आईपीएलमा खुम्चिँदै अलराउन्डरको भूमिका

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण रोचक मोडमा, प्ले–अफ चरणमा पुग्ने टोलीको टुङ्गो लागिसक्यो, केही महारथी टोली बाहिरिए।
- यस सिजन अलराउन्डर खेलाडीको प्रदर्शन अघिल्लो सिजनको तुलनामा कम, सुनिल नारिन र हार्दिक पाण्ड्याले मात्र राम्रो प्रदर्शन गरे।
- क्रिकेट विश्लेषकका अनुसार, 'इम्प्याक्ट प्लेयर' नियमका कारण अलराउन्डरको प्रभावकारिता कम हुँदै गएको छ, जसले उनीहरूको भूमिकालाई संकुचित पारेको छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण रोचक मोडमा पुगेको छ । प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने तीनवटा टोलीको टुङ्गो लागिसकेको छ भने एउटा टोलीको छिनोफानो हुन बाँकी छ ।
प्ले–अफ चरणको पुग्ने बाँकी एक स्थानका लागि दुई टोली दौडमा छन् । यो संस्करणमा आईपीएल इतिहासका केही महारथी टोली लज्जास्पद प्रदर्शनसहित उपाधि होडबाट बाहिरिइसकेका छन् । यो सूचिमा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किङ्स पनि परेको छ ।
आईपीएलको यसअघिका संस्करणमा अलराउन्डर खेलाडीहरुको बोलबाला रहने गरेको थियो । अधिकांश खेलको नतिजामा अलराउन्डर खेलाडीको प्रदर्शन निर्णायक बन्ने गरेको थियो ।
अघिल्लो सिजन कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाउन पनि अलराउन्डर सुनिल नारिनको प्रदर्शन अब्बल थियो । अघिल्लो सिजन अलराउन्डर सुनिल नारिनले कुल चार सय ८८ रन बनाएका थिए भने १७ विकेट पनि लिएका थिए ।
सन् २०२३ को आईपीएलको फाइनलमा पनि गुजरात टाइटन्सविरुद्ध अन्तिम दुई बलमा १० रन बनाउँदै अलराउन्डर रविन्द्र जडेजाले चेन्नई सुपर किङ्सलाई च्याम्पियन बनाएका थिए । त्यो खेलमा चेन्नईले गुजरातलाई पाँच विकेटले हराएको थियो ।
तर, जारी सिजनको आईपीएलमा भने अलराउन्डर खेलाडी खासै प्रभावशाली देखिएका छैनन् । अघिल्लो सिजनको आईपीएलमा एक सयभन्दा बढी रन बनाउने र १० भन्दा बढी विकेट पनि लिने खेलाडीको सङ्ख्या उल्लेख्य थियो ।
१८औँ संस्करणको तुलनामा अघिल्लो संस्करणमा यस्ता खेलाडीको सङ्ख्या चार गुना बढी थियो । जारी सिजनको आईपीएलमा एक सयभन्दा बढी रन बनाउँदै १० भन्दा बढी विकेट लिने अलराउन्डरको सङ्ख्या केवल दुई छ ।
कोलकाताका सुनिल नारिन र मुम्बई इन्डियन्सका हार्दिक पाण्ड्याले मात्र जारी सिजनमा यस्तो सफलता हात पार्न सकेका छन् । यो सिजन हालसम्म हर्दिकले एक सय ५८ रन बनाएका छन् भने १३ विकेट पनि लिएका छन् ।
सुनिल नारिनले पनि हालसम्म दुई सय १५ रन बनाएका छन् भने १० विकेटसमेत लिएका छन् । अघिल्लो सिजन भने आठभन्दा बढी खेलाडीले एक सयभन्दा बढी रन बनाउनुका साथै १० भन्दा बढी विकेट समेत लिएका थिए ।
अघिल्लो सिजन सुनिल नारिन, आन्द्रे रसेल, साम कर्रन, क्यामरन ग्रिन, अक्षर पटेल, हार्दिक पाण्ड्या, प्याट कमिन्स र राशिद खानले यस्तो उपलब्धि हासिल गरेका थिए ।
क्रिकेट विश्लेषकका अनुसार, अलराउन्डर खेलाडीको प्रभावकारिता कम हुँदै जानुको प्रमुख कारण ‘इम्प्याक्ट प्लेयर’ सम्बन्धि नियम हो ।
यो नियम अनुसार, टोलीहरु ११ को सट्टा १२ जना खेलाडीसहित मैदानमा ओर्लने गरेका छन् । खेलका क्रममा टोलीहरूले आवश्यक्ता अनुसार प्लेइङ–११ मा रहेका कुनै पनि खेलाडीको सट्टामा अर्को कुनै ब्याट्सम्यान वा बलरलाई मैदानमा ओराल्न सक्छन् ।
राजस्थान रोयल्सका प्रमुख प्रशिक्षक राहुल द्रविड आईपीएलमा लागू गरिएको ‘इम्प्याक्ट प्लेयर’ को नियमले अलराउन्डर खेलाडीहरुलाई निरुत्साहित पार्दै लगेको धारणा राख्छन् । उनका अनुसार, यो नियमले अलराउन्डर खेलाडीको भूमिकालाई संकुचित बनाएको छ ।
पहिले टोलीमा ११ जना खेलाडीमात्र रहन्थे । यस्तो स्थितिमा अलराउन्डर खेलाडीले अवस्था अनुसार, ब्याटिङ वा बलिङ गर्ने अवसर बढी प्राप्त गर्थे । तर, ‘इम्प्याक्ट प्लेयर’ को नियम लागू भएपछि टोलीहरूले वैकल्पिक रूपमा परिस्थिति अनुसार, विज्ञ बलर वा ब्याट्सम्यानलाई नै मैदानमा ओराल्छन् ।
मुम्बई इन्डियन्सका प्रमुख प्रशिक्षक माहेला जयाबद्र्धने पनि द्रविडको यो विचारमा सहमत देखिन्छन् । उनका अनुसार, ‘इम्प्याक्ट प्लेयर’ को नियम लागू भएपछि टोलीहरूले एउटा अलराउन्डरलाई त पूर्णकालीन रूपमा टोलीमा समेट्न सक्छन् तर, यस्तो स्थितिमा अन्य अलराउन्डर टोलीमा अटाउँदैनन् ।
किनभने टोलीहरिसँग खेलको बिचमै विज्ञ बलर वा विज्ञ ब्याट्सम्यानलाई मैदानमा ओराल्ने अवसर प्राप्त हुन्छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
-
सूर्यकुमारको शानदार ब्याटिङ, मुम्बईले दियो १ सय ८१ रनको लक्ष्य
-
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
-
चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिक उत्सव इलाममा सुरू
-
बिहीबार उपस्थित हुने गरी छाडिए सहसचिव भट्टराई
-
अनुशासन उल्लङ्घन गरेपछि रास्वपाले गर्यो एक पदाधिकारीलाई तीन दिन निलम्बन