आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेतृत्व वैधानिक मात्रै कि योग्य पनि ?

आइतबार, १४ असार २०८३, १६ : २१
आइतबार, १४ असार २०८३

सारांश

  • नेपालको राजनीतिमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको र यसमा राजनीतिक दलहरूको भूमिकामाथि प्रश्न उठाइएको छ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेतृत्व निर्माणमा आर्थिक मापदण्ड अपनाएर योग्य कार्यकर्तालाई वञ्चित गरेको र यसले धनाढ्य तथा चलाख व्यक्तिलाई अवसर दिने टिप्पणी गरिएको छ ।
  • रास्वपाले नेतृत्व छनोटमा वैधानिकतासँगै क्षमता, दक्षता र समावेशितालाई पनि जोड दिनुपर्ने र आन्तरिक लोकतन्त्रलाई सुदृढ पार्नुपर्ने सुझाव दिइएको छ ।

अहिले नेपालको राजनीतिमा एउटा भाष्य जबर्जस्त रूपमा स्थापित हुँदैछ, जसले हिजोको दिनमा व्यवस्था बदलिएको र अब अवस्था बदल्ने यात्रामा अगाडी आएको दाबी गर्छ तर दाबी र यथार्थमा भने धेरै ठुलो फरक देखिन्छ । व्यवस्थामा भएको बदलाव नै अपुरो अनुभव हुन्छ । 

परिवर्तनको मात्रा र तरिका दुवै अधुरो देखिन्छ । आफ्नो राजनीतिक लाभहानीको हिसाब गरेर आवश्यक ठानेको हदसम्म मात्रै परिवर्तन भएको थियो कि भन्ने आशङ्का पैदा हुन्छ । परिवर्तनलाई रोक्न खोज्ने प्रवृत्ति र पात्रहरूकै स्वार्थको दबदबा कायम रहने हो भने अधुरो कार्यभार पुरा गर्ने कार्यभार पुरा हुन भने धेरै समय नलाग्न सक्छ । 

अर्थात देशले फेरी आफ्नो कोर्स करेक्सन गर्न सक्छ । हामी सबैलाई थाहा छ कसैको स्वार्थका लागि बनेका मापदण्ड, विधि प्रणालीको आयु कहिल्यै लामो हुँदैन । 

प्रस्तुत लेखमा मेरो ध्येय पुराना राजनीतिक दलहरूले नेतृत्व निर्माणमा गरेको गल्ती अहिलेको सबैभन्दा ठुलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) नदोहोर्‍याएर व्यवस्थित थिति बसालोस् भन्नेमा केन्द्रित हुनेछ । साथै राजनीतिक दलहरूको रास्आवपान्तरिक प्रतिस्पर्धाबाट नेतृत्व निर्माणको संयन्त्र कस्तो हुनुपर्छ भन्ने बारेमा हुनेछ ।  

राजनीतिक दलहरू लोकतन्त्रको रक्त प्रवाह हुने धमनी वा जीवनरेखा हुन् । दलहरू बिना आधुनिक लोकतन्त्रको परिकल्पना करिब असम्भव हुन जान्छ । लोकतन्त्रको जीवनमा अपरिहार्य मानिएका राजनीतिक दलहरू आफूलाई जति धेरै लोकतान्त्रिक अभ्यासमा अभ्यस्त पार्छन् त्यति नै आधुनिक लोकतन्त्र थप उन्नत, समृद्ध र पूर्णता तर्फ अग्रसर हुन्छ । 

‎त्यसैगरी कुनै पनि देशको भूगोल भनेको कम्प्युटरको हार्डवेयर जस्तै हो । देशले लिने नीतिहरू भनेका सफ्टवेयर हुन् । जनताको अभिमतलाई विधिसम्मत रूपमा लिएर कार्यान्वयन गर्ने दल तथा सरोकारवाला सङ्घसंस्थाहरू अपरेटर हुन् ।

‎त्यसकारण हार्डवेयर वा भूगोलमा अनुकूल हुने नीति वा सफ्टवेयरको तय गर्ने, लागु गर्ने तथा आवश्यक फेरबदल गर्ने अपरेटरको रूपमा रहेका राजनीतिक दलहरूले जनताबाट वैधानिकता प्राप्त गरेको हुनुपर्छ । तर व्यवहारिक जीवनमा राजनीतिक वैधानिकताले मात्रै पूर्ण समाधान दिँदैन त्यसका लागी योग्यता, क्षमता र दक्षता पनि उत्तिकै आवश्यक हुन्छ ।

‎नेपालका दलहरू मध्य पछिल्लो निर्वाचनबाट तुलनात्मक रूपमा धेरै ठुलो आकारमा आएको राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भर्खरै सम्पन्न भएको छ । नेपालको सेन्ट्रल सीटी भनेर चिनिने चितवनमा केहि दिनदेखि रास्वपाका नेता–कार्यकर्ताहरू पार्टीको नीति र नेतृत्वको बहस सकेका छन् । 

त्यसको परिणामको गुण दोषको आधारमा आलोचना गर्ने बेला भएको छैन । तर नेतृत्व छनोटमा जुन मापदण्डको प्रयोग भएको छ, त्यसमा भने पक्कै आलोचनात्मक टिप्पणी गर्न सकिन्छ । रास्वपाले निर्वाचनमा उम्मेदवार हुनका लागि चाहिने मापदण्डका रूपमा प्रस्तुत गरेको विषय भने ‘जान्नेलाई छान्ने’ दलका लागि पक्कै पनि लज्जाजनक देखिएको छ । 

सभापतिका लागि ५१ हजार, पदाधिकारीका लागि ४१ हजार तथा केन्द्रीय सदस्यका लागि २१ हजारका अलावा १ जना प्रस्तावक तथा २१ जना समर्थकको शर्तले आर्थिक रूपमा विपन्न तथा निश्चित भूगोल वा क्लस्टरमा केन्द्रित भएर काम गरिरहेका कार्यकर्तालाई उम्मेदवारी दर्ता गर्नबाटै वञ्चित गराएको छ । 

वास्तविक कार्यकर्ताहरू निर्वाचनको प्रक्रिया बाहिरै रहने तथा धनाढ्य, चलाख एवं सामाजिक सञ्जालको क्रियाशीलता र पहिचानको आधारमा विजयी हुनसक्ने अवस्था सिर्जना भएको देखिन्छ । लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठुलो राजनीतिक दलले आफ्नो पहिलो महाधिवेशनबाट नेतृत्व निर्माण गर्दै गर्दा यस्तो मिहिन साङ्गठनिक सन्दर्भलाई कमजोर ठान्नु पक्कै हुँदैन।  

‎यो महाधिवेशनले पार्टीको मूल नेतृत्वका रूपमा रवि लामिछानेलाई नै चयन गरेको छ । यो महाधिवेशनमा नेतृत्व भन्दा पनि रास्वपाले कस्तो नीति चयन गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित थियो । महाधिवेशनमा स्वीकृत नीति र कार्यक्रमले नै आगामी दिनमा सरकार सञ्चालनमा महत्त्वपूर्ण मार्गदर्शन गर्ने भएकाले त्यसलाई महत्वसाथ हेरिएको हो । 

निश्चय पनि ‎महाधिवेशन राजनीतिक दलहरूका लागि प्रशव पिडा जस्तै हुन्छ । त्यसले बिचारसहितको कुशल नेतृत्वलाई जन्म दिन सक्यो भने त्यो देशकै लागि उत्साहको विषय हुन्छ । तर त्यसो हुन नसकेर पुरानै चलन मुताबिक भागबन्डा र नेतृत्व व्यवस्थापन एवम् गुटहरूको व्यवस्थापनको तरिका अपनाउँदा भने क्षणिक रोमाञ्चकता बाहेक अन्ततः निराशाकै बाटो रोज्ने जोखिम हुन्छ ।‎

‎नेतृत्व पनि वैधानिक हुनुपर्छ । तर त्यो भन्दा पनि मुख्य कुरा सक्षम र क्षमतावान् हुनुपर्छ । विडम्बना नै भन्नुपर्छ, हाम्रो देशका अधिकांश नेताहरू निर्वाचित हुनुका बाबजुद पनि क्षमतावान् छैन । यो निर्मम उदाहरणलाई बेलैमा बुझेर रास्वपाले नेतृत्व छनोटलाई केवल वैधानिकता मात्रै सीमित नराखी क्षमताको मूल्याङ्कन र छनोटमा पनि जोड दिओस् । जारी महाधिवेशन मार्फत रास्वपाले नेतृत्व निर्माणको कोसेढुङ्गा निर्माण गर्ने अवसरलाई चिन्न ढिला नगरोस् । 

‎नेतृत्व छनोटमा गुण र विशेषताको मात्रै भूमिका हुँदैन । त्यसको संयन्त्र पनि धेरै महत्त्वपूर्ण हुन्छ ।‎ आफ्नो आन्तरिक लोकतन्त्रलाई जति धेरै खुला, सहज, पारदर्शी र जवाफदेही बनाइन्छ त्यति नै नेतृत्वको प्रभावकारिता बढ्दै जान्छ । प्राचीन आहानको रूपमा रहेको ‘बादे बादे जयते तत्त्व बोधः’ भने जस्तै त्यहाँ वैचारिक प्रतिस्पर्धा र स्वच्छता पनि हुनुपर्छ । 

‎संस्थागत क्षमताको विकास गर्दै अनुभवको कमी भएका युवाहरूका लागि नेतृत्व निर्माण सम्बन्धी तालिम प्रशिक्षण सञ्चालन गर्नुपर्छ । निर्णय क्षमताको यथोचित विकेन्द्रीकरण गर्दै तल्लो तहसम्म क्षमता विकास र सहभागिता गराउनुपर्छ । महत्त्वपूर्ण विषयहरूलाई चासोको विषयको रूपमा मात्रै सीमित नराखी निर्णयको प्रक्रियामा योगदान गर्न सकिने प्रणाली व्यवस्थित गर्नुपर्छ  । 

यसका अलावा नेतृत्व निर्माण समावेशी हुनैपर्छ । नयाँ पुस्तालाई पुराना अगुवाहरूले मार्गदर्शन गर्ने संयन्त्र सहितको हुनुपर्छ ।त्यसो गर्दा नयाँ र पुरानाबिच अनुभवको आदानप्रदान गर्ने संस्कृतिको निर्माण गर्दै दलहरूले त्यसका लागी आवश्यक वातावरण पनि व्यवस्था पनि गर्नुपर्छ । 

अक्सर राजनीति जान्नेहरूले गर्न सक्दैनन् र सक्नेहरूले गर्न जान्दैनन् भन्ने गरिन्छ । रास्वपाले यो महाधिवेशनबाट निर्वाचित गरेको कमिटीले नजान्नेहरूलाई सिकाउने र जान्नेहरूलाई काम गर्न सक्ने जिम्मेवारी दिएर अघि बढाओस् भन्ने शुभकामना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ताराकेशर खड्का
ताराकेशर खड्का
लेखकबाट थप