मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

सुख, शान्ति र समृद्धिको बाटो : आम मानिसले बुझ्नुपर्ने सूत्र

आइतबार, २८ वैशाख २०८२, ११ : ३४
आइतबार, २८ वैशाख २०८२

दुःखको सामान्य कारण छ, त्यो हो अज्ञान र अविवेक । ज्ञान र दर्शनको एउटै लक्ष्य हो— मानवलाई सुख, शान्ति र समृद्धमा पुर्‍याउनु । बुद्ध चार आर्यसत्यबारे भन्नुहुन्थ्यो– जीवनमा दुःख छ । दुःखको कारण छ । दुःख मुक्तिको उपाय छ । आर्य अष्टाङ्गिक मार्ग दुःख निवारणको उपाय हो । 

यो प्रकृतिमा र समाजमा जे जति घटना घटित हुन्छन्, ती सबै कारण र प्रभावको सिद्धान्तमा आधारित हुन्छन् । त्यहाँ कुनै दैविक शक्तिले काम गरेको हुँदैन । 
सुख, शान्ति र समृद्धि हासिल गर्ने निम्न लिखित उपाय छन्—

१) प्रकृतिको नियम बुझ्ने

प्रकृतिका हरेक अवयवहरू अन्तरनिर्भर हुन्छन् । कुनै पनि जीवजन्तुको जीवन स्वतन्त्र छैन, बरु एक–अर्कासित सम्बन्धित छन् । हरेक वस्तु परिवर्तनशील छ । तर पदार्थ अर्थात् ऊर्जा कहिल्यै नष्ट हुँदैन । यसको एक रूप अर्को रूपमा परिवर्तन मात्र हुने हो । 
पृथ्वीले साधारण अवस्थामा आफ्नो सन्तुलन आफैँ कायम राख्छ । प्रकृतिको जीवन गतिशील छ । गति नै जीवनको आधार हो । जो अहिले वातावरणमा असन्तुलन हुन आएको छ, यसको कारण मानव जीवन संकटमा पर्दै छ । 

२) अन्तर्राष्ट्रियवादको महत्त्व बुझ्ने

संसारमा सबै मानवको बाँच्न पाउने हक छ । यहाँ भएका स्रोत–साधनले सामान्य जीवनयापन गर्न सबैलाई पर्याप्त छ तर अधिक लोभ–लालसा भने कसैले पूरा गर्न सक्दैन । यो विश्व सबैको हो, सबैका लागि हो र सबैले जिउने समान नैसर्गिक अधिकार छ । एक–अर्कासँग मिलेर बस्ने, जिउने, सुख, शान्ति र समृद्धिपूर्वक रहने वातावरणको सिर्जना हुनु नै अन्तर्राष्ट्रियवाद हो । यो विश्व नै एउटा परिवार हो । विश्वको शक्ति हत्याई आफू अनुकूल हैकम चलाउने कुरा मानवता विरोधी स्वार्थीहरूको झेली खेल मात्रै हो । 

३) दिगो विकासको अवधारणा बुझ्ने

मानव, जीवजन्तु, बोट–बिरुवा, पञ्चतत्त्व र समग्रमा प्रकृतिमा सन्तुलन कायम राखी जीवन जिउनेशैली नै दिगो विकास हो । पृथ्वीले धान्न नसक्ने संरचना निर्माण, प्राकृतिक सोत–साधनको अधिक दोहन, कृत्रिम जीवनशैली, शोषण, सामाजिक विभेद, शक्तिशाली बन्ने आकांक्षा, अहंकार र विलासी जीवनले नै जलवायु परिवर्तनजस्ता प्राकृतिक विपत् तथा सामाजिक द्वन्द्व निम्त्याउँछ । प्रकृति, समाज र मानवप्रतिको प्रेम; सामाजिक सद्भाव; सामाजिक न्याय र प्राकृतिक स्रोतमाथिको समान वितरण प्रणाली कायम राख्नु नै दिगो विकासको आधार हो । 

४) सन्तुलित व्यवहार अर्थात् सामाजिक न्याय र समानता 

विश्वमा विद्यमान साधन र स्रोतको समान वितरण प्रणालीको संस्थागत विकास नै सन्तुलित व्यवहार हो । सामान्यतः प्रकृति र समाज सन्तुलनमा चलेको हुन्छ । शक्ति, साधन र स्रोतमाथिको वितरण प्रणालीमा असन्तुलन अर्थात् शोषण, दमन, अन्याय र अत्याचार भएमा समाजमा असन्तुलन पैदा हुन्छ । परिणामस्वरूप वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय विभेद हुन्छ र अन्त्यमा विभेदमा परेका मानिस आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्न बाध्य हुन्छन् । मानिसको लक्ष्य भनेकै सामाजिक न्याय र समानतामार्फत सुख, शान्ति र समृद्धि हो । 

ध्यानी मानिसले जुनसुकै काम गर्दा पनि ध्यान लगाएर वा लगनशील भएर गर्ने हुनाले ऊ सफल र असल बन्न सक्छ । सफल मात्र होइन कि ऊ सुखी, शान्त र आनन्दित पनि हुन सक्छ । मानिसहरू सुखी, शान्त र समृद्धि धन सम्पत्ति जोडेर आउँछ भन्ने विश्वास गर्छन् ।


 

५) योग, प्राणायाम र ध्यान

योग भनेको जोड्नु हो अर्थात् प्रकृति, समाज र मानवको मिलन हो । प्राणायाम भनेको श्वास–प्रश्वास प्रक्रियामार्फत गरिने योगकै एउटा विधि हो । कुनै पनि बेला २१ चोटि लामो श्वास लिने र बिस्तारै श्वास छोड्नाले दुःख, पीडा र अशान्तिबाट मुक्ति मिल्छ । श्वास फ्याँक्दा मेरा दुःख र पीडा यही श्वासबाट फ्याँक्दै छु भन्ने कल्पना गर्ने र श्वास लिँदा म सुखी, शान्त र आनन्दित हुँदै छु भनेर परिकल्पना गर्दै जाने । योग र प्राणायामको साधनाले शरीर र मनमा सुख, शान्ति र समृद्धि हासिल गर्न योगदान पुग्छ । 
ध्यान प्रवेश गर्ने क्रिया छुट्टाछुट्टै हुन्छन् । कुनै पनि क्रिया गर्दागर्दै विचारबाट मुक्त भएर जब मन शान्त हुन्छ र हामी शून्यतामा प्रवेश गर्छौं, त्यही हो ध्यानको अवस्था । यो एउटा मानसिक प्रक्रिया वा व्यायाम हो । थुप्रै प्रकारका क्रियाको सहयोगबाट ध्यानमा प्रवेश गर्न सकिन्छ ।

ध्यानबाट लाभ

यो बुझ्नका लागि बुद्धको एउटा प्रवचनलाई याद गर्नुपर्छ । ६–७ वर्षको प्रयासपछि जब बुद्धले आत्मज्ञान प्राप्त गर्नुभयो, त्यसपछि सारनाथमा उहाँले प्रवचन दिनुभयो । त्यो बेला पाँच शिष्य मात्र थिए । एउटा शिष्यले सोधे— भगवान्, ध्यान साधनाको गहिरो अभ्यासपछि तपाईंले के प्राप्त गर्नुभयो ? 

बुद्धले लामो र गहिरो सास लिनुभयो र हाँस्दै भन्नुभयो— मैले केही पाएको छैन । बरु मैले त धेरै कुरा गुमाएको छु । यो उत्तर सुनेर सबै शिष्य अचम्ममा परे । 
शिष्यहरूले फेरि सोधे, के गुमाउनुभयो ? 

बुद्धले भन्नुभयो, मैले मनको डर, निराशा, अशान्ति, ईष्र्या, द्वेष, चञ्चलता अनि उत्तेजना गुमाएको छु ।

यो उत्तर सुनेपछि सबै शिष्य प्रफुल्ल भए । डर, निराशा, अशान्ति, चञ्चलता, उत्तेजना र विषय हरायो भने आन्तरिक शान्ति मात्र बच्छ । 

ध्यानविधि

कुनै पनि ध्यानविधि सबै मानिसका लागि कल्याणकारी र उपयोगी हुँदैन, किनकि मानिसको प्रकृति तीन थरीको हुन्छ— वात, पित्त र कफ । यसै अनुसार रहनसहन, विचार र वाणीहरू बन्छन् । यसकारण ध्यानको अभ्यास गरेपछि प्रगति भइरहेको छ कि छैन भनेर समीक्षा गर्नुपर्छ । 
आत्मसन्तुष्टि, एकाग्रता, आनन्द र शान्तिमा वृद्धि भइरहेको छ भने ध्यानलाई निरन्तरता दिनुपर्छ । यस्तो अनुभूति भएको छैन भने अर्को ध्यानविधिको प्रयोग गर्नुपर्छ । कुनै पनि ध्यानको अभ्यास गर्दा चाँडै विधि बदल्नु हुँदैन । कम्तीमा तीन साता लगातार अभ्यास गरेपछि त्यसको प्रतिक्रिया अवलोकन गर्नुपर्छ । त्यसपछि मात्रै आवश्यक भएका विधि परिवर्तन गर्न सकिन्छ ।

विपश्यना ध्यान

‘विज्ञान भैरवतन्त्र’का रचयिता भगवान् शिवलाई मानिन्छ । यसमा रहेको एउटा ध्यान हो, अनापान सतीयोग । यसै ध्यानविधिलाई परिष्कृत गरेर विपश्यना ध्यानविधि बनाइएको हो । यसको साधना दुई स्थितिबाट गर्न सकिन्छ— सक्रिय र निष्क्रिय । 

सक्रिय अवस्था भनेको जागृत स्थिति हो । जागृत स्थिति भन्नाले हिँड्नु, बोल्नु, काम गर्नु, खाना खानु इत्यादि अवस्था हो । निष्क्रिय अवस्था भन्नाले शान्त भएर चुपचाप बस्ने अवस्था हो । दुवै अवस्थामा विपश्यना ध्यानको अभ्यास गर्न सकिन्छ । यसका लागि पूर्ण रूपमा आफ्नो श्वासप्रश्वासलाई अनुभव र त्यसप्रति सजग रहनुपर्छ । बिस्तारै शारीरिक संवेदनाको पनि बोध हुन्छ, तर यसलाई चुपचाप अनुभव मात्र गर्न सकिन्छ ।

कुनै पनि ध्यानको प्रयोग गर्दा खुकुलो लुगा लगाएर शान्त र स्वच्छ स्थानमा बस्नुपर्छ । हुन त ध्यानको अभ्यास कुनै पनि बेलामा गर्न सकिन्छ, तर बिहान र बेलुकाको समय बढी उपयोगी मानिन्छ । 

अन्त्यमा, हामीले योग, प्राणायाम र ध्यान नियमित दिनको एक घण्टा गर्ने अभ्यास गर्ने हो भने मानिसको मनमा सुख, शान्ति र समृद्धिको ढोका खुल्छ । ध्यानी मानिसले जुनसुकै काम गर्दा पनि ध्यान लगाएर वा लगनशील भएर गर्ने हुनाले ऊ सफल र असल बन्न सक्छ । सफल मात्र होइन कि ऊ सुखी, शान्त र आनन्दित पनि हुन सक्छ । मानिसहरू सुखी, शान्त र समृद्धि धन सम्पत्ति जोडेर आउँछ भन्ने विश्वास गर्छन् । तर यो कुरा बिल्कुल असत्य हो । नियमित योग, प्राणायाम र ध्यानको साधनाले मानिसको मनभित्र रहेका कलुषित विचार वा फोहोरमैला सफा हुन्छ । 
(प्रा.डा. थापा बागमती प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.नरविक्रम थापा
डा.नरविक्रम थापा
लेखकबाट थप