शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : मनसुनसँगै त्रास

ज्योतिनगर पहिरो  : अल्पकालीन धेरै, दीर्घकालीनतिर ध्यानै छैन

शुक्रबार, ३० जेठ २०८२, १० : २२
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका बासिन्दा पहिरोको जोखिममा छन्, २०७८ सालको पहिरोले ठूलो क्षति पुर्‍याएको थियो।
  • पहिरो रोकथामका लागि विभिन्न कामहरू भइरहेका छन्, तर दीर्घकालीन समाधान अझै हुन सकेको छैन, स्थानीय सरकार र विज्ञहरू यस विषयमा चिन्तित छन्।
  • विज्ञहरूले पहिरोको मूल कारण पत्ता लगाई सतह र भूमिगत पानीको व्यवस्थापन गर्न सुझाव दिएका छन्, जसले गर्दा क्षति कम गर्न सकिन्छ।

बुटवल । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर मिलनपथका ३१ वर्षीय अभिनाश शर्माको १० धुर क्षेत्रफलमा टिनले छाएको घर छ । 

२०७८ सालमा आएको पहिरोले उनको घर भत्काइदिएको थियो । त्यो वेला घर र फनिर्चरका समान सबै नष्ट भयो । र अहिले टिनको छाएको घर बनाएका उनले त्यही घरमा फर्निचरको काम गरेर जीविका चलाइरहेका छन् । 

गत सालको वर्षामा पहिराले ल्याएको माटो अहिले पनि उनको घरै अगाडि छ । घरसँगै रहेको फर्निचरमा काम गरिरहेको अवस्था गएको शुक्रबार भेटिएका उनले भने, ‘पहिरोले घर नै भत्काइदियो, पोहोर पनि माटो ढुंगाको लेदो घरभित्रै आएको थियो । फेरि मनसुन सुरु हुन थाल्यो, अन्त जाने ठाउँ छैन ।’

सोही वडाका अर्का राजु केसीको घर नजिकै स–साना दुई वटा खोल्सा छन् । अलि ठुलो पानी पर्‍यो कि खोलाले लेदो र माटो त्यही खोल्सामा ल्याउँछ, अनि थुनिन्छ । केसी यही त्रासमा रातभर राम्ररी निदाउन सक्दैनन् ।

4eba8857-8ffa-40ab-bcfa-fe43996284bc

केसी र शर्मा मात्र होइनन्, लक्ष्मीनगर, ज्योतिनगरका धेरै बासिन्दाहरू मनसुन सुरु भयो कि त्रासमा बस्न बाध्य छन् । 

२०७८ सालमा आएको चुरेको पहिरोले ज्योतिनगर र लक्ष्मीनगरका ३० घरमा लेदो र पहिरोसहितको बाढी पसेको थियो । २०५५ सालमा पनि पहिरो यहाँका धेरै घर भत्काएको थियो । त्यसवेला आफूहरू १९ दिनसम्म ज्ञानोदय रात्रिमाविमा बास बस्नुपरेको मिलनपथका देवीलाल बराल सम्झन्छन् । ०७८ सालमा पनि केही दिन पहिरोको डरले विद्यालयमा बसेको उनले बताए । 

ज्योतिनगरका स्थानीय तीन दशकदेखि पहिरोको पीरमा बाँचिरहेका छन् । हरेक वर्ष वर्ष साना ठुला पहिरो आइरहन्छन् । यो समस्या अहिले पनि उस्तै छ । २०७८ सालमा त ज्योतिनगर र लक्ष्मीनगरका ५७ घरमा पहिरोले क्षति पुर्‍यााएको थियो । यी दुई स्थानका ३५१ घर पहिरोको जोखिममा रहेको बुटवल उपमहानगरपालिका विपत् व्यवस्थापनको शाखाको तथ्याङ्कमा छ । 

  • पहिरो रोक्न के–के भए काम ? 

२०५५ सालमा भने यहाँका बासिन्दालाई सार्ने प्रयास गरिएको थियो । त्यसवेला बुटवलको बेलवासमा यहाँका केही बाढीपीडितलाई सारिएको पनि थियो । केही बाढीपीडितले बेलबासतिर जग्गा लिएका थिए । 

पछि पहिरो रोकिएको भन्दै उक्त ठाउँमा केही जग्गा किनबेच पनि भयो । मानिसहरू बस्न पनि थाले । तर २०७८ साल फेरि पहिरो आयो । त्यसपछि भने उपमहानगरपालिकाले ०७९ सालदेखि यहाँ चेक ड्याम, रिटर्निङ वाल, बक्स कल्भर्टहरूको मर्मत गर्न थालेको छ । पहिरो खसेर सीधै बस्तीमा नआओस् भनी पानीको बहावलाई व्यवस्थित गर्ने कामहरू गरिएको छ । तर केही ठाउँमा पानीले क्षति पुर्‍याएको उक्त ३ नम्बर वडाका वडाध्यक्ष विष्णु ढकाल बताउँछन् । 

a8ea7470-c4ad-4180-a025-4c663b503ab7

संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा पहिरो रोकथामको काम भएकाले विगतका वर्षायामभन्दा कम क्षति हुने गरेको ढकालले जानकारी दिए । 

तर उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय भने यस क्षेत्रमा उपमहानगरले एकैपटक यति ठुलो बजेट हाल्न नसक्ने हुँदा तत्काल जोखिम कम गर्ने काम भने भइरहेको बताउँछन् । संघीय सरकारसँग समन्वय गरेर अधिकतम बजेट ल्याउने प्रयास गरिरहेको उनले जानकारी दिए । 

वडा नम्बर ३ का वडासदस्य अमृत खड्काका अनुसार सुरुमा यहाँ  एक करोड र गत वर्ष पनि एक करोड बजेट विनियोजन गरिएको थियो । साथै  विपत् व्यवस्थापन  कोषबाट पनि दुई आर्थिक वर्षमा गरी ७० लाख रुपैयाँ पहिरो रोकथामका लागि खर्च गरिएको उनले जानकारी दिए । 

507fa70f-9917-47f6-9379-6838bf335cc7

यस्तै यहाँ संघीय सरकारबाट बुटवल उपमहानगरपालिका सशर्त अनुदानमार्फत ३ करोड रुपैयाँ बजेटको काम भने अन्तिम चरण पुगेको छ । प्रदेश सरकारबाट पनि यहाँ सडक निर्माणको काम चलिरहेको छ । प्रदेश सरकारबाट दुई पटक गरेर ४० लाख रुपैयाँ सडक निर्माणका लागि खर्च भएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट ६० लाख, प्रदेश सरकारबाट सिँचाइ डिभिजन कार्यालयमार्फत विनियोजित ५० लाखमध्ये २५ लाखको डीपीआर तयार पार्ने काम भइरहेको छ । त्यस्तै पहिरो क्षेत्रमा खानेपानीको काम पनि भइरहेको छ । क्षेत्रमा स्टेप कटिङ, रिटेनिङ वाल, मेसिनरी वाल तथा भूगर्भभित्रको पानी निकाल्ने काम भइरहेको छ । 

अहिले पनि संघीय सरकारको तीन करोड रकमबाट पहिरो नियन्त्रणका लागि ग्यापिङ जाली तथा अन्य कामहरू अन्तिम चरणमा पुगेका छन् । यस्तै मनसुन सुरु भएपछि पहाडको तल बस्ती नजिकै खस्ने ढुंगा र माटो हटाउन एक्स्काभेटर तयारी अवस्थामा राखिएको छ ।

पहिरोमा मूल भएको पानी भूकम्पका कारण लक्ष्मीनगर र ज्योतिनगरतिर आउने अवस्था अन्त्य गर्न त्यसलाई कटान गरी शिद्धबाबा खोलामा झारिएको छ । 

राष्ट्रपति चुरे संरक्षण कार्यालय रुपन्देहीका प्रमुख एकनाथ बरालले पहिरो रोकथामका लागि विभिन्न काम चरणबद्ध रूपमा भइरहेको बताए । उनका अनुसार उपमहागरपालिकाको सहयोगमा चुरेको माथिल्लो क्षेत्रमा वृक्षरोपण गरिएको छ । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषि मन्त्री दिनेश पन्थीले ज्योतिनगरको पहिरोबाट दीर्घकालीन समाधान खोज्न ०७८ सालमा सिँचाइ कार्यालय भैरहवामार्फत प्रदेशले सहयोग गरेको र आगामी दिनमा पनि तीनै तहका सरकार मिलेर आवश्यक योजना ल्याउने बताए । 

लुम्बिनी प्रदेश योजना आयोगका पूर्वसदस्य डा. दामोदर भुसालले यो क्षेत्रमा सधैँ जोखिम रहने भएकाले के गरेर जाँदा ठीक हुन्छ भन्नेमा सरकार स्पष्ट हुनुपर्ने बताए । 

  • विज्ञहरू भन्छन्- सधैँ जोखिम 

२०७८ भदौ १३ र १४ गते ज्योतिनगर र लक्ष्मीनगरको चुरे क्षेत्रमा ठुलो पहिरो गएको थियो । त्यसपछि बुटवलबजार नै जोखिममा परेको भन्दै विज्ञको टोलीले अध्ययन गरेको थियो । 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा विज्ञहरू डा. सुस्मिता ढकाल, डा. रञ्जनकुमार दाहाल, डा. मनिता दाहाल र ई. सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवण डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थियो । उक्त टोलीले यहाँका ३५१ घरलाई जोखिमा राखेको थियो । 

677e01a4-3bb0-468b-a580-8020189b6c1f - Copy

उक्त प्रतिवेदनले भिरालो जमिनमा सतही र भूमिगत पानीको सही व्यवस्थापन नगरे जमिन असन्तुलित हुने सुझाएको थियो । डाँडाको पहिरो रोकथाम गर्ने पहिलो उपाय पनि यही ठहर्‍याएको थियो । 

बुटवल बहुमुखी क्याम्पसका प्राडा. तथा भूगर्भविद् भोजराज कडेरियाका अनुसार लक्ष्मीनगर र ज्योति नगरको सिरानबाट भूकम्पले पानीको मुहान तल सारेको छ । जसका कारण २०७८ सालमा पहिलो जाँदा बुटवल बहुमुखी क्याम्पससम्म पहिरो आएको उनले बताए । मेयर पाण्डेय पनि यसमा सहमत छन् । तर संघीय सरकारले भने यसमा चासो नदिएकाले अप्ठ्यारो अवस्था सिर्जना भएको उनी बताउँछन् । 

बुटवलको ज्योतिनगरको पहिरो भनेर चिनिएको क्षेत्र तल्लो चुरे पहाडअन्तर्गत पर्छ । यसको शिर श्रवणडाँडा हो । यहाँ वर्षाको पानी सजिलै कमजोर चट्टानमा छिर्ने र त्यो पानी केही तलबाट मूल फुटेर बग्ने भूगर्भविद्हरू बताउने गर्छन् । जसअनुसार सतहबाट छिरेको पानीले माटे ढुंगालाई पगाल्ने र पहाड थेग्न नसक्ने र भेल बग्ने उनीहरू तर्क गर्छन् । 

लक्ष्मीनगर र ज्योतिनगरमा पहिरोको इतिहास हेर्दा विशेषगरी चुरे क्षेत्रको भौगोलिक बनावट र मौसमी वर्षासँग जोडिने गरेको पाइन्छ । 

उपमहानगर–३  मिलनपथका देवीलाल बरालका अनुसार २०३५ सालमा यहाँ ठुलो पहिरो आएको थियो । त्यसवेला बस्ती छाडेर धेरै मानिसहरू यहाँबाट भागेका थिए । पहिरोले बस्ती बगाउने खतरा देखेपछि तत्कालीन राजा वीरेन्द्रले बस्ती स्थानान्तरण गरी चुरे संरक्षण गर्न निर्देशन नै दिएका थिए । र त्यहाँ रहेकाहरूलाई नवलपरासीको बर्दघाट सारिएको थियो । 

a5afd374-2131-428f-97a7-18b049f8c1d3

२०५५ भदौ १९ र २० मा पनि पहिरोले यहाँ १०१ वटा घर पुरेको जानकारहरू बताउँछन् । जतिवेला एक जनाको मृत्यु भएको थियो र दुई जना घाइते भएका थिए । तत्कालीन बुटवल नगरपालिकाको दैवी प्रकोप राहत उद्धार मूल समितिले प्रकाशन गरेको ‘दैवी प्रकोप अभिलेख विवरण’ अनुसार त्यसवेला पहिरोले १२० परिवारलाई घरबारविहीन बनाएको थियो । र ५ करोड ८१ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो । 

२०७८ सालमा पनि आएको पहिरोले यी दुई ठाउँका १५ घरमा क्षति पुर्‍याएको थियो । त्यसपछिका वर्षायाममा स्थानीयले त्रासले घर छाडेका थिए । र अहिले पनि प्रभावित क्षेत्रमा स्थानीय मनसुन सुरु भएसँगै त्रासमा बसिरहेका छन् । 

  • दीघकालीन समाधान भएन  

लक्ष्मीनगर र ज्योतिनगरका स्थानीयमा ०७८ सालको पहिरोको त्रास पछिल्लो समय भने कम हुन थालेको देखिन्छ । पहिरो रोक्न सरकारले केही काम गरेकाले उनीहरूको त्रास हट्न थालेको देखिन्छ । तर दीर्घकालीन समाधानको काम भने भएको देखिँदैन ।  

cc03f9dc-2a29-4847-877d-b794f4ee6563 (2)

ज्योतिनगरका ७६ वर्षीय सत्य नारायण शर्मा भन्छन्, ‘अहिले धेरै काम भएका छन्, पहिरो आयो भने सबैमा भाग्न सक्ने हिम्मत भने आएको छ ।’ लक्ष्मीनगरका राधाकृष्ण अर्याल पनि पहिरोबाट ढुक्कसँग बस्ने अवस्था नभए पनि पहिलेभन्दा त्रास कम भएको बताउँछन् । 

यता विज्ञहरूसहितको टोलीले अध्ययन अनुसन्धानपछि ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा आउने पहिरोको दीर्घकालीन समाधान नभएको देखाएको थियो । खस्दै गरेको पहिरो हटाउँदै जाने र पानीको बहाव परिवर्तन गरेर दलदले माटोमा जान रोक्न भने सकिने टोलीले सुझाएको थियो । पहिरोबाट क्षति कम हुनसक्ने विश्लेषणअनुसार यी क्षेत्रमा काम भइरहेको बुटवल –३ का अध्यक्ष ढकाल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप