शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

मिस वर्ल्डपछि मिस ग्रान्ड इन्टरनेसनलमा विवाद, रेचल गुप्ताले उपाधि फिर्ता गर्ने

शुक्रबार, १६ जेठ २०८२, ०८ : १६
शुक्रबार, १६ जेठ २०८२

समाचार सारांश

  • मिस ग्रान्ड इन्टरनेसनल २०२४ की विजेता रेचल गुप्ताले उपाधि फिर्ता गर्ने निर्णय गरेकी छिन् र आयोजकमाथि गम्भीर आरोप लगाएकी छिन्।
  • रेचलले आफूलाई उत्पीडन र दुर्व्यवहार भएको र भोटका लागि पैसा तिर्नुपर्ने जस्ता कुराहरू सहन नसकेको बताएकी छिन्, जसले गर्दा उनले ताज फिर्ता गरेकी हुन्।
  • मिस ग्रान्ड इन्टरनेसनल संगठनले रेचलको उपाधि रद्द गरेको छ र उनलाई ३० दिनभित्र ताज फिर्ता गर्न सूचना दिएको छ।

मुम्बई । मिस वर्ल्डपछि मिस ग्रान्ड इन्टरनेसनलमा नयाँ विवाद सिर्जना भएको छ । रेचल गुप्ताले मिस ग्रान्ड इन्टरनेसनल २०२४ को उपाधि फिर्ता गर्ने निर्णय गरेकी हुन्।

उनले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरिन्। त्यसपछि उनले युट्युबमा रुँदै गरेको एउटा भिडियो पनि सेयर गरिन्, जसमा उनले प्रतियोगिताका आयोजकमाथि गम्भीर आरोप लगाएकी छन्।

रेचलले आफ्नो युट्युब च्यानलमा लामो भिडियो अपलोड गर्दै यो ठुलो निर्णय लिनु पछाडिको कारण खुलाएकी छन्। उनले भिडियोमा पछिल्ला केही महिना उनको जीवनको सबैभन्दा कठिन समय भएको जिकिर गरेकी छन् । 

उनी अन्तिम पटक उपाधि जित्दा खुसी भएको तर त्यसपछि उनको जीवन नर्क जस्तै भएको बताइन्। पछिल्ला केही महिनादेखि उनी डिप्रेसनमा रहेको र एक्लो महसुस गरिरहेको खुलासा गरेकी छन् । उनले भनिन्, ‘मैले धेरै मेहनत गरेर जितेको ताज फिर्ता गर्नु अत्यन्त पीडादायक छ। यस्तो स्थिति त म आफ्नो शत्रुलाई पनि नपरोस् भन्ने चाहन्छु।’

  • ताज फिर्ता गर्नुको कारण

रेचलका अनुसार ताज जित्न उनले मेहनत गरेकी थिइन् । तर बदलामा उनले उत्पीडन र दुर्व्यवहार मात्र पाएको अनुभव गरिन्। 

उनले भनिन्, ‘म मुस्कानको पछि कति पीडामा थिएँ भन्ने कुरा अब भन्न चाहन्छु। प्रतियोगितामा भाग लिँदा मलाई थाहा थिएन कि देशले भोटका लागि पैसा दिइरहेको थियो, र मिस ग्रान्ड इन्टरनेसनल संगठनले यसलाई खुसी-खुसी स्वीकार गरिरहेको थियो। मलाई थाहा भयो कि हामी भोटका लागि पैसा तिर्न सक्दैनौँ, त्यसैले भोटको मामिलामा प्रतिस्पर्धा गर्न निकै गाह्रो भयो। मसँग भोट किन छैन भनेर अन्तर्वार्तामा सोधियो। मैले अरूजस्तो पैसा खर्च गरेर भोट किनिनँ, तर गल्ती त ती केटीहरूको पनि थिएन, किनभने सबै जित्न चाहन्छन्।’

रेचलले मिस ग्रान्ड इन्टरनेसनल संगठनमाथि पनि गम्भीर आरोप लगाउँदै भनिन्, ‘यस्ता स्ट्यान्डर्ड सेट गर्नु संगठनको गल्ती हो। जसले भोट किन्न सक्दैनन्, ती केटीहरूको के दोष ? मलाई जिताउनको एक मात्र कारण थियो, जनताको समर्थन। यो संगठनसँग काम गर्नु साँच्चै असम्भव छ। उनीहरूको व्यवहार पैसामा मात्र केन्द्रित छ। म सत्यका पक्षमा उभिने व्यक्ति बन्न चाहन्छु, जो इमानदारी र चरित्रलाई आफ्नो छविभन्दा माथि राख्छ।’

रेचलले थप भनिन्, ‘अक्टोबरमा उपाधि जितेपछि म नोभेम्बर र डिसेम्बरको दुई हप्ता र मार्च महिनाभरि त्यहाँ थिएँ। तर उनीहरूले मलाई आधारभूत सुविधा पनि दिएनन्। जितेपछि मलाई सानो होटल कोठामा राखियो, जहाँ मेरो सुटकेससमेत खुल्न सक्दैनथ्यो। त्यहाँ म एक महिनाभन्दा बढी बस्नुपर्‍यो। मलाई खाना पनि दिएनन्।’

यसअघि रेचलले सामाजिक सञ्जालमा पोस्ट गर्दै उपाधि फिर्ता गर्ने निर्णयको जानकारी दिएकी थिइन्। पोस्टमा उनले लेखेकी थिइन्, ‘ताज पहिरिनु मेरो जीवनको सबैभन्दा रमाइलो सपना थियो। तर ताज जितेपछि आएका झूटा वाचा, दुर्व्यवहार र गलत वातावरण अब सहन सक्दिनँ।’ 

रेचलको यो निर्णयले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका संगठनहरूमा पारदर्शिता, नैतिकता, र व्यवहारसम्बन्धी गम्भीर प्रश्न उठाएको छ।

यता, मिस ग्रान्ड इन्टरनेसनल अर्गनाइजेसन (एमजीआई) ले भने उनको उपाधि रद्द गरेको जनाएको छ। उनलाई संस्थाले एउटा सूचना दिएको छ, जसमा ३० दिन भित्र आफ्नो ताज एमजीआई कार्यालयमा फिर्ता गर्नुपर्ने भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप