आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
निबन्ध

हिँड्न अनुरोध गरिरहेका पाइला

शनिबार, ३१ जेठ २०८२, १७ : ३०
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • लेखक एक कार्यक्रममा सहभागी भएकी थिइन्, जहाँ प्रधानमन्त्री र अन्य मन्त्रीहरूको उपस्थिति थियो।
  • कार्यक्रममा उनले विभिन्न व्यक्तित्वहरूसँगको भेटघाट र उनीहरूको विचारहरू सुनिन्, र रातोपाटीको १२औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरिन्।
  • लेखकले कार्यक्रमको अनुभव, आफ्नो स्वास्थ्य अवस्था र देशको वर्तमान अवस्थाबारे आफ्ना विचार व्यक्त गरिन्।

पुग्नुपर्ने ठाउँ त आ–आफ्नै थिए । म पनि आफ्नै गन्तव्य तय गर्दै थिएँ । आखिर मानिस, पशुपक्षी, जनावर जे भए पनि साँझ आफ्नो गुँड फर्किनैपर्छ । सबैलाई बिदा गरेर आफू भने लोकेसन नमिलेर झन्डै आधा घण्टा त उभिएँ गेटमा । उमाजी, रजनीम्याम खाना खाइसक्नेबित्तिकै हिँडिसक्नुभएको थियो । साथी राधिका, अनिता बहिनी पनि खुब हतारिनुभयो, किनकि निकै टाढा थियो पुग्नुपर्ने ठाउँ । 

हेम सर इनड्राइभ गरेर लाग्नुभयो आफ्नै गुँडतिर । दीपक भिनाजु, गीता दिदी पनि बाइक लिएर घरतिर लाग्नुभयो । जेठ २७ गते साँझको रमाइलोमा सबैजना पाँचतारे होटलको सुस्वादु चौरासी व्यञ्जन ग्रहण गरेर आ–आफ्ना वासस्थानतिर हिँडिसक्नुभएको थियो । म भने मिरमा बहिनीसँग बिदा मागेर पठाओ बोलाउँदै बाहिर उभिएकी थिएँ । राइड पर्खिएको आधा घण्टा भइसकेको थियो । आखिर दश मिनेट लाग्थ्यो मलाई घर आइपुग्न पठाओमा । 

सम्झिएँ— तीन घण्टा हिँडेर धुलाबारी बजार पुगेपछि हतार–हतार सामान किनेर आमासँग घर फर्किंदा आमालाई भेट्न मैले दौडनुपथ्र्यो । मामाघर जान बुर्कुसी मारेर घोडाझैँ दोडिन्थेँ । आज शिथिल छन् ती खुट्टा । समय त रहेछ पाइलाको गति पनि । म उभिएकी थिएँ होटल रोयल ट्युलिपको गेटमा । जेठको महिना दिनभरिको तेजिलो तापपछि अचानक झरेको झरी । कस्तो रुझुँ–रुझुँ लागेको थियो तर पाँचतारे होटलको अगाडि एक्लै पानीमा रुझ्नु, त्यो पनि रातको ९ बजे ! सकिनँ । 

अघिसम्मको उखर्माउलो गर्मीले तातेको धर्ती तातो कराइमा पानी परेझैँ झ्वाइँय गरेर सेलाउँदै थियो जमिन । भट्टीमा रापिएकी भट्टी पसल्नीको अनुहारबाट झरेका पसिनाका दानाजस्ता पानीका थोपासँग माटो भिज्दाभिज्दै जोतिएका गाडीका पाङ्ग्राले हिलाम्ये पारेको थियो बाटो । छाता थिएन हिँडेर जानलाई, शरीर स्वस्थ पनि थिएन । अप्रेसनपछि पहिलोपटक निस्किएकी थिएँ घरबाहिर, भिज्न पनि नमिल्ने । उसबेला स्कुलबाट फर्किंदा अचानक परेको पानी छल्न एकछिन सिमलको बोटमुनि बसेकी मात्र के थिएँ, मानेको पात ओढेर रीता दौडिँदै आएर मसँग टाँसिई । 

‘ओई आइज यसमा ओतिएर जाउँ ।’

 रीताले मलाई आत्मीय भावले भनी ।

‘भो जान्न । त्यति सानो पातले मेरो किताब पनि छोप्दैन ।’ म अलि झर्किएर बोलेँ । 

ऊ फेरि मायालु भएर भन्न थाली, ‘पख् न त म ठुलो ल्याइदिन्छु ।’

भो के । तँ जा । मेरो त नजिकै छ । पानी रोकिएपछि दौडिन्छु । 

‘अँ रोकिएला नि पानी ! आकाश हेरेकी छेस् कस्तो कालो छ ?’

साँच्चै डरलाग्दो पो भएर बादल मडाडिएको रहेछ । म निकै आत्तिएँ ।

‘ओई हो त है । ठुलै आउँछ कि क्या हो ?’

ऊ दौडिएर फर्किई । एकछिनमा उसको भन्दा ठुलो पात लिएर आई । हामी एक–एकवटा मानेको पातको छाता ओढेर दौडियौँ । 

मैले दौडिँदै भनेँ, ‘हेर्न रीता आज आमाले मार्नुहुन्छ । स्कुल छुट्टी भएको एक घण्टा भइसक्यो । हामी निबुवा खान ढुङ्गेलका घर नगए को भए हुने नि है ।’ 

‘हो त नि । झन् हेर् त रमा र लता कसरी पुगे होलान् ? खोलाको बाटो । मेरो त झन् पानीघट्टा पुग्नपर्छ ।’ रीता डराई ।

‘आज हाम्रो घरमा बस्न त,’ मैले आमाको गालीबाट बच्ने उपाय सोचेँ ।

‘पानी रोकिएपछि जान्छु बाले मार्नुहुन्छ फेरि ।’ ऊ बेस्सरी डराएकी थिई । ऊभन्दा बढी म ।

म हत्केलाले पानी छेकेर के के सोचिरहेथेँ । मोबाइलमा घण्टी बज्यो, ‘दिदी लोकेसनमै हुनुहुन्छ ?’ पठाओ राइडरको फोन थियो ।  

आजको भव्य समारोहमा सहभागी हुने अवसर प्रदान गर्ने प्रिय बहिनी मिरमालाई हृदयदेखि आभार प्रकट गर्दछु, साथै आयोजक रातोपाटीलाई पनि । १२औँ वसन्त पूरा गरेकामा रातोपाटीलाई उत्तरोत्तर प्रगतिको कामना छ ।

म झस्कँदै बोलेँ, ‘‘हो भाइ, म लोकेसनमा छु । रोयल ट्युलिपको गेटमा ।’

‘हवस् म आइहालेँ ।’ 

एकछिनमै म घर पुगेँ । आजको भव्य समारोहमा सहभागी हुने अवसर प्रदान गर्ने प्रिय बहिनी मिरमालाई हृदयदेखि आभार प्रकट गर्दछु, साथै आयोजक रातोपाटीलाई पनि । १२औँ वसन्त पूरा गरेकामा रातोपाटीलाई उत्तरोत्तर प्रगतिको कामना छ । 

विद्वत् वर्गको सङ्गत गर्न पाउनु पनि सौभाग्य नै रहेछ । लेखक र उपप्राध्यापकहरूका माझमा म शुद्ध पाठक ज्ञानी भएर विद्वत्पूर्ण विचारहरू सुनिरहेकी थिएँ । गीता दिदी ‘प्रशान्तको तीरैतीर’ आँखाभरि बोकेर देश परदेशका कुरा गर्दै हुनुहुन्थ्यो । दीपक भिनाजुको नियात्रा पनि परदेशकै थियो । तोदाको प्रभावसँगै नयाँ परिधि निर्माणमा बगिरहनुभएकी उमाजीले मेरो पाठकीय मनलाई लेखक बनाउने कोसिस गर्दै हुनुहुन्थ्यो । उज्यालो औँसीको ज्योतिलाई हत्केलाले जोगाएर पुनः हिलतिर उक्लिँदै गरेका पाइला गन्दै थिइन् अनिता बहिनी । बरफका कोइलाले सेकेर सबैको मनको चिसो भगाउने कवि राधिका कल्पित सम्मोहन बोकेर आख्यानको तहबाट चर्चाको शिखरतिर दौडिँदै हुनुहुन्थ्यो क्यामेराको अघिअघि । रजनी म्याम र हेम सरको आफ्नै प्राज्ञिक प्रभाव । सानी बहिनी मिरमा यताउता आयोजकको भूमिकामा व्यस्त । हरेक हप्ता तीनजना वरिष्ठ साहित्यकारसँगको भेटले उनको साहित्यमा पहिचानको परिधि निकै फराकिलो बन्दै थियो । म भने एउटा ज्ञानी बालकले गुरुका अघि ज्ञानका कुरा ध्यानपूर्वक सुनेझैँ आनन्दको भरपुर सदुपयोग गरिरहेकी थिएँ । म सोच्दै थिएँ, ‘यी तमाम पाइलाहरू मलाई हिँड्न अनुरोध गरिरहेका छन् ।’ 

 

साढे दुई महिनादेखि बिरामी अवस्थामा बेड रेस्ट गरिरहेकी मलाई मिरमा बहिनीले रिफ्रेस पार्टीमा भेटघाट हुने मेसो जुराइदिइन्, त्यो पनि पाँचतारे होटलमा । म मात्र थिइनँ, त्यहाँ मेरा प्रिय साथीहरूसहित निकै राम्रो उपस्थिति थियो पाहुनाहरूको ।

घरमा पुगेर केही क्षणपछि बिस्तरामा ढल्किँदै थिएँ । गीता दिदीले फोटो पठाउनुभयो । खुसी भएर धन्यवाद भनेँ । मेरो त यात्रा जहिले पनि हतारमै हुन्छ । थाहै नपाई तय हुन्छ । छुटेका साथीहरूलाई सम्झिएँ । आज आउनुभएको भए भेट हुने थियो । 

झट्ट सम्झेँ, साढे दुई महिनादेखि ओछ्यान परेको शरीर बिस्तारै उठेर हिँड्न सक्ने भएकी थिएँ । बहिनी मिरमा छिनछिनमा मेरो खबर बुझिरहेकी थिइन् । म सङ्केत गर्थें ठिक छु भन्दै । 

टिनको ख्वान्द्रेमा मकै पड्केजस्तो बर्रर पड्केको तालीमा म कताकति हराएँछु । माननीय प्रधानमन्त्रीदेखि अरु माननीय मन्त्रीहरू— रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, रमेश लेखक, बाबुराम भट्टराई, योगेश भट्टराईसम्म; मजस्तो सामान्य मानिसदेखि योगी अरुण स्वामीसम्म; पत्रकारदेखि सचिवज्यूहरूसम्म; कूटनीतिक नियोगका वरिष्ठदेखि कलाकारसम्मको सहभागिताले राम्रो रौनक भरेको थियो आजको भव्य समारोह । ५ बजेदेखि साढे ६ सम्म साहित्यका मिठामिठा कुराको सुस्वादु आहारले आनन्द लिँदै थियौँ हामी । ७ बजेको निमन्त्रणालाई स–सम्मान स्वीकार गरेर साढे ६ मै आइदिनुभयो माननीयज्यूहरू । देशका नायकको आदर गर्दै हामीले उठेरै स्वागत गर्‍यौँ, उहिल्यै पञ्चायतकालमा राजाको जन्मदिन मनाउन हातमा फूल र माला बोकेर लाइनमा उभिएका स्कुलका कन्याझैँ । हामीले आदरले जोडेका दुई हत्केलाका सम्मानित भावलाई दुई हत्केला जोडेर सहस्र स्वीकार गर्दै माननीय मन्त्रीज्यू मुसुमुसु हाँस्नुभयो । लाग्यो, बजारबाट बा केही खानेकुरा बोकी छोराछोरी सम्झिएर घर फर्किंदै हुनुहुन्छ । साँच्चै बाले अनितालाई चिनेझैँ गरेर हेर्नुभयो । 

‘ए अनिता ! तिमीलाई त प्रधानमन्त्रीज्यूले चिन्नुभयो कि के हो ?’ मैले हाँस्दै अनितालाई बोलाएँ ।

‘हँ दिदी !’ उनले पनि हाँस्दै सोधिन् । 

सेतोपाटीको लेख पढ्नुहुन्छ कि क्या हो माननीय प्रधानमन्त्रीज्यू ? मैले जिस्किएको भावमा भनेँ । सबैजना गलल हाँस्नुभयो । 

नभन्दै उहाँले भन्नुभयो, ‘म सेतोपाटी, रातोपाटी दुवै पढ्छु ।’ साँच्चै हाम्रो ठट्ठामा लालमोहोर लाग्यो ।

एक निमेषको पर्दालाई वारिपारि बनाएको थियो समयले । राष्ट्रिय गान गुन्जियो । शरीरले रौँहरूलाई ठाडा बनायो । कति देशभक्ति छ गीतमा ! राष्ट्र नायकहरूको हृदयमा यो गीतले कति छुन्छ होला ? मलाईजस्तै छुन्छ कि नाइँ ? म भित्रभित्रै प्रश्नको डोको थापेर दाहिने हत्केलाले मुटुमाथिको मांसपेशीलाई छोएर देश सम्झिँदै कुर्सीमा थपक्क बसेँ अरुजस्तै । 

कार्यक्रम भव्य थियो । सबै माननीयज्यूहरूको अरु बेलाको भन्दा सभ्य अभिव्यक्तिले कार्यक्रम रोचक बनिरह्यो । अझ प्रधानमन्त्रीज्यूको त सुनिरहुँ जस्तो थियो । अचम्म लाग्यो, कति सचेत मानसिकता बोकेर बोल्नुभयो आज ? लिखित परीक्षा सकेर भाइभाइका लागि तयार भएर आएको विद्यार्थीजस्तो सचेत । 

उहिल्यै भोट माग्न जाँदा सुनेको उहाँको भाषण अहिले पनि कानमा गुञ्जिरहेछ, ‘हामी देश बनाउँछौँ, तपाईंसँग शक्ति छ, त्यो शक्ति हामीलाई दिनुहोस् । हामी शक्तिलाई सही सदुपयोग गरेर देश समुन्नत बनाउँछौँ । हामी सर्वहाराको प्रतिनिधित्व गर्नेछौँ । हाम्रो भाषण अपूरो हुनेछ यदि हामी हाम्रो सङ्कल्पबाट टाढियौँ भने । अझै अझै अधुरो छन् सभाहरू । आउनेछौँ हामी खुसी बोकेर तपाईंहरूको आँगनमा ।’

त्यस बेला बाआमाहरूले भोट दिएर उहाँहरूलाई सर्वहाराहरूको प्रतिनिधि बनाउनुभयो । वर्षौंदेखि म उत्तर खोजिरहेथेँ, जो रित्तो थियो । अहिले पनि खोजिरहेकी छु । 

दुवै हात झोलाले भरिएको छ, अनिता बहिनी र गीता दिदीले ल्याइदिनुभएको किताबसँग । अनि प्रधानमन्तीज्यूले विमोचन गर्नुभएको ‘संविधान संशोधन किन र केमा ?’ किताब बोकेर भारी थियो हात तर प्रश्नको डोको प्रश्नले भरिए पनि उत्तरको भाग रित्तो र खाली थियो ।

त्यही रित्तो डोकोमा अझ प्रश्नको भारी तेस्र्याउँदै मैले सोचिरहेँ । यति सचेत माननीयज्यूहरूले सचेततापूर्वक देशको डुब्दो परिस्थितिलाई जोगाइदिए भावी पिँढीले कति प्रशंसा गर्थे होलान् ? इतिहास पनि कति स्वर्णिम बन्थ्यो होला ? देश जनताको स्वार्थलाई आफ्ना निजी स्वार्थभन्दा माथि राखेर सोचिदिए ती २०४७ का कोणसभाहरू सार्थक हुन्थे होलान् कि ! अझै अधुरै छन् कोण सभाहरू ! अझै अपूरै छन् ती भाषणहरू ! अझै सुनसान छन् ती हाम्रा आँगनहरू ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भारती न्यौपाने
भारती न्यौपाने
लेखकबाट थप