बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

विद्यालय कर्मचारी परिषद्‌ले गर्‍यो आन्दोलन स्थगित

बुधबार, ०७ जेठ २०८२, १७ : १५
बुधबार, ०७ जेठ २०८२

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्रपछि विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।

नेपाल शिक्षक महासंघसँग गत वैशाख १७ गते ९ बुँदे सहमति भएको थियो। उक्त सहमतिप्रति असहमति जनाउँदै परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो।

परिषद्ले अघि सारेका मागहरु सम्बोधन नभएको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो । ध्यानाकर्षण सम्बन्धमा शिक्षा मन्त्रालयले वैशाख १७ गतेको मन्त्रिपरिषद् निर्णयबाट भइसकेको जनाएको थियो । 

त्यस्तै अन्य केही मागहरूका सम्बन्धमा संघीय संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयकमा समावेश भएको मन्त्रालयले प्रष्ट पारेको थियो । 

विद्यालय कर्मचारीहरुको विरामी विदा सञ्चित गर्ने, दुर्गम भत्ता व्यवस्था गर्ने लगायतका सुविधा विषयमा मन्त्रालयबाट तर्जुमा गरिने नियम, निर्देशिका वा कार्यविधिमा समावेश गर्ने प्रक्रिया अवलम्बन गर्ने विषयमा शिक्षा मन्त्रालयले जेठ ६ गते मन्त्रीस्तरीय निर्णय गरेको थियो। 

सोही आधारमा परिषद्ले शिक्षा मन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै ध्यानाकर्षण पत्रमा घोषित आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको हो । नेपाल विद्यालय कर्मचारी परिषद्ले जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप