मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नाटकमा रेखाको डेब्यु

‘अन्यायविरुद्ध रेखा सधैँ उभिन्छे’

छोरा होस् वा छोरी, मानिस बन्ने तालिम दिनुस्
मङ्गलबार, ३० वैशाख २०८२, ११ : ००
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । अभिनेत्री रेखा थापालाई फिल्मको पर्दामा हामीले रौद्र, रोमाञ्चक र रोमान्टिक धेरै अवतारमा पायौँ । गाउँले महिला, सहरिया केटी, पुलिस अफिसर, दुर्गा, कालीदेखि हिम्मतवालीसम्म सशक्त रूपमा उनलाई हामीले पर्दामा हेरिसक्यौँ । 

अब भने एक विद्रोही नारीका रूपमा उनलाई हामीले देख्ने भएका छौँ, ‘मीरा’ नाटकमार्फत । यसै नाटकमार्फत उनले रङ्गमञ्चमा डेब्यु हो । 

रेखा कि मीरा ?  प्रश्नमा उनको जवाफ रहन्छ, ‘मीरा’ । असार १ गतेसम्म आफूलाई मीरा भन्न मिल्ने उनी बताउँछिन् । जेठमा मञ्चन सुरु हुने यो नाटक असारसम्म चल्नेछ ।

नेपाली फिल्मकी सुपरस्टार किन नाटकमा ? भन्ने प्रश्नमा उनले सहज उत्तर दिइन् । 'समाजमा मेरो छापजस्तै नाटक मीरामा चरित्र छ, त्यसैले अभिनयका लागि रोजेँ ।’

उनी थप्छिन्, ‘फिल्ममा मलाई दबंग क्यारेक्टरमा देखिरहनुभएकै हो, मीरा चरित्र, त्योभन्दा दबंग छ ।’ तर चरित्रलाई न्याय गर्न सक्ने/नसक्ने दोधारमा रहेको पनि उनले सुनाइन् । 

‘मीरा बन्ने चाहना हरेक युवतीको हुन्छ । नाटक हेरेपछि थाहा पाउनुहोला,' उनले भनिन् । नाटकको समाचार बाहिरिएपछि कतिले उनलाई रङ्गमञ्चबाट फिल्ममा ? सोधेका पनि थिए रे । उनले जवाफ दिइन्, ‘कलाकारका लागि अभिनय महत्त्वपूर्ण हो, मञ्च होइन,  कलाकारको कुनै मञ्च हुँदैन । हाम्रो एउटै मञ्चको कलाकारिता हो । त्यो रङ्गमञ्च, फिल्म वा अन्य प्लेटर्फम ।’

rekha thapa (2)

फिल्ममा क्यामरालाई दर्शक फिल गरेर अभिनय गर्नुपर्ने र नाटकमा रियल दर्शकका अगाडि गर्नुपर्ने बताउँछिन् रेखा । 'मीरा' उपन्यासबाट नाटक बनाउन लागिएको हो । यस उपन्यासका रचयिता दीपक सिँजाली हुन् । 

‘मीरा’ उपन्यासलाई नाट्य रूपान्तरण सुन्दर धितालले गरेका हुन् । निर्देशन पनि उनैले गर्दैछन् । सुन्दर कान्तिपुर फिल्म्स एकेडेमीका विद्यार्थी हुन् धिताल । 

उपन्यास नाटकका लागि लेखकसँग लिने काम कान्तिपुर एकडेमीका सीईओ प्रकाश पुरीले गरेका हुन् ।  

नाटकको सोच ?

रेखाको नाटक अभिनय गर्ने सोच भने भर्खरकै हो । यसअघि पनि उनलाई २, ३ वटा नाटक अफर गरिएको थियो । तर त्यतिवेला उनले यो काम आफूबाट हुन नसक्ने ठानिन् । ‘मिल्क टी,' ‘शकुन्तलाको औँठी’ लगायत केही नाटक हेर्दा कलाकारले ठुलो स्वरमा बोलेको देख्दा कस्तो लाज नलागेको होला, म त लाजले भुतुक्क हुन्थेँ होला ठान्थेँ, ' उनी भन्छिन् । तर जब मीराका निर्देशक धितालले उनलाई नाटकमा अफर गरे, पहिलो भेटमा आफूले नकारेको बताइन् । 'गर्दिनँ नै भनेकी थिएँ, तर दोस्रो पटक कथा सुनेपछि राजी भएँ, ' उनले सुनाइन्, ' जब मैले कथा सुनेँ, मीरा विद्रोही पाएँ । उनीजस्तो नेचरको म पनि हो । मेरो भन्दा पनि बढी विद्रोही जिन्दगी मीराले भोगेकी छन्, त्यो अगाडि म अझ कमजोर छु । मीरा वास्तवमै विद्रोही क्रान्तिकारी हो ।’ 

फिल्ममा काल्पनिक र समाजको प्रतिनिधि पात्र गरे पनि मीरा धेरै फरक पाएको उनी बताउँछिन् ।

rekha thapa (3)

नाटकमा केही फरक गर्ने र सिक्ने हिसाबले पनि आफूले रोजेको उनी बताउँछिन् । ‘कलाकार कहिल्यै पोख्त हुन्छजस्तो मलाई लाग्दैन,' भन्छिन्, 'त्यसैले सिक्न र जान्ने हिसाबले नाटकमा होमिएँ ।’ अझै पनि अभिनयकै विद्यार्थी ठान्छिन् आफूलाई । 

निर्देशक धिताल मीराको चरित्र सबै रेखामा देखेकाले उनी रोजाइमा परेको बताउँछन् । ‘नाटकमा १८ र ३७ वर्षको मीराको दुई चरित्र एउटैले निभाउनुपर्नेछ,’ धितालले भने, ‘रेखा दिदीको अभिनय पहिल्यैदेखि हेर्दै आएकोले उहाँ रोजाइमा पर्नुभयो ।’ 

तर नाटकमा लागि रेखालाई प्रस्ताव राख्न गाह्रो भएको धिताल सम्झन्छन् । 'त्यसका लागि एकडेमीका प्रकाश पुरी सरको सहयोग लिएँ,' धिताल भन्छन्, ‘गर्दिनँ भन्ने हो कि भन्ने डर थियो । दोस्रो भेटमा कुरो मिल्यो ।’ 

अहिले रिहर्सलमा उनलाई स्टारभन्दा पनि सहज कलाकारको रूपमा आफूले पाएको धतालले बताए । 

जेठ १५ गतेबाट मञ्चन हुने नाटकका लागि रेखा केही दिनदेखि नियमित रिहर्सलमा छिन् । आइतबार नाटक रिहर्सलमा भेटिएकी उनले रातोपाटीसँग नाटक अभिनय आफ्नो दोस्रो अध्याय भएको बताएकी थिइन् । 

  • हिरो अभिनयमा फर्किएँ

रेखाजस्तै नाटककी पात्र मीरा पनि थापाकै छोरी हुन् । तर रेखाले चरित्रको थर थापा हुँदैमा भने नरोजेको बताउँछिन् । नाटक रोज्नुको उद्देश्य केही फरक काम गर्नु भएको उनलाई लाग्छ । नाटकमा उनी १८ र ३७ वर्षे युवतीका रूपमा दोहोरो भूमिकामा देखिन लागेकी छन् । 

तर उनले आफ्ना लागि दुवै भूमिका सहज देखेको बताइन् । आफूलाई दुवै भूमिकामा कसरी देखाउने, त्यो भने निर्देशकको काम भएको उनले बताइन् । 

‘मीराको १८ वर्षको भूमिकाको रिहर्सलमा म पहिलो फिल्म हिरोमा पुगेँ,' उनी ती दिनमा फर्किइन्, ‘त्यो समय पनि रिहर्सलमा गर्थेँ, अहिले जस्तै । अभिनय, डान्स सिक्थेँ ।’ 

'हिरो' अभिनय गर्दाको समय आफू १५, १६ वर्षको भए पनि समय भने वैशाख, जेठ नै रहेको उनले स्मरण गरिन् ।

फिल्म र नाटक दुवै अभिनय गाह्रो हुने तर नाटक भने फिल्मभन्दा जीवन्त हुने उनलाई लाग्छ । ‘मैले त नाटक रिहर्सलमा इन्जोय नै गरिरहेको छु । दर्शकलाई कस्तो लाग्छ । त्यो मञ्चनपछिको प्रतिक्रियाले देखाउँछ,' उनले भनिन् । 

rekha thapa (4)

नाटकमा उनी २२ वर्षीय भाइसँग देखिँदैछिन् । आफूले पनि १६ वर्षमा आफूभन्दा धेरै उमेरका कलाकारसँग जोडीका रूपमा अभिनय गरेकाले अहिले पनि खासै फरक नपर्ने उनको बुझाइ छ । ‘कलाकार को कान्छो, को जेठो फरक पर्दैन । जोडी पर्फेक्ट देखिनुपर्‍यो । अभिनय सुहाउनुपर्‍यो,’ उनले हाँस्दै भनिन् ।

नाटकमा रेखाको जोडी बन्न लागेका हुन् विशाल देवकोटा । उनी पनि सिनियर कलाकारसँग काम गर्न पाउँदा दङ्ग छन् । अवसर मिले सपना साकार हुने सोच राखेका देवकोटा भन्छन्, ‘केही दिन एक्साइटेड र डर थियो । अहिले राम्रो गर्नुपर्ने प्रेसर महसुस गरेको छु ।’ देवकोटा नाटकमा रेखाको प्रेमीका रूपमा रहनेछन् । 

  • विद्रोही महिला

फिल्ममा स्ट्रोङ लेडीका रूपमा देखिँदै आएकी रेखाले ‘मीरा’मा शीर्ष भूमिका रोजिन् । उनी रिलमा मात्र होइन, रियलमा पनि विकृति, विसंगति, अन्याय, अत्याचार, महिला हिंसा, महिला उत्पीडनबारे आवाज उठाइरहन्छिन् । 

के रेखा विद्रोही महिला हुन् ? प्रश्न राख्न नपाउँदै उनले जवाफ फर्काइन्, ‘मानिसलाई पर्ने अन्यायविरुद्ध रेखा सधैँ उभिन्छे । म एक्लै ध्रुवतारा भएर कैयौँ पटक उभिएको छु ।’ 

उनी थप्छिन्, ‘समाजको संरचनाले यस्तो गर्नुपर्छ, त्यस्तो गर्नु हुँदैन भन्ने अनेक नियममा बाँधेको छ । त्योविरुद्ध कसैले आवाज उठायो भने त्यो महिला विद्रोही देखिन्थेँ । रेखा त्यसकारण विद्रोही देखिएकी हो ।'

समाजमा महिला र पुरुषले समान व्यवहार गर्ने हो भने विद्रोह आवश्यक नै नहुने उनको बुझाइ छ । 

‘आजसम्म महिला भएर विद्रोह गरेको छैन । मानिस भएर विद्रोह गरेको हो,' उनी सबैलाई अनुरोध गर्छिन्, ‘छोरा होस् वा छोरी, मानिस बन्ने तालिम दिनुस् । छोरा र छोरी बन्ने होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप