नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

समाचार सारांश
- सिराहाको नवराजपुर गाउँपालिकाले कक्षा १ देखि ३ सम्म मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक 'हमर नवराजपुर' मार्फत पठनपाठन सुरु गरेको छ।
- गाउँपालिकाले स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्न स्थानीय पाठ्यपुस्तक तयार पारेको र कक्षा ६ सम्म विस्तार गर्ने योजना बनाएको छ।
- मैथिली साहित्य परिषद् सिराहाका संयोजकले यो कदमको प्रशंसा गर्दै अन्य स्थानीय तहलाई पनि यस्तै कार्य गर्न आग्रह गरेका छन्।
सिराहा । सिराहाको नवराजपुर गाउँपालिकाले मैथिली भाषाको स्थानीय पाठ्यपुस्तक निर्माण गरी कक्षा १ देखि कक्षा ३ सम्म पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि ‘हमर नवराजपुर’ (हाम्रो नवराजपुर) नामक पाठ्यपुस्तक तयार गरी २० वटै सामुदायिक विद्यालयमा पठनपाठन गराउन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवका अनुसार एक सय पूर्णाङ्कसम्मको स्थानीय भाषामा पाठ्यपुस्तक तयार गरेर पढाउन पाइने प्रावधानअनुसार पाठ्यपुस्तक तयार गरी लागू गरिएको हो । आगामी वर्षको शैक्षिक सत्रदेखि कक्षा ६ सम्म स्थानीय भाषाको पाठ्यक्रम तयार गरी कार्यान्वयन गरिने उनले जानकारी दिए ।
अध्यक्ष यादवले भने, ‘अहिले कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेका छौँ । संविधान अनुसार मौलिक भाषा, कला र संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्ने दायित्व स्थानीय तहको भएकाले सोहीअनुरुप काम गरिएको हो । आगामी शैक्षिक सत्र २०८३ मा कक्षा ६ मा पनि मातृभाषामा पठनपाठन गराउने योजना अनुरूप पाठ्यपुस्तक छपाइको तयारी गरिएको छ ।’
पाठ्यपुस्तकमा नवराजपुर गाउँपालिकाको भूगोल, संस्कृति, परम्परा, जनजीवन, प्राकृतिक सम्पदा, पर्यटन, कृषि, पशुपालन, स्थानीय घरेलु प्रविधिलगायत विषयवस्तु समावेश गरिएका अध्यक्ष यादवले जानकारी दिए । पछिल्लो समय बालबालिकालाई सहर बजार लगेर पढाउने प्रचलन बढेपछि स्थानीय भाषा र संस्कृति सङ्कटमा पर्न सक्ने भएकाले त्यसको संरक्षणका लागि माटो सुहाउँदो पाठ्यपुस्तक बनाएर विद्यालयमा पढाउन थालिएको उनको भनाइ छ ।
अङ्ग्रेजी भाषाको मोहका कारण स्थानीय भाषा सङ्कटमा परिरहेको अवस्थामा गाउँपालिकाले मातृभाषामा पाठ्यक्रम निर्माण गरी पठनपाठन सुरु गर्नु प्रशंसनीय रहेको मैथिली साहित्य परिषद् सिराहाका संयोजक रामरिझन यादवले बताए । अन्य स्थानीय तहले पनि आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा यस्तो कार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
-
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
-
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
-
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
वन मन्त्रालयको बजेट १० वर्ष यताकै बढी
-
‘अर्ग्यानिक कर्णाली’को आधार नै बनेको छैन