मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

ओलीको जेलजीवन सम्झाएर खगराजले मागे गण्डकीलाई बजेट

सोमबार, २२ वैशाख २०८२, १५ : ५५
सोमबार, २२ वैशाख २०८२

पोखरा । कास्की आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सधैँ सम्झिन्छन्, आफ्नो जेलजीवन । २०३९ माघ ३ देखि २०४२ कात्तिकसम्म ओली कास्की कारागारमा थिए ।

त्यसपछि स्याङ्जा हुँदै हनुमानढोका लगिएको थियो । उनको अधिकांश भाषणमा कास्की जेलजीवन र यहाँका नागरिकले देखाएको सदाशयता प्रस्फुटन हुन्छ । त्यही सम्झेर कहिलेकाहीँ भावुक पनि हुन्छन् । 

त्यही भावना सम्झाएर गण्डकीका निवर्तमान मुख्यमन्त्री तथा एमाले नेता खगराज अधिकारीले केही योजना बुझाएर आगामी वर्षको बजेट मागेका छन् । ‘सम्माननीय ज्यूको राजनीतिक जीवनको एक महत्त्वपूर्ण कालखण्डको रूपमा रहेको कास्की कारागारको जेलजीवन अवधिमा गण्डकी र त्यसमा पनि पोखरेली जनताले आफ्नो प्रिय नेतासँग प्राप्त गरेको सामिप्यता र अनुभूतिलाई समेत स्मरण गर्दै यस प्रदेशको समग्र विकास निर्माण र आर्थिक समृद्धिका लागि सङ्घीय सरकारका तर्फबाट प्राथमिकताका साथ आवश्यक पहलकदमी लिइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ,’ अधिकारी नेतृत्वको प्रतिनिधि मण्डलले बुझाएको पत्रमा लेखिएको छ ।

आफ्ना कार्यकर्ता लिएर बालुवाटार पुगेका अधिकारीले ९ वटा बुँदामा बजेट मागेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा ओलीको ध्यानाकर्षण गराइएको छ भने पोखरालाई अन्तर्राष्ट्रिय स्तरको सभा सम्मेलन, गोष्ठी तथा सेमिनार र खेलकुद एवं स्वास्थ्योपचारको केन्द्रका रूपमा विकास गर्नुपर्ने माग अघि सारिएको छ । 

यस्तै, पोखराका सबै ताल जोड्ने साइकल लेन निर्माणसँगै फेवातालको संरक्षण र दीगो व्यवस्थापन गर्ने गरी सौन्दर्यीकरणका लागि बजेट व्यवस्था गर्न टोलीले आग्रह गरेको छ ।

गण्डकी प्रदेश सरकारकै प्रमुख प्राथमिकतामा रहेको कास्कीको पुँडीटार र नवलपुरको लौकाहा खोलामा राष्ट्रिय स्तरको आधुनिक पूर्वाधारयुक्त औद्योगिक क्षेत्र स्थापना गर्नु सङ्घले बजेट दिनुपर्ने उनीहरूको माग छ । 

मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपुरको त्रिवेणी नाकाबाट अन्तर्राष्ट्रिय व्यावसायिक कारोबार गर्न सक्ने गरी पूर्वाधार निर्माणका लागि ध्यानाकर्षण गराइएको छ । 

मनाङ, मुस्ताङ र उत्तरी गोरखामा भेडा, च्याङ्ग्रा, चौंरीपालन, स्याउ, ओखर र खुर्पानी खेतीसँगै निरमसी, जटामसी, पाँचऔंले, यार्सागुम्बा, सतुवा लगायतका जडीबुटी उत्पादन, सङ्कलन र प्रशोधन गर्न पूर्वाधार बनाउनुपर्ने, मर्स्याङ्दी, मादी र कालिगण्डकी एवं सहायक नदीको उपत्यकालाई एकीकृत जलाधार संरक्षण तथा सुरक्षित बस्ती विकास कार्यक्रम सहित कृषि, उद्योग,व्यापार, पर्यटन गतिविधिको विकास गर्नुपर्ने माग प्रतिनिधि मण्डलको छ ।

पोखरालाई केन्द्र मानेर मादी, सुरौंदी, आँधी र मोदी नदी उपत्यकालाई जोडेर सुरुङ मार्ग सहितको रिङ रोड र लिंक रोड बनाउनुपर्ने, राउन्ड अन्नपूर्ण, राउन्ड धौलागिरी र राउन्ड मनास्लु लगायतका साहसिक पदमार्गको दीगो विकाससँगै संरक्षण, गङ्गापूर्ण, तिलिचो लगायत हिमतालको व्यवस्थापन, हिमाल आरोहणका लागि हिमचुचुराको प्रवर्द्धन र रणनीतिक योजना बनाइ कार्यान्वयन गर्न सुझाव दिएका छन् ।

बागलुङको ढोरपाटन, मनाङ, मुस्ताङ र गोरखाको उत्तरी हिमाली उपत्यकाहरूमा साहसिक पर्यटन गतिविधि एवं हाइ अल्टिच्युड स्पोर्टस केन्द्रका रूपमा विकास गर्नुपर्ने, हिमालपारीका उपत्यकाहरूको हिमाली संस्कृति एवं सांस्कृतिक सम्पदाहरूको संरक्षणका लागि छुट्टै गुरुयोजना बनाउन माग गरिएको छ । 

पटक पटक प्रदेश सरकारले सिफारिस गरेर पनि सङ्घले नसुनेको लोमान्थाङ दरबार र गोरखा दरबारलाई विश्व सम्पदा सूचिमा सूचीकृत गर्न अधिकारीले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

प्रतिनिधि मण्डलमा अधिकारीसँगै कास्की ३ का सांसद दामोदर बैरागी, आफैले नियुक्त गरेका गण्डकीको नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष श्रीकान्त खतिवडा, नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासुदेव त्रिपाठी, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व सदस्य लेखनाथ भण्डारी, होटल सङ्घ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रे सहभागी थिए । 

यस्तै लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष बलराम ढकाल, नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका निवर्तमान अध्यक्ष मोतिराम पौडेल, एमालेका कास्की–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष उद्यङ्गम राज तिमिल्सिना पनि सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप