‘आफ्नो माटोको सुगन्ध नबुझी संसार बुझ्नुको अर्थ रहेनछ’

निबन्धकार कुमारी लामाका दुई निबन्ध संग्रह प्रकाशित छन्— ‘उज्यालो अन्धकार’ (२०७१) र ‘दज्र्यु संलाप’ (२०८१) । साहित्यका विविध विषयमा बहस चलाउने आह्वान समूहकी संस्थापक रहेकी उप–प्राध्यापक लामा यतिखेर पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँमा प्राध्यापनरत छन् ।
सीमान्कृतको पक्षमा लेख्ने विश्वका घगडान लेखक, उनीहरुका पुस्तक र जीवनीमा चासो राख्ने लामालाई पछिल्लो समय लाग्न थालेको छ— आफ्नो माटो नबुझीकन संसार बुझ्नुको अर्थ रहेनछ ।
उनै लामालाई यसपालि रातोपाटीको ‘किताबका कुरा’ शृंखलामा निम्त्याएका छौँ ।
- हामीकहाँ पठन संस्कृति कस्तो पाउनुभएको छ ?
हाम्रो पठन संस्कृति मिश्रित खालको छ । एकातिर युवा पुस्ताको रुचि अलि फरक भएर गएको छ भने अर्कोतिर आफ्नो भाषा–संस्कृतिप्रति पाठक वर्गको रुझान बढेको छ । सांस्कृतिक पक्ष वा इतिहासको खोज गरिएका पुस्तकप्रति चासो राख्ने एउटा जमात एकातिर छ, अर्कोतिर नयाँ प्रविधि र मुद्दामा लेखिएका पुस्तकप्रति रुचि राख्ने जमात पनि देखिन्छ ।
अहिले पाठक बढी टेक्नोलोजी फ्रेन्डली भएका छन् । ईबुक, अडियो, पीडीएफको प्रयोग बढेको छ । यसर्थमा पठन संस्कृति मिश्रित भएर गएको छ ।
- तपाईंलाई मन परेका विदेशी पुस्तकबारे कुरा गरौँ । कुन–कुन पुस्तक र लेखक परे तपाईंको रोजाइमा ?
पुस्तकभन्दा पनि म यहाँ दुई लेखकबारे कुरा गर्छु ल । माया एन्जेलोको व्यक्तित्व र लेखन मलाई विशेष मन पर्छ । उनको सात भोल्युमको अटोबायोग्राफी पढेकी छु । उनको कवितासंग्रह छ, ‘एन्ड स्टिल आई राइज’, जो निकै ‘फेनोमेनल’ छ । उनको जीवन आफैँमा पनि असाध्यै उतारचढावपूर्ण रह्यो । जुन भुइँतहबाट उठेर उनले जो उचाइ हासिल गरेकी छन्, त्यसबाट म प्रभावित छु ।
मेरो लाइब्रेरीबाट चोरिएको वा भनौँ हराएको एउटा पुस्तक हो, जेडी सालिङ्गरको ‘द क्याचर इन् द राय’ । यो पुस्तक हराउँदा मैले साह्रै चित्त दुखाएकी थिएँ । पछि फेरि किनेँ ।
मलाई मन पर्ने अर्की लेखक हुन्, टोनी मरिसन । अश्वेत लेखक मरिसनका उपन्यास मैले निकै रुचिपूर्वक पढेकी छु । अश्वेत समुदायभित्र पसेर उनीहरूको समस्या, शक्ति र कमी–कमजोरी देखाउने उनको लेखनशैली मलाई खुब मन पर्छ । समुदायभित्रका विद्यमान जटिलतालाई उनले आफ्ना उपन्यासमा जीवन्त ढंगले पस्केकी छन् । प्रयोगवादी लेखन छ उनको । उनका उपन्यास ‘द ब्लुएस्ट आई’ (१९७०) र ‘बिलभेड’ (१९८७) मलाई मन पर्छ । यीबाहेक अरुन्धती रोय लगायत कैयौँ भारतीय लेखक मलाई मन पर्छ ।
- मन पर्ने नेपाली लेखक र पुस्तकको कुरा गर्नुपर्दा !
धेरै नेपाली लेखकका पुस्तकलाई मैले रुचिपूर्वक पढेकी छु । समय अनुसार रुचिहरू बदलिने रहेछन् । किशोरकालमा मलाई जुन किसिमका पुस्तक मन पर्थे, आज आएर ती पुस्तकप्रति त्यही तहको प्रेम छैन । यतिखेर मलाई विभिन्न समुदायका विभिन्न पाटा उधुनिएका पुस्तक विशेष मन पर्छन् । म आफैँ पनि आदिवासी समुदायसँग सम्बन्धित भएकाले हुन सक्छ, विशेषतः सीमान्तकृत वर्ग–समुदायका मुद्दा उठाइएका पुस्तकप्रति मेरो रुचिकर बढेको छ । यस्ता पुुस्तक विविध विधाका हुन सक्छन् । कविता, आख्यान वा गैरआख्यानमा पनि विभिन्न मुद्दा उठाइएका छन् ।
अहिले झट्ट सम्झँदा आनन्द लाग्ने नाम हो, पारिजात । मदनमणि दीक्षितको माधवी निकै रुचिका साथ पढेँ । बीपीका किताब पनि त्यत्तिकै राम्रा र रुचिकर छन् ।
सम्झने पुस्तकमा पर्छ, वानिरा गिरीको उपन्यास ‘कारागार’ । यो उपन्यास महिलाको अस्तित्वमा केन्द्रित छ । पढ्नैपर्ने कृति भन्छु म यसलाई । त्यतिबेलाको समाज, कामकाजी महिला, विवाहित पुरुषसँगको उसको सम्बन्ध यस उपन्यासमा देखाइएको छ । यस्तै, प्रेमा शाहको कथा ‘पहेँलो गुलाफ’ । यो मनोविज्ञानमा खेलिएको कथा हो ।
अमृत योञ्जन तामाङले तामाङ भाषा, संस्कृति, दर्शन लगायत पक्षको अध्ययन गरेर ‘ताम्बा दर्शन’ निकाल्नुभएको थियो । मलाई यो पुस्तक पनि निकै मन परेको छ । यो र यता किताबले समुदायबारे जानकारी दिन्छन् । कुनै समुदायको जीवन पद्धति, जीवन दर्शन बुझ्न यस्ता खोजपूर्ण पुस्तक पढ्नुपर्छ ।
मेरो विधा निबन्ध भएकाले मलाई देवकोटाका निबन्ध मन पर्छन् । नारायण ढकाल, मोमिलालाई पढेकी छु । पछिल्लो समय पढेर मन परेको कृतिमा पर्छ, भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’ कथासंग्रह ।
यहाँ नाम लिएका सबै पुस्तक कुनै न कुनै रूपमा हामीसँग जोडिएका छन् । साहित्य भनेको कल्पना हो । कल्पना हुँदाहुँदै त्यो मानिसको जीवनसँग कतै न कतै जोडिएको हुन्छ, वा हुनुपर्छ । यहाँ मैले नाम लिएका पुस्तकमध्ये कति जीवनसँग एकदमै जोडिएका छन् । देवकोटाका निबन्धमा मान्छेका मसिना कुरा, प्रकृतिसँग सम्बन्धित कुरा र समाजको भिन्न पाटो परेका छन् ।
माया एन्जेलोको व्यक्तित्व र लेखन मलाई विशेष मन पर्छ । उनको सात भोल्युमको अटोबायोग्राफी पढेकी छु । उनको कवितासंग्रह छ, ‘एन्ड स्टिल आई राइज’, जो निकै ‘फेनोमेनल’ छ । जुन भुइँतहबाट उठेर उनले जो उचाइ हासिल गरेकी छन्, त्यसबाट म प्रभावित छु ।
म त्यस्ता किताब पढ्न चाहन्छु, जसमा कुनै न कुनै रूपमा सामाजिक न्यायका मुद्दा आएको होस्, अथवा मलाई आवश्यक जानकारी आएको होस् ।
- पछिल्लो समय कसलाई पढ्दै हुनुहुन्छ ? पछिल्लो समय मन परेको कृति कुन हो ?
यतिबेला भुपाल राईको ‘शब्द सायारेम’ पढिरहेकी छु । यसमा उहाँले आफ्नो स्मृतिसँग जोडेर आदिवासी समुदायका विभिन्न विषयलाई उजागर गर्नुभएको छ । एउटा संस्कृतिले अर्कोलाई कसरी खुम्च्याइरहेको छ भनेर पनि यसमा देखाइएको छ ।
सत्यभामा माथेमाको कवितासंग्रह ‘मभित्रको यज्ञशाला’लाई पनि दोहोर्याएर हेर्दै छु । सुकन्या वाइबाको ‘म किट्टी बिरालो’ पछिल्लो समय मलाई निकै मन परेको कृति हो । यस प्रयोगात्मक संस्मरणमा बिरालोको आँखाबाट मानवलाई हेरिएको छ । यो पढ्दा मैले निकै नौलो अनुभूति गरेँ । बिरालोको मात्रै कथा होइन, उसको दृष्टिकोणबाट हेरिएको एउटा परिवारको कथा पनि हो यो । कोभिड कालमा जनावरप्रति मान्छेले गरेको व्यवहार यसमा आएको छ । हामी सह–अस्तित्वमा बाँचेका छौँ । यो पृथ्वी हाम्रो मात्रै होइन तर हामीले जनावरलाई कसरी हेरेका छौँ, कसरी व्यवहार गरिरहेका छौँ भन्ने यसले देखाउँछ । यो पृथ्वी सबैको हो तर मान्छेले मात्रै यसमा प्रभुत्व जमायो । ‘म किट्टी बिरालो’ले सह–अस्तित्वको सवाललाई उठाएको छ । यसमा पारिजात, सुकन्या, निर्मल लामासँग सम्बन्धित विषय पनि आएका छन् ।
- कहिल्यै पुस्तक चोर्नुभयो कि ?
मैले पुस्तक चोरेकी छु ? (आफैँलाई प्रश्न) । अहँ छैन । तर मेरा कैयौँ पुस्तक हराएका छन् । मबाट पुस्तक लगेर फिर्ता नगरेका घटना टन्नै छन् । म आफैँले कसैलाई दिएर भुलेको वा लग्नेले फिर्ता गर्न बिर्सिएका पनि छन् ।
मेरो लाइब्रेरीबाट चोरिएको वा भनौँ हराएको एउटा पुस्तक हो, जेडी सालिङ्गरको ‘द क्याचर इन् द राय’ । यो पुस्तक हराउँदा मैले साह्रै चित्त दुखाएकी थिएँ । पछि फेरि किनेँ ।
- तपाईंले निकै खोज्नुभएको तर नपाएको पुस्तक कुनै छ कि ?
अघिल्लो पुस्ताका नेपाली साहित्यकारका कैयौँ कृति किन्न पाइँदैनथ्यो । आफूलाई पढ्न मन लाग्थ्यो । पुराना संस्करण सकिसकेका हुन्थे, नयाँ आएका हुँदैनथे । विदेशी लेखकको हकमा पनि प्रायः यस्तै हुन्थ्यो ।
मलाई पढ्न मन लागेको तर नेपालमा नपाएको एउटा पुस्तक हो, ओल्गा टोकार्कजुकको उपन्यास ‘फ्लाइट्स’ । नोबल पुरस्कार प्राप्त यो कृति मित्र सुमन घिमिरे युरोप जानुभएका बेला ल्याइदिनुभयो । खोज्दा नपाएको अर्को किताब हो, स्वेत्लाना एलेक्सभिचको ‘द अनवुमन्ली फेस अफ वार’ । नोबेल पुरस्कार प्राप्त यो पुस्तक पनि मैले विदेशबाटै मगाएर पढेँ ।
- तपाईंको सोचलाई बदलेको कुनै पुस्तक छ होला ?
एउटै किताबले सोचलाई कायापलट गरेको भन्ने छैन । विभिन्न समयमा पढेका विभिन्न कृतिले ममा फरक किसिमले प्रभाव पारेकै छन् । क्याम्पसमा पढ्दा मैले आख्यान पढ्थेँ । त्यतिबेला मैले ‘शिरीषको फूल’लाई अर्कै तरिकाले बुझेकी थिएँ । बीपीकै कथालाई पनि अर्कै नजरले हेरेकी थिएँ । अंग्रेजी साहित्यको विद्यार्थी भएकाले बाहिरका लेखकको कृति धेरै पढियो । अश्वेत लेखकहरूको कृति निकै पढेँ । अफ्रिकी–अमेरिकीहरूको पनि धेरै पढेँ । यसबाट रंगभेद लगायत पक्षबारे धेरै थाहा पाएँ । पारिजातको ‘अनिदो पहाड’मा प्रजातन्त्र प्राप्तिका आन्दोलित समयको चित्रण छ ।
पढ्दै जाँदा जब सचेत भएर पढ्न थालेँ, सोही अनुसार ग्रहण गर्न थालेँ । एउटै पुस्तकले जादु जसरी मेरो सोच बदलेको भन्ने छैन तर पछिल्लो १२–१५ वर्षमा पढेका पुस्तकले मेरो आजको चेतना निर्माणमा सहयोग गरेको छ ।
- आख्यान र गैरआख्यानमध्ये बढी कुन पढ्नुहुन्छ ?
आईए, बीए पढ्नेताका आख्यान धेरे पढेँ । एमए पढ्दै गर्दा पनि मेरो झुकाव आख्यानतिरै बढी थियो । यसो भनौँ, २०७० भन्दा अघिसम्म आख्यान धेरै पढेँ । आख्यान परिकल्पना नै भए पनि यसमा समाज आउँछ, समाजमा पात्र आउँछन् । नोबेल पुरस्कार पाएका कृति तुरुन्तका तुरुन्तै पढिन्थ्यो । त्यो वातावरण थियो एक दशक अघिसम्म । पछिल्दो दशकमा मेरो रुचिमा परिवर्तन भएको छ । नेपाल बाहिरको भन्दा पनि भित्रकै अझ आफ्नै वर्ग–समुदायका विषय पढौँ भन्ने लाग्न थालेको छ ।
समाजशास्त्रीय र सांस्कृतिक अध्ययन निकै महत्त्वपूर्ण रहेछ । आफ्नो माटोको सुगन्ध नबुझीकन सारा संसार बुझ्नुको कुनै अर्थ नहुने रहेछ । म उताबाट यतातिर फर्किएकी छु । अब आख्यानले मात्रै हुँदैन, गैरआख्यान अर्थात् मान्छेका विभिन्न पक्ष खोज गरिएका पुस्तक पढ्नुपर्छ भन्ने लागेको छ । विशेषतः राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहासतिर मेरो झुकाव बढेको छ ।
- आफ्नो पछिल्लो कृति ‘दर्ज्यु संलाप’बारे केही भन्नुहुन्छ कि !
‘दर्ज्यु संलाप’ले हाम्रो समाजको पिछडिएको, सीमान्तकृत समुदायलाई उजागर गरेको छ । यसमा दलित समुदायका महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकको कुरा आएका छन् । तामाङ समुदाय त आउने भयो । यसलाई समग्रमा बहिष्कृत, उपेक्षित, सीमानामा धकेलिएकाहरूको आवाज भन्दा पनि हुन्छ । आदिवासी रैथाने ज्ञान प्रणाली, पर्यावरणको कुरा पनि थोरै–थोरै आएका छन् ।
- यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन थियो ?
मैले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक मदनमणि दीक्षितको माधवी हो । यसमा मेरो कल्पनाभन्दा बाहिरको समाज छ । उत्तर वैदिककालीन समय देखाइएको छ । असाध्यै फरक समय छ, माहोल पनि फरक छ । मलाई यो कृति ठुलो क्यानभासमा कोरिएको चित्रझैँ लाग्छ । यसमा समाजको फरक किसिमको चित्रण छ । सुरुमा मलाई यो कृतिको २०–३० पृष्ठ छिचोल्नै सकस भएको थियो । त्यसपछि भने यसले मलाई यसरी तान्यो कि छोड्नै सकिनँ । गालव र माधवीको सम्बन्धको विभिन्न आयाम छन् यसमा । माधवी अरुको कुरा परिपूरण गर्ने माध्यम बनेकी छे । यद्यपि उसले आफ्नो अस्तित्व कायम गर्न संघर्ष गरेकी छ । यसले मलाई निकै फरक खालको अनुभूति दियो ।
- यहाँले लेखनका लागि निबन्ध किन रोज्नुभयो ? निबन्ध भनेको के रहेछ ?
निबन्ध अभिव्यक्तिको एउटा माध्यम हो । यसमा कल्पना पनि आउँछ तर यो बढी यर्थाथपरक हुन्छ । समाजसँग सिधै जोडिएर लेख्न सकिने विशेष विधा हो निबन्ध । जहाँ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । यसमा अरु विधालाई घुसाउन वा मिसाउन सकिन्छ । एक किसिमले फुक्काफाल विधा हो निबन्ध, यो जीवन अनि यसका अनगिन्ती पाटोलाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो ।
- आजका पाठकलाई के सुझाव दिनुहुन्छ ?
कुनै पनि विषय पढ्दा सहजै ग्रहण गर्न नसकिने हुन सक्छ । आजको समय तयारी चाउचाउ जस्तो भएको छ । अहिले पकायो अनि अहिले ने खाइहाल्यो, निलिहाल्यो । साहित्यमा यो कुरा लागु नहुन सक्छ । पाठक आफ्नो रुचिको विषय पढ्न स्वतन्त्र छन् । जुनसुकै विषय पढ्दा पनि केही गाम्भीर्यता, केही तयारी गर्नुपर्छ भन्छु म ।