‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन

अप्रत्याशित, साहसी र ऐतिहासिक निर्णय लिनमा अलिकति पनि अन्यथा नमान्ने दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसपालि आफ्नै देशका एक अर्ब ४० करोड जनतालाई आश्चर्यमा पार्दै पाकिस्तानसँग जारी युद्धलाई रोक्न अचानक सहमत भए । युद्धविरामको घोषणा हुँदाका बखत भारतीय वायुसेनाले पाकिस्तानका नौवटा रणनीतिक महत्त्वका वायु अड्डालाई ठुलो क्षति पुर्याइसकेको थियो भने चीन र अमेरिका निर्मित कतिपय आधुनिक लडाकु जेट विमानसहित टर्कीका विश्वप्रसिद्ध ड्रोनलाई पनि ठुलो संख्यामा ध्वस्त पारिसकेको थियो । दैनिक १४० करोड डलर खर्च आउने यस युद्धलाई भारतले वर्षौंसम्म लड्न सक्छ । किनभने विश्वको चौथो अर्थ–व्यवस्था बन्न लागेको भारतका निम्ति यो कुनै ठुलो कुरा भएन । देशभित्रका राजनीतिक दलहरूले पनि मोदी सरकारको निर्णयमा आफ्नो सहमति जनाइसकेका थिए, तर पनि संघर्ष विरामका लागि भारत किन तयार भयो त ? बिस्तारै यसको सत्य–तथ्य बाहिर आउने नै छ ।
मुख्यतः दुई कारणले भारत संघर्ष विरामका लागि तयार भएको अनुमान गरिन्छ । पहिलो पहलगाम हत्याकाण्डका दोषीलाई सजाय दिन भारतको वायु सेनाले पाकिस्तानको नियन्त्रणमा रहेका कश्मीर र त्यसका वरिपरि सञ्चालनमा रहेका एक दर्जन जति आतंकवादी प्रशिक्षण शिविरलाई ध्वस्त पारी एक सयभन्दा पनि बढी चरमपन्थीलाई हताहत गरी आफ्नो घोषित लक्ष्य पूरा गरिसकेको थियो । यसभन्दा अघि पनि भारतले पठानकोट र पुलवामामा भएको आतंककारी घटनाको प्रतिकारमा पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरमा दुईपटक आक्रमण गरी दर्जनौँ आतंककारी हताहत पारिसकेको थियो ।
संघर्ष विराम हुनुको दोस्रो र महत्त्वपूर्ण कारण भारतको शक्तिशाली ब्रह्मोस मिसाइलले पाकिस्तानको अति संवेदनशील मानिएको सरगोधा एयरबेसलाई ध्वस्त पारेपछि त्यसको नजिकै रहेको पाकिस्तानको न्युक्लियर सेन्टरमा ‘रेडियोलोजिकल एक्स्प्लोजन’को अवस्था उत्पन्न हुनु थियो । यसले गर्दा रेडियो एक्टिभ लिकेज हुन थालेपछि पाकिस्तानमा त ठुलो जनधनको क्षति हुने थियो । युद्धले निरन्तरता पाउँदा यसको असर अन्यत्र पनि हुन सक्थ्यो । अमेरिकी स्याटलाइटले यसलाई प्रत्यक्ष रूपमा हेरेपछि पाकिस्तानको आग्रहमा भारत र अमेरिका यसमा गम्भीर हुन बाध्य भए । पाकिस्तानको सुरक्षा निकायले भारतसित र अमेरिकासित संघर्ष विरामका लागि आग्रह गरेको थियो । संघर्ष विराम रोकिए पनि पाकिस्तानलाई धनजनको ठुलो क्षति पुगेको छ । भारतले भने संघर्ष विराममा सहमति जनाउनुअघि आफ्नो देशभित्र हुने कुनै किसिमको आतंककारी घटनालाई युद्धका रूपमा मानिने र भारतले तत्काल कारबाही गर्ने नीतिको घोषणा गर्यो । रुस–युक्रेन र इजरायल–प्यालेस्टाइन युद्धबाट चिन्तित विश्व समुदाय भारत र पाकिस्तानजस्ता विश्वका दुई आणविक शक्तिसम्पन्न राष्ट्रबिच युद्ध लम्बियोस् भन्ने पक्षमा छैन । संघर्ष विराम हुनु राम्रो कुरा हो ।
भारत र पाकिस्तानबिच हालै भएको युद्धमा भारतको विजय भएको कुरालाई भारतको मात्रै होइन, विदेशी सञ्चारमाध्यम र सुरक्षा विज्ञले पनि दाबी गरिरहेका छन्, जबकि पाकिस्तानलाई हतियारको आपूर्ति गर्ने चीन, टर्की र अजरबैजानले पनि पाकिस्तानको पक्षमा केही बोलेका छैनन् ।
भारतले पाकिस्तानस्थित आतंककारी प्रशिक्षण शिविरमा आक्रमण गरी ध्वस्त पारेको र एक सयभन्दा बढी मारिएको अनुमान छ । भारतले पाकिस्तानका ११ वटा वायुसेना बेसलाई ठुलो क्षति पुर्याएको छ । भारतले सम्भवतः पाकिस्तानको किराना हिल्समा अवस्थित न्युक्लियर मिसाइल यार्डलाई गम्भीर क्षति पुर्याएको छ । भारतको ब्रह्मोस् मिसाइलको सफल र सटीक परीक्षणबाट उसको क्षमताको पनि प्रदर्शन भएको छ । भारतले आफ्नो वायु प्रतिरक्षा क्षमतालाई पनि प्रमाणित गरेको छ । भारतले अमेरिका, चीन र टर्कीका आधुनिक र शक्तिशाली युद्धक विमान र ड्रोनलाई खसालेर ध्वस्त पारेको प्रमाण पनि पाइन्छ, तर पाकिस्तानले दाबी गरेजस्तो भारतीय विमान क्षतिग्रस्त भएको कुनै प्रमाण पाकिस्तानसित छैन । त्यही भएर होला, पाकिस्तानका रक्षामन्त्री आसिफ ख्वाजा अहमदले आफ्नो सेनाले भारतको विमान खसालेको प्रमाणलाई सोसल मिडियाका आधार बताएका थिए ।
भारतीय जनताले यस युद्धमा मोदी सरकारसित दुईवटा परिणामको अपेक्षा राखेका थिए, पहिलोमा पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरलाई भारतमा विलय गर्ने र सन् १९७१ मा पाकिस्तानबाट बङ्गलादेशको स्थापना भएजस्तै ब्लुचिस्तान देशको स्थापना हुनुपर्छ । उपरोक्त दुईमध्ये एउटा पनि उद्देश्य प्राप्तिविनै युद्ध संघर्ष विराममा जानुलाई धेरैजसो भारतीयले मन पराएका छैनन् । बिस्तारै युद्धका परिणाम सार्वजनिक भइरहेका छन् । यो परिणाम भारतको पक्षमा र पाकिस्तानलाई ठुलो क्षति पुर्याउने खालको देखिन्छ ।
भारतले पहलगाम भएको हत्यालाई आफ्नो राष्ट्रमाथिको प्रहार ठान्दै आतंककारीले तालिम र शिक्षा प्राप्त गर्ने पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर र त्यसको वरिपरिका एक सय किलोमिटरभित्र वायुसेनाका विमानको उपयोग गरी ठुलो क्षति पुर्याउने काम गर्यो । पाकिस्तानको मुज्जफराबादस्थित मरकज सैयदना बिलाल र शाबाई नाला क्याम्प, बहावलपुरको मरकज सुभान अल्लाह, सियालकोटको महमुना जोया सेन्टर, मुरिदकेको मरकज तोयबा, कोटलीको मरकज अब्बास तथा गुलपुर क्याम्प, बरनालाको मरकज अहले हदिस र नरोवालको सुरजारा तेहराकला मदरसा प्रशिक्षण शिविरलाई भारतीय वायुसेनाको विमानले ध्वस्त पारेको छ । उपरोक्त मदरसा र मरकजहरू भारत–पाकिस्तान सिमाना क्षेत्रको एक सय किलोमिटरसम्ममा अवस्थित थिए । यस आक्रमणमा जैश–ए–मोहमदका प्रमुख मौलाना मसुद अजहरका भाइ र बहिनी–ज्वाइँसहित १४ जना पारिवारिक सदस्य मारिए । एक सयभन्दा बढी आतंककारी मारिएका हुन् सक्ने अनुमान छ ।
पाकिस्तानको रहिमखान अन्तर्राष्ट्रिय विमानस्थल, सरगोधा सुरक्षित एयरबेस (जहाँ परमाणु अड्डा रहेको मानिन्छ), स्कारडु विमानस्थल, भोलारी एयरपोर्ट, रफिकी एयरपोर्ट, सियालकोट, नुरखान एयरबेस रावलपिण्डी, मुरिद एयरबेस, शाहबाज एयरबेस, सुम्कुर एयरबेसमाथि र जेकोबाबाद बन्दरगाहमाथि भारतको नौसेनाले प्रहार गरेको चर्चा व्यापक छ ।
भारतले चीनमा निर्मित पाकिस्तानको जेएफ–१७ नामक दुई विमान, एउटा एफ–१६ र टर्कीमा बनेको तीन दर्जन ड्रोनलाई खसालेको कुरा पाकिस्तानका सेनाले पनि स्वीकार गरेका छन् । पाकिस्तानले भारतको राफेल विमान खसालेको दाबी गरेको थियो तर त्यस विमानको अंश पाकिस्तानमा कहीँ कतै भेटिएन । त्यसै गरी पाकिस्तानले भारतको आदमपुर एयरबेसमा प्रहार गरी त्यसलाई क्षतिग्रस्त बनाएको दाबी पनि झुटो साबित भएको छ, किनभने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हालै आदमपुर एयरबेसको भ्रमण गरी पाकिस्तानको दाबीलाई झुटो साबित गर्ने काम मात्रै गरेनन्, भारतीय वायु सेनाको मनोबललाई बढाउने काम समेत गरे । पाकिस्तानले भारतको राफेल विमानलाई खसालेको सम्बन्धी दाबीलाई फ्रान्सको कम्पनीले झुटो घटना भएको दाबी गरेको छ भने अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका विज्ञ टम कुपरले पनि यसलाई आधारहीन भएको दाबी गरेका छन् । टम कुपरले यस युद्धमा भारतको जित भएको दाबी गरेका छन् ।
पाकिस्तानको सरगोधा एयरबेसलाई निकै सुरक्षित मानिएको थियो, किनभने यो ठाउँ भनेको पाकिस्तानको परमाणु अड्डा भएको संवेदनशील ठाउँ हो । भारतको ब्रह्मोस मिसाइलबाट सरगोधा एयरबेसमा गरेको आक्रमणका कारण पाकिस्तानको न्युक्लियर अड्डालाई पनि ठुलो क्षति पुगेको र त्यस ठाउँमा रसायनको लिकेज हुन थालेको छ । किरनाहिल्सको वरिपरि बस्दै आएका नागरिकलाई एक सय किलोमिटर टाढा बस्न भनिएको छ । किरनाहिल्स र एक्यु खान न्युक्लियर र प्रयोगशाला नजिक भएको भारतीय आक्रमणपश्चात् त्यहाँ रेडियसनको सतह उच्च हुन पुगेको छ । त्यस क्षेत्रका कतिपय मानिसलाई अचानक नयाँ–नयाँ रोग पनि भइरहेको चर्चा छ, यद्यपि यसको पुष्टि भइसकेको छैन ।
पाकिस्तानका एक युट्युबरले पाकिस्तानका जलसेनाले पटनाको बन्दरगाहलाई ध्वस्त पारेको समाचार पनि लेखेका छन्, जब कि विहारको कुनै पनि जिल्ला समुद्र सतहसित जोडिएको छैन । पाकिस्तानका पूर्वएयर मार्सल मसुद अख्तरले हाम्रो आर्थिक अवस्था साह्रै दयनीय रहेका कारण हामी भारतसित लामो युद्ध लड्न नसक्ने प्रस्ट पारिसकेका छन् । ‘अपरेसन सिन्दुर’मा भारतले चीनको पीएल–१५ मिसाइललाई क्षतिग्रस्त बनाएको तस्बिर नै सार्वजनिक गरेको छ । भारतीय वायुसेनाद्वारा ध्वस्त पारिएका चिनियाँ जे–१० फाइटर जेटको स्टक प्राइसमा ७.४३ प्रतिशतको ह्रास आएको छ भने टर्कीको ड्रोन निर्माण कम्पनीमा पनि ४ प्रतिशतको कमी आएको छ । अपरेसन सिन्दुरमा भारतीय सेनाले आफनो सौर्य, वीरता र धैर्यको अभूतपूर्व प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?