मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु

समाचार सारांश
- मधेस प्रदेशमा हत्याको ग्राफ बढेको छ, जसले शान्ति सुरक्षामाथि प्रश्न खडा गरेको छ। पछिल्ला चार वर्षमा ३८५ हत्या भएका छन्, जसमा १४२ महिला छन्।
- सिरहामा वृद्धको हत्या, प्रहरी भान्सेको हत्या, र महिलाको हत्याका घटनाहरू सार्वजनिक भएका छन्। यी घटनाहरू जग्गा विवाद, व्यक्तिगत रिसिइबी र विवाहेत्तर सम्बन्धका कारण भएको देखिएको छ।
- प्रहरीको निष्क्रियता, खुला सीमा, र कानुनी चेतनाको कमीले हत्याका घटना बढेको बताइएको छ। प्रदेश प्रहरी प्रमुखले अधिकांश हत्या आवेगमा हुने बताएकी छन्, तर जनचेतना बढाउन आवश्यक रहेको उल्लेख छ।
जनकपुर । मधेस प्रदेशमा हत्याको ग्राफ दिनप्रतिदिन उकालो लाग्न थालेको देखिएको छ । महिलादेखि पुरुषसम्मका हत्यासम्बन्धी भयावह तथ्यांक सार्वजनिक भएका छन्, जसले प्रदेशको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
संविधानले प्रत्येक नागरिकको जीवन, शान्ति र सुरक्षाको ग्यारेन्टी दिएको भए पनि मधेसमा भने पछिल्ला वर्षहरूमा निरन्तर हत्या भइरहेका छन् । यसले प्रहरीको कार्यदक्षता र दायित्वबोधमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ । कतिपय ठाउँमा त प्रहरी प्रशासनको निष्क्रियताले पनि मधेसका थुप्रै परिवारहरू पीडामा बस्न बाध्य भएका छन् ।
सिरहाको लहानमा मंगलबार एक वृद्ध नागरिकको हत्या भयो । लहान नगरपालिका–१३, गणेशपुरका मुसहरु यादवको कुटपिटबाट मृत्यु भएको हो । जग्गाको विवादमा परेर स्थानीय बिना साह र उनका छोरा सुदिप साहले यादवलाई कुटपिट गरेका थिए, उपचारका क्रममा उनको मृत्यु भयो । सिरहा प्रहरीले दुवैलाई पक्राउ गरी कारबाही अगाडि बढाएको जनाएको छ ।
यस्तै, करिब ६ महिना अगाडि बारामा एक प्रहरी भान्सेको गोली प्रहारबाट हत्या भएको थियो । पुसको दोस्रो साता, जितपुर–सिमरा उपमहानगरपालिका–११ मा प्रहरी भान्से राजकुमार रुम्बामाथि एक राउन्ड गोली चलेको थियो । अनुसन्धान अनुसार व्यक्तिगत रिसिइबी र आर्थिक कारणले उनको हत्या भएको खुलेको थियो । यस घटनामा राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित अन्य व्यक्तिहरू पक्राउ परेका थिए ।
त्यस्तै, करिब ८ महिना अगाडि महोत्तरीको पिपरा गाउँपालिका–७, दनौलीमा एक २६ वर्षीया महिला मालती मण्डलको घाँटी थिचिएको अवस्थामा शव फेला परेको थियो । उनी धनुषाको सहिद नगरपालिका यदुकाहाको निमुवा टोलकी थिइन् । प्रहरी अनुसन्धान अनुसार मालतीको विवाहेत्तर सम्बन्ध मटिहानी नगरपालिका–५ का राकेश नायकसँग थियो । सम्बन्धबारे श्रीमतीलाई थाहा भएपछि नायक दम्पतीले मिलेर मालतीको हत्या गरेका थिए । हाल दुवै जना पक्राउ परिसकेका छन् ।
सिरहा जिल्ला भने मधेसमा सर्वाधिक हत्या हुने जिल्लामा परेको छ । सिरहामा मात्र पछिल्ला चार वर्षमा ५७ जनाको हत्या भएको छ ।
त्यस्तै सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ८ स्थित उखुबारीमा एक युवकको शव सडिसकेको अवस्थामा फेला पर्यो । उक्त शव चन्द्रनगर गाउँपालिका वडा नं. १ किसनपुर निवासी २८ वर्षीय अरविन्द कुमार पण्डितको भएको खुलेको थियो ।
वैशाख २४ गते घरबाट बेपत्ता भएका अरविन्दको हत्या वैशाख २८ गते भएको खुलेको थियो । उक्त आरोपमा प्रहरीले ईश्वरपुर–६ का ६ जनालाई पक्राउ गरेको थियो । त्यस घटना विवाहपछिको सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले बताएको थियो ।
चार वर्षमा कति भए हत्या ?
सिरहा, बारा र महोत्तरी र सर्लाहीका यी घटना केही उदाहरण मात्र हुन् । मधेसमा पछिल्ला चार वर्षमा मात्रै ३८५ जनाको हत्या भएको प्रदेश प्रहरीको तथ्यांकले देखाउँछ ।
यो आँकडाले मधेस प्रदेश सुरक्षित नरहेको स्पष्ट संकेत गर्छ । आर्थिक वर्ष २०७७/०७८ देखि २०८१ सालको कार्तिक मसान्तसम्म ३८५ हत्या भएका छन्, तीमध्ये १४२ जना महिला छन् ।
जसअनुसार मधेशमा २०७७/०७८ मा ११० हत्या भए । भने २०७८/०७९ मा १०६ जनाको हत्या भएको तथ्यांकले देखाउँछ । यसैगरी २०७९/०८० मा ११३ र चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ५६ जनाको हत्या भएको देखिएको छ ।
तर, सिरहा जिल्ला भने मधेसमा सर्वाधिक हत्या हुने जिल्लामा परेको छ । सिरहामा मात्र पछिल्ला चार वर्षमा ५७ जनाको हत्या भएको छ ।
किन बढ्यो हत्या ?
चार वर्षको अवधिमा मधेसमा ३७९ वटा हत्यासम्बन्धी मुद्दा दर्ता भए पनि तीमध्ये कति निष्कर्षमा पुगे भन्ने प्रस्ट तथ्यांक प्रहरीले राखेको छैन । यसले अपराधहरू ढाकछोप भइरहेको हो कि भन्ने प्रश्न उठाएको छ ।
सामाजिक अभियन्ता शिवनाथ यादव भन्छन्, ‘हत्या र हिंसाले मधेस पोलिरहेको छ, राज्यका निकायहरू निष्क्रिय छन्, जसका कारण अपराधीहरू संरक्षण पाइरहेका छन् ।’
पूर्वप्रहरी अधिकारीहरूका अनुसार मधेसमा हिंसात्मक अपराध बढ्नुको मुख्य कारण प्रहरीको उदासीनता हो । भारतसँग सिमाना जोडिएको, खुला सीमा, राजनीतिक संरक्षण, ढिलो न्याय प्रक्रिया, र कानुनी चेतनाको कमीजस्ता कारण हत्या बढिरहेको पनि उनीहरू बताउँछन् ।
निवर्तमान एआईजी लालमणि आचार्यका अनुसार शिक्षा र कानुनी चेतनाको कमीका कारण कानुनप्रति मानिसको विश्वास कम छ । ‘यदि राज्यका निकायहरू प्रभावकारी र उत्तरदायी बने भने हत्या घट्न सक्छ,’ उनी भन्छन् ।
प्रमुख कारण आवेशः प्रदेश प्रहरी प्रमुख
प्रदेश प्रहरी कार्यालयले हत्या नियन्त्रणका लागि निगरानी बढाइएको दाबी गरे पनि चार वर्षमा ३८५ हत्या हुनु भनेको योजना कमजोर भएको देखाउँछ ।
तर प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदी भने यसलाई फरक दृष्टिकोणले व्याख्या गर्छन् । ‘प्रदेशमा भएका ८० प्रतिशत हत्या आवेशमा भएका छन्, योजनाबद्ध हत्या थोरै छन्’ उनले भने ।
रिसिइबी, विवाहेत्तर सम्बन्ध र आर्थिक स्वार्थ पनि हत्याका प्रमुख कारण भएका उनले बताए । ‘प्रहरीमाथि मात्र दोष दिन मिल्दैन, जनचेतना अभिवृद्धि गर्नु जरुरी छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पतञ्जली जग्गा प्रकरण अब अदालतको विषय बनिसक्यो : झलनाथ खनाल
-
नेपाली सेनाको सैन्य आधार तालिम समापन, २ हजार ९५१ नयाँ सैन्य दीक्षित
-
समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव
-
राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ मा हुने
-
बिहीबार बेपत्ता गोताखोर अझै भेटिएन
-
टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स