‘फिल्मसिटी के हो भन्ने ६० प्रतिशत फिल्मकर्मीलाई नै थाहै छैन’
_CftNklrTSS.jpg)
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी काभ्रेमा निर्माण हुने फिल्म स्टुडियो आगामी दसैँसम्म प्रयोगमा आउने बताउँछन् ।
स्टुडियो निर्माणपछि फिल्मकर्मीलाई छायांकन लोकेसनका लागि भौतारिरहनुपर्ने ६० प्रतिशत समस्या हल हुने उनको बुझाइ छ । यो स्टुडियोलाई कतिपयले फिल्मसिटी बन्न लागेको चर्चा गरेका छन् । तर डिसी यसलाई फिल्मसिटी भन्न नमिल्ने बताउँछन् । काभ्रेमा बन्ने स्टुडियोको विषयमा बोर्ड अध्यक्ष डिसीसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानी :
- काभ्रेको बनेपामा निर्माण हुने स्टुडियोको काम कहाँ पुग्यो ?
४२ रोपनी जमिनमा बन्न लागेको स्टुडियोको काम अगाडि बढिसकेको छ । ठेकेदारसँगको सम्झौता भएको छ । आगामी ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट निर्माण कार्य थालनीको सुरुवात हुँदैछ ।
अहिलेसम्म हामीसँग पूरै चलचित्र क्षेत्रले आफ्नो भन्ने सरकारी स्टुडियो छैन । निजी क्षेत्रको स्टुडियोमा फिल्म, टेलिफिल्मदेखि विज्ञापनसम्मको चापले भनेको वेलामा काम गर्न नपाउने, पाए पनि सुविधा नहुने र साना स्टुडियोबाट काम गर्न बाध्य हुनुपर्ने अवस्थाबाट छ । त्यो समस्याबाट अब फिल्मकर्मी मुक्त हुन्छन् ।
- फिल्मकर्मीले कहिले प्रयोग गर्न पाउलान् त ?
आगामी दसैँसम्म प्रयोगका लागि ल्याउने हो । त्यहाँ एउटा ठुलो कभर्ड हल र केही संरचना बनाउने हो । अन्य बिस्तारै निर्माण हुन्छ । त्यो कभर्ड हल आगामी दसैँसम्म प्रयोग गर्न सकिन्छ । त्यो भवन नेपालमा अहिलेसम्म रहेको इन्डोर स्टुडियोमध्ये सबैभन्दा ठुलो हुनेछ । १५०–२०० साइज र सेन्ट्रल हाइट ५० फिटको हुनेछ ।
स्टुडियोमा अहिलेको डिजिटल ब्याकग्राउन्डका ग्रिन पर्दाहरू नभएर ब्याकग्राउन्ड पहिल्यै क्रिएट गरिएको र एकै चोटी छायांकन गर्न सकिने हुनेछ । र क्यामरा मुभमेन्टसँगै ब्याकग्राउन्ड मुभ हुने अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग हुनेछ । जुन आगामी १० वर्षसम्म पुरानो नहुने खालको हुनेछ । र विश्वबजारको झैँ स्तरीय हुनेछ ।
- कतिपय फिल्मकर्मीले यसलाई मिनी फिल्मसिटी भनिरहेका छन् नि ?
फिल्मसिटी के हो भन्ने हाम्रा ६० प्रतिशत फिल्मकर्मीलाई थाहै छैन । फिल्मसिटी भन्ने शब्द थाहा छ, त्यसको संरचना थाहा छैन । त्यसैले आ–आफ्नो परिकल्पनामा उनीहरूले यस्तो धारणा राखेका होलान् । फिल्मसिटी के हो ? कति खर्च लाग्छ ? हाम्रो अर्थतन्त्रले फिल्मसिटी बन्छ कि बन्न सक्दैन भन्ने हलिउड र बलिउडको रामाजी फिल्मसिटी घुमेका फिल्मकर्मीलाई प्रस्टै थाहा छ ।
काभ्रेमा बन्न लागेको स्टुडियोलाई फिल्मसिटी भन्न सक्दैनौँ । तर स्टुडियोभन्दा अलि ठुलो कल्पना छ । त्यहाँ ४२ रोपनी जमिन छ, डाँडा, खोला र अलिकति माथि जंगल छ । तर यो फिल्मसिटी होइन । दोलखामा बन्ने भनेको चाहिँ फिल्मसिटीको परिकल्पनाको हो । त्यहाँ ट्रेन, एयरपोर्ट, मोटर बाटोलगायत सबै उपलब्ध होला ।
- स्टुडियोभित्र के–के परिकल्पना गर्नुभएको छ त ?
यसभित्र मेरो परिकल्पना धेरै नै थियो । तर यो केही पहिल्यै परिकल्पना भएकाले परिवर्तन गर्न सकिन्न । त्यो डिजिटलको कुरा मैले गरेको हो । त्यहाँ एक–एक तलका घरहरू थिए । त्यसलाई मल्टिस्टोरेज बनाउनुस् । तल जमिन धेरै राख्नुस् भनेको छु ।
हामीलाई स्टुडियो निर्माणका लागि एकैपटक बजेट प्राप्त नभएकाले केही परिवर्तन गर्न सहज भयो । नत्र एकैपटक टेन्डर गर्दाजस्तो प्रोजेक्ट कल्पना पहिल्यै भएको थियो, त्यस्तै बन्थ्यो । अहिले त्यसलाई छिटो हुने गरेर शिल्यान्यासको अवस्थामा पुर्याएका छौँ । अबको ६ महिनामा प्रयोग गर्न सकिन्छ । डिजिटल पर्दाले गर्दा निर्देशक, निर्माता तथा भीएचएफ गर्नेले आधा समस्याबाट मुक्ति पाउँछन् । उसले पहिल्यै जाँच गरेर छायांकन गर्न पाउँछ ।
- फिल्म निर्माणको सुविधा के–के उपलब्ध हुन्छ ?
– त्यो सुविधाको परिकल्पना दोस्रो चरणमा हुन्छ । अहिले पहिलो चरणको कार्यक्रममा कभर्ड हल र केही संरचनाको मात्र काम हुन्छ । त्यसभित्र सबै फिल्मकर्मीले आ–आफ्नो चाहनाअनुसार स्टल लगाउन सक्छन् । टेक्निकल पार्टमा धेरै हाइफाइ चिजहरू उपलब्ध हुन्छन् । बाहिर पनि सेट लगाउने बाहिरी दृश्य खिच्न सकिन्छ ।
- राज्यको लगानीमा निर्माण हुँदैछ, फाइदा पनि खोज्ला नि ?
हामीले यो कुरोमा अलिकति सोच परिवर्तन गर्नुपर्छ । किनभने, राज्य व्यवसाय गर्ने केन्द्र होइन । यसले आफ्ना जनतालाई सुविधाका लागि संरचना बनाइदिने हो । त्यहाँबाट भाडा लिनुपर्छ । फेरि त्यहाँ लगानी गर्नुपर्छ । तर नाफा कमाउन होइन ।
- तराई, हिमाल, गाउँलगायत सबै छायांकनको समस्या हल हुन्छ नि ?
इन्डोर (भित्री) का लागि अब जे गरे पनि केही समस्या पर्दैन । आउटडोरका लागि भने उहाँहरूले क्यानभास क्रियट गर्नुपर्छ ।
- १२ वर्ष बित्न लाग्दा दोलाखाको फिल्मसिटी बन्ने हल्ला मात्र भयो । अब त आशंका गर्न थालिएको छ नि ?
हामी धेरै कुरोमा नकारात्मक सोच राख्छौँ । त्यही कारण शंका उत्पन्न हुन्छ । टेन्डर भएर, प्रधानमन्त्रीले शुभारम्भ गर्ने अवस्थामा पुग्दा पनि बन्दैन भनेर भन्न मिल्छ र ?
यस्तो भन्नु अशोभनीय हो । स्टुडियोमा अहिले हामीले एउटा कभर्ड हल निर्माण गर्ने न हो । त्यहाँ बिजुली र पानी छ । फिल्मअनुसार सेट त फिल्मकर्मीले बनाउने हो । प्रविधियुक्त खिच्छु भन्नेका लागि त्यो उपलब्ध हुन्छ ।
दोलखा फिल्मसिटी ३२ अर्बको प्रोजेक्ट भन्ने सुनेको छु । धेरै भयो भनेर घटाएर १६ अर्बमा झारियो । त्यो रकम पनि कसले बेहोर्ने, राज्यले त्यो गर्न सक्छ कि सक्दैन, प्राइभेटले सक्छ कि सक्दैन, प्राइभेटले लगानी गर्ने हो भने फाइदा पनि खोज्ला । त्यसका लागि कति वर्ष लाग्छ भन्ने कुरो नगरी नकारात्मक कुरा गर्न मिल्दैन ।
सुरुमा जुन किसिमको हल्ला भयो, त्यो अध्ययन नगरी बन्नुपर्छ भन्नेको भावना हो । म त देशका सातै प्रदेशमा दोलखाको भन्दा ठुला फिल्मसिटी निर्माण हुनुपर्छ भन्छु । तर त्यसमा लगानी गर्ने कस्ले ? सपना मात्र देखेर भएन नि । फिल्मसिटी भनेर गफ गर्ने कतिलाई त्यो के हो भन्ने नै थाहा छैन । जतिलाई थाहा छ, त्यो बोर्ड अध्यक्ष बन्न सकेन होला । जो पुग्यो उसले १६ अर्ब त्यहाँ हाल्न उपयुक्त ठानेन वा देखेन होला । काभ्रेको स्टुडियो म मेरो समयभित्रै उद्घाटन गरेर जान्छु ।
- फिल्म उद्योगले ६ दशक पार गर्दा पनि अहिलेसम्म एउटा पनि स्टुडियो निर्माण नहुनु दुःखद होइन र ?
हामीले फिल्म उद्योगलाई ६० वर्षको हिसाब नगरौँ । ३५ वर्षको मात्र हिसाब गरौँ । किनभने, ३ वर्षमा एउटा फिल्म बन्ने समय हिसाब गरेर उद्योग भन्नु हुँदैन । फिल्म बन्न सुरु भएको ६० वर्ष नाघ्यो । नियमित फिल्म बनेर हलमा जान थालेको पछिल्लो ३५ वर्षयता हो ।
त्यतिवेला हामीसँग एनएफडीसी (नेपाल चलचित्र विकास कम्पनी) पनि थियो । २४ रोपनी जग्गा भएको त्यो स्टुडियो अहिले सकियो । त्यो भएका समय मानिसले अर्को परिकल्पना गरेनन् । जब सन् २००८ पछि डिजिटलाइज्ड सुरु भयो । त्यसपछि सानातिना स्टुडियो पनि निजी क्षेत्रबाट बने । त्यसमा विभिन्न कारणले लगानी भएन । सोच त १० वर्ष अगाडिकै हो । रातारात मैले जादु गरेर काभ्रेमा स्टुडियो बनाउन लागेको होइन ।
मैले अहिले निर्माण प्रक्रिया स्पिडअप गर्दिएको मात्र हो । त्यो नगरेको भए अझै ४–५ लाग्न पनि सक्थ्यो ।
- त्यसो भए दोलखाको फिल्मसिटी बन्छ कि बन्दैन त ?
यस विषयमा अहिले म बोलिनँ । केही अगाडि प्रोसेस बताएको थिएँ । कतिले बन्दैन भन्यो भनेर हल्ला गर्दिए । १६ अर्ब रकम जहिले सुनिश्चित हुन्छ, त्यो समय बन्छ । फिल्मसिटी चाहिन्छ । वर्षमा ५० लाखदेखि ३ करोडसम्म हालेर बन्न सक्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी