मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’

सोमबार, २२ वैशाख २०८२, २१ : २६
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । अभिनेता प्रदीप खड्काले रारा क्षेत्र मात्र नभई विश्वभर चलचित्र छायाङ्कनका लागि उत्कृष्ट स्टुडियो भएको बताएका छन् । ‘प्रेम गीत २’ चलचित्रको छायाङ्कन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णाली क्षेत्र विशेष गरी राराको अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनमा चलचित्रको प्रभावको चर्चा गरे । 

रारा चलचित्र पर्यटन प्रवर्द्धन र भाषा, रीतिरिवाज संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने शक्तिशाली माध्यम भएको उनको धारणा थियो । उनले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिनु पर्ने र जलवायु परिवर्तनका कारण कर्णाली लगायत नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति माग्न कर्णालीवासीले आवाज उठाउन आवश्यक रहेको बताए । 

हिमालहरू पग्लँदै गएको, पानी र खाद्यान्न सङ्कट बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउन र अभियान सञ्चालन गर्नुपर्ने उनको विचार थियो । 

दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अन्तर्गत ‘रारा चलचित्र, पर्यटन तथा जलवायु समिट’मा सहभागी भएका प्रदीपले ऐतिहासिक रारा तालको पनि प्रशंसा गरे ।

समारोहमा मुगु जिल्ला समन्वय समितिका प्रमुख मनजन बहादुर कार्की, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रारा छायानाथ नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, वरिष्ठ अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता प्रदीप खड्का, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारी लगायतको सहभागिता थियो ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले नेपाली चलचित्र प्रवर्द्धनसँगै कर्णाली क्षेत्रको पर्यटन र जलवायु मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्य लिएको छ । 

चलचित्र, पर्यटन र जलवायु विषयमा केन्द्रित दुई वटा सत्रमा सम्पन्न समिटमा स्थानीय संस्कृति, भाषा, पर्यटन पूर्वाधार र अन्तर्राष्ट्रिय बजारमा चलचित्र मार्फत कर्णालीको प्रतिनिधित्व गर्ने विषयमा व्यापक छलफल भयो ।

कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले कर्णाली चलचित्र महोत्सवले विभिन्न स्थानमा आयोजना गरेका कार्यक्रमहरूले चलचित्र क्षेत्रका नयाँ सम्भावनाहरूको खोजी गरेको र गाउँ–गाउँसम्म चलचित्र प्रवर्द्धन गर्न खेलेको भूमिकाको प्रशंसा गरे ।

निर्देशक तथा निर्मात्री दीपाश्री निरौलाले पहिलो पटक राराको सौन्दर्य अनुभूत गर्न पाएको बताउँदै भविष्यमा कर्णालीका कथालाई पर्दामा उतार्ने प्रतिबद्धता जनाइन् । गुराँस गाउँपालिकाका अध्यक्ष टोप बिसी, सोरु गाउँपालिकाका उपाध्यक्ष केशर जङ्ग शाही, वडाध्यक्षहरू लगायत स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । 

उनीहरूले यस्ता समिटले कर्णालीका आवाजलाई केन्द्रमा ल्याएको बताउँदै छायाङ्कन र अन्य गतिविधिमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप