आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

काठमाडौँको प्रदर्शनीमा राउटेले पहिलो पटक देखाए हस्त-शिल्पकला

शुक्रबार, १६ जेठ २०८२, १७ : ०६
शुक्रबार, १६ जेठ २०८२

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदैछन् । उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै छन् । उनीहरूका साथमा राउटे सामुदायिक महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दैछन् ।

आफ्नै पोसाकमा सजिएका उनीहरू असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन् । उनीहरूले गरिरहेको काम काठमाडौँ उपत्यकावासीका लागि नौलो थियो । पुरुषहरू कोसी (आरी) बनाउँदै त महिलाहरू कपडामा बुट्टा सिलाउँदै थिए । 

बिहीबारदेखि यहाँ सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी, २०८२ का अवसरमा ललितकलाकै इतिहासमा पहिलो पटक राउटेहरू यसरी कला सिर्जनामा सहभागी भएका हुन् । उनीहरूले यहाँ प्रत्यक्ष रूपमा कला कार्यशाला नै गर्नु अर्को नयाँ थियो । 

प्रदर्शनीमा कला हेर्न आइपुगेका कला पारखीहरू राउटेको प्रस्तुति देख्दा सेल्फीमा रमाएका दृश्य हेर्न लायक थियो । उनीहरूले राउटेले गरेका काम श्रव्य दृश्यमा कैद गर्न भ्याए । मुङ्ग्रोको सहयोगमा बसिलो प्रयोग गरेर उनीहरूले हस्तकला कोसी बनाए । ‘सानो छिनु ल्याइएन, त्यसैले चिल्लो बनाउन पाएन, बसिलोले काठमा आकार बनाउँदैछु’, दीपक शाहीले राससको जिज्ञासाको जवाफ दिए ।

उनका अनुसार डाडु, पन्युँ, कोसी, ढकल, सन्दुक, पिर्का राउटेका मुख्य हस्त–शिल्पकला हो । प्रदर्शनीमा उनीहरूका हस्तकलासमेत राखिएको छ । यो पनि ललितकलाको इतिहासमै पहिलो पटक सरकारी तहबाट राउटेको कला प्रदर्शनीमा समावेश भएको हो ।

त्यसमाथि हस्त शिल्पकलामा यस पटक उनीहरूले बनाएको कला प्रादेशिक पुरस्कार प्राप्त गर्न समेत सफल भएको छ । उनीहरूले रु ३० हजार राशिको पुरस्कार पाए । ‘हामी खुसी छम्, यहाँ आएम्, पैसा दिनुभयो, हामीले बनाएका सामान बिक्री भइरहेको छ’, दीपकले भने । 

उनीहरूको २० वटा कोसी बिक्रीका लागि भनेर यहाँ ल्याइएको थियो । सबै बिक्री भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए । उनले भने, ‘नेपालको लोपोन्मुख समुदाय राउटेका हस्त शिल्पकलालाई हामीले राष्ट्रिय स्तरमा जोड्न सफल भएका छौँ,  कलामा पुनः जागरण भनेर हामीले काम गरिरहेका छाैँ, यसरी रैथाने मौलिक कला जोगाउनु हाम्रो महत्त्वपूर्ण उद्देश्य थियो, एक हिसाबले सफल भएको महसुस गरेका छौँ ।’ उनले यसपालि तराईको डोम समुदायको कलासमेत समावेश गरिएको बताए । 

मुख्यगरी राउटेहरूसँग जोडिएको प्रादेशिक कला प्रदर्शनीले हो । गत फागुन ६ देखि १० गतेसम्म कर्णालीमा प्रादेशिक कला प्रदर्शनी आयोजना गरिएको थियो । 

राउटे समुदायको कला पनि छ भन्ने थाहा पाएपछि स्थानीयहरूको सहयोगमा उनीहरूको बस्तीमै गएर कला प्रदर्शनीमा सहभागी गराइएको थियो । ‘उहाँहरूले कर्णालीमा पनि प्रत्यक्ष कला कार्यशाला गर्नुभएको थियो । त्यही बेलादेखि उहाँहरू हाम्रो सम्पर्कमै हुनुहुन्थ्यो, उहाँका सहयोगी लालबहादुर खत्रीसँगको समन्वयमा काठमाडौँमा कला सिर्जनाका लागि ल्याउन सफल भयौँ’, कर्णाली कला प्रदर्शनीका संयोजक, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले बताए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले एउटा प्रयास गरेर रैथाने कलाहरूलाई उजागर गर्ने प्रयास गरेको र आगामी दिनमा यस्ता मौलिक कलाका साथै अनुसन्धान, कलाकारको सर्वेक्षणलगायतका कामलाई प्राथमिकता दिने बताए ।

सूर्यनारायणले काठमाडौँमा कला देखाउन पाएनन्

कर्णाली प्रदेशमा भएको कला प्रदर्शनीमा राउटे मुखिया सूर्यनारायण शाहीको कला प्रदर्शनी भएको थियो । उनले कला कार्यशालामा समेत आफ्नो कला देखाएका थिए । तर उनको केही समय अघि निधन भएकाले काठमाडौँमा उनले कला देखाउन पाएनन् । यद्यपि उनले बनाएको पिर्का र ढकनसहितको कोसी यहाँ देख्न सकिन्छ । प्रदर्शनीमा लोकेन्द्र शाहीले बनाएको डाडु, बन्दावीर शाहीले बनाएको कोसी र ढकन, दीपक शाहीले बनाएको सन्दुक, खगेन्द्र शाहीले बताएको डाडु, धयर शाहीले बनाएको पन्युँ राखिएको छ । । उनीहरूका कला प्रदर्शनीको मुख्य आकर्षण पनि रहेको प्रतिष्ठानका उपकुलपति तथा उक्त कला प्रदर्शनी संयोजक लालकाजी लामाले बताए । 

कला प्रदर्शनी यही जेठ ३१ गतेसम्म जारी रहने छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण: ललितकलाको अभियान’ भन्ने मूल भावमा रहेर सम्पन्न भएको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका कलाकृति समावेश गरी यहाँ राष्ट्रिय कला प्रदर्शनी सुरु गरेको हो । 

प्रदर्शनीमा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला र मूर्तिकला, वास्तुकला, समसामयिक र आधुनिक चित्रकला र मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गिमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश छन् । जसमा मुख्यतः थारु, अवधि, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कलाको विशेष सहभागिता रहेको छ । 

सम्मान र पुरस्कार

समारोहमा यस वर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकारहरू डा सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि एक लाख ५० हजार र सम्मान पत्र रहेको छ ।

‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गङ्गाधर सारूलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि रु ५०–५० हजार र सम्मान पत्र रहेको छ । 

राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः पत्रकार शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ ।

ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मान पत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०–३० हजार र सम्मान पत्र रहेको छ । ललितकला प्रवर्द्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला) लाई प्रदान गरियो । यस पुरस्कारको राशि एक लाख र सम्मान पत्र रहेको छ । 

राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक र आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शङ्करकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक  कलाअन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि रु ६० हजार र सम्मान पत्र रहेको छ ।

प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरिङ शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सीता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरियो । यी सम्पूर्ण पुरस्कारको राशि रु ५० हजार र सम्मान पत्र रहेको छ । 

त्यस्तै, प्रादेशिक समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बागमतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दीपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारु, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगरले पुरस्कार पाए । 

प्रादेशिक परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतीक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट सोविन शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमालले पुरस्कार पाए ।

वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट सञ्चिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारु, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनिराम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरियो । यी सम्पूर्ण पुरस्कारको राशि रु ३०–३० हजार र सम्मान पत्र रहेको छ ।

राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि रु ६० हजार र सम्मान पत्र छ । 

प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावादोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरियो । यस पुरस्कारको राशि रु ३० हजार र सम्मान पत्र रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप