भोजले नेवाः बिगारेको होइन, नेवाःले भोज बिगार्यो

नेवाः समुदाय मूलतः काठमाडौँ उपत्यकाका मूलवासी हुन् । उपत्यका कुनै वेला पानीले भरिएको ठुलो ताल थियो । तालको पानी सुकेर गएपछि यहाँ जो समथर भूमि बन्यो, त्यो कृषिका लागि अत्यन्त उर्वर थियो । उक्त उर्वर भूमिमा उत्पादन हुने कृषिजन्य सामग्री वर्षभरि खाएर सकिने खालको थिएन । त्यसको उपभोग गर्न कुनै न कुनै त्यस्तो भेलाको आयोजना हुनुपर्दथ्यो जसमा एकैपटक धेरै जनाले खाद्य ग्रहण गर्न सकुन् । सायद त्यसै कारणले पनि होला, नेवाः समुदायले मनाउने चाड, जात्रा, पर्वजस्तै पारिवारिक घेराभित्र मनाइने संस्कार–संस्कृतिहरूको संख्या पनि उत्तिकै छन् ।
सामान्यतया संस्कार भन्नाले षोडश संस्कार र दशकर्मको प्रसंग आउने गर्छ । हिन्दुहरू षोडश संस्कार मान्छन्, बौद्धहरू दशकर्म । नेवाः समुदायमा हिन्दु पनि छन्, बौद्ध पनि छन् । त्यसैले नेवाःभित्र षोडश संस्कार मान्नेहरू पनि छन्, दशकर्म मान्नेहरू पनि छन् तर केही संस्कार यस्ता छन् जो न हिन्दुले मान्छ, न बौद्धले । केवल नेवाःले मात्र मान्छन् । जस्तो इहि, बाह्रा, जंक्व आदि । जातकर्म, अन्नप्राशन, उपनयन, पाणिग्रहण, अन्त्येष्टि आदि संस्कारहरू अन्य समुदायले पनि मान्ने भए पनि नेवाः समुदायले मान्ने संस्कारको शैली भने भिन्न छ । अहिले यी संस्कार वहन गर्ने तौर–तरिका पनि समयसँगै बदलिँदै आइरहेको पाइन्छ । केही पहिलेभन्दा सुधार हुँदै आइरहेका छन् भने धेरै पहिलेभन्दा विकृत हुँदै गइरहेका छन् । खासगरी विभिन्न संस्कारमा जोडिएर आउने भोजको परम्परा अहिले अनियन्त्रित ढंगले विकृत हुँदै गइरहेको पाइन्छ ।
नेपाली समाजमा भन्ने चलनै छ, ‘राणा बिग्रियो मोजले, नेवार बिग्रियो भोजले ।’ नेवाःहरू हरेक वर्ष यति भोज खान्छन् कि भोजैले यिनीहरूलाई बिगार्यो भन्ने यो भनाइको आशय होला तर यो सत्य होइन । मैले अरु पनि लेखमा उल्लेख गरिसकेको छु, भोजले नेवारलाई बिगारेको होइन बरु नेवारले नै भोजलाई बिगारेको हो । नेपालभाषाका प्रसिद्ध लेखक सुवर्ण शाक्यले धेरै वर्षअघि आफ्नो एउटा आलेखमा यसको व्याख्या गरेका थिए । नेवाः समुदायमा भोजकै आयोजना गर्नुपर्ने केही संस्कार छन् । अहिले त्यस्ता भोज अत्यन्त भड्काउ भएको त छँदै छ, साथै भोजको आवश्यकतै नभएका संस्कारमा पनि अहिले भोजलाई जोडेर भोजकै हुर्मत लिन थालेको पाइन्छ । जस्तो : छोराको उपनयन (हिन्दुमा व्रतबन्ध, बौद्धमा प्रव्रज्या संवर) कर्ममा सपरिवार भोज खाने चलन छ । अहिले यस्तो भोज विवाहमा जस्तै कार्ड बाँडेर आयोजना गर्न थालिएको छ । त्यस्तै कन्याको उपनयन (इहि र बाह्रा) संस्कारमा पनि आफ्नै परिवार मात्र बसेर भोज खानुपर्नेमा यो पनि बिहे भोज जतिकै चर्को हुन थालेको छ ।
सामान्य संस्कारको भोज नै बिहे जतिको हुन थालेपछि बिहेको भोज झन् कस्तो हुन थाल्यो होला, त्यो अनुमान गर्न कठिन भएन । बिहेको भोज केटीतर्फ अन्माउनुअघि र केटातर्फ दुलही ल्याएपछि गरिने हो तर अहिले बिहेका हरेक चरण नै भोजमय हुन थालेका छन् । नेवाः समाजमा बिहे पक्का गर्न केटाले केटीको घरमा सुपारी पठाउने चलन छ । यसलाई ‘ग्वय् छ्वयेगु’ भनिन्छ । ‘ग्वय्’ भनेको सुपारी, ‘छ्वयेगु’ भनेको पठाउने । सुपारी पठाउँदा केटाका तर्फबाट लमी लगायत अन्य दुई–तीनजना सदस्यहरू केटीको घरमा जाने गरिन्छ, सुपारीका साथै केही अरु सामग्री दिएर आउँछन् । सुपारी दिन आउनेहरूलाई सामान्य भोज ख्वाउने गरिन्छ, तर अहिले त्यस्तो सुपारी दिन पनि सय जनाभन्दा बढी आउने र उनीहरू सबैलाई पार्टी भोज ख्वाउने चलन हुन थालेको छ । दुवै परिवार मिलाउँदा कम्तीमा दुई सय जनाको भोज हुन्छ । दुई सय जनालाई आफ्नो घरमा बोलाउन स्थानकै कारणले पनि सकिँदैन । त्यसैले सुपारी लाने काम समेत अहिले पार्टी प्यालेसहरूमा आयोजना हुन थालेका छन् । यो नेवाः संस्कारमा घुसेको भयंकरै ठुलो विकृति हो । सुपारी ग्रहणपछि केटीतर्फको घरमा विकृतिहरूको लहर सुरु हुन्छ । एक दिन हल्दी कार्यक्रम, एक दिन मेहेन्दी कार्यक्रम, एक दिन सांगीतिक कार्यक्रम । यो नेवाः संस्कार होइन, हिन्दी सिरियलको नक्कल हो । खासगरी हिन्दु संस्कार अनुसार बिहे गराउने परिवारलाई यो विकृतिले खर्लप्पै निलेको छ ।
पूजा थालीको यो सेट मूलतः पित्तलको हुन्छ । अहिले त्यस्तो सेट समेत चाँदीको दिने कुप्रथा सुरु भएको छ, जुन अत्यन्तै महँगो हुने गर्छ । धनीमानी परिवारका लागि यो विकृति होइन, संस्कारमा आएको ‘परिवर्तन’ हुन सक्ला तर निम्न वर्गीय परिवारका लागि भने यो ‘गरौँ क्षमताको सवाल, नगरौँ प्रतिष्ठाको सवाल’ बन्न पुगेको छ ।
सुपारी पठाउँदा सग्लो सुपारीका साथै पूजा र शृंगारका केही सामग्री लाने गरिन्छ । तर अहिले सुपारीका साथमा पूरा कोठा नै भरिभराउ हुने गरी रोटी, फलफूल, शृंगार सामग्री, लुगाकपडा आदिको पचासभन्दा बढी किस्ती (ठुलो आकारको थाली) लाने चलन हुन थालेको छ । नेवाः समुदायका केही जातीय समुदायले यसलाई विकृतिका रूपमा मान्दै कसैले कसैको घरमा सुपारी लान लागेको रहेछ भने गुठीका सदस्यहरू घरमै गएर सामग्रीको निरीक्षण गर्ने र बढी भएका सामग्रीहरू झिकेर फिर्ता पठाउने नियम पनि चलाएका थिए । खाने मुखलाई जुँगाले छेकेन । सुपारी पठाउने परिवारले गुठीका सदस्यहरूलाई निरीक्षणका लागि दिउँसो बोलाएर सामग्री देखाउने तर तडकभडकपूर्ण सामग्रीहरू चाहिँ बिहानै पास गराएर चुपचाप बस्ने बदमासी गर्न थाले । विकृति रोक्न सकिएन ।
नेवाः समाजमा विवाह मूलतः दुलहीकेन्द्रित संस्कार हो । हिन्दु होस् वा बौद्ध, नेवाः विवाह संस्कारमा दुलही लिन जाँदा दुलहा जानुपर्दैन । दुलही लिन दुलहाकी आमाको नेतृत्वमा परिवारका अन्य सदस्यहरू जाने गर्छन् । त्यो टोलीमा दुलहा जानुपर्दैन । दुलहीको घरबाट दुलही लिएर आएपछि उनलाई दुलहाको घरमा ‘लसकुस’ (स्वागत) गरी भित्र्याइन्छ । त्यसपछि विवाह संस्कारजन्य कुरा आरम्भ गरिन्छ । नेवाः समाजको विवाह संस्कारमा स्वयम्बर गरिँदैन, केटा र केटीको टाउको जुधाएर ‘ह्वंकेगु’ गरिन्छ, तर अहिले अचम्म छ, केटीतर्फको विवाह भोजमा समेत केटा पनि पहिल्यै गएर ‘दुलहा प्रदर्शन’ गर्ने चलन हुन थालिसक्यो, तर विवाह संस्कारमा गर्नुपर्ने ‘सँ प्याकेगु’ (दुलहीलाई परम्परागत शैलीमा शृंगारपटार गर्ने), ‘कल्या न्ह्याकेगु’ वा ‘तुतिबगी न्ह्याकेगु’ (दुलहीको गोडामा पाउजु लगाउने) जस्ता परम्परा भने हट्दै जान थालको छ ।
छोराको उपनयन कर्ममा सपरिवार भोज खाने चलन छ । अहिले यस्तो भोज विवाहमा जस्तै कार्ड बाँडेर आयोजना गर्न थालिएको छ । त्यस्तै कन्याको उपनयन (इहि र बाह्रा) संस्कारमा पनि आफ्नै परिवार मात्र बसेर भोज खानुपर्नेमा यो पनि बिहे भोज जतिकै चर्को हुन थालेको छ ।
दुलही अन्माउँदा दुलहीलाई पूजा थालीको एउटा सेट उपहार दिने चलन छ । यसलाई ‘कोतः ज्वलं’ भनिन्छ । पूजा थालीको यो सेट मूलतः पित्तलको हुन्छ । अहिले त्यस्तो सेट समेत चाँदीको दिने कुप्रथा सुरु भएको छ, जुन अत्यन्तै महँगो हुने गर्छ । धनीमानी परिवारका लागि यो विकृति होइन, संस्कारमा आएको ‘परिवर्तन’ हुन सक्ला तर निम्न वर्गीय परिवारका लागि भने यो ‘गरौँ क्षमताको सवाल, नगरौँ प्रतिष्ठाको सवाल’ बन्न पुगेको छ ।
नेवाः संस्कार वहनमा यति ठुला विकृति किन आइरहेका छन् त ? यसको पछाडि भने पछिल्लो समय नेवाः समाज र परिवारको संरचनामा आइरहेको ठुलो परिवर्तन कारकको रूपमा रहेको पाइन्छ । अहिले सहरिया नेवाःहरू संयुक्त परिवारबाट छुट्टिएर साना–साना एकल परिवारमा खुम्चिँदै गइरहेका छन् । नेवाः परिवारमा छोराछोरी भनेकै एक वा दुईजना मात्रै पाउने प्रचलन तीव्र छ । पहिले एक दम्पतीका सात–आठ जना छोराछोरी हुनु सामान्य हुन्थ्यो । एक वा दुई जना मात्रै सन्तान भएपछि उनीहरूका लागि खर्च गर्न आमाबुबालाई कुनै समस्या भएन । खुलेरै खर्च गर्न सकिने भयो । पछिल्लो समय नेवाः परिवार पनि विदेशतिर ‘सेटल’ हुने क्रम बढ्दै गइरहेको छ । उनीहरूसँग खर्च गर्ने क्षमता प्रशस्त छ, जुन विभिन्न नाममा गरिने भोजहरूमार्फत प्रकट भइरहेका छन् । कतिपयले चाहिँ आफ्ना एक वा दुईजना भएका सन्तान पनि युवा हुन नपाउँदै विदेश गइहाल्छन्, त्यसैले नेपालमै हुँदा उनीहरूको व्रतबन्ध वा इहि तथा बाह्रा संस्कारलाई बिहे जतिकै भव्य बनाउँ भनेर पनि फर्माइसी भोजहरू आयोजना गरेको पाइन्छ ।
नेवाः समुदायले आयोजना गर्ने संस्कारहरू तुलनात्मक रूपमा भव्य छन् । यस भव्यतालाई नै विकृति ठानेर जंगबहादुरदेखि चन्द्रशमशेर हुँदै पञ्चायतकालमा मरिचमान सिंह श्रेष्ठसम्मले नियन्त्रणको प्रयास गरेका थिए तर सकिएन । किनभने नेवाः संस्कारहरूमा निहित भव्यता (अन्यको तुलनामा) के हो र त्यसमा थपिँदै आएको विकृति के हो, त्यसलाई ठिक ढंगले खुट्ट्याएर बुझ्नु जरुरी छ । भव्यता विकृति होइन, विकृति भव्य हुन सक्दैन । नेवाः संस्कारहरू जसरी पहिलेदेखि मनाइँदै आइरहेको हो, त्यही भव्य छ । त्यो भव्यतालाई नबुझ्दा नै त्यसमा विकृति थपिँदै आइरहेको हो । यति हामीले बुझ्नु जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने