रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट

काठमाडौँ । सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टले हस्ताक्षर गरेको पत्रका कारण बुधवार दिनभर नेपाली राजनीति तरंगित बन्यो । नाउपा र जनमत पार्टीको बिचमा आयोजित एकता घोषणा सभामा सहभागी हुन प्रज्ञा भवन पुगेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परे । पाँच घण्टा कारागारमा बसेर साँझ रिहा भएका छन् ।
महिमान सिंह विष्ट सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी हुन् । बुधबारकै मितिमा पत्र लेखेर उनी रेशमलाई पक्राउ गर्नुपर्ने भन्दै कारागार कार्यालय डिल्लीबजार पुगेका थिए । डिल्लीबजार कारागारका एक जना कर्मचारीका अनुसार उनले बिहान १० बजे नै पुगेर जेलरलाई भेटेर पत्र देखाए ।
त्यसपछि उनी प्रहरीकहाँ गएका हुन् । पत्रमा कारागार कार्यालय डिल्लीबजारलाई सम्बोधन गरिएको थियो । प्रहरी महानिरीक्षकलाई बोधार्थ दिएको पत्रमा रेशम चौधरी जहाँ भए पनि तत्काल पक्राउ गरेर ‘प्रधान कार्यालयमा झिकाएर डिल्लीबजार पठाउनु’ भनेर लेखिएको थियो । डिल्लीबजार बाट निस्केपछि उनी प्रधान कार्यालयमा गए या गएनन् भन्नेबारे प्रहरी अधिकृतहरू खुलाउन चाहँदैनन् । त्यसपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौँमा सम्पर्क गरेर पक्राउ गरिदिन आग्रह गरेको अधिकारीहरू बताउँछन् ।
काठमाडौँका एसएसपी विश्व अधिकारीको आदेशपछि डीएसपी प्रह्लाद कार्की आफ्नो टिम लिएर कमलादीस्थित गणेशस्थामा रेशमलाई पक्राउ गर्न पुगेका थिए । जहाँ रेशम पार्टी एकता घोषणा सभामा आउने पूर्व जानकारी प्रहरीलाई थियो । रेशम पक्राउ परेपछि पत्र बाहिरियो । सर्वोच्च अदालतका सह रजिस्ट्रार तथा प्रवक्ता अच्युत कुइँकेलले सो पत्रलाई ‘अनधिकृत’ भनेका छन् ।
सर्वोच्चका अधिकारीहरूले पत्रको आधिकारिकता जाँच गरेर हस्ताक्षरकर्ता महिमान सिंह विष्टलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए । त्यसपछि प्रहरी अधिकृतहरू छक्क परे । आफूलाई सम्बोधन नै नगरिएको ‘अनधिकृत’ पत्र कार्यान्वयन गर्दा काठमाडौँ प्रहरी चुकेको छ । प्रहरीमा काम देखाउने होडबाजीले गर्दा पटक पटक चुक्ने गरेको जानकारहरू बताउँछन् ।
पत्रमा लेखिएको भाषा शिष्ट छैन । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाहरूमा रेशमले पाशविक किसिमले ८ जना सुरक्षाकर्मी र १ जना नाबालकको हत्या गरेको उल्लेख गर्दै पत्रमा भनिएको छ– ‘जघन्य भन्दा पनि तल्लो स्तरको क्रुर अपराध ठहरी २०८० जेठ २ को फैसला ।’ राष्ट्रपतिले गरेको निर्णयलाई पत्रमा भनिएको छ ‘अपराधलाई राजनीतिकरण हुनेगरी २०८० जेठ १४ मा दिएको माफी ।’
विष्टले भारती शेर्पाले दिएको निवेदनको आधारमा राष्ट्रपतिले गरेको निर्णय बदर भएर रिगल ढकाल थुनामा गएको मुद्दाको व्याख्या र नजिर उल्लेख गरेका छन् । प्रहरी अधिकारीहरूले भाषा हेर्नेतर्फ ध्यान दिएनन् । कसरी हुन्छ पक्रेर काम देखाउनुपर्छ भन्ने ध्येयले प्रहरी चुकेको छ ।
बुधवार साँझ काठमाडौँ प्रहरीले विज्ञप्ति निकालेर भनेको छ, ‘निज अधिकृतले अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरेर अदालतको छाप, लेटर प्याड र पदको दुरुपयोग गरेको बारे अनुसन्धान थालेका छौँ ।’
पक्राउ परेपछि अधिकृतहरूसँग विष्टले टिकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको घटना आफूलाई चित्त नबुझेको बताएका छन् । थरुहट–थारुवान सङ्घर्ष समितिको आन्दोलन चर्किएपछि भिड नियन्त्रणमा लिन तत्कालीन सेती अञ्चलका प्रमुख एसएसपी न्यौपाने आफैँ फिल्डमा खटिएका थिए ।
पत्र लेख्नुको कारणबारे अनुसन्धान अधिकृतहरूसँग विष्टले भनेका छन्, ‘मृतकहरूको आत्माले शान्ति पाओस् भनेर पत्र लेखेको हुँ ।’ टिकापुर घटनामा संलग्न रेशम चौधरी थुना बाहिर रहेको र रिगल ढकाल थुनामा परेकोबारे आफूलाई चित्त नबुझेको उनले प्रारम्भिक बयान दिएका छन् । करिब साढे २ वर्ष जागिर बाँकी रहेका विष्ट आफैँले पत्र तयार गरेर हस्ताक्षर गरेपछि डिल्लीबजार कारागार पुगेका हुन् । उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानको ‘फेक पत्र’ ले उब्जायो आशङ्का, त्रुटि रोक्न सर्वोच्चले के गर्ने ?
-
मलेसिया र दुबईबाट फर्केर गाईपालन, मासिक एक लाख आम्दानी
-
पोखरा–मुग्लिङ सडक विस्तार : विद्युत् पोल एक साताभित्र हटाइँदै
-
बिजुलीको पोलमा कार ठोक्किएपछि...
-
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गण्डकीको बजेट : बाँड्न मरिहत्ते, कमाउने छैन चासो