सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली

सोमबार, २२ वैशाख २०८२, २१ : ३५
सोमबार, २२ वैशाख २०८२

काठमाडाैँ । सनराइजर्स हैदराबदका कप्तान प्याट कमिन्सको शानदार बलिङ प्रदर्शनबिच दिल्ली क्यापिटल्सले १ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को सोमबार खेलिएको ५५ औँ खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको हो ।

कमिन्सले खेलमा ४ ओभर बलिङ गर्दै मात्र १९ रन खर्चेर ३ विकेट लिए । उनले एउटा क्याच पनि लिएपछि दिल्लीको शीर्ष क्रम धराशायी बन्यो ।खेलमा दिल्लीले खराब सुरुवात गरेको थियो । पहिलो बलमा नै करुन नायर कमिन्सको सिकार बने । तेस्रो ओभरमा फाफ डु प्लेसिस पनि ३ रन बनाएर कमिन्सको बलमा आउट भए ।

अभिषेत्र पोरेल पनि लामो समय टिकेनन् । ८ रन बनाएका उनलाई कमिन्सले नै पभेलियन फर्किए । कप्तान अक्षर पटेल ६ रन बनाएर हर्षल पटेलको बलमा कमिन्सद्वारा क्याच आउट भए ।

लगत्तै यस सिजन लयमा रहेका केएल राहुल जयदेव उनादकटको बलमा क्याच आउट हुन पुगे । उनले मात्र १० रन जोड्न सके ।त्यसपछि ट्रिस्टन स्टब्स र विपराज निगमले दिल्लीको इनिङ्सलाई अगाडि बढाउने प्रयास गरे । तर, १३ औँ ओभरमा निगम १८ रन बनाउँदै रन आउट हुन पुगे ।

त्यसपछि स्टब्सले आशुतोष शर्मासँग मिलेर ४५ बलमा ६६ रनको महत्त्वपूर्ण साझेदारी गरे । अन्तिम ओभरमा आउट हुनअघि शर्माले २६ बलमा ४१ रन जोडे । उनले २ चौका र ३ छक्का प्रहार गरे । स्टब्सले ३६ बलको सामना गर्दै ४ चौकाको मद्दतले ४१ रनको योगदान दिए । उनी अन्तिमसम्म नटआउट रहे ।

हैदराबादका लागि ईशान मलिंगा, जयदेव उनादकट र हर्षल पटेलले १–१ विकेट लिए । खेलमा विकेटकिपर ईशान किसनले ४ वटा क्याच लिन सफल भए । दिल्ली हाल १० खेलबाट १२ अंक बटुल्दै तालिकामा पाँचौँ स्थानमा आसीन छ । उता, समान खेलबाट ६ अंक बटुलेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप