लन्डन दूतावासले आज नेपाल–यूके टेक फोरम २०२५ को आयोजना गर्दै
सारांश
- लन्डनस्थित नेपाली दूतावासले 'नेपाल–यूके टेक फोरम २०२५' आयोजना गर्दैछ, जसले प्रविधि क्षेत्रमा सहकार्यको अवसर खोज्नेछ।
- कार्यक्रममा नेपाल र बेलायतका राजदूतहरू, सांसदहरू, र लगानी बोर्डका अधिकारीहरूले सम्बोधन गर्नेछन्।
- फोरममा प्रविधि र सेवा सम्बन्धी प्रदर्शनी हुनेछ, जसले नेपाल र बेलायतबीच दीर्घकालीन साझेदारीको मार्ग प्रशस्त गर्नेछ।
लन्डन । लन्डनस्थित नेपाली दूतावासले आज शुक्रबार 'नेपाल–यूके टेक फोरम २०२५' को आयोजना गर्दैछ । नेपालमा डिजिटल नवप्रवर्तन र प्रविधिको विकासको अवस्था तथा बेलायतसँगको प्रविधि क्षेत्रमा सहकार्यका नयाँ अवसरहरू खोज्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम बेलायती समय अनुसार बिहान १० बजेबाट सुरु भएर रातको ८:३० बजेसम्म रहने दूतावासले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे र नेपालका लागि बेलायतका राजदूत रब फेनले फोरममा उद्घाटन सम्बोधन गर्नेछन्। ब्रिटिश सांसद तथा ‘अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपाल’ की अध्यक्ष एलेक्स बेकरले पनि विशेष सम्बोधन गर्नेछिन्।
त्यस्तै लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ‘युकेका लगानीकर्ताहरूका लागि नेपाल: एक एफडीआई गन्तव्य’ भन्ने शीर्षकमा र युकेमा मुख्यालय रहेको आइटी परामर्श तथा साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले ‘नेपाल–युके टेक व्यापार: द्विपक्षीय अवसरहरूको ढोका खोल्दै’ शीर्षकमा प्रस्तुति दिनेछन्।
यसैगरी, जेनेस सलुशनका निरञ्जन कुँवरले 'प्रवासी र डिजिटल कूटनीति' विषयमा संवाद गर्नेछन्। दूतावास भवनामा बीआइआइ, आइबीएन नेपाल, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, इ-सेवा, फोन पे, जेनेस सलुशन जस्ता संस्थाहरूले प्रविधि र सेवा सम्बन्धी प्रदर्शनी गर्नेछन्।
फोरममा बेलायतका सांसदहरू, प्राइभेट इक्विटी कम्पनीहरू, भेन्चर क्यापिटल, फिनटेक, एआइ, साइबर सुरक्षा, एजु-टेक, हेल्थ-टेक लगायत क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। यसले नेपाल र बेलायतबिच प्रविधि र नवीनतम डिजिटल प्रगतिमा दीर्घकालीन साझेदारीको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण