सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
गणतन्त्र दिवसको तयारी

सिंहदरबारमा प्रधानमन्त्रीले खोजे बालेन शाह

सोमबार, ०५ जेठ २०८२, १४ : ३८
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसको बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको अनुपस्थितिप्रति चासो व्यक्त गरे।
  • बैठकमा मेयर शाहको सट्टा उपमेयर सुनिता डंगोलको उपस्थिति रहेको थियो, जसले गर्दा प्रधानमन्त्रीले आगामी बैठकहरूमा जनप्रतिनिधिहरूको अनिवार्य उपस्थितिको लागि निर्देशन दिए।
  • बैठकले गणतन्त्र दिवस भव्य रूपमा मनाउने निर्णय गर्‍यो, जसमा दीप प्रज्ज्वलन र विभिन्न तहमा समितिहरू गठन गरिनेछ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आयोजित एक बैठकमा काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको खोजी गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका हुन् । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् । 

 बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन 'निर्देशन' दिएका छन् । ‘यस्ता महत्त्वपूर्ण बैठकमा जनप्रतिनिधिको पनि उपस्थिति हुनुपर्छ । तर कुनैपनि बैठकमा उपस्थित हुनुपर्ने जनप्रतिनिधि उपस्थित भएको पाइँदैन । आगामी दिनमा यस्तो नहोस् र अनिवार्य उपस्थिति हुनुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो । 

बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् । 

बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरेको छ । यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप