युवा तथा बौद्धिक पलायन रोक्ने कसरी ?

नेपालबाट युवा तथा बौद्धिक वर्गको पलायन पछिल्ला वर्षमा गम्भीर राष्ट्रिय सरोकारको विषय बन्न पुगेको छ । शिक्षा, रोजगारी, आर्थिक सुरक्षा र व्यक्तिगत सम्भावनाको खोजीमा हजारौँ युवा तथा दक्ष जनशक्ति हरेक वर्ष विदेश पलायन भइरहेका छन् ।
देशभित्र गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, पारदर्शी शासन र नवप्रवर्तनको अवसरको अभावले उनीहरूलाई बिदेसिन प्रेरित गरिरहेको छ । यस प्रवृत्तिले अल्पकालीन रूपमा रेमिट्यान्समार्फत अर्थतन्त्रमा योगदान दिएको त छ, सँगसँगै दीर्घकालीन रूपमा राष्ट्रलाई दक्ष जनशक्ति र नवप्रवर्तन क्षमताबाट वञ्चित गराइरहेको छ । यस्तो पलायन रोकथामका लागि शिक्षा प्रणालीको सुधार, रोजगारी सिर्जना, सुशासनको स्थापना र युवामैत्री नीतिहरूको कार्यान्वयन आवश्यक छ । युवाशक्ति राष्ट्रशक्ति हो र यसलाई संरक्षण एवं उपयोग नगरी समृद्ध नेपालको परिकल्पना सम्भव छैन ।
- स्थिति
नेपालबाट बौद्धिक र युवा पलायन पछिल्लो दुई दशकदेखि निरन्तर बढ्दो छ । श्रम, शिक्षा र बसोबासको उद्देश्यले लाखौँ नेपाली युवा हरेक वर्ष विदेशतर्फ पलायन भइरहेका छन् । सरकारी तथ्यांक अनुसार सन् २०२३/२४ मा मात्रै सात लाखभन्दा बढी नेपाली श्रमिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जसमा अधिकांश १८–४५ वर्ष उमेर समूहका युवा थिए । त्यसैगरी एक लाखभन्दा बढी नेपाली विद्यार्थीले अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गरेर विदेश गएका छन्, जसमा अस्ट्रेलिया, जापान, क्यानडा, बेलायत, अमेरिका र दक्षिण कोरिया प्रमुख गन्तव्यका रूपमा रहेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार देशको आर्थिक वृद्धिदर एक दशकदेखि तीन–चार प्रतिशतको सीमामा अड्किएको छ । यसले युवालाई भविष्यप्रति निराश बनाएको छ र उनीहरूलाई बिदेसिन प्रेरित गरेको छ । पलायनले स्वास्थ्य, इन्जिनियरिङ, प्रविधि र शिक्षाजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा दक्ष जनशक्तिको अभाव देखिएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार हालसम्म नेपालमा करिब ३० हजार चिकित्सक र ७२ हजार ५५० नर्सहरू दर्ता भएका छन्, जसमा २५ हजार नर्सहरू विदेशमा कार्यरत छन् । यसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचमा गम्भीर असर पारेको छ ।
युवा तथा बौद्धिक पलायनका प्रमुख कारण निम्न छन् ।
- १) रोजगारीको अभाव
सन् २०२३ को श्रमसम्बन्धी रिपोर्ट अनुसार, हरेक वर्ष करिब पाँच लाख नयाँ युवा श्रम बजारमा प्रवेश गर्छन् । हजारौँ स्नातक तथा स्नातकोत्तर तह पास गरेका युवा बेरोजगार बस्न बाध्य छन्, जसले उनीहरूलाई विदेशमा अवसर खोज्न प्रेरित गर्छ । सार्वजनिक तथा निजी क्षेत्रमा सीमित रोजगारी अवसर, पारदर्शिताको अभाव, राजनीतिक हस्तक्षेप र तलब–सुविधाको असमानताले युवाहरूमा निराशा सिर्जना गरेको छ । विशेषतः विज्ञान, प्रविधि, चिकित्सा, इन्जिनियरिङ र व्यवस्थापनजस्ता क्षेत्रका दक्ष जनशक्ति पनि विदेश पलायन हुन बाध्य छन्, जहाँ उनीहरूलाई तुलनात्मक रूपमा बढी अवसर, पारिश्रमिक र करिअर विकासको सम्भावना उपलब्ध हुन्छ । नेपालमा स्थायित्वयुक्त र मर्यादित रोजगारीको अभावले युवाशक्तिलाई देशमै रोक्न असफल भएको छ ।
- २) गुणस्तरीय शिक्षाको अभाव
नेपालका धेरै शैक्षिक संस्थाहरूमा आधुनिक पाठ्यक्रम, अनुसन्धानको सुविधा, प्रविधि प्रयोग र प्रयोगात्मक सिकाइको पर्याप्त अभाव रहेको पाइन्छ । उच्च शिक्षा प्रणाली प्रायः सैद्धान्तिक ज्ञानमा सीमित छ, जसले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्दैन । फलस्वरूप, युवा पुस्ता अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तरीय शिक्षा प्राप्त गर्न अस्ट्रेलिया, अमेरिका, जापान, युकेजस्ता मुलुकमा जान बाध्य हुन्छ । देशभित्रै अध्ययन गरेर प्राविधिक र व्यावसायिक दक्षता प्राप्त गर्न सकिने विश्वास नहुँदा विदेश शिक्षाको आकर्षण झनै बढ्दो छ । यसले नेपालमा शिक्षाको गुणस्तर र संरचनात्मक कमजोरीलाई उजागर मात्र गर्दैन, भविष्यमा शिक्षित जनशक्ति गुमाउने खतरा पनि बढाउँछ ।
देशभित्र गुणस्तरीय शिक्षा, मर्यादित रोजगारी, पारदर्शी शासन र नवप्रवर्तनको अवसरको अभावले उनीहरूलाई बिदेसिन प्रेरित गरिरहेको छ । यस प्रवृत्तिले अल्पकालीन रूपमा रेमिट्यान्समार्फत अर्थतन्त्रमा योगदान दिएको त छ, सँगसँगै दीर्घकालीन रूपमा राष्ट्रलाई दक्ष जनशक्ति र नवप्रवर्तन क्षमताबाट वञ्चित गराइरहेको छ ।
- ३) राजनीतिक अस्थिरता र भ्रष्टाचार
दशकौँयता नेपाल निरन्तर सरकार परिवर्तन, नीति निर्माणमा अलमल र नेताहरूबिचको सत्ता संघर्षमा अल्झिएको छ, जसले युवाहरूमा भविष्यप्रति विश्वास गुमाएको छ । सरकारले युवामैत्री कार्यक्रम ल्याउने घोषणा गरे पनि ती कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नुमा भ्रष्टाचारको भूमिका ठुलो देखिन्छ । रोजगारी, शैक्षिक अवसर वा व्यावसायिक अनुदानमा समेत सिफारिस, घुस र पहुँचको प्रभाव रहेकाले योग्य तर पहुँचविहीन युवाहरू निराश हुँदै विदेश जान बाध्य भएका छन् । जब एक राष्ट्रले आफ्ना युवालाई न्याय, पारदर्शिता र अवसर दिन सक्दैन, तब उनीहरू वैकल्पिक भविष्यको खोजीमा अन्य मुलुकतर्फ पलायन हुन विवश हुन्छन् । यसैले राजनीतिक अस्थिरता र भ्रष्ट शासन प्रणालीले नेपाली बौद्धिक तथा युवा शक्तिको पलायनलाई झनै तीव्र बनाइरहेको छ ।
- ४) आर्थिक असुरक्षा र पारिवारिक दबाब
नेपालमा धेरै युवा पारिवारिक आर्थिक अवस्थालाई सुधार गर्ने लक्ष्य लिएर विदेश जान इच्छुक हुन्छन्, जहाँ उनीहरूले राम्रो आम्दानी गर्ने अवसर पाइन्छ भन्ने विश्वास हुन्छ । धेरै परिवारले आफ्ना सदस्यलाई विदेश पठाएर घरको आर्थिक स्थिति मजबुत बनाउन र बालबालिकाको शिक्षाको खर्च व्यवस्थापन गर्न चाहन्छन् । साथै गरिबी, बेरोजगारी र रोजगारीको अभावले आर्थिक भविष्य अनिश्चित भएपछि युवा आफैँ पनि वैकल्पिक विकल्प खोज्न बाध्य हुन्छन् । यस्तो आर्थिक दबाबले गर्दा कतिपयले देशमै अवसर खोज्नुभन्दा विदेश रोज्ने प्रवृत्ति बढेको छ । यसरी आर्थिक असुरक्षा र परिवारका अपेक्षाले युवालाई विदेश पलायन गर्न उत्प्रेरित गर्ने मुख्य कारणमा पर्छन् ।
- ५) वैदेशिक संस्कृतिको आकर्षण
विश्वव्यापीकरण र सञ्चार माध्यमको विकासले युवाहरूलाई विदेशमा रहेका आधुनिक जीवनशैली, प्रविधि, शिक्षा र रोजगारका अवसरको जानकारी सजिलै पुग्न थालेको छ । धेरै नेपाली युवा वैदेशिक समाजमा स्वतन्त्रता, राम्रो सुविधाहरू, उन्नत प्रविधि र उच्च जीवनस्तरका कारण आकर्षित हुन्छन् । विदेशमा नयाँ सांस्कृतिक अनुभव प्राप्त गर्ने अवसर, सामाजिक समानता र व्यक्तिगत विकासका लागि ठुला सम्भावनाले पनि उनीहरूलाई देश छोडेर जान प्रेरित गर्छ । यो आकर्षणले मात्र होइन, साथीभाइ र परिवारबाट आउने दबाब र सामाजिक प्रतिष्ठाको खोजीले पनि वैदेशिक संस्कृतिको प्रभाव नेपालमा बढाएको छ । यसरी विदेशको चमकधमक र विकासको दृष्टिले नेपाली युवामा वैदेशिक जीवनको मोह बढेको छ, जसले पलायनको प्रवृत्ति अझ तीव्र बनाएको छ ।
युवा पलायनले समाजमा निम्न असर परेको देखिन्छ ।
- १) मानव संसाधनको कमी
सबैभन्दा ठुलो असर देशको मानव संसाधनमा पर्छ । शिक्षित, दक्ष र सक्षम जनशक्तिको विदेश पलायनले नेपालभित्रको विकासमा बाधा पुर्याउँछ । स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, इन्जिनियरिङजस्ता क्षेत्रहरूमा योग्य जनशक्तिको अभाव तीव्र छ ।
- २) सामाजिक विखण्डन
युवाहरूको विदेश पलायनले परिवारमा टाढापन, एकल अभिभावकत्व र सामाजिक सम्बन्धमा दूरी उत्पन्न गर्छ । धेरैजसो परिवारमा पितृ वा मातृ पक्ष विदेशमा हुने हुँदा बालबालिका र वृद्ध सदस्य भावनात्मक तथा सामाजिक असुरक्षाको महसुस गर्छन् ।
- ३) आर्थिक असन्तुलन
विदेशमा शिक्षाका लागि पठाइएको ठुलो मात्रामा रकम देशबाहिर जान्छ, जसले नेपालको भुक्तानी सन्तुलनमा असर पुर्याउँछ । श्रम पलायनबाट प्राप्त रेमिट्यान्सले अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाएको भए पनि दीर्घकालीन रूपमा उत्पादनशील क्षेत्रहरूमा लगानीको अभाव खड्किन्छ ।
- ४) देशभित्र असमानता र भविष्यको संकट
जब देशका मात्र होइन सहर, गाउँ र जिल्लाका युवा समेत पलायन हुन्छन् तब तिनको अनुपस्थितिमा देशमा ‘एजिङ सोसाइटी’ (बुढो हुँदै गएको समाज)को अवस्था सिर्जना हुन्छ । जसले उत्पादन, सामाजिक सुरक्षा र सेवा प्रवाहमा गम्भीर चुनौती ल्याउँछ ।
युवा तथा बौद्धिक पलायनलाई रोक्न निम्न उपाय अपनाउन सकिन्छ ।
- १) शिक्षा प्रणालीमा सुधार
हालको शिक्षा प्रणाली प्रायः पारम्परिक र सैद्धान्तिक ज्ञानमा केन्द्रित छ, जसले व्यावहारिक दक्षता र अनुसन्धानमा कम ध्यान दिएको पाइन्छ । गुणस्तरीय, प्राविधिक र उद्यमशीलतामुखी शिक्षा उपलब्ध गराएर मात्र युवालाई देशमै आकर्षित गर्न सकिन्छ । गुणस्तरीय शिक्षाको विकास, व्यावसायिक तथा प्रविधिमैत्री तालिमहरू, अनुसन्धान र नवप्रवर्तनमा लगानी गर्नु अत्यावश्यक छ । नेपालका विश्वविद्यालयले आधुनिक पाठ्यक्रम, सहकार्य कार्यक्रम र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको शिक्षा दिन सके विद्यार्थी देशमै रोक्न सकिन्छ । यसैगरी व्यावसायिक तालिम, स्टेम (एसटीईएम) शिक्षा र उद्यमशीलतासम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएर रोजगारमुखी दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।
- २) रोजगारी सिर्जना र उद्यमशिलता वृद्धि
नेपालमा उत्पादनशील क्षेत्रहरू (जस्तै : कृषि, पर्यटन, सूचना प्रविधि, जलविद्युत् आदि) मा अपार सम्भावना भए पनि ती क्षेत्रमा युवामैत्री रोजगारीको अवसरको कमी छ । सरकारले नीति, बजेट र सहुलियत ऋणमार्फत स्वरोजगार र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सकोस् भने धेरै युवाले देशमै अवसर देख्न थाल्नेछन् । यसका लागि तालिम, सीप विकास, प्रविधिमा पहुँच र बजार जोड्ने संयन्त्र आवश्यक हुन्छ । बौद्धिक जनशक्तिलाई अनुसन्धान, नवप्रवर्तन र नेतृत्व विकासमा संलग्न गराई उनीहरूलाई देशभित्रै सिर्जनशील क्रियाकलापतर्फ आकर्षित गर्न सकिन्छ । जब युवाहरूले आफ्नै देशमा अवसर देख्छन् तब उनीहरू विदेश जानुभन्दा यहीँ केही गर्न चाहन्छन्, जसले दीर्घकालीन रूपमा पलायनको दर घटाउनेछ ।
- ३) ‘ब्रेन गेन’ नीति
नेपाली युवा तथा बौद्धिकहरूको पलायन व्यवस्थापनका लागि ‘ब्रेन गेन’ नीति अति आवश्यक रणनीति हो । हालसम्म नेपालले भोगिरहेको ‘ब्रेन ड्रेन’ अर्थात् दक्ष र शिक्षित जनशक्तिको विदेश पलायनले देशको विकास सम्भावनामा प्रत्यक्ष असर पारेको छ, तर सरकार र सम्बन्धित निकायहरूले विदेशमा रहेका अनुभवी, दक्ष र शिक्षित नेपालीलाई देशको सेवा र निर्माणमा संलग्न गराउने नीति बनाउने हो भने यो अवस्थालाई ‘ब्रेन गेन’मा रूपान्तरण गर्न सकिन्छ । यसका लागि उनीहरूलाई अनुसन्धान, प्रविधि, शिक्षा, नीति निर्माण, स्वास्थ्य सेवा, उद्यमशीलता र लगानीका क्षेत्रमा सक्रिय सहभागी बनाउने अवसर, प्रोत्साहन र सम्मानजनक वातावरण आवश्यक पर्छ ।
यस्ता नीतिले विदेशमा बसोबास गरिरहेका नेपालीलाई स्वेच्छिक रूपमा देश फर्किन र आफ्नो ज्ञान, सीप तथा सम्पर्कमार्फत राष्ट्रिय हितमा योगदान दिन प्रेरित गर्न सक्छ । यसरी ‘ब्रेन गेन नीति’ले पलायनलाई अवसरमा रूपान्तरण गर्ने दिगो उपायको रूपमा कार्य गर्न सक्छ ।
- ४) पारदर्शी शासन र युवा लक्षित नीति
देशभित्र राजनीतिक अस्थिरता, भ्रष्टाचार र अवसरहरूको असमान वितरणले युवाहरूमा निराशा र अविश्वास बढाएको छ । जब शासन प्रणाली पारदर्शी, जवाफदेही र निष्पक्ष हुन्छ तब जनतामा विशेषगरी युवा वर्गमा राज्यप्रति विश्वास जाग्छ ।
युवाको आवश्यकता, आकांक्षा र प्रतिभालाई सम्बोधन गर्ने स्पष्ट, दीर्घकालीन र कार्यान्वयनयोग्य नीति आवश्यक छ— जसमा शिक्षा, सीप विकास, रोजगारी, नवप्रवर्तन, प्रविधि पहुँच, र नेतृत्व विकासजस्ता पक्ष समावेश हुनुपर्छ । यस्ता नीतिहरू युवाहरूको सहभागिता र नेतृत्वमा आधारित हुनाले तिनीहरूलाई देशभित्रै समावेश गराउन सहयोग पुर्याउँछ । जब युवाहरूले आफ्नो देशमा सुरक्षित भविष्य, न्यायपूर्ण अवसर र निर्णय प्रक्रियामा सहभागिता अनुभव गर्छन्, तब उनीहरूलाई विदेश पलायन गर्नुको सट्टा देशकै समृद्धिमा लाग्ने प्रेरणा मिल्छ ।
निष्कर्ष
नेपालबाट भइरहेको युवा तथा बौद्धिक पलायन केवल व्यक्तिगत वा पारिवारिक निर्णय मात्र होइन यो राष्ट्रिय संकटको संकेत हो । राष्ट्रले आफ्ना उत्पादनशील र भविष्य निर्माण गर्ने वर्गलाई रोक्न सकेन भने भोलिको नेपाल अझै कमजोर, परनिर्भर र असन्तुलित हुनेछ । त्यसैले आजको आवश्यकता हो— व्यवस्थित नीतिगत सुधार, समुचित अवसरको सिर्जना र विश्वासपूर्ण वातावरणको निर्माण । युवाशक्ति भनेको राष्ट्रको शक्ति हो । यो शक्ति विदेश गइरहेका वेला देशलाई समृद्ध बनाउने सपना अधुरो रहन्छ ।
(सहप्राध्यापक भण्डारी जनस्वास्थ्य विज्ञ तथा पोखरा विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक हुन् ।)