पाँचथरको गुराँसेमा आकर्षक माङहिम निर्माण अन्तिम चरणमा
पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। स्थानीय सामग्रीहरूको व्यापक प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका विभिन्न संरचनाहरू धमाधम निर्माण भइरहेका छन्।
मेची राजमार्ग नजिकै दृश्यावलोकनका लागि उपयुक्त स्थानमा आकर्षक संरचनासहितको माङहिम र अग्निकुण्ड निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ। माङहिम परिसरमा सोह्रौँ राष्ट्रराष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमासमेत स्थापना भएपछि यो स्थान धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अझ बढी प्रवर्द्धन भएको हो।
यसै साता इलामको माङ्सेबुङबाट महागुरु फाल्गुनन्दको साढे सात फिट अग्लो प्रतिमा ल्याएर यहाँ स्थापना गरिएको हिलिहाङ–६ का वडाध्यक्ष गणेशप्रसाद योङहाङले जानकारी दिए। एउटै ढुङ्गा बुट्टा काटेर बनाइएको उक्त प्रतिमा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आज्ञाअनुसार स्थापना गरिएको हो। प्रतिमा निर्माणमा मात्रै १५ लाख रुपैयाँ खर्च भएको र माङहिममा ल्याएर स्थापित गर्न थप तीन लाख रुपैयाँ लागेको वडाध्यक्ष योङहाङले बताए।
स्थानीयस्तरमै पाइने विशेष प्रकारका ढुङ्गा काटेर माङहिम र अग्निकुण्डका संरचना निर्माण गरिएकाले काम सम्पन्न हुन लामो समय लागेको र यसले गर्दा लागत पनि बढेको छ। आत्मा पवित्र गुराँसे माङहिम विगत नौ वर्षदेखि निर्माणाधीन अवस्थामा छ। विसं २०७३ सालमा साविकको भारपा गाविस हुँदा २५ हजार रुपैयाँको न्यून बजेटबाट यो माङहिम निर्माण सुरु भएको थियो। माङहिम निर्माणका लागि स्थानीय काजीमान योङहाङका छोरा कविन्द्र योङहाङले चार रोपनी, राजकुमार योङहाङले चार रोपनी र श्रीप्रसाद योङहाङले आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए।
माङहिम निर्माणमा हालसम्म करिब एक करोड रुपैयाँ लगानी भइसकेको छ। कुल एक करोड ५० लाख रुपैयाँको लागतमा माङहिमका संरचना निर्माण गर्ने डीपीआर बनेकाले अझै धेरै रकम आवश्यक रहेको वडाध्यक्ष योङहाङले उल्लेख गरे। उनका अनुसार माङहिमको भित्री संरचना, सिँढीमार्ग, घेराबारा तथा ढलानका कामहरू अझै बाँकी रहेका छन्।
माङहिम निर्माणाधीन क्षेत्र नजिकै लिम्बूवानका अन्तिम राजा हिलिहाङका फौज बस्ने गरेको ऐतिहासिक स्थान ‘पुलुथुम्की’ समेत रहेको छ। पुलुथुम्कीमा पनि आवश्यक पर्यटकीय संरचना निर्माण गरी समग्र क्षेत्रलाई नै पर्यटकीय हबका रूपमा विकास गर्ने लक्ष्य निर्माण समितिले राखेको छ।
माङहिम निर्माणका लागि आवश्यक अधिकांश रकम विभिन्न सङ्घसंस्था, दानवीर व्यक्तिहरू र विदेशमा रहेका तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दिएको दानबाट जुटाइएको हो। यसमा हिलिहाङ गाउँपालिकाले समेत केही लगानी गर्दै आएको छ। अब वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङ्देन तथा गुरुआमा पवित्रहाङ्मा लिङ्देनबाट प्रतिमा अनावरण र माङहिमको औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको छ।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले गाउँपालिकाले माङहिमको विकासमा सक्दो लगानी गरिरहेको बताए। तर, प्रदेश र सङ्घीय सरकारबाट थप लगानी प्राप्त हुन नसक्दा सोचेअनुसारका संरचनाहरू द्रुत गतिमा निर्माण गर्न नसकिएको अध्यक्ष अधिकारीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण