विश्व पौडेल : चुनावमा पराजित, गभर्नरमा ‘विजयी’

समाचार सारांश
- सरकारले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ। उनी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।
- पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् र उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक हुन्।
- नवनियुक्त गभर्नर पौडेललाई बैंकिङ क्षेत्रमा उच्च तरलता र निष्क्रिय कर्जाको समस्या समाधान गर्ने चुनौती छ, साथै सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर ल्याउनुपर्नेछ।
काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनको नियुक्तिसँगै राष्ट्र बैंकमा डेढ महिनापछि नयाँ नेतृत्व पाएको छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।
यस्तो छ गभर्नर पौडेलको बायोग्राफी
अर्थशास्त्री विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । शेरबहादुर देउवाको नेतृत्वमा २०७९ सालको चुनावअघि बनेको सरकारमा उनी आयोगको सदस्य भएका थिए ।
पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक समेत हुन् । यसअघि उनी सोही विश्वविद्यालयमा करिब ४ वर्ष भिजिटिङ प्रोफेसर र करिब साढे ५ वर्ष सहायक प्रोफेसरको रूपमा काम गरेका थिए ।
त्यसअघि उनी राष्ट्रिय योजना आयोगकै सदस्य तथा वरिष्ठ अर्थशास्त्रीको भूमिकामा थिए । विश्व बैंकमा अल्पकालीन परामर्शदाता र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकारको भूमिकामा काम गरेको उनको अनुभव छ ।
उनले यसअघि सानिमा बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको सञ्चालक तथा युलेन्स स्कुलको बोर्ड ट्रस्टीको सदस्यको रूपमा काम समेत गरेका छन् ।
त्यस्तै उनले इसिमोडको बोर्ड अफ गभर्नर्स, कोलम्बो प्लान काउन्सिल, एसिया प्यासिफिक क्षेत्रीय आर्थिक समन्वय तथा एकीकरणका अध्यक्ष तथा नेपाल उद्योग परिसंघका प्रमुख आर्थिक सल्लाहका रूपमा समेत काम गरेका थिए । उनले अन्तर्राष्ट्रिय विभिन्न जर्नलहरूमा अनुसन्धनात्मक लेखहरू प्रकाशित गरेका छन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर २०७९ सालमा पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । चितवन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी चुनावमा भने रास्वपाका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए । कांग्रेसबाट उम्मेदवार भएको कारणले उनलाई पार्टीको सदस्य रहेको भन्दै उनको नियुक्ति विरुद्ध अदालतमा मुद्दा दायर गर्न खोजिएको थियो । तर, सर्वोच्चले उनी विरुद्धको मुद्दा दरपीठ सदर गरिदिएको छ ।
पौडेल अर्थशास्त्र र इतिहासका अध्येता हुन् । वित्त नीतिमा विशेष दख्खल भएका उनी शेयर बजारप्रति सकारात्मक व्यक्ति मानिन्छन् । मौद्रिक क्षेत्रमा भने उनको तुलनात्मक रूपमा न्यून अनुभव छ । यद्यपि पौडेलको नियुक्ति हुने खबरले सेयर बजार आज झन्डै ५० अंकले बढेको छ । यसले उनीप्रति समेत लगानीकर्ताको धारणा सकारात्मक रहेको देखिएको छ ।
नवनियुक्त गभर्नर पौडेललाई बैंकिङ क्षेत्रमा रहेको उच्च तरलता समस्या र बैंकिङ क्षेत्रमा बढ्दै गएको निष्क्रिय कर्जाको समस्या अन्त्य गर्नुपर्ने चुनौती छ । देश सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा रहेको अवस्थामा देशको मौद्रिक क्षेत्रको नेतृत्व गर्ने निकायको प्रमुखको हैसियतले यसबाट बाहिर ल्याउने काममा उनको प्रमुख भूमिका हुनेछ । त्यस्तै, देशको आर्थिक स्थायित्व, मूल्य नियन्त्रण तथा बैंक तथा वित्तीय संस्थाको नियमनलाई चुस्त बनाउने अहिलेको आवश्यकता देखिन्छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको पुँजीको प्रतिफल क्रमशः घट्दै गएको छ । त्यसलाई सुधार गर्दै उपभोक्तामैत्री र सुलभ बैंकिङ सेवा उपलब्ध गराउनु उनको प्रमुख चुनौती रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स