आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

इराक र इरानका विदेशमन्त्रीबिच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल

आइतबार, १४ असार २०८३, २० : २३
आइतबार, १४ असार २०८३

काठमाडाैँ । इराकका विदेशमन्त्री फुआद हुसेन र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबिच आइतबार बग्दादमा द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ।

इराकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार भेटवार्ताका क्रममा मन्त्री हुसेनले दुई छिमेकी मुलुकबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै क्षेत्रीय तथा अन्तरराष्ट्रिय मुद्दामा निरन्तर समन्वय र परामर्शको आवश्यकता औँल्याए।

उनले क्षेत्रीय सुरक्षा, शान्ति र स्थायित्व प्रवर्द्धनका लागि इराकले आफ्नो कूटनीतिक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे। इरानी विदेशमन्त्री अराघचीले इराकलाई इरानको मित्र, छिमेकी र रणनीतिक साझेदारका रूपमा वर्णन गर्दै विभिन्न क्षेत्रमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले हालै इरान र संयुक्त राज्य अमेरिकाबीच हस्ताक्षर भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू) अन्तिम सम्झौताका लागि महत्वपूर्ण प्रारम्भिक कदम भएको बताए। साथै, उक्त समझदारीले युद्धविरामलाई थप सुदृढ बनाउने र क्षेत्रीय शान्ति तथा स्थायित्वका लागि सकारात्मक वातावरण सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे।

यद्यपि शान्ति समझदारी र अन्तिम सम्झौताका लागि वार्ता जारी रहेकै अवस्थामा पनि सप्ताहन्तमा संयुक्त राज्य अमेरिका र इरानबिच सैन्य तनाव पुनः चर्किएको छ।

‘स्ट्रेट अफ हर्मज’ मा व्यावसायिक जलयानमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै संयुक्त राज्य अमेरिकाले शुक्रबार र शनिबार इरानका केही सैन्य लक्ष्यमा आक्रमण गरेको थियो। त्यसको प्रत्युत्तरमा इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप