२० जातिको सामाजिक संस्कार

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ‘नेपालका जातीय सामाजिक संस्कार भाग ९ पुस्तक प्रकाशित भएको छ । यसभित्र नेपालका विभिन्न २० जातिको सामाजिक संस्कारसम्बन्धी लेख समेटिएका छन् ।
शेर्पा जातिबारे आङ्लमी शेर्पाले, वाम्बुले राईबारे गणेश वाम्बुले राईले, डगौरा थारूबारे डा. गोपाल दहीतले, चुनाराबारे जनक रसिकले र सुरेलबारे डा. तारामणि राईले लेखेका छन् ।
यस्तै, ल्होमी (सिङसावा)बारे डा. पासाङ शेर्पाको, थापामगरबारे प्रकाश थापामगरको, आठ पहरिया राईबारे बुलु मुकारुङको र वनकरियाबारे भानुभक्त आचार्यले आलेख रहेको छ ।
यस्तै, चाम्लिङ राईबारे भोगीराज चाम्लिङले, जिरेलबारेबारे मोहन कुमार तामाङले, लाप्चाबारे राजेश थापाले, तोक्पेगोलाबारे राजेश्वर थापाले, मल्लाहबारे रामनारायण महतोले, मेचेबारे रोशनी मेचेले, राउटेबारे डा. लालबहादुर पुनले, वायुङ राईबारे लोकबहादुर राईले, घर्तीबारे विष्णु घर्ती ‘भनभनेली’, मुसहरबारे बेचन उराँवले र धिमाल जातिबारे डा. सोमबहादुर धिमालले लेखेका छन् ।
यस आलेखमा यी २० जातिबारे चर्चा गरिनेछ ।
१) शेर्पा
नेपालमा शेर्पाहरू विशेषतः मध्यहिमाली क्षेत्र गोर्खादेखि सोलुखुम्बु हुँदै पूर्वमा ताप्लेजुङसम्मका हिमाली तथा उच्च पहाडी र लेकाली भूभागमा प्राचीनकालदेखि बसोबास गर्दै आएका छन् । ती उच्च हिमाली क्षेत्रहरूको भौगोलिक कठिनाइ र चिसो हावापानीसँग तादात्म्यता राख्ने विशेष संस्कृति र सभ्यता शेर्पाहरूले बोकेको पाइन्छ । त्यही विशेष स्थान र वातावरणसँग पौँठेजोरी खेल्दै जीवनयात्रा अगाडि बढाउने क्रममा पितापुर्खादेखि अपनाउँदै र अभ्यास गर्दै आएका जीवनपद्धति नै शेर्पाका मौलिक संस्कृति हुन् । शेर्पाहरू प्रकृतिप्रेमी साथै बौद्ध धर्म र दर्शनका अनुयायी हुन् । उनीहरू यी दुवै सभ्यताका सङ्गमरूपी हिमाली समुदाय हुन् । त्यसैले शेर्पाहरू हिजोआज पनि आफ्ना वरिपरिका प्राकृतिक स्रोत, वातावरण र हावापानी संरक्षण संवर्द्धन र थोरैभन्दा थोरै उपयोग गर्ने परम्परागत उपायहरू अपनाउँदै आएका पाइन्छन् ।
उनीहरूले प्रकृतिको संरक्षणका लागि विभिन्न संस्कारहरू गर्ने, सम्मान स्वरूप पाठपूजा गर्ने नियमित अभ्यासलाई एउटा चाडका रूपमा मनाउने गर्छन् । शेर्पा समुदाय बुद्ध धर्मका अनुयायी भएकाले उनीहरू बुद्ध दर्शनका आधारभूत शीलहरू पालना गर्छन् । परम्परागत रूपमा शेर्पाहरू बुद्ध शिक्षा अध्ययन–अध्यापन र अभ्यास गर्छन् । उनीहरू बुद्ध धर्मसँग सम्बन्धित अधिकांश चाडपर्व शास्त्रानुसार मनाउँछन् । त्यसैगरी उनीहरू आफ्नो कठिन जीवनलाई थप ऊर्जा प्रदान गर्न समय–समयमा सामाजिक र पेसागत चाडपर्वहरू पनि मनाउने गर्छन् ।
विशेष स्थान र वातावरणसँग पौँठेजोरी खेल्दै जीवनयात्रा अगाडि बढाउने क्रममा पितापुर्खादेखि अपनाउँदै र अभ्यास गर्दै आएका जीवनपद्धति नै शेर्पाका मौलिक संस्कृति हुन् । शेर्पाहरू प्रकृतिप्रेमी साथै बौद्ध धर्म र दर्शनका अनुयायी हुन् । उनीहरू यी दुवै सभ्यताका सङ्गमरूपी हिमाली समुदाय हुन् ।
२) वाम्बुले राई
वाम्बुले राई जातिभित्रका पाछा अनुसार मुक्तुम संस्कार केही फरक छन् । मुक्तुमको सार एउटै हो । मुक्तुमी नाक्सो (कुलगुरु) आफ्नो पाछाभित्र सीमित हुन्छ । ङाबुचो (सहायक कुलगुरु)हरू छन् । आदिम युगदेखि चलिआएका मुक्तुम परम्परा संकटतर्फ धकेलिइरहेको स्थिति छ । मुक्तुम के हो ? मुक्तुम परम्परा किन मान्ने भन्ने पक्षमा बुझाउन सक्ने पुस्ता क्रमशः ढल्दै गएका छन् ।
यता संस्थागत रूप मातृभाषा र मुक्तुम संस्कृति परम्पराको संरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्ने पुस्ता विज्ञान–प्रविधिबाट अछुत रहने कुरै भएन । परम्पराको निरन्तरताका लागि गठन भएका सामाजिक संस्थाहरू राजनीतिक रङले गाँजिएको स्थिति छ । दलीय स्वार्थले सामाजिक संस्थाहरूलाई उद्देश्यविहीन र बिटुलो बनाउँदै लगेको स्थिति छ । भोट पाउन सामाजिक संस्थामा प्रवेश गर्ने पदाधिकारी र सदस्यहरूले सामाजिक मूल्यमान्यता, मातृभाषा, साहित्य, मुक्तुम संस्कृति परम्पराभन्दा आफूलाई ‘सुपरम्यान’ बनाउने उपाय अग्रस्थानमा राख्ने प्रवृत्ति बढेको छ ।
३) डगौरा थारू
थरुहट तराईका मूलवासी थारूहरूको आफैँमा सम्पन्न समाज रहेको छ । थारूहरूको साझा पहिचान यिनीहरूको ‘मेहनत र इमानदारिता’ हो । हरेक गाउँमा गाउँको मूली रहने गर्छन् । जसलाई थारू भाषामा बरघर अथवा महटाँवा भन्ने गरिन्छ । दगौरा थारूका संस्कारहरू विधिअनुसार पूरा गर्न गराउन बरघरको पनि ठुलोे भूमिका रहेको हुन्छ ।
यिनीहरूका प्रमुख संस्कारहरू दशोटा रहेका छन् । ती हुन्— जन्म संस्कार, घट्वा जैना, ठसौरा वा सठौरा पूजा, नाम राख्ने, मुण्डन ‘मूर भ्वाज’, उल्टा दाँग टुरैना, पुत बह्राउ, विवाह ‘भ्वाज’ र सतगत । यी संस्कार विधि अनुसार सुसम्पन्न गर्न ‘थारु गुरुवा’ चाहिन्छ । पूरा सामग्रीमा अन्न, घरेलु रक्सी, बेबुरी फूल, धुप, जल, आदि आवश्यक पर्छन् । विभिन्न संस्कारमा थरीथरीका थारू परिकार बनाएर खाने र खुवाउने प्रचलन छ । मांसाहारी र साकाहारी गरेर दुवै थरीका परिकार बनाउने गरिन्छ । भोज विवाह तथा सतगतमा बङ्गुरको मासु अनिवार्यजस्तै हुन्छ । आमा र बुवाको उपस्थिति र आशीर्वाद सन्तानको संस्कारका लगि अनिवार्य सर्तको रूपमा मानिन्छ । उनीहरू विनासंस्कारको कर्म गरिँदैन भन्दा अत्युक्ति नहोला ।
वाम्बुले राई जातिभित्रका पाछा अनुसार मुक्तुम संस्कार केही फरक छन् । मुक्तुमको सार एउटै हो । मुक्तुमी नाक्सो (कुलगुरु) आफ्नो पाछाभित्र सीमित हुन्छ । ङाबुचो (सहायक कुलगुरु)हरू छन् । आदिम युगदेखि चलिआएका मुक्तुम परम्परा संकटतर्फ धकेलिइरहेको स्थिति छ ।
४) चुनारा जाति
चुनारा नेपाली समाजका महत्त्वपूर्ण र ऐतिहासिक जातिमध्ये एउटा हो । विगत कालदेखि नै घर–परिवार र समुदायको जनजीवनमा चुनारा जातिको सीप, श्रम र व्यवसायको निरन्तर प्रयोग र उपयोग हुँदै आइरहेको छ । त्यसका विपरीत विगतदेखि व्याप्त चुनारा जातिलाई समाजको तल्लो जातिका रूपमा हेर्ने र विभेद तथा छुवाछुत गर्ने कुप्रथा वर्तमानमा पनि धेरथोर मात्रामा देखिन्छ ! जसलाई अझै निर्मूल पार्नु आवश्यक छ । देश, काल र परिस्थिति लगायत विविध विषयका कारण विश्वका तथा देशभित्रका हरेक समुदायमा परिवर्तन देखापरिहेका छन् । चुनारा जातिको संस्कार, संस्कृति र जीवनशैलीमा पनि व्यापक परिवर्तन देखिइरहेका छन् । यो परिवर्तनले एकतिर कतिपय व्यक्ति र परिवारको अवस्थामा सुधार आइरहेको छ भने कतिपयको अवस्थामा झनै समस्या थपिइरहेका छन् ।
विशेषतः रैथाने सीप, कला र श्रममा बाँच्न चाहनेका लागि चुनौती देखिएका छन् । यो चुनारा जातिका केही व्यक्ति र परिवारको मात्र समस्या नभएर समग्र सामाजिक समस्या हो । एकातिर परम्परागत पेसा–व्यवसायले ती समुदायका आवश्यकता पूरा गर्न नसक्नु, अर्कोतिर समाजमा भएका मौलिक र रैथाने ज्ञान सीपको संरक्षण संवर्द्धन हुनुको साटो लोप हुँदै जानु दुवै आयामबाट यो चिन्ताको विषय हो । यसले एकातिर समुदायको आफ्नोे उत्पादन, रोजगारी र पेसा–व्यवसाय क्षय हुँदै गइरहेको छ भने अर्कोतिर आयातीत वस्तुहरूको बढोत्तरीले परिवार र समुदायको आर्थिक अवस्थामा नकारात्मक असर परिरहेको छ । यस्ता विविध विषयलाई गम्भीर रूपमा लिएर राज्य र सरोकारवालाले हाम्रो समाजका विविध जाति समुदायसहित चुनारा जातिको मौतिक संस्कार, संस्कृति र पेसा–व्यवसायको सुधार, संरक्षण संवर्द्र्धन गर्ने नीति अवलम्बन गर्नु अत्यावश्यक भइसकेको छ ।
लेखकहरूको गहन अध्ययन र खोजबाट २० विभिन्न जातजातिका जातीय संस्कार समेटिएका सामग्री तयार पारिएका हुन् । तिनलाई मिहीन ढङ्गले भाषा–सम्पादन गरी प्रकाशन गरिएको छ । जातीय सामाजिक संस्कारसम्बन्धी अध्ययन गर्ने अध्येता, यस विषयमा चासो र सरोकार राख्ने सबै पाठकका लागि यस अङ्कका लेख महत्त्वपूर्ण सामग्री हुनेछन् ।
५) सुरेल जाति
सुरेल जातिको जीवन र जगत्लाई हेर्ने आफ्नै दृष्टिकोण छ । जन्मदेखि मृत्युसम्मको संस्कार हेर्दा उनीहरू मौलिक संस्कारभन्दा हिन्दु संस्कारबाट धेरै प्रभावित भएको देखिन्छ । उनीहरूले बच्चालाई जन्म दिनका लागि घरमै र प्राकृतिक रूपमै जन्म दिने कुरालाई राम्रो मान्छन् । आजभोलि आधुनिक उपचार पद्धतिका कारण स्वास्थ्य चौकी वा प्रसूति उपचार केन्द्रहरूमा जाने प्रचलन पनि रहेको छ । सुरेल जातिमा छोरी जन्मिए पाँच दिन र छोरा जन्मिए सात दिनमा न्वारान गर्ने चलन छ । सुरेल जातिमा बच्चा जन्मिएको ६ महिना पुगेपछि छोराको र पाँच महिना पुगेपछि छोरीको पास्नी गर्ने चलन छ । पास्नी पनि पुरोहितद्वारा नै गराइन्छ ।
छोराको छेवर गरिन्छ भने छोरीलाई गुन्युचोलो दिने चलन छ । छेवर नगरेसम्म कपाल काट्न हुँदैन भन्ने मान्यता रहेको पाइन्छ । विवाह आदि कर्मका लागि छोराका लागि छेवर र छोरीका लागि गुन्युचोलो कर्म सम्पन्न गरिसक्नुपर्ने मान्यता छ । सुरेल जातिमा मागी र भागीविवाह हुने गरेको पाइन्छ, तर केही अगाडिसम्म चोरीविवाह पनि प्रचलनमा भए पनि अहिले चोरीविवाहको प्रचलन हराइसकेको छ ।
६) ल्होमी (सिङसावा) जाति
नेपालका हिमाली क्षेत्रमा बसोबास गर्ने ल्होमी जाति अत्यन्तै सरल, परिश्रमी, मिजासिलो, धर्म र अध्यात्ममा विश्वास गर्ने स्वभावका छन् । संस्कार र संस्कृतिका हिसाबले विशिष्ट पहिचान भएका ल्होमीहरू वर्षभरि विभिन्न प्रकारका चाडपर्व, मेला, उत्सव र पूजाआजा गर्ने गर्छन् । ल्होमीहरूको प्रकृति र प्राकृतिक स्रोतसँग अन्योन्याश्रित सम्बन्ध भएकाले यसको संरक्षण, उपयोग दिगो रूपमा गर्दै आएका छन् । यिनीहरूमा आफ्नोे जीवन र जगत्लाई हेर्ने आफ्नै विश्वदृष्टिकोण रहेको छ । सामूहिकता, पारस्परिकता, आदरसम्मान, समन्वय र ऐक्यबद्धताको सिद्धान्त र सामाजिक मूल्य–मान्यताका आधारमा सामाजिक संरचना र सामाजिक प्रणालीलाई निरन्तरता दिँदै आएका छन् ।
परम्परागत रूपमा कृषि, पशुपालन र जडीबुटी व्यापारलाई मुख्य पेसाको रूपमा अँगाल्दै आएका ल्होमीहरूले यसलाई निरन्तरता दिँदै आएका छन् । तर पनि खेतीपातीको उब्जनीबाट वर्षभरि खाना नपुग्ने हुनाले पशुपालन, व्यापारका साथै पछिल्लो समयमा वैदेशिक रोजगारी र पर्यटन पेसामा संलग्न हुँदै आएका छन् । दुर्गम हिमाली क्षेत्रमा बसोबास गर्ने हुनाले विगतमा राज्यको उपस्थिति नपुगेका कारण आधुनिक शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सेवा–सुविधाबाट वञ्चितीकरणमा पर्नुपरेकाले राज्यको नीति–निर्माण तह, निजामती सेवामा यिनीहरूको प्रतिनिधित्व प्रायः शून्यको अवस्थामा रहेको छ ।
७) थापामगर
थापामगर को हुन्, थापामगरको बसोबास कुन भूगोलमा छ र उनीहरूका जातीय संस्कार के कस्ता छन् जस्ता विषय पुस्तकमा चर्चा गरिएको छ । थापामगरको पहिचान त्यति कठिन नभए पनि उनीहरूको बसोबास भने देशव्यापी छ । ऐतिहासिक रूपमा थापामगरको उद्गमस्थल बाह्रमगरात मानिए पनि अठार मगरातसहितका साविक गण्डकी, लुम्बिनी, राप्ती र कर्णाली अञ्चलका विभिन्न जिल्लालाई बसोबासस्थलको रूपमा लिन सकिन्छ तर यसबाहिर पनि थापामगरको बसोबास बाक्लै छ । छुट्टै जातीय संस्कार नभएर समग्र मगर जातिकै संस्कारभित्र थापामगरको संस्कार पनि पर्छ । त्यस क्रममा मगरका जातीय संस्कारका आधारका रूपमा मूलतः प्रकृतिपूजा र धर्मलाई लिन सकिन्छ । त्यस आधारमा जातीय संस्कारलाई तीन भाग (जीवनवृत्ति संस्कार, चाडपर्व र जीविका)सित सम्बन्धित संस्कारमा वर्गीकरण गरेर सङ्क्षिप्तमा चर्चा गरिएको छ ।
लेखको शब्दसीमाका कारणले यी तीनथरी जातीय संस्कारको विस्तृत चर्चा गर्नु सम्भव छैन । फेरि पनि जातीय संस्कारको आधारका बारेमा चर्चा गरिसकेपछि मात्रै संस्कारको चर्चा गर्ने तरिका अपनाइएकाले त्यसबारे अस्पष्टता रहनेछैन भन्ने आशा गरिएको छ । सङ्क्षेपमा थापामगरको इतिहास, शैक्षिक अवस्था र देशको पछिल्लो राजनीतिक परिवर्तनयताको सक्रियताबारे पनि उल्लेख गरिएको छ । लेखले थापामगरका जातीय संस्कारलाई त्यसको आधारसँगै सामान्य, सङ्क्षिप्त र साझा स्वरूपमा प्रस्तुत गरेको छ ।
८) आठपहरिया राई
राज्यद्वारा सीमान्तकृत आदिवासी जनजातिमध्ये राई जातिभित्रकै एउटा शाखाका रूपमा आठपहरिया राई जातिलाई राखिएको छ । यस जातिलाई पृथक् जातिको सूचीमा दर्ज गरिएको छैन । आफ्नै भाषा, वेशभूषा तथा लोकसंस्कार–संस्कृति हुनु यस जातिको भिन्न पहिचान हो । राष्ट्रिय जनगणना २०७८ अनुसार १४२ वटा जातजाति र तिनका १२५ वटा भाषा गणना गरी यस जातिको भाषालाई पनि समावेश गरेको छ । कुनै पनि लोकसंस्कृति वा परम्परा युग र समयले परिवर्तन गर्दै लाने गर्छ । मानिसको विकासक्रम, आधुनिक विकासको चपेटा आदि कारणले सभ्यता–संस्कृतिमा फेरबदल आउने गर्छ र आठपहरिया राई जातिका संस्कार, संस्कृति वा सभ्यता, परम्परामा पनि यथेष्ट परिवर्तन हुँदै आइरहेको छ । यो जातिलाई विद्वान्, गवेषक वा खोज–अध्ययनकर्ताले छुट्टै समूहमा राखिसकेका छन् । यसले भिन्न पहिचान, परिचय र अस्तित्व प्रदान गरेको छ ।
यो जाति सांस्कृतिक तथा भाषिक आधारमा भिन्न अस्तित्व भएको आदिवासी जाति हो भन्न सकिन्छ । अध्ययनका क्रममा पाइएका करिब एक सय पचास वर्षअघिका हस्तलिखित अभिलेखपत्रका आधारमा यस जातिलाई ‘किरात राई’ भनेर सम्बोधन गरिनुले यो जाति धनकुटाका पुराना बासिन्दामध्येकै राई जाति भएको प्रमाणित हुन आउँछ । पूर्वी क्षेत्रको गौँडा धनकुटामा रहँदादेखि नै सरकारी संयन्त्रसँग नजिक रहे पनि त्यस समयमा समेत यस जातिको राज्य, प्रशासन या कुनै पनि राजनीतिक समूहमा उपस्थिति र अस्तित्व प्रतीत नहुनु दुःखदायी कुरा हो भन्न सकिन्छ । जसरी यो जाति अरुण र तमोर दुई नदीबिचको सीमित भूभागमा बसोबास गरिरहेको छ । यो जातिको लोकसंस्कृति, सभ्यता भने सीमिततामा बाँधिएको देखिँदैन । वास्तवमा आठपहरिया
लोकसाहित्य, लोकसंस्कार, संस्कृति, भाषा र वेशभूषा मौलिक पाइन्छन् । यो जाति लोकसंस्कृतिमा सम्पन्न देखिन्छ ।
९) वनकरिया
वनकरिया समुदायले आधुनिक सभ्यता पच्छ्याउँदै गएको छ । २०५० को दशकसम्म बस्तीमा नौलो मानिस आएको देख्नेबित्तिकै जङ्गलतिर भाग्ने स्वभावका वनकरिया आम नागरिकको जस्तै रहनसहन, हिँडडुल, बोलचाल, व्यवहार गर्न थालेका छन् । राज्यले सामाजिक सुरक्षा भत्ता दिन थालेपछि उनीहरूको न्यूनतम आधारभूत आवश्यकता पूर्ति गर्ने आधार तयार भए पनि उनीहरूको सिर्जना हराउँदै गएको छ । प्रकृतिसँग ज्यादै नजिक रहेको यो समुदाय आधुनिकतामा प्रवेश गर्दै गर्दा आफ्नो मौलिक परम्परा बिर्संदै जानु पक्कै राम्रो होइन ।
पाका पुस्तासँग भएको ज्ञान, सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसकेको अवस्थामा वनकरियाको पहिचान लोप हुने खतरा छ । विभिन्न संघ–संस्था (एनजीओ) ले वनकरियालाई आत्मनिर्भरभन्दा पनि परजीवी बनाउँदै लगेको अनुभूति हुन्छ । किनकि गैरसरकारी संघ–संस्थाले यो समुदायलाई आयआर्जनका लागि भनेर बिउपुँजीका रूपमा दिएको बाख्रा, पाडापाडी, कुखुरा, हाँस, बङ्गुर आदि वृद्धि गर्नेभन्दा पनि बिउ नै मास्ने प्रवृत्ति विकास भएको छ । यसले वनकरियालाई आत्मनिर्भरभन्दा पनि परजीवी बनाउँदै लगेको छ ।
१०) चाम्लिङ राई
चाम्लिङ राईहरूमा प्रचलित संस्कार हुन्— मुन्मा (जन्म), रुङ्रीकाम्मा (विवाह) र सियमाय (मृत्यु) संस्कार आदि । मुन्मा केवल जन्म–संस्कारका रूपमा मात्रै रहेको छैन, पारिवारिक–सामाजिक सम्बन्धको मानक पनि हो । चाम्लिङ राईहरू गर्भवती र गर्भको शिशुप्रति जति संवेदनशील छन्, जन्मपछि उनीहरूको सुस्वास्थ्य र सामाजिकीकरणमा पनि उत्तिकै संवेदनशील देखिन्छन् ।
मलिपोमा (न्वारान) संस्कारमा धनुबाण प्रयोग हुन्छ । कुखुरालाई दाबिलोले हिर्काएर मार्ने अभ्यास पनि छ । यी सबै आदिम सिकारी जीवनका सांस्कृतिक अवशेष हुन् भन्न सकिन्छ । चाम्लिङ राईहरूमा केही अघिसम्म मन पराएको केटी जबर्जस्ती समातेर विवाह गर्ने चलन थियो । महिलाप्रधान समाज कमजोर हुँदै गरेको अवस्थाको सांस्कृतिक अवशेष हो यो । प्रकृतिलाई प्राणीसरह अनि पशुपक्षीहरूलाई मानवसरह ठान्ने दृष्टिकोण स्वयं पनि आदिम युगको विश्वदृष्टिकोण हो । जस्तो कि हर्रो र अमला अनि बाघ, भालु र कुकुरलाई एउटै आमाको सन्तान मान्ने दृष्टिकोण आदिम जीवात्मवादी विश्वदृष्टिकोण हो । त्यस्तै, आत्माको अस्तित्व स्वीकार गरेर मृत्युसंस्कारहरू गरिनु पनि आदिम युगकै विश्वासप्रणालीको निरन्तरता हो ।
११) जिरेल
नेपालका ६० सूचीकृत आदिवासी जनजातिमध्येको एउटा जाति जिरेल जिरीका आदिवासी हुन् । सुविधाबाट वञ्चित भनेर उल्लेख गरेर वर्गीकरण गरिएको यो जातिको जीवनस्तर निकै राम्रो देखिन्छ । प्रकृतिपूजक र आफूहरू किरात भएको दाबी गर्ने जिरेलहरूले पछिल्लो समयमा बुद्धधर्म अङ्गीकार गरेर सोअनुरूप नै संस्कारहरू गर्दै आएको पाइन्छ । तथापि आफ्नै कुलपितृ आदि कार्यहरूमा आफ्नैै फोम्बोलाई प्रयोगमा ल्याएको देखिन्छ । मुख्यतया मृत्यु संस्कारमा लामा लगाउने र अन्य संस्कारमा भने फोम्बो लगाउने प्रचलनले जिरेलहरूको संस्कारमा सांस्कृतिक मिश्रण देख्न पाइन्छ । मृत्यु संस्कारमा प्रचलनमा रहेको सेनसिङ यही सांस्कृतिक मिश्रणको नमुना हो । लामाहरूले आसपासका क्षेत्रका हिमाल, डाँडा, पोखरीहरूको नाम उच्चारण गर्ने प्रचलनले झनै प्रकृतिपूजक हुन् भन्ने प्रस्ट्याएको देखिन्छ ।
१२) लाप्चा जाति
लाप्चा जाति नेपालमा लोपोन्मुख अल्पसङ्ख्यक जातिको सूचीमा नामकरण भएको छ । यद्यपि उनीहरूको आफ्नै मौलिक परम्परा, रीतिरिवाज, भाषा, वेशभूषा, संस्कार तथा संस्कृतिका कारण छुट्टै पहिचान कायम गराउन सफल रहेको देखिन्छ । इलाम जिल्लाको माइखोलावारी पूर्वपट्टिको भूभागमा बाक्लो बसोबास रहेको लाप्चाहरूको ऐतिहासिक पहिचान कायम राख्न अहिले एउटा गाउँपालिकाको नाम रोङ गाउँपालिका राखिएको छ । लिम्बु जातिसँग सांस्कृतिक रूपमा निकट सम्बन्ध रहेका लाप्चा जातिहरू आफूलाई आवश्यक पर्ने घरायसी सामान लगायत लत्ताकपडा, गरगहना आदि आफैँले बनाएर लाउने गर्छन् । परम्परागत पेसाका रूपमा खेतीपाती र पशुपालन गर्ने यी समुदायका मानिस हाल पर्यटन व्यवसाय, शिक्षण, स्वास्थ्यसेवा लगायत सरकारी नोकरीमा समेत कार्य गरिरहेको देखिन्छ ।
लाप्चा समुदायको प्रतिनिधित्व गर्दै इलाम जिल्लाबाट शकुन्तला लाप्चाले संविधानसभा सदस्यका रूपमा समेत भूमिका निर्वाह गर्नुभएको देखिन्छ । यसबाट अहिले नेपालको राजनीतिमा समेत लाप्चाहरूले चासो राखेको पाइन्छ । नेपालमा थोरै सङ्ख्यामा रहेको भए पनि भारतको सिक्किम, दार्जिलिङ र कालिङ्पोङमा परापूर्वकालदेखि बसोबास गर्दै आएका लाप्चाहरूको सङ्ख्या झन्डै असी हजारको हाराहारीमा रहेको छ र भारत सरकारले त्यहाँ बसोबास गर्ने लाप्चाहरूको विकासका लागि छट्टै लाप्चा सङ्ग्रहालयसमेत स्थापना गरिदिएको छ ।
१३) तोक्पेगोला
ताप्लेजुङ जिल्लाको सुदूरपश्चिमोत्तर भागमा अवस्थित साबिक पापुङ गाविस (वर्तमान मिक्वाखोला गापा वडा ५ अन्तर्गत)को तोक्पेगोला एउटा ऐतिहासिक ठाउँ हो । १९११/१२ सालमा जङ्गबहादुरको आदेशमा तिब्बतमाथि आक्रमण गर्न नेपाली सेना यो ठाउँमा पुगेको थियो र उसले यहाँ याक चौँरी जम्मा गरेर युद्धको तयारी गरेको थियो । यस्तै करिब आठौँ शताब्दीतिर ल्हासातिरबाट हालका लिम्बुका पुर्खाहरू पनि यहीँ भएर प्रवेश गरेका थिए ।
यो लेखमा उल्लेख भएको जनजाति तोक्पेगोला (ढोक्प्या) यसै तोक्पेगोला स्थान नामबाट सूचीकृत भएको हो र हाल अन्यत्र जहाँजहाँ यो जनजातिका मानिस छन्, ती यहीँबाट त्यता गएका हुन् । यस जनजातिका मानिस अहिले अमेरिकामा पनि व्यापक मात्रामा पुगेका छन् भने ताप्लेजुङ सदरमुकाम, काठमाडौँ लगायत ठाउँमा पनि निकै छन् ।
१४) मल्लाह जाति
मल्लाह जातिको साइनो नदी र पानीसँग हुन्छ । पानीमै संघर्ष गरेर डुङ्गा खियाउने तथा माछा मारेर जीविकोपार्जन गर्ने आँटिलो जातिको रूपमा चिनिएको मल्लाह जातिको पछिल्लो समयमा दैनिक गुजारा गर्नलाई संकटको सामना गर्नुपरेको छ । उनीहरूले वर्तमानमा विभिन्न पेसा अपनाई गुजारा गर्छन् । मल्लाह जातिको जीवनचक्रमा विभिन्न संस्कारजन्य पद्धति छन् । संस्कारमध्ये जन्म, विवाह र मृत्युलाई जीवनचक्रको प्रमुख संस्कार मानिन्छ । यही संस्कारबाट जीवनलाई सकारात्मक ऊर्जा प्राप्त हुन्छ भनेर यसलाई निरन्तरता दिइरहेको पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा मल्लाह जातिको संस्कारमा आएका परिवर्तनलाई समय अनुसारको सकारात्मक परिवर्तन मान्नुपर्छ ! जुन अन्य समुदायमा पनि हुने गरेका छन् ।
१५) मेचे जाति
जसरी समय गतिशील हुन्छ, त्यसैगरी संस्कारहरू पनि समय, स्थान, परिवेश अनुसार गतिशील देखिन्छन् । आजभन्दा ३०–४० वर्षअगाडि र वर्तमानमा मेचे जातिको संस्कारमा धेरै परिवर्तन हुँदै आएको पाइन्छ । समाजशास्त्रको सिद्धान्त अनुसार जब समाजमा सामाजिकीकरणको प्रक्रियामा धेरै जनसङ्ख्या भएको समुदायले थोरै जनसङ्ख्या भएको समुदायलाई विस्थापित गर्दै जान्छ, त्यहीअनुसार धेरै समुदायमा थोरै समुदाय विलय हुँदै जाँदा उनीहरूमा भएको संस्कार, संस्कृति र परम्परागत अभ्यास पनि विलय गराउँदै लाने गर्छ ।
थोरै जनसङ्ख्या भएको मेचे समुदाय अन्य जातजातिको संस्कारले थिचिँदै गएको र अन्यको संस्कार आफ्नो समुदायमा हाबी हुँदै गएको देखिन्छ । जसले गर्दा उनीहरूको सङ्ख्या मात्र नभएर अधिकांश संस्कार पनि लोप हुने अवस्था छ । यसरी उनीहरूको संस्कार लोप हुने अवस्थामा पुग्नुको मुख्य कारण अन्तर्जातीय विवाह, अन्य समुदायको देखासिकी गर्नु हो, जसले गर्दा संस्कारहरू अन्यमा विलय भएर जाने सम्भावना बढी देखिन्छ । वर्तमानमा आफ्नोे संस्कार संरक्षण गरेर राख्नु भनेको देशको एउटा सुन्दर गहना संरक्षण गरेर राख्नु हो भन्ने सचेतना जगाउनुपर्ने आवश्यकता देखिन्छ ।
१६) राउटे जाति
राउटे समुदायमा सबै सांस्कृतिक नियम सहभागीमूलक तरिकाले बनाइन्छ । यस समुदायको सबैभन्दा राम्रो कुरा भनेको सांस्कारिक कार्यमा पूर्ण संलग्नता देखिन्छ । राउटे समुदाय आधुनिक समाजका लागि समस्या होइन, बरु आधुनिक समाजले राउटे समुदायमा अतिक्रमण गरेको छ । अबको दिनमा सरकारी, गैरसरकारी र निजी क्षेत्रले आधुनिक क्रियाकलापलाई राउटे समुदायमा लाद्नुभन्दा उनीहरूमा भएको संस्कार उजागर गरेर त्यसको संरक्षण र संवर्धन गर्नु नै उचित काम हो । उनीहरूको वर्तमान सांस्कृतिक क्रियाकलापलाई विस्थापन गर्नु उचित सोच होइन ।
तसर्थ अबको दिनमा यो लेखले सरकारका अधिकारीका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय शोधकर्ताहरू र नीति–निर्माताहरूको ध्यान आकर्षित गर्न सक्छ । राउटे र उनीहरूको संस्कार नेपाल र नेपालीहरू साथै मानव समाजको लागि पनि एउटा सांस्कृतिक सम्पदा हो । उनीहरूको ज्ञान, सीप, इमानदारिता, कम स्रोत–साधनबाट बाँच्ने कला आधुनिक समाजका लागि पनि मनन गर्नयोग्य कुरा हो भने यिनीहरूको भाषाको गहन अध्ययन नभएकाले कतिपय राउटे शब्दावली राख्न सकिएको छैन । यो विषय भविष्यको अनुसन्धानका लागि महत्त्वपूर्ण छ ।
१७) बायुङ राई
बायुङ राईले जन्मेदेखि मृत्यु हुँदासम्म विभिन्न किसिमका संस्कार गर्छन् । संस्कार अन्तर्गत गरिने प्रत्येक कार्जेभन्दा अगाडि सल्लाह गर्ने चलन छ । त्यसलाई बायुङ भाषामा ‘मुलु’ भनिन्छ । मुलुमा बस्दा सधैँ गोलो घेरामा बस्ने चलन छ । यसले सबैको समान हैसियत हुन्छ भन्ने संकेत गर्छ । मुलुमा बस्दा सबैको अगाडि दुई कठुवा रक्सी सगुन राख्नुपर्छ । निर्णय भएपछि रक्सी बाँडेर खाइन्छ । रक्सी खाएपछि निर्णयको विरुद्ध कसैले काम गर्न पाउँदैन । कसैले निर्णय उल्लंघन गर्यो भने सामाजिक बहिष्कारमा पर्छ । त्यसैले निर्णय उल्लंघन गर्ने आँट कसैले गर्दैन । जन्मेदेखि मृत्युसम्म मान्छेको तीनपटक नाम राख्ने चलन छ । न्वारानमा राखिएको नामलाई चोपी निङ भनिन्छ । त्यो नागरिकको वा प्रमाणपत्रमा लेखिने नाम हो । दोस्रो हङसिली जस्तो पुण्यकर्म गरेको हो भनी चिनाउनका लागि हङमा निङ राखिन्छ । जसले हङसिलि गरेर पितृहरूको उदार गर्छ ! उसले मात्र यो नाम पाउँछ । हङमानिङ अरूले पाउँदैन । तेस्रो मृत्यु भएपछि पितृ श्रद्धाको दिन बोलाउनका लागि मरेकै दिन उसको कृतिलाई झल्काउने हिसाब राखेको नामलाई बुलाम निङ वा नाम भनिन्छ ।
विवाह संस्कार पनि अरूको भन्दा फरक छ । उनीहरूको विवाहमा केटीको घरबाट केटाको घरमा विवाह हुने दिन जन्तीसहित कलिया रीत बुझ्न जानुपर्छ । पहिला केटाको घरमा विवाह हुन्छ । त्यसपछि केटीको घरमा विवाह हुन्छ । केटाको घरबाट तामाको चार थान भाँडा रीत बुझाउनुपर्छ । तामाको भाँडाको साथमा बँदेलको टाउको र एक भाँडो भात बाटोमा खाजा खानु भनेर बुझाउनुपर्छ । पितृ कार्जेहरूमा नाक्ले ताम र हङसिली हुन्छन् । पितृ कार्जे जति नक्सोले गर्छ भने झारफुकदेखि जडीबुटी प्रयोग गरेर उपचारको काम जाम्चा वा झाँक्रीले गर्छ । नक्सोले गर्ने कार्जेलाई सारी लेचो भनिन्छ भने जाम्चाले गर्ने कार्जेलाई मोओ पाचो भनिन्छ । नक्सोले दिनमा मात्र कार्जे गर्नुपर्छ र जाम्चाले रातमा मात्र कार्जे गर्नुपर्छ । जाम्चाले दिनमा चिन्ता बस्न मिल्दैन । उनीहरूको परम्परागत गरगहना र वेशभूषा पनि छ ।
१८) घर्ती जाति
घर्ती तथा भुजेलको सामाजिक संस्कारलाई सम्मान गर्नु आजको आवश्यकता हो । यस जातिको संस्कारका विभिन्न पक्ष यस पुस्तकमा समेटिएको छ । घर्ती तथा भुजेल परम्परागत ‘शमानी धर्म’ अर्थात् प्रकृतिपूजक एवं धामी–झाँक्री मान्ने जाति हो । यो समुदायले पितृपूजा, प्रकृतिपूजाजस्ता चाडपर्वमा विश्वास गर्छ ।
घर्ती/भुजेल जातिको आफ्नै खाले स्वतन्त्र भाषा, संस्कृति, धर्म र रीतिरिवाज छ । यस जातिको भाषा, संस्कार, संस्कृति र कला तनहुँ तथा नवलपरासीमा जीवन्त पाइन्छ । स्थानीय स्तरमा मगर, क्षेत्री, जिसी, गुरुङ लगायत अन्य जातिसँग समाहित हुँदै जाँदा यस जातिको आफ्ना संस्कार संस्कृति हराउँदै गएको देखिन्छ । संस्थागत तथा एकल प्रयासमा विभिन्न खालका खोज, अनुसन्धान एवं प्रकाशनहरू भइरहेका छन् ।
१९) मुसहर जाति
मुसहर जातिको समाजमा कुनै पनि सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक समस्यामाथि अन्तिम निर्णय दिने काम गाउँको मुखियाले गर्ने गर्छन् । उत्सव, चाडपर्व लगायत आफ्नोे गाउँ–समाजका विविध समस्यामा यिनीहरूको सरसल्लाह र निर्णय अनिवार्य हुन्छ । यिनीहरूको समाजमा कुनै झगडा परेमा त्यसको क्षतिपूर्ति मुखियाबाट निर्णय गराउँछन् ।
आफ्नोे समाजमा सानातिना झैझगडाहरू भद्रभलादमीले मिलाएर सुल्झाउने परम्परा छ । घरको प्रमुख निर्णयकर्ता घरको मुली हुन्छ । यिनीहरूको समुदायमा गर्भवती महिलाले नदी तर्नु हुँदैन, ग्रहण लागेको बेला बाहिर निस्कनु हँुदैन, डोरी काट्नु हुँदैन भन्ने परम्परा छ । त्यसैगरी रातको बेला बेसार दिनु हुँदैन, रातको बेला पैसा सापटी दिनु हुँदैन, कुचो, चाल्नी, नाङ्ग्लो, दिनु हुदैन । त्यसैगरी सर्पको नाम लिनु हुँदैन भन्ने चलन छ । यदि यसो गरेमा परिवारमा दुष्ट आत्माको बास हुन्छ र घरपरिवारमा अनिष्ट हुन्छ भन्ने जनविश्वास रहेको छ ।
२०) धिमाल जाति
धिमाल पुर्खाहरूले समाजमा स्थापित गरेका मूल्य–मान्यता, चाडबाड, ज्ञान, सीप र कला हालसम्म कुनै न कुनै रूपमा अभ्यासमा रहेको पाइन्छ । पहिला प्रशस्तै वनजंगल हुँदा लास गाड्ने चलन अभ्यासमा थियो र हाल पनि छ । कहीँकतै गाड्ने ठाउँको अभावमा जलाउने चलन पनि समुदायले स्वीकार गरिसकेको अवस्था छ ।
२००७ सालभन्दा अगाडि धिमाल समुदायभित्र खासै विवाह भई घरजम गर्ने परम्परा बिरलै पाइन्थ्यो । सुपारी विवाह, चोरी विवाह, घोन्ज्या विवाह, कुलडुबा विवाह नै बढी अस्तित्वमा थियो । जबर्जस्ती तान्ने, बोक्ने र भगाएर लैजाने त्यसताका अभ्यासमा हुँदा महिला अधिकार विरुद्ध थियो । महिलाहरूलाई बच्चा जन्माउने यन्त्रको रूपमै हेर्ने चलन थियो भन्दा खासै फरक नपर्ला । पुरुषहरूको वर्चस्व थियो । राष्ट्रिय माझीवाराङ सम्मेलन र धिमाल जातीय विकास केन्द्रले पास गरेको सामाजिक नियमावली, २०५० लागु भएपछि बल्ल सामाजिक नियमावलीभित्र पनि जन्म, विवाह र मृत्यु संस्कारमा एकरूपता आएको पाइन्छ । तर पनि पूर्वेली धिमाल (माइखोला पूर्वका धिमाल गाउँटोलहरू) मा यो नियमावली पूर्ण रूपले लागु हुन सकेको पाइँदैन । गाउँटोलमा सामाजिक सांस्कृतिक नेतृत्व गर्ने माझीवाराङहरू पनि समयानुसार परिवर्तन र समुदायको नियमावली आवश्यकता र मागमा आधारित भएर परिवर्तन गर्दै आएको पाइन्छन् । हालका दिनमा सामाजिक नियमावली हेर्ने कार्य धिमाल जातीय विकास केन्द्र र माझीवाराङ समितिले संयुक्त रूपमा गर्दै आएको पाइन्छ ।
लेखकहरूको गहन अध्ययन र खोजबाट २० विभिन्न जातजातिका जातीय संस्कार समेटिएका सामग्री तयार पारिएका हुन् । तिनलाई मिहीन ढङ्गले भाषा–सम्पादन गरी प्रकाशन गरिएको छ । जातीय सामाजिक संस्कारसम्बन्धी अध्ययन गर्ने अध्येता, यस विषयमा चासो र सरोकार राख्ने सबै पाठकका लागि यस अङ्कका लेख महत्त्वपूर्ण सामग्री हुनेछन् ।
पुस्तकको नाम : नेपालका जातीय सामाजिक संस्कार भाग नौ
सम्पादक : डा. कौशिला रिसाल र नारायण शर्मा
प्रकाशक : नेपाल प्रज्ञा–प्रतिष्ठान
मूल्य : ५६०/–
पृष्ठ : ४३५ ।