को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
सारांश
- नेपाल सरकारका २९औँ मुख्यसचिव सुमनराज अर्यालको अवकाशपछि नयाँ मुख्यसचिव को बन्ने भन्ने चर्चा सुरु भएको छ ।
- मुख्यसचिवको पदमा बढुवाका लागि निजामती सेवा ऐनमा व्यवस्था भए अनुसार ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरिनेछ ।
- यस पटक वरिष्ठताभन्दा कार्यकुशलतालाई आधार बनाइने र प्रधानमन्त्रीको सल्लाहकार समूहले १० सचिवहरूको स्क्रिनिङ गरिरहेको छ ।
काठमाडौँ । नेपाल सरकारका २९औँ मुख्यसचिव सुमनराज अर्याल उमेरहदका कारण यही असार २६ गतेबाट अनिवार्य अवकाशमा जाने भएपछि नयाँ मुख्यसचिव को हुने भन्ने चर्चा प्रशासन वृत्तमा सुरु भएको छ । प्रशासनिक क्षेत्रको सबैभन्दा उच्च पद मुख्यसचिवको जिम्मेवारी सम्हाल्न सचिवहरू आ–आफ्नो तर्फबाट प्रयास गरिरहेका छन् ।
३०औँ मुख्यसचिव बन्नका लागि १० सचिव दाबेदार छन् । निजामती सेवा ऐनको दफा १९(२)(क) मा ‘राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्नेछ’ भन्ने लेखिएको छ । ऐनमा रहेको यही प्रावधानमा पर्ने सचिवहरू मुख्य सचिवमा बढुवा हुन लबिङ गरिरहेका छन् ।
तर, सधैँ ज्येष्ठताका आधारमा बढुवा नियुक्ति सिफारिस गरिने प्रधान न्यायाधीशमा समेत रोलक्रम मिचिएकाले मुख्यसचिवमा पनि त्यस्तै हुने त होइन भन्ने आशङ्कामा सचिवहरू छन् । प्रधानमन्त्री बालेन्द्र शाह अध्यक्ष हुने संवैधानिक परिषदले ज्येष्ठतामा पहिलो नम्बरमा रहेकी न्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरेर चौथो नम्बरका डा. मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुपाइपछि शर्मा नै प्रधान न्यायाधीश बने ।
मुख्यसचिव बढुवा नियुक्तिमा पनि ऐनमा ‘ज्येष्ठता र कार्यकुशलताका आधारमा’ भन्ने लेखिएकाले रोलक्रम मिचिने निश्चितजस्तै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले जानकारी दियो । ‘यस पटक हामीले वरिष्ठतालाई भन्दा कार्यकुशलतालाई आधार बनाउने तयारी गरेका छौँ,’ प्रधानमन्त्री शाहका सल्लाहकार समूहका एक सदस्यले रातोपाटीसँग भने, ‘वरिष्ठ रहेका ९ सचिवमध्ये कार्यकुशलतामा जो राम्रो हुनुहुन्छ, उहाँकै बढुवा नियुक्ति हुन्छ ।’
अहिले रहेका सचिवहरूमध्ये ज्येष्ठतामा रहेका १० सचिव करिब–करिब उस्तै समूहमा बढुवा भएका हुन् ।
मुख्यसचिव नियुक्तिको दिनसम्म पुग्दा वरिष्ठताको आधारमा पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा हुनेछन् । दोस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेका हरिप्रसाद मैनाली, तेस्रो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मै रहेका डिल्लीराम शर्मा, चौथो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको (अतिरिक्त समूह)मा रहेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र मोनिटरिङको जिम्मा दिएका गोविन्दप्रसाद शर्मा छन् ।
यस्तै, पाँचौँ नम्बरमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, छैटौँ नम्बरमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, सातौँ नम्बरमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ, आठौँ नम्बरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नवौँ नम्बरमा लोकसेवा आयोगका सचिव रामेश्वर दंगाल र १० औँ नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला छन् ।
अहिले वरीयतामा यी सचिवभन्दा माथि ३ सचिव छन् तर, उनीहरू मुख्यसचिव अर्यालभन्दा अगावै अनिवार्य अवकाशमा जान्छन् । निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका कृष्णहरि पुस्कर मुख्यसचिव अर्यालभन्दा अगाडि नै अवकाशमा जान्छन् । बज्राचार्य असार १७ गते, बुर्लाकोटी असार २१ गते र पुस्कर असार २४ गते अनिवार्य अवकाशमा जाने निजामती कर्मचारी किताबखानाको रेकर्डमा देखिन्छ ।
सचिवहरू २ तरिकाबाट अनिवार्य अवकाशमा जान्छन्– एउटा ५ वर्षे सेवा अवधि पुगेर र अर्को, ५८ वर्षे उमेरहदका कारण ।
निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा (१) बमोजिम मुख्यसचिव लगायत सम्पूर्ण निजामती कर्मचारीहरू ५८ वर्ष उमेर पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउँछन् । उमेर बाँकी नै रहे पनि मुख्यसचिवको पदावधि ऐनको दफा १७ को उपदफा (२) बमोजिम बढीमा ३ वर्ष हुन्छ ।
वरिष्ठताका आधारमा मुख्यसचिवको बढुवा नियुक्ति गरियो भने किरणराज शर्मा २०८४ कात्तिक अन्तिमसम्म पदमा रहनेछन्, तर उनी मुख्यसचिव भएनन् भने ५ वर्षे सेवाअवधिका कारण आगामी साउन ४ गते अनिवार्य अवकाशमा जानेछन् ।
शर्मा मुख्यसचिव भएमा अहिले प्रतिस्पर्धामा रहेका बाँकी ९ सचिव उनीभन्दा अगाडि नै अनिवार्य अवकाशमा गइसक्छन् । राष्ट्रिय किताबखाना (निजामती)का अनुसार मैनाली आगामी साउन १९, गोविन्दप्रसाद शर्मा आगामी साउन २५, डिल्लीराम शर्मा आगामी भदौ ३, श्रेष्ठ आगामी भदौ १६, सिग्देल आगामी असोज १४, पन्थ असोज १९, राउत पुस २१, दंगाल माघ १७ र निरौला आगामी फागुन ५ मा अनिवार्य अवकाशमा जान्छन् ।
त्यसपछिका वरीयताक्रममा रहेका हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव लोकनाथ पौडेल साउन ७ मा, बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव बाबुराम अधिकारी भदौ ४ मा र राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थ माघ १ मा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान्छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत एक सचिवले यसअघि मुख्यसचिवमा बढुवा हुने बेलामा प्रधानमन्त्री र मन्त्रीहरूसहितका राजनीतिक शक्ति केन्द्रमा आफूलाई बढुवा गर्न सचिवहरू धाएको देखिए पनि अहिले त्यस्तो अवस्था नरहेको बताए । ‘यसअघि मुख्यसचिव बन्न शक्तिकेन्द्र धाउने, राजनीतिक पहुँच बढाउने, नेताका घर–घरमा पुगेर तीव्र लबिङ गरेको देखिन्थ्यो । यो पटक अहिलेसम्म त्यस्तो देखिएन,’ ती सचिवले रातोपाटीसँग भने ।
ती सचिवले मुख्यसचिव अर्यालमार्फत प्रधानमन्त्री शाहले सुशासन, अनुशासन र परिणाममुखी प्रशासन निर्माण गर्न सक्ने सचिवलाई नेतृत्व सुम्पिने बताएको सन्देश आइपुगेको पनि बताए । मुख्यसचिवका लागि १० सचिवहरूको ‘स्क्रिनिङ’ प्रधानमन्त्रीको सल्लाहकार समूहले गरिरहेको निकट स्रोतले बतायो ।
‘अहिले मुख्यसचिवका लागि प्रधानमन्त्रीको निर्देशनमा वरिष्ठ सचिवहरूको फाइल स्क्रिनिङ गर्ने काम चलिरहेको छ,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘अब एक सातामा टुङ्गो लाग्ला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण