आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
विद्युतीय बसको अवस्था

लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र

आइतबार, ०७ असार २०८३, २० : ४३
आइतबार, ०७ असार २०८३

सारांश

  • लुम्बिनीका विद्युतीय बसहरू विभिन्न विमानस्थलमा सञ्चालन गर्ने सरकारी निर्णयपछि तीन वटा विमानस्थलमा सेवा सुरु भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका दुई बस भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।
  • अन्य विमानस्थलमा सञ्चालनमा आएका बसहरूले यात्रुलाई विमानस्थलबाट करिब दुई किलोमिटर दूरीसम्म निःशुल्क सटल सेवा प्रदान गरिरहेका छन् ।
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार बसको एयर कन्डिसन (एसी) प्रणाली बिग्रिएको छ र आधिकारिक हस्तान्तरण नभएकाले सञ्चालन गर्न नसकिएको हो ।

बुटवल । लुम्बिनीमा वर्षौंदेखि अलपत्र विद्युतीय बसहरूलाई विभिन्न विमानस्थलमा सञ्चालन गर्ने सरकारी निर्णयपछि तीन वटा विमानस्थलमा सेवा सुरु भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएका दुई बस भने अझै सञ्चालनमा आउन सकेका छैनन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार गत चैतमा लुम्बिनी विकास कोषले ती बसहरू नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा, सुर्खेत, नेपालगञ्ज र धनगढी विमानस्थलमा सञ्चालनका लागि पठाएको थियो । सुरुमा पाँचमध्ये दुई बस पोखरा पठाउने योजना भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यकता पर्ने भन्दै ती बस यतै रोकिएका थिए । त्यसपछि बाँकी तीनवटा बस चैत अन्तिममा नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थल पठाइएको थियो । 

गत जेठ पहिलो सातादेखि नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलमा ती बसहरू सञ्चालनमा आइसकेका छन् । यात्रुको सहजताका लागि विमानस्थलबाट करिब दुई किलोमिटर दूरीसम्म निःशुल्क सटल सेवा प्रदान भइरहेको छ । तर, भैरहवामा राखिएका दुई बस भने अझै प्रयोगविहीन अवस्थामा छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार पाँचमध्ये दुई बस भैरहवामै राख्ने मन्त्रालयको मौखिक निर्देशन थियो । ती बसहरू लुम्बिनी–भैरहवा आउजाउ गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन गर्ने योजना भए पनि हालसम्म विमानस्थललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छैन ।

'बसको एयर कन्डिसन (एसी) प्रणाली बिग्रिएको छ । मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्था भए पनि आधिकारिक हस्तान्तरण नभएकाले हामीले चलाउन सकेका छैनौँ,' साहले बताए । उनले यस विषयमा माथिल्लो निकायसँग पटक–पटक पत्राचार गरे पनि हालसम्म औपचारिक निर्णय प्राप्त नभएको जानकारी दिए । 

lubini-bus

बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त क्षेत्र बनाउने उद्देश्यले एसियाली विकास बैंक (एडीबी) को अनुदानमा पाँच विद्युतीय बस र १४ विद्युतीय भ्यान ल्याइएको थियो । बसहरू अन्य निकायलाई हस्तान्तरण गरिए पनि विद्युतीय भ्यान सञ्चालनका लागि लुम्बिनी विकास कोषले आन्तरिक तयारी गरिरहेको कोषका सूचना अधिकारी डा. हरिध्वज राईले बताए । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै २०७७ सालमै यी विद्युतीय बस ल्याइएको थियो । तर सञ्चालन प्रक्रिया जटिल बनेपछि लामो समय घामपानीमा थन्किएका ती बसहरूलाई मन्त्रालयले थन्काएर राख्नुभन्दा अन्य विमानस्थलमा भए पनि चलाउनु कडा निर्देशन दिएको थियो ।

कोषका सूचना अधिकारी राईका अनुसार मन्त्रालयको निर्णयअनुसार बसहरू पठाइएको र अब ती कहाँ र कसरी सञ्चालन भइरहेका छन् भन्ने जिम्मेवारी सम्बन्धित निकायको हुनेछ ।

विमानस्थलदेखि बजारसम्म निःशुल्क सटल बस सेवा

सरकारले सञ्चालनमा ल्याएको निःशुल्क सटल बस सेवाले विभिन्न विमानस्थलमा आउने–जाने यात्रुलाई उल्लेख्य सहजता प्रदान गरेको छ । मन्त्रालयले उपलब्ध गराएका बसहरूमध्ये हाल नेपालगञ्ज, धनगढी र सुर्खेत विमानस्थलमा नियमित सटल सेवा सञ्चालन भइरहेको छ । 

ती विमानस्थलमा उत्रने यात्रुलाई नजिकको मुख्य चोक वा बजार क्षेत्रसम्म निःशुल्क पुर्‍याउने व्यवस्था गरिएको छ । यस सेवाले विशेषगरी सार्वजनिक सवारीको पहुँच कम भएका क्षेत्रमा यात्रुलाई सहज भएको विमानस्थल अधिकारीहरूले बताएका छन् । जहाजको उडान र अवतरण समयअनुसार नै बसको तालिका मिलाइएको छ । 

धनगढी विमानस्थलका सूचना अधिकारी धर्मसिंह रानाका अनुसार त्यहाँ अवतरण गर्ने यात्रुलाई करिब दुई किलोमिटर टाढाको मोहनापुर चोकसम्म पुर्‍याउने व्यवस्था छ । मोहनापुर चोक राजमार्गसँग जोडिएकाले यात्रुलाई आफ्नो गन्तव्यतर्फ जान सहज भएको छ । 

यस्तै, नेपालगञ्ज विमानस्थलमा पनि निःशुल्क सटल बस सेवा सञ्चालनमा छ । विमानस्थलबाट करिब डेढ किलोमिटर दूरीमा रहेको राजाचोकसम्म यात्रुलाई पुर्‍याउने गरिएको छ, जहाँबाट अन्य गन्तव्यका लागि यातायातका साधन सहजै उपलब्ध हुन्छन् । 

उता सुर्खेत विमानस्थलमा जेठ ८ गतेदेखि सटल बस सेवा विस्तार गरिएको छ । विमानस्थल प्रमुख हिराजन काफ्लेका अनुसार यात्रुको सुविधाका लागि विमानस्थलदेखि तीनकुने चोक, कालिन्चोक, घण्टाघर चोक हुँदै मंगलगढी चोकसम्म बस सेवा सञ्चालन भइरहेको छ । यस सेवाले यात्रुलाई विमानस्थलबाट बजारसम्म जान महँगो निजी सवारी प्रयोग गर्नुपर्ने बाध्यता हटाएको छ ।

काठमाडौँ–सुर्खेत नियमित उडान र कर्णालीका हिमाली जिल्लातर्फ जाने यात्रुको सङ्ख्या बढ्दै गएकाले यो सेवा प्रभावकारी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप