सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : पोखरामा प्याराग्लाइडिङ

एक अर्बको लगानीमाथि खेलाँची, स्थायित्व खोज्दै पोखराको प्याराग्लाइडिङ

सोमबार, १२ जेठ २०८२, १० : २६
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • पोखरामा प्याराग्लाइडिङ अन्तर्राष्ट्रिय विमानस्थलका कारण संकटमा परेको छ, जसले गर्दा पर्यटन व्यवसायी र पाइलटहरू प्रभावित भएका छन्।
  • विमानस्थल निर्माणपछि प्याराग्लाइडिङ सराङकोटबाट सारिएको थियो, तर व्यवसायीहरूले पुरानै ठाउँमा सार्न दबाब दिएपछि तोरीपानीबाट उडान सुरु गर्ने अनुमति दिइएको छ।
  • प्याराग्लाइडिङ व्यवसाय सुस्ताउँदा पाइलटहरू पलायन भएका छन् र कम्पनीहरू विस्थापित भएका छन्, तर व्यवसायीहरूले यसलाई पुनर्जीवित गर्ने आशा राखेका छन्।

पोखरा । देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ पोखरा । प्राकृतिक सौन्दर्यको धनी पोखरा पछिल्लो समय ‘एडभेन्चर’ (साहसिक खेल) का कारण पनि देश–विदेशमा प्रख्यात हुँदै गएको छ ।

पछिल्लो समय एडभेन्चरकै लागि देश–विदेशबाट पर्यटक पोखरा आउने क्रम बढेको थियो । पोखरा विमानस्थल तयार भएपछि भने साहसिक खेलकै एउटा विधा अर्थात् प्याराग्लाइडिङ भने सङ्कटमा पर्‍यो ।

केही वर्षअघि पोखराबाट उत्तरतिर हेर्दा आकाशैभरि रङ्गिन छाता उडिरहेका हुन्थे । कोही फेवा तालको फेरोमा मच्चिरहेका, कोही माछापुच्छ्रेको काखसम्म झुण्डिरहेका । पछाडि हिमाल, अगाडि ताल हेर्दै हावामा कावा खानु कम्ता मजा हुँदैन ।

रङ्गीन छाताहरूको नौलो दृश्य देखेपछि पोखरा झरेका जो–कोही पर्यटकको मन लोभिन्थ्यो र त्यही छातामा सयर गर्ने जाँगर चल्थ्यो । फर्किने समय आइसक्दा अवधि थपेर उनीहरू प्याराग्लाइडिङ गर्न जान्थे ।

पर्यटकको बसाइ लम्ब्याउने महत्त्वपूर्ण गन्तव्य त थियो नै, पोखरा आउने नयाँ पर्यटकका लागि छुट्टै बहाना पनि बनिरहेको थियो प्याराग्लाइडिङ ।

नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्वअध्यक्ष कृष्ण भण्डारीका अनुसार पर्यटक भुलाउन प्याराग्लाइडिङ पछिल्लो समयको सबैभन्दा मुख्य प्रोडक्ट थियो ।

‘सिजनका बेला दिनमै ७ सयभन्दा बढी पर्यटकले प्याराग्लाइडिङ गर्थे,’ उनले भने, ‘अफ सिजनमा पनि २ सय हाराहारी त पुगेकै थिए । बर्सेनि कम्पनीहरू थपिँदो थिए । ६१ वटा कम्पनी पुगिसकेका थिए, पाइलटहरू झण्डै ४ सय थिए ।’

साहसिक पर्यटनको राजधानी नै बनेको थियो सराङकोट । व्यवसायी र पाइलटलाई उडानमा भ्याइ–नभ्याइ थियो ।

‘सराङकोट सामान्य थलो होइन । यहाँबाट उड्दा पोखरा देखिन्छ । पोखराबाट हेर्दा प्याराग्लाइडिङ देखिन्छ । गज्जबको कम्बिनेसन छ यसको,’ भण्डारीले भने, ‘माछापुच्छ्रे, अन्नपूर्ण जस्ता हिमाल काखमा आउँछन् । पैतालातिर हेर्दा फेवाताल लमतन्न देखिन्छ । कम्ता रोमाञ्चक छैन यो रुट ।’

विमानस्थलका कारण सराङकोटको आकाश ‘नो फ्लाइजोन’ भएसँगै रङ्गीन छाताहरू लगभग गुमनाम झैँ भए । एक अर्ब लगानी भइसकेको यो क्षेत्र तहसनहस भयो ।

आजभोलि त्यो गुल्जार सराङकोट सुस्ताएको छ । ‘पर्यटक अहिले पनि त्यही सराङकोटको टेकअफ खोज्छन् । हामीले त्यो छैन भनेपछि नरमाइलो मानेर फर्किएका पनि छन्,’ उनले थपे, ‘विकास आयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल त बन्यो तर त्यति महत्त्वपूर्ण प्रोडक्ट गुमेको छ, जुन पर्यटनका लागि दुःखद हो ।’

२०७९ पुस १५ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् उद्घाटन भयो । त्यही दिन सराङकोटबाट प्याराग्लाइडिङ विधिवत् अन्त्य भएको थियो । प्याराग्लाइडिङका लागि सराङकोटको आकाश ‘नो फ्लाइ जोन’ बन्यो ।

विमानस्थलका कारण सराङकोटको आकाश ‘नो फ्लाइजोन’ भएसँगै रङ्गीन छाताहरू लगभग गुमनाम झैँ भए । एक अर्ब लगानी भइसकेको यो क्षेत्र तहसनहस भयो । पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सराङकोट क्षेत्रलाई ‘नो फ्लाइजोन’ बनाउनुपर्ने अर्थात् प्याराग्लाइडिङ हटाउनैपर्ने पहिलो सर्त थियो ।

त्यसपछि सराङकोटबाट ५ किलोमिटर पर मान्द्रेढुंगामा प्याराग्लाइडिङ सारियो । ल्याण्डिङ पनि खपौंदीबाट पामेतिर सारियो । त्यसपछि पोखराबाट पर्यटकले प्याराग्लाइडिङका छाता देख्न छाडे, प्याराग्लाइडिङ पनि सुस्ताउँदै गयो ।

सराङकोटबाट प्याराग्लाइडिङ हटाएपछि कतिपय पर्यटकलाई वैकल्पिक ठाउँमा सञ्चालन भइरहेको छ भन्ने पनि थाहा छैन । ‘अहिले पोखरा आएका पर्यटकलाई प्याराग्लाइडिङ गर्ने होइन भनेर सोध्ने हो भने बन्द भइसकेको होइन र भन्ने प्रश्न गर्छन् । उनीहरूलाई यहाँबाट प्याराग्लाइडिङ बन्द भइसकेको भन्ने प्रचार पुगेको छ,’ नाका अध्यक्ष अनिल केसीले भने ।

केसीका अनुसार एक समय प्याराग्लाइडिङका लागिमात्रै आउने पर्यटक पनि थिए । अहिले पोखरा आइसकेका पर्यटकले पनि प्याराग्लाइडिङ नगरी फर्किने अवस्था बनेको उनको भनाइ छ ।

मान्द्रेढुंगामा प्याराग्लाइडिङका लागि ग्राहक नआएपछि व्यवसायीहरूले पुरानै ठाउँमा सार्न दबाब दिए । पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणले सराङकोटको आडैमा रहेको तोरीपानीबाट टेकअप गर्ने गरी अनुमति दिएको छ ।

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पनि भएको छैन । अन्तर्राष्ट्रिय उडानका लागि भनेर सराङकोटबाट प्याराग्लाइडिङ हटाएपछि यो व्यवसाय पनि राम्रोसँग चल्न सकेको छैन ।

‘नियमित उडान भएपछि के गर्ने भन्ने सोचौँला । तत्कालका लागि पुरानै ठाउँबाट टेकअफ गरौँ भनेर हामीले दबाब दिएका हौँ,’ केसीले भने, ‘अब तोरीपानीबाट उडान हुन्छ । पुरानो दृश्य हेर्दै तालमाथि उडान भर्न पाइन्छ ।’

केसीका अनुसार तोरीपानीमा उडान अनुमति पाएसँगै उडानको अवधि पनि थपिएको छ । ११ बजेदेखि ३ बजेसम्म हुँदै आएको उडान अब ११ बजेदेखि साढे ४ बजेसम्म गर्न मिल्ने भएको हो ।

स्थानान्तरण नै प्याराग्लाइडिङको सञ्जीवनी बुटी हुने व्यवसायीहरूको विश्वास छ । नाका महासचिव बलराम आचार्य उडान र अवतरणको स्थानान्तरणसँगै पोखराको प्याराग्लाइडिङ पुरानै अवस्थामा फर्किने विश्वास व्यक्त गर्छन् । ‘मान्द्रेढुंगा पुगेपछि प्याराग्लाइडिङ लगभग अस्ताएको हो । कतिपय नकारात्मक प्रचार पनि भएछ,’ उनले भने, ‘तोरीपानीबाट उडेपछि पोखराबाट सहजै प्याराग्लाइडिङ देख्न सकिन्छ । पर्यटकहरूले फेरि रुचाउने छन्, र पुरानै अवस्थामा फर्किनेछ भन्ने विश्वास लिएका छौँ ।’

‘रोजीरोटी नै नचल्ने अवस्था आएपछि बसिरहने कुरा पनि भएन,’ उनले भने, ‘धेरै पाइलटले पेसा परिवर्तन गरे । कतिपय त विदेश गइसकेका छन् ।’

दर्ता भएका कम्पनी पनि प्याराग्लाइडिङ व्यवसाय सुस्ताएपछि विस्थापित भएका थिए भने पाइलटहरू पलायन भएका छन् । हवाई खेलकुद संस्थाका अनुसार ६१ कम्पनी दर्ता भएकोमा अहिले ५३ कम्पनीले मात्रै नियमित उडान भर्छन् ।

यहाँ प्याराग्लाइडिङ उडाउन ३८९ जना पाइलटले अनुमतिपत्र  लिएका छन् । तर अहिले २६० जनामात्रै सक्रिय रहेका र अन्य पलायन भएका महासचिव आचार्यले जानकारी दिए ।

‘रोजीरोटी नै नचल्ने अवस्था आएपछि बसिरहने कुरा पनि भएन,’ उनले भने, ‘धेरै पाइलटले पेसा परिवर्तन गरे । कतिपय त विदेश गइसकेका छन् ।’

राज्यले लिने कर र शुल्क महँगो भएका कारण पनि कतिपय कम्पनी सक्रिय हुन सकेका छैनन् । ठाउँ परिवर्तन गर्ने प्राधिकरणको निर्णयलाई व्यवसायीले आशाको रूपमा हेरेका छन् ।

यद्यपि अझै सराङकोटमै सार्न सके प्याराग्लाइडिङले गति लिन सक्ने उनीहरूको तर्क छ । वर्षौँदेखि प्याराग्लाइडिङ उडाइरहेकी पाइलट शर्मिला शर्माले भनिन्, ‘सराङकोट भनेको नेपालमा मात्रै होइन, विश्वमै उत्कृष्ट प्याराग्लाइडिङ साइट हो । धेरै विदेशीहरू प्याराग्लाइडिङ नै गर्ने भनेर आउँछन् । उहाँहरूले सबैले धेरै मिस गर्नुभएको छ ।’

शर्माका अनुसार तोरीपानी पनि प्याराग्लाइडिङका लागि राम्रै छ । यद्यपि पाइलटको हिसाबले सराङकोट सार्न पाए अझै उत्कृष्ट हुन्थ्यो भन्ने उनको जिकिर छ । ‘सुरक्षा र व्यवस्थापनको हिसाबले प्याराग्लाइडिङका लागि सराङकोट विश्वमै पहिचान बनेको छ,’ उनले भनिन् ।

सराङकोटबाट सरेपछि पाइलट र व्यवसायीलाई समेत सङ्कट परेको शर्माले बताइन् । ‘पाइलट दिनदिनै सकिँदै छन् । भएका पाइलटको पनि दैनिक उडाउने पालो आउँदैन,’ शर्माले भनिन्, ‘पोखरामा विमानस्थल बनेपछि हाम्रो रोजीरोटी गुम्ने अवस्था बन्यो । पाइलटहरूको मात्रै चाहना होइन, हजारौँ पर्यटन व्यवसायी पनि सराङकोटबाटै उडान होस् भन्ने चाहना राख्नुहुन्छ ।’

पोखरामा हुने प्याराग्लाइडिङमा उड्दा न्यूनतम ७ हजार ५ सय देखि अधिकतम ८ हजार ५ सय रुपैयाँसम्म शुल्क तोकिएको छ ।

पोखराको पूरा पर्यटनमा ७ खर्बभन्दा बढी लगानी छ भने प्याराग्लाइडिङमा मात्रै १ अर्बभन्दा बढीको लगानी छ । यति ठुलो लगानी भइरहेको व्यवसायलाई प्रहार हुने गरी सरकारको नीति बनाउन नहुने व्यवसायी बताउँछन् ।

सन् १९९६ मा बेलायतका नागरिक एडम हिलले पहिलो पटक पोखरामा प्याराग्लाइडिङ गरेका थिए । प्याराग्लाइडिङसँगै जिप फ्लायर, बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हट एयर बेलुन, स्काइ डाइभ, र्‍याफ्टिङ जस्ता साहसिक खेल पोखरामा भइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप