१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
काठमाडौँ । आज मिति २०८२ साल जेठ महिनाको १ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेसका नेता तथा पूर्व मन्त्री मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग गरेको छ ।
बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ बमोजिम दफा ३ मा भएको पहिलो संशोधन पूर्वको दफा ३ को उपदफा (१) (झ) एवं संशोधन पश्चातको दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद सजायको माग गरेको छ ।
टेरामक्स प्रकरणमा अख्तियारले ‘ठुलामा माछा’ मानिएका बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा चलाउँदा केहीले भने उन्मुक्ति पाएका छ्न ।
२. विद्युत अवरुद्ध
पूर्वी तथा मध्य नेपालका क्षेत्रमा विद्युत् प्रसारण अवरुद्धपछि नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका छन् । बिहीबार साँझ पटकपटक विद्युत् अवरुद्ध भएपछि निर्देशक शाक्यले निरीक्षण गरेका हुन् ।
३. सहकारी प्रकरण
नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारीको ठगी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले सक्कल मिसिल झिकाउने आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइका लागि बिहीबार कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले सक्कल मिसिल झिकाउने आदेश दिएको हो ।
४. गिजोलियो विधेयक
‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लोकसेवा आयोग र नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको फरक–फरक धारणाका कारण गिजोलिने अवस्थामा पुगेको छ ।
मुख्यगरी कर्मचारीको अवकाश उमेर ६० वर्ष बनाउँदा अपनाउने कार्यान्वयन विधिमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिलाई लोक सेवा आयोगले पठाएको ‘आयोगको धारणा सम्बन्धमा’ शीर्षकको लिखित पत्र र मुख्यसचिव अर्यालको नेतृत्वमा केही सचिवहरूको स्वार्थ केन्द्रित दबाबले विधेयक गिजोलिने अवस्थामा पुगेको हो ।
५. महिमान हिरासतमै
सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेखेपछि उनी वैशाख १७ मा पक्राउ परेका थिए ।
६. संवैधानिक नियुक्ति विवाद
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतले आगामी जेठ २८ गते फैसला सुनाउने भएको छ ।
ओली नेतृत्वको सरकारले २०७७ र २०७८ मा अध्यादेशमार्फत् १३ संवैधानिक निकायका कुल ६१ पदमध्ये रिक्त ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो ।
७. मन्त्रिपरिषद्
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् ।
वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार झापाको दमकमा निर्माण भएको भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने समेत रहेको छ ।
८. जनमत पार्टीभित्र घरजग्गा विवाद
जनमत पार्टीभित्र घरजग्गा विवाद चुलिएको छ । ललितपुर, इमाडोलस्थित घरका बारेमा पार्टीभित्र केही समय यता विवाद बढ्दै गएको हो ।
पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले उक्त घर आफ्नो निजी लगानीमा खरिद गरेको दाबी गरिरहँदा अध्यक्ष डा। सीके राउतले भने पार्टीले खरिद गरेको दाबी गर्दै आएका छन् ।
पार्टीका लागि ललितपुरको महालक्ष्मी नगरपालिका, इमाडोलमा खरिद गरिएको घर पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले आफ्नो श्रीमतीको नाममा राखेको भन्दै प्रहरीमा उजुरी गरिएको थियो । सोही उजुरीका आधारमा यादव हाल थुनामा छन् ।
९. विधान महाधिवेशनको तयारीमा एमाले
नेकपा एमाले झन्डै साढे ३ महिनापछि हुने दोस्रो विधान महाधिवेशनको तयारीमा जुटेको छ । परिस्थिति प्रतिकुल नबनेको खण्डमा विधान महाधिवेशन लगत्तै ११औँ राष्ट्रिय महाधिवेशनको मिति तोक्ने तयारी एमालेको छ ।
आगामी भदौ २० गतेदेखि २२ सम्म दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरेको एमालेले उक्त महाधिवेशनको तयारीस्वरुप जेठ महिनाभित्र विधान संशोधनका लागि सुझावहरू संकलन गर्ने जनाएको छ ।
१०. पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले घटाएको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण