कालोपट्टी : जनआन्दोलनको जुनकिरी- १

एकाध महिनाअघि अङ्ग्रेजी दैनिक ‘द काठमाडौँ पोस्ट’मा इतिहासकार प्रत्यूष वन्तको एउटा समीक्षा छापियो । शीर्षक थियो— संग्रौलासँग पञ्चायतको पुनः विचरण गर्दा । उक्त समीक्षाको सामयिक महत्त्व र समीक्षकको साहसको सह्रनी गर्दै उही दैनिकमा एउटा प्रतिक्रिया छापियो । प्रतिक्रिया थियो— अमेरिकामा अध्ययनरत महेश मास्केको । प्रतिक्रियामा चर्चा थियो २०४६ सालको जनआन्दोलनमा लेखक–कलाकारको सहभागिता र योगदानको । चर्चामा भनियो, साहित्यकार–कलाकारको कालोपट्टी पर्वका मूल सङ्गठक खगेन्द्र संग्रौला हुन् ।
पछि मास्के र मेरी डेसेनद्वारा मेरो कविता ‘जीवनको रङ र मृत्युको अर्थ’को आङग्ल भाषामा अनुवाद भयो । अनुवादमा मेरो चिनारीमा पुनः उही कुरा भनियो । त्यो नगरिएका कर्मको जसको भारी मलाई धेरै गह्रौँ लाग्यो । कालोपट्टी पर्वका आफ्नै प्रेरक थिए, आफ्नै सङ्गठक थिए, आफ्नै ढाल थिए, आफ्नै जोधाहा थिए, आफ्नै रमिते थिए, आफ्नै जोक्कर थिए र थिए आफ्नै ढोँगी पनि । त्यसो त मनको बाघको डरले काम्दै घरका झ्यालढोका लाएर लुकेका त्यसका आफ्नै उल्टो दिशाका शूरवीर पनि थिए । सत्य हो, यी बहुविध चरित्रका बहुविध कर्तामाझ कालोपट्टी पर्वमा सुरुदेखि अन्त्यसम्म म पनि नित्य हाजिर थिएँ । अरु धेरै कर्ताजस्तै एक सहभागीका रूपमा, एक सम्चारे हुलाकीका रूपमा, एक आम जोधाहाका रूपमा । बस्, कालोपट्टी पर्वमा मेरो भूमिकासम्बन्धी खाँट्टी वास्तविकता यही हो ।
०४६ सालको जनआन्दोलनपछि पवित्र बागमतीमा निकै गन्दे लेदो बगिसकेको छ । यसबिच कालोपट्टी पर्वबारे अनेक व्यक्तिले अनेक अभिप्रायले अनेक कुरा बोलेका र लेखेका छन् । जीवनका हरेक कार्य व्यापारबाट लाभ हात पार्न कुशल कतिपय टाठाबाठाले आफूलाई यस पर्वका नायकका रूपमा अघि सार्न भ्याइसकेका छन् । अरु कतिपयचाहिँ यसलाई आफ्नो लेखकीय जीवनको जाज्ज्वल्यमान् कीर्तिमानका रूपमा प्रस्तुत गरी आत्ममुग्ध छन् । आखिर जनआन्दोलनमा के थियो कालोपट्टी पर्व ? त्यसका पृष्ठभूमि निर्माता को थिए ? त्यसका ढाल को थिए ? त्यसका नायक को थिए ? त्यसका खलनायक को थिए ? त्यसका जोधाहा को थिए ? त्यसका जोक्कर को थिए ?
सम्झँदा अहिलेजस्तो लाग्छ, कालोपट्टी पर्वको पूर्वसन्ध्यामा जनआन्दोलन गाढा थकान र शिथिल तन्द्राको अवस्थामा छ । वाम र काङका प्रतिबन्धित झन्डा देशभरिका सडकमा प्रदर्शन भइसकेका छन् । पञ्चायतको काइते संविधान आक्रोशित जनविरोधको ज्वालामा जलेर भस्मखरानी भइरहेछ । आन्दोलनकारी नेतृत्वका मानसको शस्त्रागारमा कार्यक्रमका बुँदा निख्रिएका छन् । वाम र काङका केही नेता र थुप्रै कार्यकर्ता थुनामा दारूण यातना र घोर अपमान झेलिरहेछन् । राजनीतिक नेतृत्व उदास छ । विलखबन्द छ । अब गर्ने के ? जनशक्तिको कुन मुहानको ऊर्जा थपेर जनआन्दोलनमा नवजीवन र गति सञ्चार गर्नेे ?
पञ्च दाइ र कमान्डो भाइ उग्र विजय–मुद्रामा छन् । जनआन्दोलन अब सेलायो ! मच्चियो, मच्चियो, आखिर सधैँझैँ थच्चियो ! यो विनाशकारी आनन्दमा उन्मादी उत्तेजना थप्न पञ्चसत्ताका दारूपानीका जर्किन रित्तिइरहेछन् । मन्डले र कमान्डो आफ्ना ख्वामितबाट मालामाल बक्सिस थापिरहेछन् । पत्रु पञ्चायत इतिहासका भिरको शिरमा पुगेको आफ्नो आयु अलि दिन लम्बिने कुरामा ढुक्क छ । फाटफुट विरोध जुलुस सानदार विफलतामा टुङ्गिइरहेछन् । दमनकारी झनै दङ्गदास छन् । यस्तो लाग्छ, जनआन्दोलन सगरमाथाको चुलीबाट सुरु भई झटपट उँधो मुन्टिएर फेदीमा पछारिन पुग्यो । नेपाली इतिहासको धुमिल आकाशमा एउटा उदास प्रश्न झुन्डिएको छ— के नेपाली जनआन्दोलनको ललाटमा सिसिफसको निस्सार कथाझैँ अन्तहीन दुःखान्त मात्र लेखिएको छ ? सडकहरू चकमन्न छन् । चारै दिशा मौन छन् ।
सम्झँदा अहिलेजस्तो लाग्छ, कालोपट्टी पर्वको पूर्वसन्ध्यामा जनआन्दोलन गाढा थकान र शिथिल तन्द्राको अवस्थामा छ । वाम र काङका प्रतिबन्धित झन्डा देशभरिका सडकमा प्रदर्शन भइसकेका छन् ।
हाम्रासामु एउटा अहं प्रश्न उठेको छ— सामाजिक चेतनाका संवाहक मानिने साहित्यकार–कलाकारको जनआन्दोलनप्रति कुनै दायित्व हुँदैन ? आफ्नो तीव्र संवेदनशक्ति, सूक्ष्म अन्तर्दृष्टि र जादुमय भाषाले निदाएकालाई बिउँझाउने, बिउँझेकालाई दिशाबोध गराउने र छरिएकालाई एकमुस्ट हुन प्रेरित गर्नेे कर्तव्य साहित्यकार–कलाकारमा निहित छैन ? के इतिहासको संकट कलम, कुची र गलोकर्मीको नैतिक परीक्षा होइन ? सभा गर्न निषेध छ, जुलुस निकाल्न वर्जित छ । भयग्रस्त शाही सत्ता दुई–चारजना एक झुन्ड भई हिँड्नु पनि अपराध ठान्छ । सत्ताका सुल्सुले पल प्रतिपल पिछा गर्छन् । यस्तो कठिन अवस्थामा लेखक–कलाकारले खै के पो गर्न सक्लान् र ? शब्द निरुपाय छ, स्वर बन्धित छ, कलम दमित छ ।
रोचक कुरा, समान उद्देश्य हुनेहरू जो जहाँ भए पनि सङ्कटको घडीमा उस्तै किसिमले सोच्छन् । सबुत जनआन्दोलनकालीन भूमिगत यथार्थ प्रत्यक्ष छ । वाम महलको उपत्यका समिति चिन्तनरत छ । उक्त समितिले साहित्यकार–कलाकारसँग ऐक्य सम्पर्क र संवाद गर्ने जिम्मा हरिगोविन्द र गिरिराजमणिलाई सुम्पिएको छ । हरिगोविन्दले मोदनाथलाई कतै भूमिगत बासमा भेटिसकेका छन् । काङ महलका भाम नाट्यकर्मी अशेष मल्ल भेटघाट र वार्तामा क्रियाशील छन् । अर्का भाम नाट्यकर्मी सुनील पोखरेल पनि सोही कर्ममा तल्लीन छन् । यी सब खरानीमुनिको भुतभुतेजस्तै गोप्य गतिविधि हुन् ।
यसै मेसोमा एक दिन मुरारी अर्यालले जिज्ञासा प्रकट गरे— के लेखक–कलाकार आआफ्ना संस्थाका झन्डा बोकेर विरोधमा उत्रिन सम्भव छैन ? मुखर विरोधमा उत्रिन नसके मौन विरोधमा उत्रिन त कसो न सकिएला ? सम्भावनाबारे गम खाइयो । गम गढेर खाँदा हामीलाई लाग्यो— कत्ति बियाँलो नगरी चाल्नुपर्ने कदम हो यो । बुद्धि र जुक्तिले संयोजन गरे यो कदम नितान्त सामयिक र सार्थक हुनेछ । आँट र यत्न गरे यो कदम सम्भव कसो नहोला ? केही अन्तरङ्ग मित्रमाझ कानेखुसीको शैलीमा विचार आदानप्रदान भयो । लुक्दै र छिप्दै पारिजात, मोदनाथ प्रश्रित, शक्ति लम्साल, आनन्ददेव भट्ट, निनु चापागाईं, रुद्र खरेल, महेश मास्के आदिका कानमा कुरो पुग्यो । हाम्रो मतो मिल्यो— विचार ठिक हो । हाम्रो सहमतिमा मत थपिँदै गए । उत्साह र उमङ्ग बढ्दै गयो ।
अनुभवसिद्ध आहान भन्छ— साथी धेरै भए उकालो काट्न सजिलो हुन्छ । जनआन्दोलनको उकालो काट्न वाम र काङ लेखक–कलाकारले मनमा मन, हातमा हात, काँधमा काँध मिलाउनुपर्ने घडी आयो । अब नाउँ चलेका र श्री नढलेका लेखक–कलाकारसित गुहार माग्नुपर्ने भयो । तर भन्न सजिलो, गर्न गाह्रो । प्रतिपक्षीय हलचल, सम्पर्क र संवाद सर्वधा निषिद्ध छ । प्रयत्नको पथमा जोकोही कुनै वेला पक्रिइन सक्छ । ठुलो सास फेर्नुहुँदैन, खुनी सत्ताको जासुसले सुइँको पाउँछ । वाम र काङ लेखकमाझ अविश्वास छ, असमझदारी छ, दूरी छ, दुर्भाव समेत छ । मुर्झाइरहेको जनआन्दोलनमा कसै गरी आशा र क्रियाको ऊर्जा भर्नु छ । त्यसैले दुई अलग पथ र अलग मतका लेखक–कलाकारलाई निकटता र विश्वासका सूत्रमा उन्नु छ । तर सजिलो छैन । वामले चर्का कुरा गरेर बिताउलान् कि भन्ने डर काङलाई छ । काङले बिचैमा खुट्टा कमाएर एक्लो पार्लान् कि भन्ने डर वामलाई छ । जोगीदेखि भैँसी, भैँसीदेखि जोगी डराएजस्तो दशा छ ।
हाम्रासामु एउटा अहं प्रश्न उठेको छ— सामाजिक चेतनाका संवाहक मानिने साहित्यकार–कलाकारको जनआन्दोलनप्रति कुनै दायित्व हुँदैन ? आफ्नो तीव्र संवेदनशक्ति, सूक्ष्म अन्तर्दृष्टि र जादुमय भाषाले निदाएकालाई बिउँझाउने, बिउँझेकालाई दिशाबोध गराउने र छरिएकालाई एकमुस्ट हुन प्रेरित गर्नेे कर्तव्य साहित्यकार–कलाकारमा निहित छैन ?
मुरारी, महेश, हरिगोविन्द र मेरो सल्लाह भयो, एक–एक व्यक्तिसँग सम्पर्क राख्न बिल्कुल सम्भव छैन । तसर्थ संस्था र प्रभावी हस्तीहरूसँग गुहार माग्नु पो ठिक होला कि ? यसै आशयको लौरो टेकेर माले महलका मोदनाथसँग सम्पर्क राखियो । आरोहण नाट्य समूहका सुनील पोखरेलसँग भेट गरियो । वाशु शशि, अशेष मल्ल, हरि अधिकारी र राजेश ढुङ्गानाका कानमा कुरा पुर्याइयो । मुरारी अर्यालको चाबहिलस्थित घरमा सानो जमघट भयो । जमघटमा ख्यातनामा वाशु शशि, आनन्ददेव भट्ट, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य आदि उपस्थित भए । केही न केही अवश्य गर्ने हो, जमघटको सहमति भयो । के गर्ने र कसरी गर्ने, दुविधा बाँकी नै रह्यो ।
दोस्रो भेटमा मुरारी अर्यालकै घरमा छलफल चल्दै थियो । बोलीमा हँस्यौली मिसाएर मदनकृष्णले भने— ‘जङ्गीजङ्गी ढाल खोज्नुपर्छ, ढाल । कपाल फुलेका, नाउँ चलेका, भाउ भएका बुढालाई अघि लाउनुपर्छ । हामीजस्ता केटा मात्र उत्रिने हो भने करङ भाँचिन्छन्, करङ ।’ मदनको विनोदी उद्गारमा सबैका चित्तको अव्यक्त आशय झल्कियो । गतिला ढाल जुटाउन युद्धप्रसाद मिश्र, पारिजात, केदारमान व्यथित, कृष्णचन्द्रसिंह प्रधान, कमल दीक्षित, सत्यमोहन जोसी, गोविन्दप्रसाद लोहनी, मोहन कोइराला, डायमनशमशेर, रमेश विकल, भुवनलाल प्रधान, शक्ति लम्साल, दुर्गालाल श्रेष्ठ आदिसँग गुहार माग्ने अठोट गरियो । आनन्ददेव भट्टले अन्य केही लेखकसँगै केदारमान व्यथितलाई भेटे । ती अन्यमा रमेश विकल, अभि सुवेदी, यज्ञनिधि दाहाल आदि थिए । चतुरमति व्यथितले भनेछन्— ‘म राजसभाको सदस्य । सरकारको विरोधमा सडकमा उत्रिन मलाई पदीय मर्यादाले दिँदैन ।’ तैपनि वक्तव्य जारी गर्ने सहमति भएछ । नभन्दै त्यो जारी भयो पनि । आनन्ददेव भट्टले लेखेको वक्तव्य व्यथितको छँटनी र कटनीमा परेछ । त्यो विकलाङ्ग वक्तव्य सडकमा उत्रिन सुरिएका लेखक–कलाकारलाई पञ्चले राजासमक्ष चढाएको बिन्तीपत्र जस्तो लाग्यो । ‘प्रजाको नागरिक अधिकार हनन भयो प्रभु, जनी गरेर यस अधिकारको जोगाउ गरिपाऊँ’ भने जस्तो । सङ्घर्षमा डट्न तत्पर स्वाभिमानी लेखक–कलाकार रुष्ट भए । तिनले भने, ‘यो पानीआन्द्रे वक्तव्य वक्तव्यदाताको कायरता र हीनताको प्रतीक हो ! लेखक–कलाकारको स्वतन्त्र विवेकमाथि उग्र उपहास हो यो ।’ वक्तव्यमा अन्तनिर्हित कुटिल आशय लेखक–कलाकारको जोस र रोषलाई मत्थर पार्नु थियो । तर नतिजा जे भयो, उल्टो भयो । लेखक–कलाकारमा उत्तेजना थपियो र रोष उर्लियो । फलतः झरप्प सडकमा ओर्लेर राज्यहिंसा र अभिव्यक्तिमाथिको दमनको सामूहिक विरोध गरेरै छाड्ने निधो भयो ।
नाउँ चलेका र कपाल फुलेका लेखकलाई आ–आफ्नो पाइक र पहुँच अनुसार भेटेर बिन्ती बिसाउने क्रम चलिरह्यो । आनन्ददेव भट्ट, अशेष मल्ल र मह जोडीकोे अभियानले गति लियो । एकै दिनमा ती कमलमणि दीक्षित, कृष्णचन्द्रसिंह प्रधान, फणीन्द्रराज खेताला, ध्रुवचन्द्र गौतम, सत्यमोहन जोशी, डायमनशमशेर राणा, गोविन्दप्रसाद लोहनी, भुवनलाल प्रधान आदिका घरदैलामा पुगे । दौैडाहाकारीको भनाइअनुसार पहिलो भेटघाट उति उत्साहवर्द्धक भएन । एकाधबाहेक अन्य लेखकको प्रत्युत्तरमा उदासीनता, द्विविधा र त्रास झल्कियो । तर दोस्रो भेट क्रियाशील ऐक्यबद्धताको उल्लासले भरिपूर्ण भयो । खास गरेर कमलमणि, ध्रुवचन्द्र, सत्यमोहन र कृष्णचन्द्रसिंहको स्वीकृति र समर्थन निकै हौसलाकारी भइदियो । राजेन्द्र सुवेदी, मुरारी अर्याल, हरिगोविन्द लुइँटेल र वासुदेव अधिकारीले युद्धप्रसाद मिश्रलाई भेटे । डाँडाको जूनजस्ता मिश्र अस्वस्थ र दुर्बल थिए । तर उनले यति उल्लासका साथ मन्जुरी दिए, मानौँ उनकोे मुखबाट पच्चीस वर्षे पट्ठो बोलिरहेछ । उनी औषधिका चक्की खल्तीमा बोकेर संघर्षको थलोमा हाजिर हुने भए । उनलाई थलोमा पुर्याउने जिम्मा राजेन्द्र र वासुदेवका काँधमा पर्यो । मण्डले मार्काको एउटा छापाले कमल दीक्षितको अगुवाइमा लेखक–कलाकार सडकमा उत्रिने भए भन्ने कन्सुत्ले समाचार छाप्यो । एक कान दुई कान मैदान हुँदै व्यथित पक्षीय वक्तव्य बेलायती बीबीसीसम्म पुग्यो । व्यथितको कैँची कटानबाट व्यथित भएको वक्तव्य ज्यादै निम्छरो भए पनि त्यसको अन्तर्राष्ट्रिय प्रचार लेखक–कलाकारको मनोबल उकास्न धुमधाम सहायक भयो ।
व्यथितीय वक्तव्यको प्रसङ्गमा मलाई एक शूरवीर लेखकको याद आउँछ । निजको नाम हो यज्ञनिधि दाहाल । यज्ञनिधिले पहिले सुरिएर वक्तव्यमा सही धस्काएछन्, पछि अर्को वक्तव्यमार्पmत आफ्नो सहीलाई बदर गरे । वक्तव्यमा उनले रुँदै लेखे, ‘म सोझो मान्छे टाठाबाठाको बहकाउमा परेँ ।’ साहित्य–कला जगत्मा निधिको वक्तव्य खुबै मनोरञ्जनक मसला बन्यो । र, यज्ञनिधिको एकल कीर्तिगाथा नेपाली साहित्यमा अजरअमर भयोे ।
विरोध प्रदर्शन गर्ने दिन तय भयो । अन्तिम सम्पर्क र प्रचार कार्यको जिम्मा बाँडियो । वरिष्ठ र विख्यात लेखक–कलाकार सहभागी बन्ने उत्साहकारी वचन थपिँदै गए । वचनदाताको लामो लाममा खडा भए— वयोवृद्ध कवि युद्धप्रसाद मिश्र, पारिजात, कृष्णचन्दसिंह प्रधान, आनन्ददेव भट्ट, रमेश विकल, वाशु शशि, डायमनशमशेर, सत्यमोहन जोशी, भुवनलाल प्रधान, कमलमणि दीक्षित, गोविन्दप्रसाद लोहनी, दुर्गालाल श्रेष्ठ, शक्ति लम्साल, मोहन कोइराला, ध्रुवचन्द्र गौतम, निनु चापागाईं, रुद्र खरेल, रामेश, रायन, कृष्णसेन इच्छुक, गङ्गाप्रसाद उप्रेती आदि । यसरी मदनकृष्णले भनेझैँ दरादरा ढालको लस्कर हाम्रा आँखासामु खडा भयो । कालोपट्टी पर्वका हामी संंयोजनकारी जोधाहा फुरुङ्ग पर्दै ढुक्क भयौँ । तर व्यवहारमा सबै ढाल उत्तिकै दरा र भरपर्दा ठहरिएनन् । कुनै कुनै ढाललाई त धर्ना थलोसम्म पुर्याउन तिनका दुई पाखुरा काँध थापेर टुकुटुकु डोर्याउनुपर्यो । नम्र निवेदन र नैतिक दबाबको अस्त्र प्रयोग गरी कतिपयलाई उठाउनुपर्यो, घिसार्नुपर्यो, बुई चढाउनुपर्यो । यो लेठोमा हरि अधिकारी, अशेष मल्ल, महेश मास्के, मुरारी अर्याल, हरिगोविन्द लुइँटेल, सुनील पोखरेल, गोविन्द वर्तमान र राजेश ढुङ्गानाको कष्टसाध्य प्रयास स्तुत्य छ । धर्नाको दुई दिनअघि हरि अधिकारी र गोविन्द वर्तमान मोहन कोइरालाकहाँ गए । कोइरालामा जाऊँ कि नजाऊँको दुविधा र सङ्कोच रहेछन् । तिनले भनेछन्— ‘शब्दको माध्यमले हामी आन्दोलनमा यसै उपस्थित छँदै छौं । आँखा चिम्लेर यति कडा कदममा किन हामफाल्ने ?’ चर्को बहस र विवाद तथा मुलायम आग्रह र कठोर दबाबपछि कोइरालाले सकारेछन्— ‘ठिक छ, कृष्णचन्द्रजीले साथ दिने भए म पनि साथ दिने भएँ ।’
नाउँ चलेका र कपाल फुलेका लेखकलाई आ–आफ्नो पाइक र पहुँच अनुसार भेटेर बिन्ती बिसाउने क्रम चलिरह्यो । आनन्ददेव भट्ट, अशेष मल्ल र मह जोडीकोे अभियानले गति लियो ।
तयारीको रिले रेस चलिरहेछ । तयारी केन्द्र मुख्यतः चारवटा छन् । मुरारी अर्यालको चाबेलको घर तयारीको मूल केन्द्रजस्तो छ । अर्को केन्द्र्र पारिजात निवासमा छ । अर्को केन्द्र छ मोदनाथको भूमिगत गुप्तबासमा । र अर्को केन्द्र छ अशेष मल्लको बासमा । महजोडी कन्दनी कसेर कुदिरहेका छन् । शासक महलबाट तिनमाथि दबाबपछि दबाब आइरहेछ । ‘खबरदार, कालोपट्टी काण्डमा सहभागिता नदिनू ! यो अराष्ट्रिय तत्त्वको चलखेल हो । प्रजातन्त्र आउनेवाला छैन ।’ महजोडी दबाबकारीलाई महमय भाषामा जिल्ल्याउँदै आफ्नो यात्रामा अटल छ । अनेकन् हल्कारा साहित्यकार–कलाकार मनको पुलिन्दामा आन्दोलनको सन्देश बोकेर आ–आफ्नो गतिमा चारैतिर कुदिरहेछन् । हरिगोविन्द लुइँटेल र वासुदेव अधिकारी पुनः युद्धप्रसाद मिश्रको डेरातिर कुद्छन् । मोदनाथ प्रश्रितको भूमिगत बासतिर हेलिन्छन् । आरोहणका सुनी र सर्वनामका अशेष, राजसका रामेश र इसासका रायन, अनाम नाट्यमञ्चका नारायण पुरी अन्य नाट्यकर्मी र गायनकर्मीलाई हल्लाउन र गल लाउनमा तल्लीन छन् । स्मरणीय छ, अनेक बिन्ती गर्दा पनि चटके व्यथितलाई राजसभा सदस्यको लाभदायक पदले सरकारको विरोधजस्तो ‘अमर्यादित कार्य’मा हात हाल्न दिएन । कहाँको पद, प्रतिष्ठा र पैसा, कहाँको जोखिममय कालोपट्टी आन्दोलन !
मौन विरोध जनाउने थलो नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राङ्गण रोजियो । सोचियो, यो रोजाइको प्रतीकात्मक अर्थ हुनेछ । मौकामा शाही प्रज्ञा प्रतिष्ठानको प्रज्ञाको असली चरित्रको परीक्षा हुनेछ । प्रज्ञा प्रतिष्ठानका मठाधीश विरोधको खबर सुन्दैमा डरले थुरथुर भए क्यार । विरोध मञ्चनको तीन दिन अघिदेखि नै शाही प्रतिष्ठानको मूल द्वारमा भोटे ताल्चा झुन्डियो । द्वारको दायाँबायाँ दरादरा कमान्डो तैनाथ गरिए । शाही प्रतिष्ठानका कर्मचारीले धरी भित्र पस्न मोहीतीघ्रे कमान्डोहरूलाई पास देखाउनुपर्ने भयो । सुनिजानेको कुरा हो, एक फिल्मी खलपात्रको नेतृत्वमा आक्रामक कमान्डो टुकडी शाही प्रतिष्ठानभित्र ट्याक्सीमा लुकिबसेको थियो । उक्त टुकडीले विरोधकारी साहित्यकार–कलाकार भित्र पस्न खोजे तिनका खुट्टा भाँच्ने आदेश पाएको थियो । यी सकल कमान्डोका प्रमुख थिए परम् राजभक्त मान्यवर उपकुलपति कविवर श्री माधवप्रसाद घिमिरे ।
विरोध आयोजनका दुई जङ्गी फिल्ड मार्सल छन् हरिगोविन्द लुइँटेल र सुनील पोखरेल । कुमारी सिनेमा हलबाट कमलादी रोडमा निस्कने मोडनेर भित्तामा टाँसिएर ती वातावरणको गन्ध सुँघ्छन् । विरोधकारी चेतनालाई पक्राउ गर्न यत्रतत्र प्रहरी भ्यान तैनाथ छन् । वातावरणको गन्ध सँघेर फिल्ड मार्सल टोली त्रिचन्द्र क्याम्पसको सरस्वती सदनबाहिर पलेँटी कस्ने सन्देश फिँजाउँछ । त्रिचन्द्रमा पनि प्रवेश नपाए के गर्ने ? रत्नपार्कको पेटीमा पलेँटी कसेर धर्ना दिने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’
-
गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र