१ लाख जम्मा गरेर रवि लामिछानेले लिए भोलिपल्टै डेढ करोड ऋण !

समाचार सारांश
- रास्वपा सभापति रवि लामिछानेले वीरगन्जको सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड ऋण लिएको आरोप लागेको छ।
- जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा लामिछानेले ऋण लिएको र शेयर लगानी गरेको इन्कार गरे पनि प्रमाण फेला परेको छ।
- अनुसन्धानका क्रममा लामिछानेले गोर्खा मिडियामा रकम पठाएको र सहकारीबाट १० करोड भन्दा बढी रकम अपचलन भएको आरोप लागेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो ।
यसअघि लामिछानेले सरकारी ठगी प्रकरणमा प्रहरी समक्ष आफू ५ वर्ष सञ्चारकर्ममा रहँदा कहीँकतै शेयरलगानी तथा ऋण लगानी नगरेको इन्कारी बयान दिएका थिए । गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशीबिचको सहकार्य र सम्बन्धबारे आफूलाई जानकारी नभएको पनि उनको भनाइ थियो ।
वित्तीय तथा आईटीमा जीबीले कसैको हस्तक्षेप नचाहने, कम्पनीमा उनैले ऋण उपलब्ध गराएको र नगद प्रवाह आवश्यक पर्दा असुरक्षित कर्जाका नाममा जीबीले नै नगद प्रवाहको कर्जा व्यवस्थापन गर्ने बयान लामिछानेको थियो ।
त्यही कारण लेखापरीक्षणमा पनि अध्यक्षको असुरक्षित कर्जा भनेरै उल्लेख हुने लामिछानेको भनाइ थियो । जीबीले नै चालु पुँजीको व्यवस्था गर्ने हुँदा कम्पनीबाट पुँजी आउने र जाने प्रक्रिया स्वाभाविक भएको लामिछानेले बयानमा बताएका थिए ।
आफ्नो लोकप्रियता देखेर जीबीले नै १५ प्रतिशत शेयर बिना लगानी उपलब्ध गराउने प्रस्ताव गरेको तथा मिडियामा लगानी ल्याउने प्रक्रियामा आफ्नो कुनै हात नभएको दाबी उनको थियो ।
तर जिल्ला सरकारी वकिलको कार्यालयले कर्जा अभिलेखमा लामिछानेले ऋण लिएको प्रमाण रहेकाले इन्कारी बयान खण्डित भई कसुरमा संलग्न रहेको पुष्टि हुने दाबी गरेको हो ।
अनुसन्धानका क्रममा ५ वटा तथ्य अगाडि आएको दाबी गर्दै अभियोग पत्रमा ती प्रमाणहरू पनि पेस गरिएको छ ।
लामिछानेको नामको ००१–०१५४६१ ग्राहक नम्बर र खाता नम्बर ००१–००१–०२–००११६४२ को केवाईसी अध्ययनका क्रममा २०७८ साउन १८ गते सदस्य बनेको देखिएको छ ।
सदस्य बनेकै दिन उनले १ लाख रुपैयाँ खातामा जम्मा गरेको भेटिएको अभियोग पत्रमा उल्लेख छ ।
त्यसको भोलिपल्ट नै अर्थात् साउन १९ गते १२ प्रतिशत ब्याजदरमा २०८२ साउन १८ गतेसम्मका लागि बागमती ठेगाना उल्लेख गरी हकदारको नाम निकिता पौडेल र बुवाको नाम लालचन्द्र उल्लेख गरेको देखिन्छ ।
ऋण लिने दिने क्रममा लामिछानेको नाममा १९ गते नै सानोपाइलामा १ लाख रुपैयाँको शेयर कायम भएको पनि देखिएको छ । लामिछाने साउन १८ गते सानोपाइलाको सदस्य बनेको र १९ गते उनले गोर्खा मिडियाको खातामा जम्मा हुनेगरी भुक्तानी गरेको दाबी अभियोग पत्रमा गरिएको छ । उनको ग्लोबल आईएमई बैंकको खातामा २९ गते नै १ करोड ४७ लाख ४८ हजार रुपैयाँ जम्मा भएको देखिन्छ ।
यस्तै गोर्खा मिडिया नेटवर्कको बैंक खातामा भएको कारोबार विश्लेषण गर्दा सानो पाइलाबाट १० करोड ६ लाख रुपैयाँ ऋण लगानी भएको देखिनुबाट लामिछाने कसुरदार पुष्टि हुने दाबी अभियोग पत्रमा गरिएको छ । अभियोग पत्रमा नै सरकारी वकिलको कार्यालयले रविको सदस्यता, ऋण लिएको र जम्मा गरेको चेकलगायत विवरणसमेत राखेको छ ।
यसरी सानोपाइला सहकारीबाट लामिछानेको नाममा गोर्खा मिडिया प्रालिमा १ करोड ४७ लाख, जीबी र छविसहित संयुक्त रूपमा ३ करोड २ लाख रुपैयाँ गएको देखिएको दाबी अभियोग पत्रमा गरिएको छ ।
लामिछाने गोर्खा मिडिया प्राविको सञ्चालक प्रबन्ध निर्देशक र शेयर सदस्य रहँदा एकल र संयुक्त रूपले गरी १० करोड रुपैयाँ बढी अपचलन भएको र बिगो ११ करोड ५६ लाख रुपैयाँ दाबी अभियोग पत्रमा गरिएको छ । जुन मुद्दा आइतबार दायर भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु