आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

कोशी प्रदेश ‘प्रथम’ लगानी सम्मेलनको उपलब्धि

शुक्रबार, २६ वैशाख २०८२, ०९ : ३९
शुक्रबार, २६ वैशाख २०८२

प्रदेश सरकारहरूमध्ये पहिलोपटक कोशी प्रदेश सरकारले यही वैशाख १८ र १९ गते पहिलोपटक लगानी सम्मेलन गर्‍यो । अब कति लगानी प्रदेशमा आउँछ भन्ने चासो प्रदेश सरकार र अरुलाई हुनु स्वाभाविकै हो । लगानी आएमा सम्मेलन सफल भएको मानिन्छ र लगानी तुरुन्तै आउने पनि होइन, यसका लागि समय लाग्छ । 

सम्मेलनमा म पनि सहभागी हुने अवसर पाएको थिएँ । दुईदिने सम्मेलनको उपलब्धिबारे मैले फरक कोणबाट विश्लेषण गरेको छु । 

नेपाली समाजमा लगानीकर्तालाई कसरी हेरिन्छ ? लगानीकर्ता भनेका को हुन् ? किन लगानी गर्छन् ? यी विषयमा नेपाली समाज त्यति सकारात्मक हुने गरेको देखिँदैन । 
नेपाली समाजमा लगानीकर्ता, उद्यमी, व्यवसायी, रोजगारदाता, करदाता जे भनौँ; ती सबै बदमास, शोसक, सामन्ती, चोर, फटाहा, कमाउन आएका, लुटाहा हुन् । तिनलाई सम्मान गर्ने त कुरै छैन । यस्तासँग सकेसम्म लिनुपर्छ सजिलै दिन्छन् भने, सजिलै दिँदैनन् भने बाध्य पारेर भए पनि लिनुपर्छ भन्ने बुझाइ अधिकांशको छ । कसकसले यस्ता लगानीकर्तालाई सकारात्मक रूपमा हेर्छन् भनेर थुप्रोमा छान्नुपर्ने हुन्छ । एकाध भेट्न सकिन्छ । जसले दिन्छन् वा मिलाउँछन् उनीहरूप्रति नरम व्यवहार र नियमको कुरा गर्ने तर दिन नमान्ने, आनाकानी गर्ने, सोर्स लगाउने, भनसुन गराउने, हैसियत देखाउने, योगदान गरेको छ भनेर गफ लगाउने सबैलाई चेपेर सिद्रा बनाउने काममा समाजको सबै अङ्ग लागेको छभन्दा अत्युक्ति हुँदैन । 

लगानी गरेर उद्यम व्यवसाय गर्ने सबैले इमानदारपूर्वक, सबै नियम–कानुनको पालना गरेर काम गरेका छन् भन्ने नहुन पनि सक्छ । उनीहरूले पनि गल्ती गर्न सक्छन्, नियमको उलङ्घन गर्न सक्छन् । त्यसमा राज्यले नियमपूर्वक सचेत गर्न, सजाय गर्न, बन्द गराउन सक्छ र गर्नुपर्छ । सबै नियमपूर्वक काम गरेकालाई त धन्यवाद दिएर सहयोग गर्नुपर्ने हो नि तर त्यस्तो हुँदैन । अड्को थापेरै भए पनि मिलाउन बाध्य पार्छन् । 

बिजुली जोड्न, बाटो पाउन, लाइसेन्स लिन, नवीकरण गर्न, सिफारिस लिन, कर तिर्न, वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) लिन, नक्सा–पास गर्न, सहुलियत लिन, धरौटी फिर्ता लिन, सर्जमिनमा छिमेकी मनाउन, समाजको स्वीकृति लिन, सरकारका निकायबाट स्वीकृति लिन, बैंकबाट ऋण लिन, बिमाबाट भुक्तानी पाउन जताततै लगानीकर्ता उद्यमी व्यवसायीले सास्ती बेहोर्नुपर्छ । यस्तो सास्ती दिनेमा लगानी वा उद्यम नगर्नेहरू पर्छन् । त्यसैले उनीहरू लगानीकर्ताको पीडा बुझ्नै सक्दैनन् । 

सरकारी कार्यालय, सबै तहका सरकार, छिमेकी, राजनीतिज्ञ, समाजका हर्ताकर्ता, पार्टीका मान्छे जसलाई भेट गर्न जाँदा पनि यस्ता मानिसको मनमा लगानीकर्ताप्रति सकारात्मक भावना छैन भन्दा धेरै फरक नपर्ला । अपवाद कतै कतै भेटिए त्यो बेग्लै कुरा हो । सुरुमा मिठै बोल्नेहरू पनि पैसा नझर्ने भयो भने बाउँटो कुरा गर्न थालिहाल्छन् । अत्तो थापेर अड्काउने, घुमाउने यी सबैको चरित्र हुन्छ । त्यसैले सेवाग्राहीले कुन–कुन कागजात पूरा गर्नुपर्छ भनेर एकमुष्ट जानकारी दिइँदैन, किस्तामा कागज मागिन्छ । दलाल नलगाई काम बन्दैन । एकपटक जोडिएपछि यस्ता लगानीकर्ता दुहुना गाईजस्ता हुन्छन् । कुनै न कुनै अत्तो थापेर पैसा दिन बाध्य पार्छन्, नत्र कामै हुँदैन । अझ दसैँ–तिहार, नयाँ वर्ष आदिको भाग भनेर पनि माग्छन् । यो वर्तमानको यथार्थ हो । भोग्नेको पीडा हो । कि कामै गर्नु भएन कि पैसा खुवाउन मञ्जुर भएर, दलाल लगाएर काम गर्नुपर्छ । 
काम सुरु गरेको मानिस आफ्नो लगानी डुबाउन चाहँदैन । त्यसैले जस्तो दुःख र अपमान सहेर भए पनि लगानी सुरक्षित गर्न लागिपर्नुपर्छ नै । १०/२० जनालाई प्रत्यक्ष रोजगारी दिएको लगानीकर्ता कामले कार्यलयमा जाँदा सेवा दिन बसेकालाई नमस्कार गर्दै जानुपर्छ यहाँसम्म ठिकै छ तर भर्खर खाजा खान, मिटिङमा, एकछिन बाहिर आदि भनेर घन्टौँ पर्खिन बाध्य बनाउँछन् । यता समाजका ‘झन्डु’हरू बाह्रमासे चन्दा मागेर हैरान पार्छन् । लगानीकर्ता लुकेर हिँड्नु र जोगिनुपर्छ । मोबाइलबाट धम्क्याउँछन् । कतिखेर के आपत आइलाग्ने हो सधैँ डर हुन्छ । 

लगानी कति आउला त्यो तपसिलको कुरा हो, तर लगानीविना देशको विकास हुँदैन, रोजगारी सिर्जना हुँदैन, उत्पादन हुँदैन, जीवनको निर्वाहका आधार बन्दैन भन्ने बोध राज्यस्तरबाट हुनु र त्यसतर्फको यात्रा आरम्भ गर्नु निकै सकारात्मक कुरा हो । 

सबै तहका सरकार, वडा प्रतिनिधिसम्मको बुझाइमा विकास भनेको पूर्वाधार (बाटो, कल्भर्ट, नाला, पुल, बिजुली, खानेपानी, स्कुलका भवन, अस्पतालका भवन, भ्युटावर, बिल्डिङ, सभाहल आदि) बनाउनु हो । यस्तो विकास दखिने र फाइदा पनि हात लाग्ने विकास हो । यस्ता विकासमा दोहोरो फाइदा छ । त्यसैले धेरैको ध्यान यसैमा गयो । जनताको माग पनि धेरै यसैमा भयो, समाज र राजनीतिले बुझेको विकास पनि यही भयो । 

जहाँ पूर्वाधारको अति न्यून विकास भएको छ, त्यहाँ पूर्वाधारको विकास पहिलो प्राथमिकतामा पर्नु स्वाभाविकै हो । विकास कमिसन र प्रचारका लागि नभएर त्यहाँ बस्ने मानिकको जीवनमा परिवर्तन ल्याउन, जीवन निर्वाहमा सहजता ल्याउन र आम्दानी बढाउनमा हुनुपर्छ । केही हदसम्म पूर्वाधार नै नभएको ठाउँमा पूर्वाधारको विकास हुनुपर्छ तर पूर्वाधारको विकास सँगसगै उत्पादनसँग जोडिएका, रोजगारी सिर्जना गर्ने, जनजीविकाका विषय ओझेलमा परे भने के हुन्छ भन्ने अहिले देखिन थालेको छ । जस्तो ः भूकम्पले ध्वस्त बनाएका लगभग सबै विद्यालयको पुनर्निर्माण भयो । भव्य स्कुल भवन बने तर त्यहाँ पढ्ने विद्यार्थीको अभाव देखियो । गाउँमा बाटो, बिजुली, खानेपानी, स्वास्थ्य केन्द्र, स्कुल बन्यो तर गाउँमा मानिसको सङ्ख्या ह्वात्तै घट्यो । अझ रमाइलो त के भयो भने जहाँ विकासका लागि पूर्वाधारको विकास धेरै भयो, त्यहीँबाट धेरै बसाइँसराई भएको छ । किनकि त्यहाँ जीविकाका आधार बनाउनेमा ध्यान जान सकेन, उत्पादन र बजारसँग विकास जोडिएन । 

पूर्वाधारको विकाससँगै जीविकाका आधार खडा भएनन् भने जीवन त्यहाँ अडिँदो रहेनछ भन्ने प्रस्ट हुँदै गएको छ । अबको विकासको मोडल पूर्वाधारमा मात्रै होइन जीविकाका सवालमा केन्द्रित हुनुपर्छ । जीविकाका आधार कृषि, व्यापार, उद्योग, सेवा आदि हुन् । यी सबै कामका लागि लगानी, ज्ञान, सीप, आँट, बजार र अनुकूल वातावरण चाहिन्छ । अनुकूल वातावरण भनेको हावापानी मौसम मात्रै होइन । समाज र सरकारको दृष्टिकोण हो, राजनीतिज्ञको बुझाइ हो । 

ठुल्ठुलो लगानी गर्नका लागि विदेशीलाई गुहार्न सकिएला तर यस्ता धेरै परियोजना सञ्चालन गर्न सकिन्छ जसका लागि नेपाली पुँजी नै पर्याप्त छ । आजका दिनमा मानिस उद्योग, व्यापार, व्यवसाय, कृषि, सेवा आदिमा पैसा र पुँजी भएका मानिस पनि लगानी गर्न डराएका छन् । त्यही भएर बैंकमा पैसा थुप्रिएको छ । बैंकबाट ऋण लिएर पुँजी परिचालन गरिरहेका उद्यमी व्यवसायी पनि ब्याज सस्तो हुँदा पनि ऋण लिन बैंकमा गएका छैनन् । युवा व्यवसाय गर्नभन्दा विदेश जान लालायित छन् । 

यस्तो प्रतिकूल अवस्थामा कोशी प्रदेश सरकारले आँट गरेर नयाँबाटो हिँड्ने साहस गरेको छ । यसको अर्थ कोशीको सरकारले विकासको मोडल अब के हुनुपर्छ भन्ने कुरामा पहिचान गरेको छ । त्यसतर्पm पाइला राखेको छ । यसमा लगानी गर्न चाहने, सक्नेलाई मात्रै सहभागी गराएको छैन । जनप्रतिनिधि, कर्मचारी, भएका लगानीकर्ता, सम्भावित लगानीकर्ता, नीति–पोलिसीमा काम गर्ने विज्ञ, टेक्नोक्रेट, कार्यान्वयनमा लैजाने कर्मचारी सञ्जालका उच्चस्तरीय  व्यक्तित्वलाई एउटै ठाउँमा भेला गराएर सघन छलफल गराएको छ । सम्भावित लगानीका ठाउँ र व्यवसायको पहिचान गरेर लगानीकर्तालाई आकर्षित गर्ने जमर्को गरेको छ । यो आफैँमा राम्रो कामको सुरुवात हो । 

अर्को राम्रो पक्ष के हो भने सरकारका पक्ष–विपक्ष सबै राजनीतिज्ञ, राजनीतिकर्मीको यसमा ऐकबद्धता देखिएको छ । नेपालमा एउटा पार्टी र सरकारले ल्याएको प्रस्ताव मात्रै होइन, सुरु गरेका कामलाई अर्को सरकार आउने बित्तिकै फेर्ने चलनले लगानीकर्ता हच्किनु स्वाभाविकै हो । त्यो यसमा देखिएन । मूलधारका सबै पार्टी र नेताको समर्थन र सहकार्य देखियो । केन्द्र सरकारको समर्थन र सहयोग देखियो । अरु प्रदेशका सरकार प्रमुखलाई आमन्त्रण गरेर अबको विकासको मोडल यो हो भनेर बुझाउने जमर्को गरेको देखियो । 

लगानी कति आउला त्यो तपसिलको कुरा हो, तर लगानीविना देशको विकास हुँदैन, रोजगारी सिर्जना हुँदैन, उत्पादन हुँदैन, जीवनको निर्वाहका आधार बन्दैन भन्ने बोध राज्यस्तरबाट हुनु र त्यसतर्फको यात्रा आरम्भ गर्नु निकै सकारात्मक कुरा हो । 

हाम्रो देश यसै पनि विकासमा सदियौँदेखि पछि परेको देश । अरुले धेरै उचाइ प्राप्त गरिसक्दा मात्रै हामीले यात्राको थालनी गर्न सुरु गरेका छौँ । नेपाल सरकारले पहिला नै पटक–पटक लगानी सम्मेलन गरेको छ । तर विदेशी लगानी धेरै आकार्षित हुन सकेन । कारण, हाम्रो देशमा सरकारको नीति, व्यवहार र सामाजिक एवं राजनीतिक वातावरण प्रतिकूल छ । त्यसैले यहाँको उद्योगको लगानी र उत्पादनको लागत उच्च छ । नेपालको बजारमा मात्रै खपत हुँदैन । नेपाली बजारमा पनि विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्छ र विदेशी बजारमा प्रतिस्पर्धी मूल्यमा पठाउन सजिलो छैन । यसलाई सजिलो र प्रतिस्पर्धी बनाउन सरकारले सहयोग गर्नुपर्छ । 

हाम्रा काम परिणाम निकाल्नेभन्दा प्रचारमा रमाउनका लागि गरिन्छ । सामाजिक खपतका लागि ठुल्ठुला र चर्का कुरा गर्ने चलन व्यापक छ । यो सम्मेलनको स्प्रिड हेर्दा परिणाम निकाल्न चाहेको महसुस गरेको छु । सबै तहका सरकारले अबको विकासको मोडल लगानीमैत्री बनाउन प्रयास गर्नुपर्छ । वातावरण बनाउनुपर्छ । लगानी गर्ने मानिस, संस्थालाई हेर्ने नजर र व्यवहार बदलिन जरुरी छ । जबसम्म लगानीमैत्री सरकार, समाज, नीति, वातावरण बन्दैन तबसम्म खुलेर लगानी गर्न हच्किने अवस्था बन्छ । जबसम्म खुलेर उत्साहपूर्वक लगानी हुँदैन तबसम्म न उत्पादन हुन्छ न त रोजगारी सिजना हुन्छ । त्यसैले सोच बदल्ने व्यवहार बदल्ने कामको सुरुवात भएको महसुस गरेको छु । यसलाई सफल बनाउँ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामचन्द्र उप्रेती
रामचन्द्र उप्रेती
लेखकबाट थप