सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आधुनिकताका बिच आफ्नै मौलिकता जोगाउँदै दरै समुदाय

सोमबार, ०८ असार २०८३, ०६ : ०८
सोमबार, ०८ असार २०८३

तनहुँ। आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसंख्यक दरै समुदायको मौलिक सांस्कृतिक सम्पदा ‘चुड्का नाच’ संरक्षणका लागि स्थानीयस्तरमा सक्रियता बढाइएको छ। ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्ताौँदेखि आफ्नो पहिचानसँग जोडिएको यो नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले समुदायका अगुवाहरू अभौतिक सम्पदाको जगेर्नामा जुटेका हुन्।

चुड्का नाच दरै समुदायका मानिस सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने परम्परागत लोकनृत्य हो। दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको सांस्कृतिक पहिचानका रूपमा महत्त्वपूर्ण मानिन्छ। पठनपाठन, सहरीकरण र युवा पुस्ता रोजगारीका लागि बाहिरिँदा यो नाच हराउँदै जान थालेकाले यसलाई बचाउन प्रतियोगितात्मक कार्यक्रम गरिएको उनले बताए।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा दरै समुदायको कुल जनसङ्ख्या १८ हजार ६९५ मात्र रहेको छ। गण्डकी प्रदेशका तनहुँ, गोरखा र नवलपुर जिल्लामा यस समुदायको उल्लेख्य बसोबास छ। जनसङ्ख्या कम हुनु र युवापुस्ता वैदेशिक रोजगारी तथा अध्ययनका लागि बाहिरिनुले चुड्का नाच संरक्षणमा चुनौती थपेको समाजका सचिव विजय दरैको भनाइ छ। तनहुँको व्यास नगरपालिकालाई उद्गम थलो मानिने यस समुदायको ऋषिङ र घिरिङ गाउँपालिकामा पनि बाक्लो बसोबास छ। दरै समाज तथा सांस्कृतिक समूहले ज्येष्ठ पुस्ताबाट गीत र नृत्य सिकाएर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयास थालेको उनले बताए।

दरै समाज तनहुँका उपाध्यक्ष विमल दरैले पहिले गाउँका अधिकांश युवा चुड्का नाचमा सहभागी हुने गरे पनि अहिले मोबाइल, इन्टरनेट र आधुनिक मनोरञ्जनका साधनको प्रभाव बढेसँगै परम्परागत संस्कृतिप्रतिको आकर्षण घट्दै गएकाले समुदायस्तरमै संरक्षणका कार्यक्रम आवश्यक बनेको उल्लेख गरे।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चुड्का नाच केवल मनोरञ्जनको माध्यम मात्र नभई दरै समुदायको इतिहास, सामाजिक सम्बन्ध, जीवनशैली र सामूहिक भावनाको अभिव्यक्ति भएको बताए। गीतका शब्दमा प्रकृति, प्रेम, श्रम, कृषि र सामाजिक जीवनका विविध पक्ष समेटिने हुनाले समुदायका ज्येष्ठ नागरिकसँग रहेका पुराना चुड्का गीत संकलन गर्ने कामलाई नगरपालिकाले प्रोत्साहन गर्ने उनले प्रतिबद्धता जनाए। मौखिक रूपमा पुस्तान्तरण हुँदै आएको यो सांस्कृतिक सम्पदालाई अब लिखित र डिजिटल अभिलेखमा राख्नुपर्ने आवश्यकता औँल्याउँदै नगरप्रमुख न्यौपानेले लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणका लागि बजेट विनियोजन गर्दै आएको जानकारी दिए।

अहिले दरै समुदायका युवाले सामाजिक सञ्जाल र डिजिटल माध्यममार्फत पनि चुड्का नाचको प्रचारप्रसार बढाउन थालेका छन्। संरक्षण अभियानलाई दिगो बनाउन आर्थिक स्रोत, प्रशिक्षण, अनुसन्धान तथा अभिलेखीकरणमा थप लगानी आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। विद्यालय तहदेखि स्थानीय पाठ्यक्रममा दरै समुदायको संस्कृति समावेश गर्न सके संरक्षण अभियान अझ प्रभावकारी हुने उनीहरूको सुझाव छ।

यसैबीच, आयोजित प्रतियोगितामा व्यास–१० स्थित दुम्सी दरै समाज प्रथम, बैरेनी दरै समाज द्वितीय र दुम्सीचौर दरै समाज तृतीय भएका छन्। उनीहरूलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा व्यास–११ स्थित पोल्याङ दरै समाज चौथो र साँखर दरै समाज पाँचौँ भएका छन्।

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु राष्ट्रिय दायित्व पनि हो। दरै समुदायले आफ्नो अस्तित्वसँग जोडिएको अमूल्य सम्पदा जोगाउन थालेको यो प्रयासले देशको सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप