सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराजको घरमा पुगे प्रचण्ड

पत्रकार थापाको हत्या र दुल्लु विद्रोहले त्यो बेला माओवादीलाई दिएको थियो ठुलो धक्का
सोमबार, ०५ जेठ २०८२, ११ : २८
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • माओवादी अध्यक्ष प्रचण्ड दैलेख पुगेर १० वर्षे सशस्त्र युद्धको समयमा मारिएका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुगेर परिवारसँग भेटघाट गरे।
  • प्रचण्डले थापाको हत्याबारे आत्मालोचना गर्दै पार्टीको गल्ती स्वीकारे, परिवारलाई सम्मान व्यक्त गरे ।

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहानै १० वर्षे सशस्त्र युद्धका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट हत्या गरिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुगेका छन् ।

‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत अछाम हुँदै आइतबार दैलेख पुगेका प्रचण्ड सदरमुकामको जनसभालाई सम्बोधन गरेर त्यहीँ बास बसेका थिए । सोमबार बिहानै सदरमुकामको काँडाचौरदेखि गढीसम्म मर्निङ वाकमा निस्किएका उनले सदरमुकाममा रहेको डेकेन्द्रराज थापाको सालिकमा फुलमाला माल्यार्पण गरे । लगत्तै उनी थापाको घरमै पुगे ।

थापाको घर प्रचण्ड बसेको होटेलभन्दा करिब ५ सय मिटरको दुरीमा थियो । प्रचण्ड घरमा पुगेपछि थापाका परिवारले खादामालाले सम्मान गरे । थापाका कान्छा भाइ यज्ञराजा थापाका अनुसार प्रचण्डले उक्त घटनाबारे पुनः आत्मालोचना गरे । ‘हामीबाट गल्ती भएको छ, त्यसका लागि आत्मालोचना पनि गरेका छौँ भन्नुभयो,’ थापाले रातोपाटीसँग भने, ‘हामीले उतिवेला देखिनै गल्ती भएको कुरा स्वीकार गर्दै आएको हो भनेर पनि भन्नुभयो ।’

साथै प्रचण्डले थापाको परिवारप्रति आफ्नो पार्टीको उच्च सम्मान रहेको कुरा पनि राखेका थिए । परिवारले पनि आफूहरूबाट भएको गल्तीलाई स्वीकार गरिदिन प्रचण्डले अनुरोध गरे ।

prachanda-dekendraraj2

यज्ञराज भन्छन्, ‘उहाँ लगायत माओवादीका नेताहरूले हिजो देखिनै पटक-पटक गल्ती भएको भन्दै आत्मालोचना गर्नुभएको छ, यो उहाँहरूको महानता हो । उहाँहरूले जुन व्यवहार देखाउनुभयो, अन्य पार्टीका नेताहरूमा देखिन्न । उहाँ आफै आएर पनि त्यो भन्नुभयो ।’  प्रचण्ड घरमै आएर आत्मालोचना गरेको विषयलाई आफ्नो परिवारप्रति गरेको सम्मानका रूपमा बुझेको पनि थापा बताउँछन् ।

उक्त घटनामा संलग्न केही कानुनी दायरामा आइसकेका छन् । उक्त विषयमा भने खासै कुरा नभएको थापाले बताए ।  ‘अदालती प्रक्रिया चलिरहेकाले त्यो विषयमा खासै कुराकानी भएन, हामीले पनि सोधेनौँ,’ उनी भन्छन् । पत्रकार थापाको नौमुले गाउँपालिका—३, द्वारीमा ०६१ साउन २७ गते हत्या भएको थियो । 

माओवादी अध्यक्ष प्रचण्डले आइतबारको जनसभालाई सम्बोधनका क्रममा पनि युद्धका क्रममा दैलेखमा केही कमीकमजोरी रहेको कुरा उल्लेख गरेका थिए । १० वर्षे सशस्त्र युद्ध चरम उत्कर्षमा गइरहेका बेला दैलेखमा डेकेन्द्रराज थापाको हत्यादेखि ‘दुल्लु विद्रोह’ ले माओवादी पार्टीभित्र ठुलो तरङ्ग पैदा गरेको थियो । 

माओवादीकै कमजोरीका कारण दुल्लुका जनताहरू माओवादीविरुद्ध आन्दोलनमा उत्रिएका थिए । प्रचण्ड सोमबार दैलेख सदरमुकामबाट मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटतर्फ लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप