको भण्डार रहेछ भन्ने थाहा पाएर ।
हामी त आइपुग्यौँ— एलेन रानु र कल्याणी आइपुग्नुभयो, साँझ ७ बजेतिर । एलेन रानु रुसको वर्तमान पुस्ताका सफल कलाकार हुनुहुन्छ भने कल्याणी एउटी कवयित्री र धनीमानी लगानीकर्ता । उहाँहरूसँग भेटका लागि नै म सिधै त्यहाँ पुगेको थिएँ । एलेन रानुले धेरैपटक नेपाल–भ्रमण गरिसक्नुभएको थियो । नेपालको हिमाली जनजीवन र बौद्ध संस्कारको दर्शनलाई आधार बनाएर धेरै चित्र कोर्नुभएको छ उहाँले । उहाँका केही चित्र हेरियो । चित्रमा नेपाल बोल्थ्यो, उकाली–ओराली कठिन भीर–पहरोहरूमा हाँसेर गुजारा गरिरहेको नेपालीपन बोल्थ्यो । पूर्वको तमोरदेखि म्याग्दीको तातोपानीसम्मकै जीवनगाथा बोल्थ्यो । आफ्नो सारा जिन्दगी ढुङ्गामाटोसँग लाप्पा खेल्दै, उकालोलाई होच्याउँदै र ओरालोलाई सोझ्याउँदै मान्छेका लागि गाँस, बास र कपास बोकी हिँड्ने खच्चरहरूलाई भारी बोक्न नसक्ने भएपछि भीरबाट खसालिदिने संवेदनारहित मानवीय मानसका रेखाहरू छरपस्ट थिए । म त हेरेको हेर्यै भएँ निकैबेर, एलेन रानुका चित्र ।
म तपाईंका चित्रमा हराएँ— मैले भनेँ ।
‘मलाई सधैँभरि नेपालमै हराइरहन पाए खुसी लाग्छ, नेपालमै बसिरहन पाउने हो भने दश वर्ष थपिन्छ होला मेरो आयु । हजारौँ जीवन्त चित्रहरूको सिर्जना गर्न सक्थेँ म,’ भित्रैदेखि नेपालप्रतिको गाढा माया प्रकट गर्नुभयो रानुले ।
‘साँच्चै जोमसोमसम्म मोटरबाटो पुग्यो ?’ उहाँको प्रश्न ।
‘छैन पुगेको, म्याग्दीबाट धमाधम खनिँदै छ ।’ मेरो जवाफ ।
‘लेतेसम्म पनि पुगेको छैनँ ?’
रानुलाई हामी नेपालीलाई भन्दा नेपालका कुनाकुनाका नाम र ठामको ज्ञान रहेछ । म त अचम्मित भएँ । भर्खरै नेपालमै बसिरहेझैँ पटापट नेपालका धेरै हिमाली बस्तीहरूको व्याख्या गर्नुभयो उहाँले । कलाका विविध पक्षमा कोट्याइरहेँ म कुराका क्रममा । नेपाली–साहित्यका विविध पक्ष, जिन्दगी र सम्पूर्ण ब्रह्माण्डको रहस्य खोतल्न साहित्यकारको सक्रियता, साहित्यमा स्थानीयता आदि विषयमा धेरै कुराहरू खोस्रनुभयो रानुले । स्थानीयताको छापलाई कुशलतापूर्वक उतार्न सक्ने सिर्जना नै सर्वोत्तम हुन सक्छ भन्ने मेरो भनाइलाई ल्याप्चे छाप लगाउनुभयो उहाँले ।
लहररहित समुद्र बनेर हाम्रा वार्तालापलाई प्यासी बन्दै पिइरहनुभएको थियो कल्याणी । कल्याणी अङ्ग्रेजीभाषा साह्रै कम मात्रामा बुझ्नुहुन्थ्यो । हाम्रा वार्तालापका यथार्थताहरू बिचबिचमा प्रस्ट्याउनुहुन्थ्यो एलेन रानु ।
‘तपाईंको नाम त नेपाली नामसँग मिल्दो रहेछ,’ कल्याणीलाई भनेँ मैले ।
हो र ?’ कल्याणी मुस्काउनुभयो । गम्भीर मुस्कानपूर्ण मुहारकी कल्याणी अग्ली, गोरी र सुनौलो कपालले सजिएकी सुन्दरी हुनुहुन्थ्यो । उहाँहरूले मेरा केही कविताहरू सुन्नुभयो रसियाली पृष्ठभूमिका आफ्ना कवितात्मक उद्गारहरू पोख्नुभयो । प्रकृतिको सौन्दर्य र मानवीय जीवनका रहस्यहरूमा केन्द्रित थिए उहाँका कविता । मैले नेदरल्यान्ड्सको आम्स्टर्डममा रचेको ‘गहिराइको स्वाद’ र अस्ट्रियादेखि बेलायतसम्म हवाई यात्राका क्रममा रचिएको ‘हिउँ’ शीर्षकका मेरा कविताहरू सुनाएँ । मेरा ती कविताहरू सुन्दा हिउँझैँ चहकिलो बन्नुभयो दुवैजना । आञ्चलिकता उजिल्याउन साँच्चै सफल भएछन् कविताहरू । यौनलाई श्लील रूपमा उजिल्याउन पनि सफल ठहरे मेरा कविता उहाँहरूका जँचाइमा ।
कल्याणी, एलेन रानु र मबिच छलफल भए— धर्म, दर्शन, साहित्य, संस्कृति, दुई देशका भौगोलिक परिस्थितिजस्ता विषयहरूमा । हाम्रो भलाकुसारीलाई सहज बनाउन वेलावेला जुस र फलफूल थपिदिँदै हुनुहुन्थ्यो इन्दु राणा र छोरी जैनु । नीता भाउज्यू र अरु तीन रसियालीहरू अर्को कोठामा योगाभ्यास गरिरहनुभएको थियो । जीवनजीको निवास साँच्चै साहित्य, कला, विचार–विश्लेषण, धर्म–दर्शन र योगाभ्यासको केन्द्रमा परिणत भयो एकाएक ।
‘मैले नेपालबारे धेरै अध्ययन गरेकी छु । नेपालबाट हरक्षण अथाह पानी बगे पनि बहुसङ्ख्यक मान्छेहरू पिउने पानीको अभावमा बाँचिरहेको मैले थाहा पाएकी छु । उनीहरूका लागि शुद्ध पानी उपलब्ध गराउने, गरिब बालबालिकाका शिक्षा, स्वास्थ्य र साहित्यका लागि आवश्यक सहयोग जुटाउने एवं नेपाली साहित्यकारका पुस्तकहरू अङ्ग्रेजी र रुसी भाषामा प्रकाशित गरिदिने कामका लागि मेरा इच्छाहरू जगमगाइरहेछन्,’ कल्याणीले बिस्तारै आफ्नो अन्तर्मन खोल्नुभयो, ‘म नेपाली बालबालिका र नेपाली साहित्यकारहरूको दरिलो सहारा बनेर उनीहरूका चम्किला आँखाहरूको अगाडि उभिन चाहन्छु । द्वन्द्वले गर्दा असङ्ख्य नेपाली अकारणमै बम, बारुद र बन्दुकको निशानामा परेका वेदनामूलक दृश्यहरू टेलिभिजनमा हेर्दा कैयौँ रात म निदाउन सकिनँ । मान्छेको मृत्युमा जित ठान्ने मान्छेहरू र एक थोपै मात्र भए पनि अर्काको रगतको मूल्यलाई माटोमा मिलाउनेहरू देख्दा मलाई आफ्नो आक्रोश थाम्न गाह्रो हुन्छ । त्यसैले युद्धको समयमा आफन्त र आफ्ना अङ्ग गुमाउनेहरूका लागि पनि म सहयोगी बनेर मलमपट्टी लगाउन चाहन्छु ।’ कल्याणीभित्रको मानवीय संवेदना सहयोगका फोहोरा बनेर विस्फोट भइरहेथे थाम्नै नसकिने गरी ।
नेपालीका पीर–व्यथा, अभाव र संवेदनाहरूलाई आफ्नै परिजनका ठानेर सहयोगका हातहरू बढाउन आतुर भएका उहाँका कवितात्मक अभिव्यक्ति सुन्दा मलाई लाग्यो— मान्छे भनेको मान्छे नै हो, चाहे संसारको कुनै पनि कुनामा रहेको किन नहोस् । संवेदना नै मान्छेको यथार्थ पहिचान पनि हो ।
मैले कल्याणीलाई नेपालको भ्रमण गर्न, नेपाल र नेपालीलाई अझ राम्ररी बुझ्न र पूरापूर सदुपयोग हुने विश्वास लागेपछि मात्र नेपालमा लगानी गर्न आग्रह गरेँ । नेपालीको अभाव, पीडा र मर्ममा शीतलताको चिराक बोकेर आउने ती देवीलाई मैले सहयोग नगर्ने कुरै भएन ।
साँझ गाढा बन्दै थियो । एलेन रानु, कल्याणी र म जूनझैँ चहकिलो बन्दै थियौँ । पल्लो कोठाबाट मारिया, इभानोभिच, पापानोभ, इन्दुजी, निजु र जैनु पनि हाम्रो कोठामा पसेपछि एकाएक तारा नै तारा छरिएजस्तो भयो कोठाभरि । साँझको भोजका लागि कुमारजीकहाँबाट धेरैपटक ताकेता आइसकेको थियो ।
‘रसियाली मित्रहरूले साहित्यकारलाई मात्र बोलाउने रहेछन्, हामीलाई पनि साहित्यकार हो भनिदिनुहोस्, हामी पनि त्यहीँ आउँछौँ’ भन्ने गुनासो र हाँसो साथीहरूले पोखिरहनुभएको थियो, टेलिफोनबाट पटकपटक । मैले ती रसियाली मित्रहरूलाई आँखाको खोजीमा पुस्तक उपहार दिएँ ।
‘यहाँको भ्रमण केही लम्ब्याउन मिल्दैन ? म तपाईंलाई मेरो व्यापार, व्यवसाय र रसियाका धेरै परिस्थितिसँग घुलमिल गराउन चाहन्छु,’ कल्याणीले खुसुक्क भन्नुभयो । ‘यो कार्यालयगत भ्रमण भएकाले मिल्दैन । पछि अवसर पाएँ भने फेरि आउँला, नत्र भेटौँला नेपालमै,’ मेरो जवाफले कल्याणीको मुहारमा विस्मयका रेखाहरू लहरिए समुद्री आँधी पलाएजस्तो । कल्याणीको विषादमा मेरा पनि आत्मीयताका धेरै भँगालाले सम्बन्ध गाँसे ।
मैले बिदा मागेँ । ‘छुटिने वेला एउटा थप तस्बिर खिचौँ । जिन्दगीमा फेरि भेट हुने हो– होइन, कमसेकम यी तस्बिर हेरेर त हाम्रो जिन्दगीको यो एउटा सुखद क्षण सम्झन सकौँ,’ मारियाले आफ्नो आग्रह आत्मीयताको स्वरमा पस्कनुभयो । तस्बिरमा कैद बन्यो हाम्रो त्यो आत्मीयतापूर्ण क्षण । फेरि टेलिफोनको घण्टी बज्यो । आवाज कुमारजीकै थियो– ‘त्यहीँ लिन आऊँ ?’
‘पर्दैन, म छोरी निजुलाई लिएर आउँछु,’ मैले भने ।’
हामी सबैलाई छुट्टिन गाह्रो भयो तैपनि छुटिनै पर्ने क्षणलाई टार्न सकेनौँ । छोरी निजुले मलाई कुमारजीको अपार्टमेन्टमा पुर्याइदिइन् । कुमारजी र तीन मित्रहरू रङ्गीन संसारमा डुबुल्की मारिसक्नुभएको रहेछ ।
‘रसियालीहरूको माया पाएपछि हामीलाई चटक्कै माया मार्ने दामोदर सर,’ जनार्दनजी बढी रङ्गीन बनिरहनुभएको थियो । उद्धवजी र कर्णजी रङ्गीन वातावरणमै पनि बिचबिचमा ठाकठाकठुकठुकको व्यापारिक विश्राम लिइरहनुभएको थियो । रङ्गीनताका उद्गमकर्ता रसियाली भोद्काका बोतलहरू धेरै रित्ता थिए, केही आधा ।
कुमारजी र भाउजू कन्याइभन्दा चिलाइ तालका उहाँहरूका व्यवहार, झगडा हँसीमजाक वा यथार्थमध्ये कुन हो, छुट्ट्याउन नसकेर अन्यमनस्क बनिरहनुभएको थियो । मैले प्लेटबाट एकमुठी काजु गमक्र्याएँ र सरासर मुखमा हुल्न थालेँ । साथीहरू बल्ल एकै बिन्दुमा आइपुग्नुभयो र मेरो पसरको काजु हेदैै मरीमरी हाँस्न थाल्नुभयो ।
(कुडुजोप्स्की, मस्को, रुस ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण