सांसदहरूले औँल्याए कमजोरी नै कमजोरी
सारांश
- कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्तापक्ष र विपक्षी सांसदहरूले कमजोरी औँल्याएका छन्।
- सांसदहरूले बजेटमा साना टुक्रे योजना छनोट भएको, प्राथमिकतामा नपरेका क्षेत्रमा बजेट विनियोजन भएको र धनी-गरिबबीचको खाडल बढाउने टिप्पणी गरेका छन्।
- आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले भने बजेट निर्माणमा सबैको सल्लाह लिइएको बताएका छन्।
सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफल जारी छ। शुक्रबार बोलेका अधिकांश सत्तापक्ष र विपक्षी सांसदले बजेटमाथि कमजोरी नै कमजोरी रहेको औँल्याए ।
सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले योजनाका नामै उल्लेख गरेर त्यसको कमजोरी बताएका थिए ।
साथै, बजेटमा स–साना टुक्रे योजना छनोट भएको बताए । ‘प्राथमिकता दिनुपर्ने ठाउँमा दिएका छैनौँ, नदिने ठाउँमा दिएका छौँ,’ उनले भने ।
सांसदले स–साना आयोजना दिने गरेको बताए । ‘ठुला आयोजना माग्नेहरूकै आयोजना साना देखिएका छन्,’ उनले अगाडि भने, ‘बजेट बनाउँदा जो कमजोर छ, त्यसलाई उठाउने होला नि ! तर अहिलेको बजेट हेर्दा बलिया ठाउँलाई झन् झन् बलिया र पछि परेका ठाउँलाई झन् विकासबाट पछि पार्ने काम भएको छ ।’
बजेटले धनी र गरिबको खाडल यहीँ छ भन्ने देखाएको टिप्पणी उनको छ । यसले जिल्लामा झन् खाडल पार्ने देखिएको बताउँदै शाहीले सांसद आफूले दिएको योजना परेपछि मात्र खुसी हुने बताए ।
‘अहिले बहुवर्षीय योजना जहाँ समृद्ध छ, त्यहीँ धेरै छ,’ उनले थपे । पूर्व मुख्यमन्त्री राजकुमार शर्माले बजेटमा स्पष्ट नीति र योजना नभएको बताए । ‘कुनै स्पष्ट योजना छैन, आकर्षण छैन,’ उनको भनाइ छ ।
पूर्व अर्थमन्त्री महेन्द्र केसीले बजेटले आर्थिक वृद्धिदरमा ध्यान नदिएको बताए । एमाले सचेतक टेकराज पछाईले बजेटमा धेरै अव्यवस्थित कुरा आएको बताए ।
‘प्राथमिकता र बजेट विनियोजनको सन्तुलन मिलेको छैन,’ उनले भने, ‘जस्तो कृषि प्राथमिकतामा छ, तर बजेट न्यून छ ।’ मन्त्रालयमा मन्त्रीहरूको शक्ति अनुसार बजेट छुट्याइएको आशङ्का व्यक्त गरे ।
पूर्व अर्थमन्त्री विन्दमान विष्टले बजेटको गन्तव्य नै नभएको बताए । उनले भने, ‘यो बजेट कार्यान्वयन भएपछि प्रदेशका जनताको प्रतिव्यक्ति आय कति हुन्छ भन्ने त्यो गन्तव्य हो । तर त्यो किताबमा कतै उल्लेख छैन ।’
यो बजेट वक्तव्य नै अपूर्ण रहेको र अपूर्ण पुस्तकमाथि छलफल गर्नुको औचित्य नै नभएको बताए ।
बजेटलाई सच्याउनुपर्ने बताए उनले । ‘आर्थिक वृद्धिदर बढाउने, रोजगारी सिर्जना गर्ने र प्रतिव्यक्ति आय बढाउनुको साटो पछाडि धकेल्ने खालको बजेट वक्तव्य छ,’ विष्टले भने, ‘आजको आवश्यकता अनुसार बजेटले सही दिशा पकड्न सकेन ।’
पूर्वमन्त्री तथा नेकपा सांसद भीमप्रकाश शर्माले बजेटमा मुख्यमन्त्रीको इन्ट्रेस्टको विषयबारे प्रश्न उठाए । मुख्यमन्त्रीले नै बहुवर्षीय योजना नहाल्नु भनेको तर बाहिर प्रचार ‘साना, टुक्रे योजना नहाल्ने तर सांसदले त्यही रुचाइरहेको’ भनी गरिएको बताए ।
उनी भन्छन्, ‘मुख्यमन्त्रीले मन्त्रालय ढुकेर नै बहुवर्षीय आयोजना नहाल्ने भनेपछि ठुला योजना आउने कुरा नै भएन ।’ मुख्यमन्त्रीले जे गर्नुहुन्न भन्नुभएको थियो, त्यही कुरा बजेटमा देखिएको उनले बताए ।
कांग्रेस सांसद देवेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुँदाहुँदै सुर्खेतको कर्णाली प्रदेश अस्पताललाई बनाउने कुरामाथि प्रश्न उठाए ।
‘जुम्लाको प्रतिष्ठानलाई किन प्रदेशले स्वीकार गर्न नसकेको ?’ उनले भने, ‘अर्को बनाएर आर्थिक भार थेग्न सकिन्छ त ?’
‘अहिले सुर्खेतले हामीलाई विभेद गर्यो, हिजो काठमाडौँले विभेद गर्यो भन्थ्यौँ ।’ एउटै नगरपालिकाले प्रदेश खाइदिने भन्दै प्रश्न उठाए ।
नेकपा प्रमुख सचेतक कृष्णबहादुर जिसीले कतिपय योजना व्यक्तिका नाममा पनि गएको बताए । टुक्रे योजनाको माग धेरै भयो भन्ने अनि विनियोजन गर्दा त्यस्तै आयोजनामा गरिएको बताए ।
पूर्व अर्थमन्त्री बेदराज सिंह, तुल्सा मल्लले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । अहिले बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
एमाले सांसद कलबहादुर हमालले बजेट लेखाइमा तलमाथि परेको बताए । लेख्नलाई केही नछुट्ने तर व्यवहारमा केही कार्यान्वयन नहुने उनको भनाइ छ ।
सांसदहरू वीरबहादुर शाही, कल्याणी खड्का, दुर्ग रावत, दक्षिणा शाही, उर्मिला विश्वकर्मा लगायतले पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
विश्वकर्माले दलित विकास बोर्ड गठन गर्न आग्रह गरिन् । महिला लक्षित बजेट न्यून रहेको उनको भनाइ छ ।
सांसदहरूले आलोचना नै आलोचना गरेको बजेटमाथि जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट निर्माण गर्दा सबैको सल्लाह अनुसार नै गरिएको बताए ।
साथै, मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले नै दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँका दश वटै पालिका पूर्णखोप सुनिश्चिता घोषणा
-
अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा
-
एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी हस्तान्तरण
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण