बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

पुलिस र आर्मी सेमिफाइनलमा, भारतीय टोली बाहिरियो

शनिबार, २० वैशाख २०८२, १७ : ५०
शनिबार, २० वैशाख २०८२

पोखरा । विभागीय टोलीहरू सबैले पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् । 

विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच शनिबारको दोस्रो खेलमा आर्मीसँग हारे पनि पुलिस पनि सँगै सेमिफाइनल प्रवेश गरेको हो । समूह बी मा रहेको अर्को भारतीय टिम भने बाहिरिएको छ । समूह ए बाट अर्को विभागी टिम एपीएफ पनि सेमिफाइनल पुगिसकेको छ । 

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । 

पहिलो सेट २५–१९ ले गुमाएको आर्मीले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल रह्यो । आर्मीले दोस्रो सेट २५–१४, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२१ ले जितेको हो । आर्मी र पुलिससँग समान अंक रहेको भारतीय टोली सेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । सेट र अंकका आधारमा पुलिस विजेता र आर्मी उपविजेताको रूपमा सेमिफाइनल पुगेको हो । 

समूह ‘बी’ अन्तर्गत पहिलो खेलमा पुलिसले भारतीय टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । दोस्रो खेलमा भारतीय टोलीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको थियो । आज भएको खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । 

यसअघि समूह ‘ए’ बाट सशस्त्र प्रहरी बल (एपीएफ) र इरानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । इरानी टोली समूह विजेता र एपीएफ उपविजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । दुवै खेलमा पराजित भएको गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरियो । 

सेमिफाइनलका खेल आइतबार हुनेछन् । पहिलो सेमिफाइनल समूह ‘ए’ को विजेता इरानी टोली र समूह बीको उपविजेता टिम त्रिभुवन आर्मीबिच हुनेछ । उक्त खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । 

दोस्रो सेमिफाइनल खेल समूह बी विजेता नेपाल पुलिस क्लब र समूह ए उपविजेता टोली सशस्त्र प्रहरी बल (एपीएफ) बिच हुनेछ । उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ । फाइनल खेल सोमबार हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप