आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

अब्बल अफ्रिकाः १० मध्ये नौ टोली विश्वकपको अन्तिम ३२ मा

आइतबार, १४ असार २०८३, १६ : २९
आइतबार, १४ असार २०८३

सारांश

  • सन् २०२६ को विश्वकपमा अफ्रिकाबाट १० राष्ट्र छनोट भएकामा नौ टोली नकआउट चरणमा पुगेका छन् ।
  • यसअघि अफ्रिकी टोलीका लागि एकै संस्करणमा नकआउट चरणमा पुग्ने सर्वाधिक संख्या दुई थियो ।
  • केप भर्डे र कङ्गोको अन्तिम ३२ मा पुग्नु अप्रत्याशित उपलब्धि बनेको छ ।

एजेन्सी । सन् २०२६ को विश्वकपका लागि अफ्रिकाबाट ऐतिहासिक रूपमा १० राष्ट्र छनोट भएका छन् । शनिबार राति कङ्गोले उज्बेकिस्तानलाई ३–१ ले पराजित गरेपछि र अल्जेरियाले अस्ट्रियासँग रोमाञ्चक ३–३ को बराबरी खेलेपछि अफ्रिकाका नौ टोली नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन् ।

समूह चरणको १७ दिनको प्रतिस्पर्धापछि मोरक्को, दक्षिण अफ्रिका, सेनेगल, आइभरी कोस्ट, घाना, केप भर्डे, इजिप्ट, कङ्गो र अल्जेरियाले अन्तिम ३२ मा स्थान सुरक्षित गरे । यसअघि ३२ टोलीबीच समूह चरणको खेल हुने नियम हुँदा एकै संस्करणमा नकआउट चरणमा पुग्ने अफ्रिकी टोलीको सर्वाधिक संख्या केवल दुई थियो। यसपटक अफ्रिकी टोलीमध्ये ट्युनिशिया मात्र समूह चरणबाटै घर फर्कियो।  

चार वर्षअघि कतार विश्वकपमा मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो । यसपटक पनि उसले ब्राजिललाई १–१ को बराबरीमा रोकिसकेको छ र फेरि पनि धेरै माथिसम्म पुग्ने क्षमता देखाएको छ । सन् २०३० को आगामी विश्वकपको सह–आयोजक पनि हो मोरक्को।

विश्वकप इतिहासमा यसअघि केवल छ अफ्रिकी राष्ट्र मात्र नकआउट चरणमा पुग्न सफल भएका थिए, जसमा केही टोलीले यो उपलब्धि एकभन्दा बढी पटक हासिल गरेका थिए । एकै संस्करणमा सबैभन्दा धेरै दुई अफ्रिकी टोली मात्र नकआउटमा पुगेका थिए, जुन सन् २०१४ र २०२२ मा भएको थियो । २०१४ मा नाइजेरिया र अल्जेरिया तथा २०२२ मा मोरक्को र सेनेगल नकआउट चरणमा प्रवेश गरेका थिए ।

morocco-vs-brazil

यस वर्षको प्रतियोगिताले अफ्रिकी फुटबलको बलियो शक्तिलाई उजागर गरेको छ । विशेषगरी केप भर्डे र कङ्गो अन्तिम ३२ मा पुग्नु धेरैका लागि अप्रत्याशित उपलब्धि बनेको छ । अब कङ्गोले अन्तिम ३२ मा इङ्ग्ल्यान्डको सामना गर्नुपर्ने कठिन चुनौती छ । तर अहिलेका लागि टोली ऐतिहासिक सफलताको उत्सव मनाइरहेको छ ।

खेलपछि फरवार्ड फिस्टन मायेलेले भनका छन, ‘यो हाम्रो देश कङ्गोका लागि साँच्चिकै ऐतिहासिक क्षण हो । यो हाम्रो पहिलो विश्वकप जित र पहिलो पटक नकआउट चरणमा प्रवेश हो । आज म गर्व गर्न सक्छु, र मेरो देशभरका मानिसहरू पनि हाम्रो उपलब्धिबाट अत्यन्त खुसी छन् । हामी कङ्गोवासी हुन पाउँदा गर्व गर्छौं र मलाई लाग्छ, हाम्रो यात्रा अझै जारी रहनेछ ।’ 

मायेलेले खेलको ७८औँ मिनेटमा गोल गरेका थिए । उनका गोलअघि योआने विस्साले ६८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । इन्जुरी समयमा मायेलेले नै अर्को गोल थपेका थिए । 

अल्जेरियाले भने यस वर्षको विश्वकपकै सबैभन्दा नाटकीय खेलमार्फत अन्तिम ३२ मा स्थान बनायो । इन्जुरी समयसम्म अस्ट्रियासँग २–२ को बराबरीमा रहेको अल्जेरिया खेल बराबरीमै टुङ्ग्याउने अवस्थामा देखिएको थियो । तर कप्तान रियाद महरेजले अचानक अग्रता दिलाउने गोल गरे । त्यसको दुई मिनेटपछि खेलको अन्तिम आक्रमणमा अस्ट्रियाले बराबरी गोल फर्कायो । यद्यपि ३–३ को बराबरीले अल्जेरिया समूह उपविजेता बन्न नसके पनि दुवै टोलीलाई नकआउट चरणमा पुगे ।

उज्बेकिस्तानमाथिको जितपछि ‘प्लेयर अफ द म्याच’को ट्रफी हातमा लिएका कङ्गोका योआने विस्सा विस्साले आफ्नो देशले यहाँसम्म आइपुग्न गरेको लामो यात्राको सम्झना गरे । 

विस्साले भने, ‘५२ वर्षपछि यो हाम्रो दोस्रो विश्वकप हो । हामीले यही टोलीसँग चार वर्षअघि विश्वकप छनोट अभियान सुरु गरेका थियौँ ।’ उनले यस विश्वकपको सफलताले अफ्रिकी फुटबलको भविष्य उज्ज्वल रहेको सन्देश दिएको पनि बताए । युवा प्रतिभाहरूले नयाँ युगको नेतृत्व गरिरहेको उनको विश्वास छ । 

विस्सालेले भने, ‘अब हरेक अफ्रिकी टोलीले ठुलो सपना देख्न सक्छ । अघिल्लो विश्वकपमा मोरक्को सेमिफाइनल पुगेको थियो । यसले हाम्रो फुटबल महासङ्घलाई पनि ठूलो सपना देख्ने आधार दिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप