‘हनी ट्राप’मा पुरुष : नेपालको एउटा बढ्दो सामाजिक समस्या

नेपालमा ‘हनी ट्राप’ एक संवेदनशील र बढ्दो सामाजिक समस्या बन्न पुगेको छ । यद्यपि यस विषयमा धेरै समयसम्म ध्यान दिइएको थिएन, पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको विस्तारसँगै यस प्रकारका घटना दिन प्रतिदिन बढ्दै गएका छन् ।
पुरुषलाई झुक्याएर, ब्ल्याकमेल गरेर आर्थिक तथा मानसिक रूपले क्षति पुर्याउने घटनाले पुरुष पीडितको मनोबल ध्वस्त बनाएको छ, तर समाजले अझै पनि यसलाई खुलेर स्विकार्न सकेको छैन, जसले गर्दा धेरै पीडित आफ्नो समस्या लुकाएर बसेका छन् ।
नेपालमा पुरुष हनी ट्रापसम्बन्धी ठोस तथ्यांक सीमित भए पनि विभिन्न संघ–संस्थाले गरेका अध्ययनले यसमा वृद्धि भइरहेको स्पष्ट देखाएका छन् । नेपाल मनोवैज्ञानिक संघले २०७८ सालमा गरेको सर्वेक्षण अनुसार, कुल पुरुष पीडितमध्ये करिब १२ प्रतिशतले यौनसम्बन्धी ब्ल्याकमेल वा हनी ट्राप भोगेका छन् । तथापि सामाजिक लाज, परिवारको दबाब र न्याय प्रणालीप्रतिको अनिश्चयताका कारण ८५ प्रतिशतभन्दा बढी पीडितले आफ्नो पीडा सार्वजनिक गर्न सकेका छैनन् ।
क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा कुल पीडित पुरुषमध्ये ४५ प्रतिशतले यस्ता घटना भोगेका छन्, खासगरी अनलाइन माध्यमबाट झुक्याउने घटना बढी छन् । यस्तै, बागमती र लुम्बिनी प्रदेशका ग्रामीण क्षेत्रका पुरुष पीडित देखिन्छन् । मधेस र तराईमा सामाजिक दबाबका कारण घटना लुकाइन्छन् ।
कर्णाली प्रदेशमा कुल पीडितमध्ये करिब १५ प्रतिशत पुरुष हनी ट्रापबाट पीडित देखिन्छन् भने सुदूरपश्चिम प्रदेशमा १८ प्रतिशत पुरुष पीडित छन् ।
- पुरुष हनी ट्रापका कारण
पुरुष ‘हनी ट्राप’ पछाडि सामाजिक, आर्थिक र प्राविधिक कारण देखिन्छन् । पुरुषलाई परिवारको मुख्य कमाउने र संरक्षकको रूपमा हेरिन्छ । उनीहरुलाई झुटा आरोप लगाएर वा ब्ल्याकमेल गरेर फसाउने घटना बढेका छन् । यस्ता घटनामा सिधै महिलाले पुरुषलाई फसाउने मात्र नभई महिलालाई प्रयोग गर्ने गिरोह नै लागेको पनि पाइन्छ ।
विशेषतः डिजिटल प्रविधि (सामाजिक सञ्जाल)को दुरुपयोग गरेर फसाउने प्रवृत्ति बढ्दो छ । पुरुष पीडितको संरक्षण गर्ने कानुन कमजोर छन् । एकातिर कानुनी प्रक्रिया जटिल छन् भने अर्कोतिर न्याय पाउन ढिलाइ हुन्छ । यस्तै, समाजले हेर्ने दृष्टिकोण खराब रहेकाले पीडितहरू आफ्नो पीडा लुकाउन बाध्य छन् ।
हनी ट्रापका कारण पुरुषहरूमा गम्भीर मानसिक र सामाजिक असर समेत देखिएको पाइन्छ । परिवार र समाजबाट समर्थन नपाउँदा धेरै पीडित समाजदेखि टाढिन समेत पुगेका छन् ।
- कानुनी पक्ष र व्यवस्थापन
नेपालमा यौन हिंसाविरुद्धका कानुन प्रायः महिलाकेन्द्रित छन् । पुरुष पीडितका लागि कानुनी सुरक्षा र सहायताका व्यवस्था कमजोर छन् । झुटा आरोपविरुद्ध कडा कानुनी कदम नहुँदा न्याय प्रणालीमाथि विश्वास कमजोर छ । साइबर अपराध नियन्त्रणका लागि प्रभावकारी नियम आवश्यक छ । ग्रामीण र दुर्गम क्षेत्रमा कानुनी सेवा तथा प्रहरीको पहुँच अभाव छ ।
- २०८१ सालका पुरुष हनी ट्राप घटना
कर्णाली प्रदेशमा एक युवा किसानलाई अनलाइन माध्यमबाट ब्ल्याकमेल गरी आत्महत्या गर्न बाध्य पारियो ।
सुदूरपश्चिम प्रदेशमा साना व्यवसायीलाई झुटो आरोप लगाएर ठुलो रकम मागियो, मानसिक तनावले उनको मृत्यु भयो ।
काठमाडौँ उपत्यकाका एक सरकारी कर्मचारीले ब्ल्याकमेलमा परी आत्महत्या गर्न पुगे । यस्तै काठमाडौँ उपत्यकामा एक जग्गा व्यवसायीलाई झुटो आरोप लगाएर ठुलो रकम ठगी गरिएको थियो । यस घटनामा प्रहरीसँग पनि मिलेको आरोप लागेको थियो, जसले न्याय प्रक्रिया प्रभावित भएको थियो ।
- सुधारका उपायहरू
पुरुष हनी ट्रापलाई रोक्न र पीडितलाई न्याय दिलाउन विभिन्न सुधार आवश्यक छन् । सर्वप्रथम त लैङ्गिक तटस्थ कानुनी व्यवस्था हुनुपर्छ । यस्तै सामाजिक चेतना अभिवृद्धिका कार्यक्रम गरिनुपर्छ । पुरुष पनि पीडित हुन सक्छन् भन्ने जनचेतना बढाउने कार्यक्रम आवश्यक छ ।
झुटा उजुरी नियन्त्रण गरिनुपर्छ । झुटा उजुरी दिएको प्रमाणित भएमा कडा अनुसन्धान र कानुनी कारबाही गरिनुपर्छ । यस्तै, पीडितहरूको मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा मनोवैज्ञानिक सहायता केन्द्रहरू आवश्यक छन् ।
अनलाइन ब्ल्याकमेल रोक्न प्रभावकारी नियम ल्याइनुपर्छ । स्थानीय तहसम्मै कानुनी, मानसिक र सामाजिक सहायता केन्द्रहरु हुन आवश्यक छ । यस्तै, शिक्षा र सोचमा परिवर्तन आवश्यक छ । विशेषतः लैङ्गिक समानताको शिक्षा र परम्परागत सोचमा सुधार आवश्यक छ ।
निष्कर्ष
‘हनी ट्राप’मा परेको पुरुषलाई मात्रै दोष दिइनु उचित हुँदैन । नेपाल सरकार, समाज र कानुन मिलेर यस संवेदनशील विषयमा ठोस कदम चाल्नुपर्छ । थप अनुसन्धान, तथ्यांक सङ्कलन र जनचेतना अभिवृद्धि अपरिहार्य छ । यसको समाधानमा सबै लाग्नुपर्नेछ । सबै पीडितलाई सम्मान र न्याय मिल्नुपर्छ ।
(कँडेल, राष्ट्रिय युवा परिषद्की बोर्ड सदस्य हुन् ।)