बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

राजतन्त्रतिर ढल्कनेहरू

बिहीबार, ०५ असार २०८२, ०९ : ५४
बिहीबार, ०५ असार २०८२

२०३९/४० सालतिरको कुरा हो । म २३/२४ वर्षको थिएँ । मलाई राजनीतिले छोएछ । विद्यार्थी कालमा मलाई राजनीतिले छोएन । सायद स्कुल तहको पढाइमा मात्रै सामेल भएको र स्कुलमा विद्यार्थी राजनीतिको प्रभाव कम परेकाले हुन सक्छ । मलाई राजनीतिले छोएको समयमा पञ्चायतको जगजगी थियो । जताततै पञ्चायत र राजाको शासनको ज्यादतीको चर्चा हुन्थ्यो । मेरो दिमागले राजनीतिको धेरै जटिलता थाहा पाएको थिएन । मलाई राजनीतिक सम्पर्क गर्न आउने व्यक्तिले दिएको जानकारी पत्याउनु मेरो बाध्यता थियो, पत्याउँथेँ । त्यो बेलाको अवस्थामा भूमिगत रूपमा हुने सम्पर्क, पार्टी प्रशिक्षण, भेट आदिबाट यस्ता कुराको जानकारी हुन्थ्यो । 

त्यो समयमा यस्तो लाग्थ्यो, पञ्चायती व्यवस्था र राजतन्त्र त ढलिहाल्छ, ढल्नै आँटेको छ, ढल्दै छ । यस्तो किन लाग्थ्यो भनेर धेरैपछि विचार गर्दा मेरो सम्पर्कमा आउने सबै मान्छै पञ्चायतविरोधी नै हुन्थे । कसैले पञ्चायतको पक्षमा बोल्यो भने त्यसलाई मण्डले भनेर घृणा गरिन्थ्यो । अर्थात् आफ्नो विचारसँग असहमत हुनेलाई घृणा र आफ्नो विचारसँग सहमत भएकालाई महान् मान्ने गरिन्थ्यो । आफ्नो विचारमा पूरै विश्वास र आस्था थियो । अब चाँडै पञ्चायत ढल्छ, राजतन्त्र फालिन्छ । बहुदल आउँछ । बहुदल आएपछि हाम्रो शासन हुन्छ । हाम्रा नेता महान् छन् । नराम्रो केही गर्दैनन् । नराम्रो गर्ने सबैलाई ठेगान लगाउँछन् । हाम्रा पालो आएपछि देश त पाँच–दश वर्षमै कता हो कता विकास हुन्छ; युरोप, अमेरिका जस्तो हुन्छ— यस्तै यस्तै लाग्थ्यो । किनकि राजनीतिको जटिलता, विकासको प्रक्रिया, युरोप र अमेरिकाको विकास केही बुझेकै रहेनछु । समाजको चरित्र, व्यक्तिका प्रवृत्ति, चिन्तन, कानुनका जटिलता, विकासका नियम यी सबै नेताले भन्ने राजनीतिक भाषणभन्दा फरक हुन्छ भन्ने बुझ्न वर्षौं लाग्यो । 

पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलको माग गर्ने हामीजस्ता युवालाई पञ्चायतले पटकपटक दमन गरिरहन्थ्यो । २०४५ सालमा तत्कालीन मेची अञ्चलबाट गिरफ्तार भएर इलामको जेलमा राखिएका हामी ३९ जना राजबन्दी थियौँ । जेलभित्र राजनीतिक गफ हुने नै भए । ताप्लेजुङ जिल्लाबाट आएका राजबन्दीहरूमा करिब २० वर्षका नन्दलाल खरेल पनि थिए । एक दिन कुरैकुरामा उनले आफ्नो अनुभूति सुनाए । उनलाई लागेको थियो रे देशभरि नै नेकपा मालेले आफ्नो प्रभाव यति विस्तार गरेको छ कि अब पार्टीले आह्वान गर्ने बित्तिकै देशमा पार्टीले भनेजस्तै हुन्छ, पञ्चायत ढलिहाल्छ, राजतन्त्र फालिन्छ, हाम्रो समय आइहाल्छ; त्यसपछि त सबै हामीले चाहेजस्तो हुन्छ । हामी के के न गर्छौं, यस्तै यस्तै । 

उनलाई यो विश्वास अकारण आएको थिएन । उनी पुगेको गाउँमा, पुर्‍याइएको गाउँमा तत्कालीन माले मात्रै देख्नुहुन्थ्यो । किनकि अरुका घरमा जाने, अरुका कुरा सुन्ने गरिँदैनथ्यो । उनी करिब दुई वर्ष जेल बसे, जेलबाट छुटेपछि जीवन चलाउन पञ्चायतको जागिरे भएछन् । धेरै पछि २०६४/६५ सालतिर विर्तामोडमा भेट भएको थियो । उतिबेला हामीले थाहा पाएको सीमित ज्ञानका भरमा हामीले गरेको विश्वास र आस्था सम्झेर हामी आफैँ हाँसेका थियौँ ।
इलाम जेलमै झापाका रेग्मी थरका बाबुछोरा थिए । छोराको नाम रामकुमार थियो । बाबुको नाम बिर्सें । बाबु अलि पाको उमेरका थिए । उनले कुन कुन देशमा कम्युनिस्ट शासन छ, अब कति वर्षमा सबैतिर कम्युनिस्ट शासन हुन्छ भनेर खुबै चासो राख्थे; रेडियो सुन्थे । उनलाई अब नेपालमा मात्रै होइन विश्वमै चाँडै कम्युनिस्ट शासन हुन्छ, साम्राज्यवाद र सामन्तवादको शोषण एवं अत्याचार दुनियाँबाटै समाप्त हुन्छ भन्ने विश्वास र आस्था थियो । यो विश्वासमा भ्रम पनि छ भन्ने जानकारी नै थिएन ।  

राजाको पक्षमा लाग्नेहरू तथ्य, तथ्याङ्क आदिमा खासै विश्वास गर्दैनन् । ज्योतिषीका भविष्यवाणी र नेताले छरेका भ्रमपूर्ण अभिव्यक्तिलाई पत्याउनु उनीहरूको विश्वास हो । जन्मसिद्ध अधिकार भएकाले मात्रै शासन गर्न पाउँछन् भन्ने उनीहरूको आस्था हो ।

२०५५/५६ सालतिर मैले नेकपा एमालेमा सङ्गठित गरेको, नाताले भाइपर्ने दीपक उप्रेती क्युपेक नेपालमा आबद्ध थिए । उनलाई कमिटीको सचिव बनायौँ । उनी जोसिला थिए । केही राम्रो गर्ने चाहना उनीमा थियो । आफ्नो वर्ग र पेसामा भएको थिचोमिचो, शोषण र अन्यायका विरुद्ध सक्रिय भएर काम गर्दै थिए । केही दिनमै उनी हामीले थाहा नै नपाई माओवादीमा सङ्गठित हुन पुगेछन् । उनले माओवादीका कुरा गर्थे । अब केही गर्छ भने माओवादीले गर्छ, हामी गर्छौं, हाम्रो पालो चाँडै आउँदै छ, अरुले केही गर्दैनन्, सबै चिनियो, अरु गद्धार हुन्— उनी यस्तै भन्थे । सम्झाउन खोजेको उनी मलाई नै शिक्षा दिने भइसकेका रहेछन् । मेरो कुरा सुन्ने उनीमा न चासो थियो न धैर्य नै, न आवश्यकता नै ठाने । केही समय उनको माओवादीमा राम्रै दौडधुप थियो । छिमेकी र परिवारको सम्पर्कमा भएकाले कहिलेकाहीँ भेट हुन्थ्यो । उनका कुरा क्रान्तिकारी थिए । उनको जोश, जाँगर र माओवादीमा सक्रियता लोभलाग्दो थियो । 

अलिपछि उनको सक्रियता सुस्त भएको सुनेको थिएँ । माओवादीभित्रका गुट र उपगुटका कुरा, आन्तरिक झगडा, माओवादीका कतिपय स्थानीय नेताको आचरण, स्वार्थ आदिका कारण उनीमा नैराश्यता आएको रहेछ । केही दिन अगाडिको कुरा हो, राष्ट्रिय स्वतन्त्र पार्टीले सङ्गठन विस्तार गर्ने कार्यक्रम राखेको रहेछ, त्यसमा उनी पनि प्रवेश गरेको भन्ने सुनेँ । 

अर्को एकजना सुवेदी थरका मेडिकल व्यवसायी युवाको कुरा पनि जोड्न मन लाग्यो । उनी कम्युनिस्ट पार्टीमा दोस्रो पुस्तामा पर्छन् । उनका बुवा र हामी सँगसगै पार्टीमा काम गथ्र्यौं । कुनै बेला ती युवाका बुवा स्थानीय जनप्रतिनिधि पनि थिए । ती युवा व्यवसायी  अलि ‘क्रान्तिकारी’ स्वभावका थिए । उनी एमालेको सदस्य थिए तर एमालेमा धेरै दिन टिकेनन् । माओवादी भएको थाहा पायौँ । त्यहाँ पनि धेरै दिन टिकेनछन् । त्यसपछि नेकपा समाजवादी भएको पायौँ । त्यहाँ पनि उनको खासै लामो समय बितेन । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक वा कार्यकर्ता भएको अनुमान गर्न सकिन्छ । किनकि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको विचारले त्यसै बताउँछ । अहिले राजावादीहरूले राजा फर्काउने आन्दोलन गर्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले राजावादीको यो आन्दोललाई समर्थन गर्नुपर्छ, नभए राष्ट्रिय स्वतन्त्र पार्टी सकिन्छ भनेर पोस्ट गर्दै छन् । 

राजा फर्काउने भन्ने आन्दोलनमा सडकमा उफ्रिपाफ्री गर्नेहरू भ्रम बाँड्नेहरूका कुरा पत्याउँछन्, राजा आएपछि देशमा रामराज्य हुन्छ भन्ने ठान्छन् तर विगतमा लामो समय सक्रिय राजा भएकै समयमा देश बर्बाद भएको तथ्य स्विकार्न चाहँदैनन् । गणतन्त्र आएपछि देश बर्बाद भयो भन्छन् तर देश गणतन्त्र आएपछि नै विकास भएको छ, हुँदै छ ।

यस्ता उदाहरण राजनीतिमा अनगिन्ती छन्, जताततै भेटिन्छन् । राजनीतिमा आक्रोश, विश्वास, आस्था, भ्रम, स्वार्थ, सेवा सबै मिसिएको हुन्छ । यसलाई छुट्ट्याएर बुझ्न र पर्गेल्न अलि राम्रै चेतनाले मात्रै सक्छ । त्यो तहको चेतना सबैमा हुँदैन । त्यसैले राजनीतिमा धेरैलाई आस्था, विश्वास र भ्रमले चलायमान बनाउँछ; केहीलाई स्वार्थले चलायमान बनाउँछ । जुन व्यक्ति पटकपटक लाभका पदमा पुग्न चाहन्छन्, तिनलाई स्वार्थले राजनीतिमा सक्रिय बनाउँछ । दलबदल स्वार्थका कारण हुन्छ । त्यहाँ सिद्धान्तको जलप त लगाइन्छ तर मुख्य कुरा स्वार्थ हुन्छ । निर्वाचनको मुखैमा टिकट नपाएर दलबदल गर्नेहरू यस्तै कोटिमा पर्छन् । त्यस्तै विभिन्न आकर्षक कमाउने ठाउँमा नियुक्ति पाउन नेताको घरघर धाउनेहरूको गोजीमा सबै पार्टीका सदस्यता हुन्छ भनिन्छ । अहिले त सदस्यताले मात्रै नपुगेर ‘धन’ पनि चाहिन्छ भनेको सुनिन्छ । 

अर्को खालका मानिस पनि छन् । तिनले कुनै लाभको पद पाउँदैनन्, त्यो पाउने खासै योग्यता पनि राख्दैनन् । यस्ता मानिसलाई भ्रममा राखिराख्न चर्का कुरा र संस्थापनको खुलेर विरोध गरिदिए पुग्छ । यस्ता मानिस राजनीतिमा सक्रिय भएको देख्न पाइन्छ तर यिनले सङ्ख्या थप्नेभन्दा बढी कुनै योगदान गर्न सक्दैनन् । सङ्ख्या थप्ने र परिणाममा फरक ल्याउने काम निर्वाचनका बेला काम लाग्छ । त्यसैले यो समूहका मानिसलाई निर्वाचनदेखि निर्वाचनसम्म भ्रममा अल्झाइराख्नु राजनीतिक दल र नेताको काम हो । 

केहीपहिले राजावादी भन्नेहरूको काठमाडौँकेन्द्रित आन्दोलन यस्तै भ्रम दिन र कार्यकर्तालाई निर्वाचनसम्म अल्झाइराख्नका लागि हो । राजतन्त्र फर्किन्छ भन्ने कुरामा आन्दोलनमा लागेका नेतालाई नै विश्वास छ भन्ने लाग्दैन । राजाको पक्षमा लाग्नेहरू तथ्य, तथ्याङ्क आदिमा खासै विश्वास गर्दैनन् । ज्योतिषीका भविष्यवाणी र नेताले छरेका भ्रमपूर्ण अभिव्यक्तिलाई पत्याउनु उनीहरूको विश्वास हो । जन्मसिद्ध अधिकार भएकाले मात्रै शासन गर्न पाउँछन् भन्ने उनीहरूको आस्था हो । यस्तो जमात पनि केही छ । 

राजनीतिमा आफ्नो स्थान खोज्ने केही छट्टु मानिसले यस्ता भ्रममा भएका मानिसलाई थप भ्रममा पारेर नेता हुने र राजनीतिमा आफ्नो स्थान बनाउने प्रयास नै अहिलेको राजावादीको आन्दोलन हो । 

राजेन्द्र लिङ्देन, कमल थापा, पशुपतिशमशेर राणा, धवलशमशेर राणा लगायतका राष्ट्रिय प्रजातन्त्र पार्टी नाममा राजनीति गर्नेहरूले जनमत सिर्जना गरेर राजनीतिमा आफ्नो स्थान बनाउने कोसिस गर्नु स्वाभाविकै हो । यसमा पनि कमल थापा ‘जता मल्को उतै ढल्को’को राजनीति गरिरहेका छन् । दुर्गा प्रसाई, रवीन्द्र मिश्र, स्वागत नेपालहरू चरम औसरवादी हुन् । यिनलाई राजा होइन शक्ति चाहिएको हो, आफ्नै खुट्टामा उभिने ल्याकत गुमाएपछि वंशको टेको लगाएर पावरमा पुग्न चाहेका हुन् । राजाको छोरो नै राजा हुनुपर्छ, उसैले शासन गर्न पाउनुपर्छ भनेर वकालत गर्छन् । त्यसो भए एकपटक निर्वाचित भएकै हुन् भनेर हाल भएका तिनका पार्टीका नेतालाई आजीवन नेता, आजीवन सांसद वा यस्तै–यस्तै बनाउने कुरा तिनलाई मान्य छ ? अझै तिनका जेठो छोरालाई नै त्यही पदमा राख्ने कुरा मञ्जुर छ ? 

सयौँ राजा पाल्नभन्दा एउटा राजा पाल्न सजिलो भनेर भ्रम छर्छन् । के राजा भएपछि सबै काम राजाले वा राजाले नियुक्त गरेका व्यक्तिले गर्ने हो ? गाउँगाउँमा जनप्रतिनिधि चाहिँदैन ? संसद् चाहिँदैन ? मन्त्री चाहिँदैन ? 

कमल थापा ‘जता मल्को उतै ढल्को’को राजनीति गरिरहेका छन् । दुर्गा प्रसाई, रवीन्द्र मिश्र, स्वागत नेपालहरू चरम औसरवादी हुन् । यिनलाई राजा होइन शक्ति चाहिएको हो, आफ्नै खुट्टामा उभिने ल्याकत गुमाएपछि वंशको टेको लगाएर पावरमा पुग्न चाहेका हुन् ।

राजाको सक्रिय शासनकालमा भन्दा अहिले भ्रष्टाचार धेरै भयो भनेर भ्रम छर्छन्, पत्याउनेले पत्याउँछन् । राजाको शासनकालमा राज्य नियन्त्रित रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रले भनेको कुरा पत्याउनु बाध्यता थियो । राज्य नियन्त्रित सूचनाबाहेक अरु जनताले सुन्नै पाउँदैनथे । अहिले त्योभन्दा भिन्न परिस्थिति छ, भ्रष्टाचार पहिले पनि हुन्थ्यो, अहिले पनि हुने गरेको छ । पहिले छोपिन्थ्यो, अहिले भएको नभएको सबै सार्वजनिक हुन्छ । 

राजा फर्काउने भन्ने आन्दोलनमा सडकमा उफ्रिपाफ्री गर्नेहरू भ्रम बाँड्नेहरूका कुरा पत्याउँछन्, राजा आएपछि देशमा रामराज्य हुन्छ भन्ने ठान्छन् तर विगतमा लामो समय सक्रिय राजा भएकै समयमा देश बर्बाद भएको तथ्य स्विकार्न चाहँदैनन् । गणतन्त्र आएपछि देश बर्बाद भयो भन्छन् तर देश गणतन्त्र आएपछि नै विकास भएको छ, हुँदै छ । 

राज्य सञ्चालनको जिम्मामा बसेका र जिम्मा पाएकाहरूले गलत गर्दा त्यो छोपिने अवस्था छैन, छोप्न हुँदैन । गणतन्त्रमा, लोकतन्त्रमा, त्यसको आफ्नै प्रक्रियाबाट शुद्धीकरणको काम हुन्छ । आफूलाई रिस उठेका, आफ्नाले आरोप लगाएका सबै मानिस अपराधी होइनन्, हुँदैनन् भन्ने कुरा चैतको हुरीमा सुकेको पात उडेजस्तो उडेर कहिले यता, कहिले उता पुगेर थुप्रो लाग्नेहरूको आक्रोशले आगो सल्काउन सक्छन्, तर राजनीतिको जटिलता बुझ्न र पर्गेल्न सक्ने क्षमता राख्दैनन् । यो समूहलाई पनि राजनीतिक रूपले प्रशिक्षित गर्दै सचेत बनाउने काम राजनीतिक दल र राज्यको हो । जनतालाई भ्रममा राखेर चुनावदेखि–चुनावसम्मको खेलमा सामेल गर्ने, तर वास्तविकताबाट टाढा राख्नेहरूको राजनीति धेरै दिन चल्दैन । 

स्थापित ठुला पार्टीहरू भित्र व्यापक शुद्धीकरणको आवश्यकता छ । असल र खराब सबै पार्टीमा हुन्छन् । प्रक्रियाले असललाई स्थापित गर्दै जान्छ र खराबलाई खसाल्दै लान्छ । पार्टीहरू पूरै खराब भए भने नयाँले ठाउँ लिन्छ । पुराना विस्थापित हुन्छन् । यो सबै प्रक्रियाबाटै हुन्छ । पुराना भनिएका पार्टीलाई विस्थापित गर्न बनेका नयाँ पार्टी किन बन्न सकेनन् ? किन पुरानै पार्टीको वर्चस्व कायम छ ? यसबारेमा सोचौँ । 
भएका पार्टी र तिनका नेतालाई सत्तोसराप गाली गरेर बदनाम भएको राजा र राजाको परिवारमा शासनको केन्द्र स्थापित गर्नु भनेको म स्वतन्त्र र विवेक भएको मान्छेबाट विवेक नभएको दास सरहको मानिस हुन पाउँ भनेर माग गरेजस्तै हो । कसै कसैलाई मानिस हुन बोझ भएको होला, दास हुन पाउँ भन्न सक्छन् । यसका अनेक कारण होलान् तर समाज कदापि उल्टो दिशामा फर्कनेछैन । चतना भया । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामचन्द्र उप्रेती
रामचन्द्र उप्रेती
लेखकबाट थप