कोहलपुरमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी : चार लोपोन्मुख संस्कृतिको संरक्षणमा जोड
नेपालगन्ज (बाँके)। लुम्बिनी प्रदेशमा रहेका थारू, कुसुन्डा, अवधी र मुस्लिम संस्कृतिको संरक्षणसम्बन्धी प्रादेशिक गोष्ठी बाँकेको कोहलपुरमा सम्पन्न भएको छ। नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा आइतबार उक्त कार्यक्रम भएको हो।
गोष्ठीको अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा सुदनकुमार पौडेलले प्राचीन संस्कृतिहरू राष्ट्रका अमूल्य निधि भएको उल्लेख गर्दै तिनको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए। उनले पुराना संस्कृतिलाई नवीन प्रविधिको उपयोग गरेर प्रचार र संरक्षण गर्न सकिने सम्भावना समेत औँल्याए।
कार्यक्रममा विभिन्न चारवटा विषयमा अवधारणापत्र प्रस्तुत गरिएका थिए। पहिलो सत्रमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा राजकुमार थारूले ‘थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गरे। उक्त पत्रमाथि टिप्पणी गर्दै पूर्वमन्त्री तथा थारू संस्कृतिका अध्येता डा गोपाल दहितले प्रकृति पूजक थारू जातिका प्रायः सबै अनुष्ठानमा प्रकृतिलाई सम्मान गरिने निचोड रहेको जानकारी दिए।
यस्तै, अर्का अध्येता उदयराज आलेले विश्वकै दुर्लभ ‘कुसुन्डाको परम्परागत संस्कृति’ माथि कार्यपत्र प्रस्तुत गरे। उक्त कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालय, वागेश्वरी बहुमुखी क्याम्पसका उपप्राध्यापक डा पुष्कर रिजालले टिप्पणी गरे। वनराजाका रूपमा चिनिने कुसुन्डा जाति ग्रामीण जीवनशैलीमा बस्न थालेसँगै उनीहरूको मौलिक संस्कृति हराउनु दुःखद् भएको बताउँदै डा रिजालले हाल कुसुन्डा भाषाको मातृभाषी वक्ता एक जना मात्रै बाँकी रहनु चिन्ताको विषय भएको उल्लेख गरे।
गोष्ठीमा अवधी संस्कृतिका अध्येता जगतराम यादवले ‘अवधी लोकसाहित्यमा लोकगाथा चनैनी’ शीर्षकको तेस्रो अवधारणापत्र प्रस्तुत गरे। यसमाथि लोकसंस्कृतिका अध्येता डा गोविन्द आचार्यले ढाँचागत केही कसर रहे पनि यसले अवधी लोकगाथालाई चिनाउन मद्दत गर्ने टिप्पणी गरे।
त्यसैगरी, मुस्लिम संस्कृतिका आरिफ खानले तयार गरेको ‘मोहर्रम’ सम्बन्धी पत्रमाथि महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा हरिप्रसाद तिमिल्सिनाले टिप्पणी गरे। खानको पत्रले मुस्लिम संस्कृतिका धेरै पक्षहरू छुटाएको भन्दै तिमिल्सिनाले नेपालगन्ज उर्दू साहित्य र संस्कृतिमा निकै धनी रहेको धारणा राखे।
उक्त गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्रा माधव अधिकारी, लुम्बिनी प्राविधिक विश्वविद्यालयका कुलसचिव रेगबहादुर भण्डारी, साहित्यकार प्रा डा कृष्णप्रसाद घिमिरे, वरिष्ठ साहित्यकार सनत रेग्मी, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा इन्द्र भण्डारी र कोहलपुर वाङ्मय प्रतिष्ठानकी कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपानेलगायतले संस्कृति संरक्षणका विविध पक्षमा आफ्ना भनाइ राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
-
परेराको कीर्तिमान तोड्दै वैभव सूर्यवंशीले रचे इतिहास
-
गोरखाको आहालडाँडामा दुई करोडको लागतमा गोरखनाथ मन्दिर निर्माण हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण