वनलाई रोजगारी सृजनासँग जोड्नुपर्छ : वनमन्त्री शाही
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई स्थानीयस्तरमा रोजगारी सृजनासँग जोड्नुपर्ने बताएका छन् । वन तथा भूसंरक्षण विभाग, रेड कार्यान्वयन केन्द्र र वन अनुसन्धान तथा संरक्षण केन्द्रले आजदेखि आयोजना गरेको दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा उनले वनलाई उत्पादनमुखी संरक्षण अभियानमा अघि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री शाहीले जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिए । नेपालको वन प्रणाली सफल लोकतन्त्रको उदाहरण भएको उल्लेख गर्दै उनले यसलाई अझ सुदृढ बनाइने बताए ।
सङ्घीय संरचनाअनुसार वन व्यवस्थापन र कार्यान्वयनको जिम्मेवारी प्रदेश सरकारको भएको उल्लेख गर्दै मन्त्री शाहीले तीनै तहले आफ्ना अधिकारमा क्षेत्रमा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले नेपालमा ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र भए पनि विदेशबाट काठ आयात भइरहेकाले नीति पुनरावलोकन गरेर समस्या समाधान गरिने बताए । ‘आफ्नै आन्तरिक काठको उपयोग, वन डढेलो र मानव वन्यजन्तु द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेका छन् । वनविज्ञानको सिद्धान्तअनुसार त्यसको कार्यान्वयन गर्दै अगाडि बढ्नसपर्छ’, उनले भने ।
वन राज्यमन्त्री रूपा विकले विज्ञानमा आधारित वन व्यवस्थापनबाट पन्छिन नहुने धारणा राखे । समुदायमा आधारित वन व्यवस्थापनले जनसहभागिता पनि बढेको उनले सुनाए । नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद्को स्थापनाको माग गरे ।
डिभिजन वन कार्यालयलाई अर्धन्यायिक निकाय भने पनि न्यायिक निरुपणका लागि जिल्ला प्रशासन कार्यालय जानुपर्ने समस्या रहेको भन्दै त्यसलाई अन्त गर्न उनले आग्रह गरे । सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले वनलाई पैसासँग मात्र जोडेर हेरे वातावरण र संस्कृति दुवै नास हुने बताए ।
रेड कार्यान्वयन केन्द्रका प्रमुख (सहसचिव) नवराज पुडासैनीले सन् १९९० पछि नेपालमा वन सफल हुँदै गएको बताए । वन संरक्षणमा तीन हजारभन्दा बढी नागरिक संस्था सक्रिय रहेको पनि उनले जानकारी दिए ।
वन तथा भूसंरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले सन् १९९० अघि एक दशमलव ९७ प्रतिशतले वन विनाश भइरहेकामा त्यसपछि वन वृद्धि हुँदै आएको बताए । हाल नेपालको वनले वार्षिक १२ देखि १४ करोड घनफिट काठ उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।
कार्यक्रममा बाह्य मिचाहा वनस्पतिसम्बन्धी रणनीति सार्वजनिक गरिएको थियो । जसअनुसार हाल नेपालमा २९ वटा बाह्य मिचाहा वनस्पति भित्रिएको जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण