कथाकार माया ठकुरी उर्फ ‘चिहानडाँडा धाउने बौलाही’

समाचार सारांश
- लेखक माया ठकुरीको बाल्यकाल गरिबी र अभावमा बितेको थियो, जसले उनलाई चिहानमा गएर सिक्का बटुल्न बाध्य बनायो।
- उनले स्कुल जान नपाएपछि आमाबाट अक्षर सिकिन् र पछि शिक्षकको सहयोगमा एसएलसी पास गरिन्।
- माया ठकुरीको कथा लेखन र साहित्यिक यात्रा, जसले उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान दिलायो, साथै उनी महिला साहित्यकारको रूपमा सफल भइन्।
‘मलामीले सिक्का, धान, फूल इत्यादि छर्थे । मैले बाटाभरि छरिएका सिक्का बटुल्थेँ । त्यसपछि चिहानको केही वर कालीगेडीको झ्याङमा लुकेर बस्थेँ । जब मलामीहरू फर्कन्थे, तब मैले झ्याङबाट निस्किएर त्यहाँ राखिएका खानेकुरा खान्थेँ । पेट भरिएपछि नाच्थेँ । त्यहीँ छाडिएका रामनामी ओढेर चिहानमा सुत्थेँ,’ यति भनेपछि कथाकार माया ठकुरी भक्कानिइन् ।
आफूसँगैका सबै साथी स्कुल जान थाले, मायालाई पढाउन सक्ने अवस्थामा उनकी आमा थिइनन् ।
एक दिन उनले आमासँग भनेकी थिइन्, ‘आमा, म पनि स्कुल जान्छु ।’
आमाले मायालाई चपक्क अँगालो हालिन् र रुँदै भनिन्, ‘म तिमीलाई स्कुल पढाउन सक्दिनँ छोरी ।’
मायाले भनिन्, ‘बुवालाई भन्नु न !’
‘बुवाले हामीलाई हेर्नुहुन्न ।’
आमाका यी शब्दहरू मायाको कानमा अहिले पनि गुन्जिरहेका छन् । त्यति बेला दुवै आमाछोरी एकअर्कालाई अँगालो हालेर निकैबेर रोए ।
अहिलेसम्म माया ठकुरी (जन्म २००३ असार १८) का सातवटा कथा संग्रह र एउटा गीतसंग्रह (इन्द्रधनुष, २०६१) प्रकाशित छन् । यतिखेर उनी आठौँ कथासंग्रह प्रकाशन गर्ने तयारीमा छन् । रत्नश्री सुवर्ण पदक– २०३५, मैनालीकथा पुरस्कार– २०४१, शिक्षा पुरस्कार– २०४४, राष्ट्रिय नागरिक सम्मान– २०६१ लगायत दर्जनौँ पुरस्कार र सम्मान पाएकी मायाको बाल्यकाल त्यति सुखद रहेन ।
कुराकानीको सुरुमै मायाले भनिन्, ‘हरेक छोराछोरीमा आमाको प्रभाव पर्छ । म आज जे छु, मेरी आमाकै कारण छु ।’
हरेकपटक टोलमा कोही मर्दा मान्छेहरू दुःखी हुन्थे, तर मायाको ध्याउन्न अरु नै हुन्थ्यो । जे जस्तो अवस्थामा भए पनि उनी चिहान पुगिहाल्थिन् ।
- मायाकी आमाका दुःख
रुकुमकोटकी देवी ठकुरी (मायाकी आमा)को विवाह पाल्पाका गम्भीरसिंह ठकुरीसँग भएको थियो । गम्भीरसिंह भारतीय सेनामा कार्यरत थिए । कैयौँ ठाउँमा सरुवा भएर उनी अन्ततः लखनउ पुगेका थिए । गम्भीरसिंहका कैयौँ स्वास्नी (रखैल) थिए, सन्तान गनिनसक्नु थिए । यही चपेटामा मायाकी आमा परिन् । गम्भीर सिंहका कयौं रखैल थिए । कानूनी रुपमा विवाहित पत्नी भने मायाकी आमा मात्रै थिइन् । यो विहे पनि उनले आफ्नो वंशलाई अगाडि बढाउन मात्रै गरेका थिए । तर उनले श्रमितिप्रति जिम्मेवारी भने पूरा गरेनन् । मायाका पिता लखनउबाट सरुवा भएर शिलाङ आए । पतिले वास्ता गर्न छाडेपछि मायाकी आमा आफ्ना सन्तानलाई च्यापेर भाडामा सानो कोठा लिएर बस्न थालिन् । भारतीय सेनाका श्रीमतीहरूलाई प्रौढ शिक्षा पढाउनेदेखि कपडामा बुट्टा भर्ने, अचार बनाउने, बाँसका सामान बनाउने लगायत सीप सिकाइन्थ्यो । मायाकी आमाले पनि यी सबै सीप सिकेकी थिइन् । रुकुमकोटमै हुँदा उनले बत्ती कात्ने, दुना–टपरी गाँस्नेजस्ता काम सिकेकी थिइन् । मायाकी आमाले छोराछोरी हुर्काउन हुने–खानेका घरमा यस्तै काम गरिन् । यसबापत उनले कनिका, चामल तरकारी आदि पाउँथिन् ।
मायाकी आमासँग बस्न अरुतिरका तीन छोरीहरू पनि आएका थिए । साना छोराछोरीलाई घरमै छाडेर मायाकी आमा नजिकैको स्कुलमा खाजा बेच्न जान्थिन्— पकौडा, चप, भुटेको बदाम आदि तयार गरेर । केटाकेटीमा मायाले पनि छरछिमेकका हुने–खानेको घरमा बालबच्चा हेरिदिने, लुगा धोइदिने, जुम्रा हेरिदिने जस्ता काम गरिन् । बदलामा उनलाई केही खानेकुरा दिइन्थ्यो, त्यो पनि अरुको जुठो । भोकका कारण उनले अरुको जुठो पनि मिठो मानेर खान्थिन् । साँझमा उनलाई आमाले दिनभरि के गरिस्, के खाइस् भनेर सोध्थिन् । मायाको वृत्तान्त सुनेर आमा निकै रुन्थिन् । ‘भोक र गरिबीभन्दा ठुलो अभिशाप यो संसारमा केही छैन,’ गहभरि आँसु पार्दै मायाले सुनाइन्, ‘चिहानडाँडामा भेटाएका पैसा ल्याएर आमालाई दिन्थेँ । आमाले त्यसरी पैसा लिनु हुँदैन भनेर मायालाई गाली गर्ने र पिट्ने गर्थिन् ।लास ल्याउँदा अरु केटाकेटी घरभित्र लुकेर बस्थे । माया भने मलामीको पछिपछि लाग्थिन् । ‘लास ल्याएका बेला त मेरो बासै चिहानडाँडामा हुन्थ्यो ।’ मायाले भनिन् ।
चिहानडाँडामा त्यसरी नजान मायालाई आमाले पटक–पटक सम्झाइन् । उनले मायालाई कयौं पटक त सिस्नुपानी समेत लगाइन् तर भोकको अगाडि मायाले केही पनि देखिनन् । हरेकपटक टोलमा कोही मर्दा मान्छेहरू दुःखी हुन्थे, तर मायाको ध्याउन्न अरु नै हुन्थ्यो । जे जस्तो अवस्थामा भए पनि उनी चिहान पुगिहाल्थिन् ।
पिताको माया कस्तो हुन्छ भन्ने मायाले अनुभव गर्नै पाइनन् । उसो त माया जन्मदै कमजोर थिइन् । सात महिनामा जन्मिएकीले मायालाई नर्सहरूले मरेको ठानेर फाल्न ठिक्क परेका थिए रे, त्यही बेला उनी रुँदै चलमलाइन् । सात महिनामा जन्मिएका बच्चा भाग्यमानी हुन्छन् भन्ने ठानिन्छ । अभाव, दुःख र पीडाका अनगिन्ती दिनहरूसँग जुधेर माया अहिले यो अवस्थामा आइपुगेकी छिन् । उनले जीवनमा नभोगेको र नदेखेको पीडा के नै होला र ?
मायाले बेला बेला आमासँग पढ्ने कुरा गरिरहन्थिन् । स्कुल जानका लागि उनीसँग लुगा थिएन, कहिलेकाहीँ त खाने पनि कुनै टुंगो हुँदैनथ्यो ।
अनेक दुःखका बिच एक दिन आमाले उनलाई कालोपाटी ल्याइदिइन् र त्यसमै मायालाई बाह्रखरी पढाउन थालिन् । मायामा अक्षर चिन्ने तीव्र चाहना थियो । आमासँगै पढेर उनलाई अक्षर चिन्न समय लागेन । आमा नभएका बेला पनि मायाले पाटीमा जाने जति लेखेर बस्थिन् ।
एक दिन उनी एक्लै घरबाहिर उदास मुद्रामा बसिरहेकी थिइन् । त्यो देखेर तराई मूलका सतिश नाम गरेका एक शिक्षकले उनलाई सोधे, ‘तिमी किन स्कुल नगएको ?’
उनले आफूहरूको अवस्था बताइन् । ती शिक्षकले उनलाई घरमा पढ्न बोलाए । शिक्षक सतिश त्यति सम्पन्न थिएनन्, तिनका घरमा ५–६ जना सन्तान रहेछन् । तिनकी पत्नीले मायालाई पहिलो दिनमै घरका जुठा भाँडा माझ्ने लगायत काम लगाइन् । घरको यस्तै काम गरेपछि मात्रै मायाले पढ्न पाउँथिन् । उनै शिक्षकले मायालाई तीन वर्षसम्म पढाएर म्याट्रिकको परीक्षा दिन लगाए । दुःखजिलो गरेर पढेकी माया थर्ड डिभिजनमा पास भइन् । विद्यालयको मुखै देख्न नपाएकी माया ती शिक्षकप्रति निकै कृतज्ञ छिन् ।
फुर्सदिला साँझहरूमा मायाकी आमाले श्लोक हालेर रामायण पढ्थिन् । कतिपय श्लोक पढ्दापढ्दै उनी रुन्थिन् । आमा किन रोइन् भन्ने मायालाई थाहा हुन्नथ्यो । आमाको देखासिकीमा मायाले पनि श्लोक हाल्ने र गाउने गर्थिन् । पछि उनले क्लासिकल म्युजिक सिकिन् । अल इन्डिया रेडियोमा गीत रेकर्ड पनि गराइन् । हरिभक्त कटुवाल र लीलबहादुर क्षेत्रीले उनलाई निकै गाइड गरे । यी दुवैको सहयोगमा उनले गीत रेकर्ड गराइन् । नेपाल आएपछि पनि उनले रेडियो नेपालमा थुप्रै नेपाली गीतहरू रेकर्ड गराइन् । निकै वर्ष पछि अचानक उनको घाँटी बस्यो र गाउन नसक्ने भइन् । त्यो बेला धेरैल मायालाई कसैले घाँटी बिग्रने चिज खुवाइदिएको थियो र उनको स्वर बिग्रियो भन्थे ।
बुवाको संरक्षणबाट बञ्चित मायाको एक्लो बाल्यकाल र बरालिएर हिडिरहने जिन्दगी देखेर होला मानिसहरू उनलाई ‘बौलाही’ भन्थे । मानिसहरूले आफूलाई यस्तो सम्बोधन गरेको सुन्दा मायाको मन चरक्कै हुन्थ्यो । अक्षर चिन्न र लेख्न सक्ने भएपछि उनले कवितामार्फत समाजलाई जवाफ फर्काइन्, बौलाही शीर्षकको कविता लेखेर ।
‘बौलाही बौलाही भन्छौ
बौलाही भई त्यो किन कसरी ?
बौलाही यदि त्यो साँच्चै थिई त
तिरस्कार तिम्रो कसरी सही ?
रोई होली केही क्षण त्यो
हृदयको पीडा खप्न नसकी
हाँसी होली त्यो केही क्षण
तिम्रो बालापन नदेखी
अनि भन त किन र कसरी
त्यो कहलाई बौलाही ?’
मायाले जीवनमै पहिलोपटक लेखेको कविता यहीँ हो । यो कविता उनले पहिलो पटक आफ्नी आमालाई सुनाएकी थिइन् । कविता सुनेर उनकी आमा निकै रोइन् । यो कवितालाई उनले सुरुमा हिन्दी भाषामा ‘पागल’ भनेर लेखेकी थिइन् । यसलाई उनले स्थानीय पत्रिकामा छाप्न दिइन् । पत्रिकाले त्यो कविता त छापेन् । तर त्यहाँबाट मायाले ‘लेख्न सक्ने रहेछौं । तिमी लेख्न नछाड्नु, आफ्नो भाषामा लेख्नु’ भन्ने खालको प्रतिक्रिया पाइन् । त्यसपछि उनले बौलाही शीर्षक दिएर यस कवितालाई नेपालीमा लेखेकी हुन् । यो कविता उनलाई अझै कण्ठ छ ।
म्याट्रिक पास गरेपछि मायाले गुवाहाटीमा बसेर बीए पास गरिन् । त्यसपछि उनी नेपाल आइन् । भारतमा अंग्रेजीमा पढेकी थिइन्, यहाँ नेपाली भाषामा पढाइ हुन्थ्यो । भाषा नमिलेकै कारण नेपालमा पढ्ने उनको इच्छा पूरा हुन सकेन । यसैबिच २०३२ सालमा मायाको बिहे इन्जिनियर दामोदर शर्मासँग भयो । शर्माको परिवारको बसोबास शिलाङमै थियो । माया र शर्माको परिवारले पहिले देखि नै एक अर्कालाई चिनेका थिए ।
श्रीमान् सरकारी इन्जियिनर थिए । सरुवा भएर श्रीमान् नेपालका जुन जुन ठाउँमा पुग्थे, माया पनि त्यहीँ त्यहीँ पुगिन् । यसबिच लेखनलाई निरन्तरता दिँदै उनी अध्यापनमा सक्रिय रहिन् । लेखनमा मायाले श्रीमान्बाट सधैँ साथ र सहयोग पाइन् । मायाले लेखेको पहिलो कथा उनको श्रीमान्ले नै गरिमामा छपाइदिएका थिए । आफूले लेखेको केही कथाको प्लट श्रीमान्ले सुझाइदिएको माया बताउँछिन् ।
- कृति र सफलता
मायाको पहिलो कृति हो, ‘नजुरेको जोडी’ (कथा संग्रह, २०३०) । रत्न प्रकाशनबाट छापिएको यस संग्रहमा ११ वटा कथा संग्रहित छन्— नजुरेको जोडी, उज्यालोतिर, देवता, मूक प्रेम, विवशता लगायत शीर्षकका । आफ्ना किताब छाप्न मायाले अहिलेसम्म व्यक्तिगत खर्च गर्नुपरेको छैन ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत प्रमाणपत्र, स्नातक तथा स्नातकोत्तर तहका नेपाली पाठ्यक्रममा मायाका कथाहरू पढाइ हुन्छन् । यस्तै नेपालका विद्यालय तहका अनिवार्य नेपाली विषयमा समेत उनको कथा पढ्नुपर्छ ।
भारतको नर्थ बंगाल विश्वविद्यालयको स्नातक तहमा नेपाली पाठ्यक्रममा समेत उनको कथा समावेश गरिएको छ । भारतको गुवाहाटी विश्वविद्यालय र नेहु युनिभर्सिटी मेघालयको स्नातकोत्तर तहमा नेपाली पाठ्यक्रममा उनका कथाहरू समावेश गरिएका छन् । यस्तै, युनाइटेड किङडमको ‘लिभरपुल जोन मुर्स युनिभर्सिटी’मा समाजशास्त्र विषयको पाठ्यक्रममा मायाको संक्षिप्त जीवनी समावेश गरिएको छ ।
माया दिदीलाई हामीले अन्त्यमा सोधेका थियौँ— नेपाली साहित्यिक वृत्तमा महिला भएकै कारण दबिनुपरेको अनुभूति छ कि !
‘यस विषयमा म आफूलाई भाग्यमानी नै ठान्छु । नेपाली साहित्य वृत्तमा महिला भएकै कारण दबिनुपरेको अनुभूति मसँग पटक्कै छैन । मैले जुन बेला लेख्न थालेँ, त्यो बेलादेखि नै मलाई महिला तथा पुरुष साहित्यकारले धेरै नै प्रोत्साहन, हौसला र माया दिँदै आउनुभयो,’ उनी भन्छिन्, ‘सबैले दिदी भनेर सम्मान तथा स्नेहपूर्वक मेरा कथाहरू प्रकाशित गरिदिनुभयो । अहिले आएर त्यो माया र सम्मान झनै बढेको महसुस गरेकी छु ।’
७८ वर्षीया माया अचेल बिहानै उठेर ध्यान र व्यायाम गर्छिन्, भगवानलाई सम्झिन्छिन्, भजन गाउँछिन, पुस्तक पढ्छिन् अनि नियमित रुपमा लेखि पनि रहन्छिन् । सानैदेखि गीत गाउनमा रुचि राख्ने मायाले अहिले हरेक दिन केही घन्टा संगीत सिक्न जान्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव
-
युके पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ
-
आरआर क्याम्पसको स्ववियुले पायो वैधानिकता
-
स्वास्थ्यमा उच्च तहकै कर्मचारीले टेरेनन् मन्त्रीको निर्देशन
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले मागे मन्त्रीको राजीनामा
-
अमेरिकी दूतावासले भन्यो - एमसीसी पूर्ण कार्यान्वयन हुन्छ