आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईजीपीको जन्मथलोमा विशेषज्ञसहित निःशुल्क स्वास्थ्य शिविर

आइतबार, ०७ असार २०८३, १७ : ५३
आइतबार, ०७ असार २०८३

बुटवल । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जन्मथलो गुल्मीको मालिका गाउँपालिका–७ घमिरमा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर आज सञ्चालन गरिएको छ ।

घमिरस्थित स्वास्थ्य चौकीमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा तथा महिला विकास केन्द्र, लुम्बिनी प्रदेश प्रहरी कार्यालय र लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेको संयुक्त सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा स्थानीय नागरिकले स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । 

शिविरको उद्घाटन गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले दुर्गम क्षेत्रका वृद्धवृद्धा, महिला तथा लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले विशेषगरी महिलाहरूलाई पाठेघर तथा अन्य स्वास्थ्य समस्याबारे खुलेर जानकारी दिन र समयमै उपचार गराउन आग्रह गरिन् । 

शिविरमा औपचारिक कार्यक्रमभन्दा प्रत्यक्ष सेवा प्रवाहलाई प्राथमिकता दिइएको थियो । नेपाल प्रहरी श्रीमती संघकी लुम्बिनी प्रदेश अध्यक्ष पूजा खत्री, संघकी केन्द्रीय कोषाध्यक्ष राधिका भण्डारी ज्ञवालीलगायतले सेवाग्राहीसँग प्रत्यक्ष संवाद गर्दै स्वास्थ्य समस्या बुझ्न र आवश्यक परामर्श दिन सक्रिय भूमिका निर्वाह गरेका थिए । 

लुम्बिनी प्रदेश प्रहरी अस्पताल बाँकेका प्रहरी उपरीक्षक (एसपी) डा. अच्युत विक्रम हमालका अनुसार शिविरबाट करिब ३०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । शिविरमा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । 

कार्यक्रममा प्रहरी चिकित्सकहरू डा. अस्कल देवकोटा, डा. नारायण अधिकारी र डा. नितु भण्डारीलगायतको सहभागिता रहेको थियो । 

मालिका गाउँपालिका–७ का वडाध्यक्ष हिराबहादुर कार्कीले आईजीपी कार्कीको जन्मथलोमा यस्ता सेवामूलक कार्यक्रम सञ्चालन गरिएकोमा घमिरवासीको तर्फबाट आभार व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने कार्यले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप