बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

सुरु भयो स्वाँतका भिरमा यस यामको ‘हनिहन्टिङ’

बुधबार, ०७ जेठ २०८२, १३ : ०४
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्वाँतमा भिर मौरीको मह शिकार सुरु भएको छ, जसमा स्थानीयको सामूहिक सहभागिता रहेको छ।
  • यस वर्ष वर्षाका कारण मह कम उत्पादन भएको छ, तर स्थानीयले पुरानो चलनलाई निरन्तरता दिँदै युवा पुस्तालाई सीप हस्तान्तरण गरेका छन्।
  • मह शिकारलाई व्यवस्थित, सुरक्षित र पर्यटनसँग जोड्ने योजना रहेको छ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ।

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरूमा महशिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक महशिकार गर्ने वर्षौ अघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ । 

डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुन देखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी भएका थिए । अक्करे भिरमा शिकारीले भाडामा झिक्ने महलाई सङ्कलन, प्रारम्भिक प्रशोधन गर्ने र सहयोगी सहित करिब २० जना सहभागी थिए । महशिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यस सम्बन्धी सिप सिकाएर हस्तान्तरण गरेका छन् । 

स्वाँतबासीहरु घरको काम सकेर दिनभर महशिकार अवलोकन गर्न छहरे भिर गएका थिए । महशिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृति अनुसार अशुभ नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो । गत वर्ष दुई सय लिटर मह निकालिएको छहरे भिरमा यसपालि पाँच गुणा कम मह उत्पादन भएको छ । 

केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको शिकारी पाइजाले बताए । छहरीको भिरमा ११ वटा गोला थियो । बुधवार स्वाँत देखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महशिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् । 

खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बिच भागमा भिर मौरीको वासस्थान हुन्छ । वन जङ्गलमा फुल्ने फुल भिर मौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइसराइ गर्छन् । मह शिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए । काठमाडौँका सागर पराजुलीले रसीमा झुन्डिएर भिरबाट मह निकालेको साहसिक दृश्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए । 

‘मह सिकारीले डोरीको सहायताले भीर मौरीको गोला भएको डरलाग्दो भिरमा झुन्डिएर मह निकालेको पहिलो पटक देख्दा शरीर नै जिरिङ्ग भयो,’ उनले भने, ‘भिर मह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ ।’ 

भीरमा भीर मौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिर मह निकाल्न उपयुक्त समय हो । 

मह निकाल्नका लागि भीरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तल अथवा माथिपट्टि बस्ने अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् । 

महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पुर्‍याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । 

माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ गरिन्छ ।

चौध वर्षदेखि महशिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाइबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए । ‘आठ दश वर्ष अघिसम्म शिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो,’ उनले भने, ‘अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ ।’ 

स्वादिलो, स्वास्थ्यका लागि हितकर भिर मह शक्ति वद्र्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले थप महत्त्व छ । विदेश गएका र सहरमा बस्नेहरूले भिर मह कोशेलीका रूपमा लैजाने गर्छन् । 

स्वाँतका सबै भिरबाट निकालिएको मह सङ्कलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरुलाई तीन वर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ । 

स्वाँतको भिर महको मूल्य प्रतिलिटर रु. तीन हजार कायम गरिएको छ । बसाई सरेर बेनी, पोखरा, काठमाडौँ, चितवन गएकाहरू मह शिकार गर्ने समयमा स्वाँत आउँछन् । पोखरामा बस्दै आएकी स्वाँतकी चन्द्र पुनले महशिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताए । स्वाँतमा बस्ती बसे देखिनै मह शिकार गर्ने चलन रहेको छ । 

अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुनले मह शिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यावसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताए । मह शिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रशोधन र भण्डारण गरी बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप